You are here

काव्यसंवाद-मा योगिता राई

संवाद

मन- मस्तिष्कलाई छुने हुनुपर्छ कविता


कविताको अवधारणा बारे म के भन्नु? म आफै धेरै समय भएको छैन कविता लेखेको। आफैलाई पाठकको पङ्क्तिमा राख्न रूचाउँछु। त्यसैले पाठककै पक्षबाट भन्नु हो भने, मलाई लाग्छ कविता सरल र सोझो हुनुपर्छ। हुनुपर्छ साधारण पाठकको मन- मस्तिष्कलाई छुने। साहित्य सहितार्थको विषय भएको कविताले जीवन र जगतको कुरालाई न्यायसङ्गत र इमान्दारसित उठान गरेको हुनुपर्छ जस्तो मलाई लाग्छ। रोमान्टिक कविताहरू लोकप्रिय र सदाबहार हुँदाहुँदै पनि वर्तमान कविताले हाम्रो समाज र परिवेशको नाङ्गो चरित्रलाई लेख्न पर सार्नु हुँदैन। जसका लागि हामी कविता लेख्छौं उनीहरूप्रति इमान्दार हुनुपर्छ भन्ने मलाई लाग्छ।


काव्य

कस

छुटेन कहिल्यै त्यो कस

छुट्टिँदैन पनि कहिल्यै

जुनीभर चियापत्ती टिप्दा टिप्दै बसिसकेको

आमाको कमाने हातको कस।

 

विश्वलाई एडिक्ट बनाइसकेको

कमाने आमाको पसिनाको स्वादले जिन्दगीसँगै

आमाको हातमा बसाइदिएको छ, कस।

जसको स्थायीकरण भइसकेको छ माथिबाटै।

कसरी छुटोस् त?

 

बर्खे झरी

हिउँदे ठिही

चैते घाम

समस्याको गाड़े घाउ

पसिनाको पीप, रगतको खाटो

कैंयाको ऋण

घरको झिटीझिटी

आश्वासनको बक्सिस

र-

कुनै अञ्जान रोगले

रसाउनुसम्म रसाएपछि

बनिसकेको मिश्रित रस

गाड़ा अर्ग्यानिक कस।

छुटिँदै छुटिँदैन।

 

छुट्टिन्छ त केवल

आमाको उज्यालो आश

काल्पनिक सुखको वास

उसको हरियो यौवन

र कालो केश

डोको भरि भरि बोनस

तर छुटिँदैन

आमाको कमाने हातको कस।


जात

ऐ साने दमाई

तँ लाज ढाक्ने लुगा नसिला

जा गएर त्यो लाशको कात्रो जोरजाम गर।

ऐ कालु कामी

लु आरन छोड़।

अरू काम एकछिन त्यत्तिकै थाँतीमा राख।

बरू खुकुरी लिएर आइज

र-

त्यो लाशको शिरपट्टिको छेवैमा

ठाड़ो पारेर राख।

मैतु सार्की

कहाँ छस् तँ ? आइज यता

हेर तैंले छालालाई

जुत्ताको आकार नै नदे।

बरू त्यो लाशको छाला काड़िदे।

 

आइज लु सबै मिलेर

यो लाशलाई

‘बरमुडा त्रिकोण’-मा पुऱ्याऔं

यसको अन्तिम संस्कार गरीवरी

किरिया खाएर आऔं

 

-यो मुर्दा ‘जात’-को।


सावित्री

समयलाई सानो टुक्रा मागिन् सावित्रीले

नसुनेझैं गरी हिँड़िरह्यो समय

यमराजले जसरी पर्वाह नगरी।

उ पनि हिँड़्न चाहिन् समयसँगै।

त्यसैले-

धरतीलाई बाटो मागिन्

लम्पसार परिदियो

धरती त्यहीं

जहाँ सावित्रीको पाइलालाई

निषेध थियो।

 

हावालाई

एउटा जोरदार हुरी चलाइमागिन्

हावाले पनि कुरै खाएन उसको

 

बरू फूल, रूख, पात र जूनसँग

हावा आफ्नै धुनमा इत्रिरह्यो।

 

विचारलाई सजाएर

थन्को लगाउन

भण्डारमै गएर

एक-दुई शब्दहरू पैंचो मागिन्।

अहँ…

उसले खोजिरहेका शब्दहरू

भण्डारमै रहेनछ।

 

शब्दहरूको जालोमा परेर

इच्छाविपरीत

छाँगोबाट गहिरो समुद्रमा खसिन्

र-

पानी पानी भइन्।

 

अहिले सावित्री काकाकुली बनेर

समय/धरती/हावा/

विचार र शब्दहरू

ती सबैका तिर्खा मेटाइरहेछिन्।

 

जहाँ चारैतिर उसको मरुभूमि उभेको छ।

नैतिकताको सीमा पारि

एकजोड़ परेवा छेवैबाट भर्खर उड़ेको छ।


मेरो देश

धर्मको मलिलो खेत

गज्जबले सप्रन्छ

मेरो देशमा।

बरूरू उम्रिन्छन् देवी देवताहरू।

सम्मोहनको बाला लहलह झुल्छ

र,  लछेप्रै पाक्छ ढोंगका फसलहरू।

चाँदी काट्छन्

देशका ‘बाबा’ हरू

खेतबारीदेखि रेगुलेटेड मार्केट हुँदै

डिपार्टमेन्टल स्टोर्ससम्म।

 

नसप्रने, नफल्ने, नपाक्ने

र, नफाप्ने त

ती हुतिहारा/अभागी/लोदरे

किसानहरू हुन्,

जो आफ्नो खेतबारीमा

अन्नभन्दा धेर ऋण फलाउँछन्

र, ऋण पाकेपछि आत्महत्या गर्छन्।

साला…

जसरी पनि मर्नै जन्मेकाहरू।

 

जब सत्ताको होड़ चल्छ

मेरो देशमा

हैकमले संविधानको इन्जर सुटुक्क फेर्छ।

र, गणतन्त्रको न्यानो कमेजको टाँक

लिरिक्क लिरिक्क हल्लाउँछ।

 

सत्ताकै कुरुक्षेत्र जित्न

जात र धर्मको पासा फ्याँकिन्छ

उतिखेर द्रौपदी र गान्धी एकै देख्छन्

शकुनीहरू।

 

देशका किसान

र, जवानहरू दुवै

पर्दा पछाड़ि शूटिङ गर्छन्। ‘रियल स्टन्ट।’

देशलाई भिजुअल प्रोजेक्टरमा

सपना देखाइराखेर

डिजिटल चालक

कुनै शक्तिशाली देशको

ढाँड़मा तेल मालिस दल्छन्।

कुन्नि कुन ठेकादारले

त्यतिखेर टेण्डर भर्छ

देशको गणतन्त्रको चिहान खन्न

घरको मेरुदण्ड कुप्रो परुञ्जेल

खिप्ती गरेका डिग्री पत्रहरू विदेशमा

उँटको लिदी सोहोर्छन्।

पिज्जा बेच्छन्

पेट्रोल भर्छन्

कसलाई हिसाब के के गर्छन् ? गर्छन्।

 

ई.. यतिखेर म सिनेमा हलमा

फिल्म हेर्ने टिकटको दामसँगै

देशभक्तिको ट्याक्स तिर्दैछुl

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares