You are here

तीनधारे युथ कप च्यालेञ्ज फुटबल टुर्नामेन्टको उपाधि युनाइटेड दार्जीलिङ एफसीको झोलीमा

निर्माण थापा/खरसाङ, 1 जनवरी: तीनधारे युथ कप च्यालेञ्ज फुटबल टुर्नामेन्टको उपाधि युनाइटेड दार्जीलिङ एफसीको झोलीमा परेको छ। तीनधारेको राजबारी जनसेवा सङ्घो आयोजनामा भइरहेको यस फुटबल टुर्नामेन्टको फाइनल आइतबार यहाँको मिठाइडाँडा खेल मैदानमा कञ्चनजङ्घा फुटबल क्लब(केएफसी) र युनाइटेड दार्जीलिङ एफसीमाझ सम्पन्न भयो। यस फाइनल खेलमा युनाइटेड दार्जीलिङ एफसीले केएफसी सिलगढीलाई ३-० को अन्तरले पराजित गरेर उपाधि जितेको छ।

आज खेलिएको फाइनल खेलको शुरुमा केएफसीको खेलाडीहरुले निकै असल प्रदर्शन गरेर दवाब सृष्टि गरेपनि गोल गर्न भने सकेनन्। पहिलो हाफको खेलमा दुवै टिमबाट राम्रो असल प्रदर्शन गरेको देखियो।पहिलो हाफको अन्तिम समय ३० औं मिनटमा युनाइटेड दार्जीलिङ एफसीले पाएको फ्रि किक् गोलमा परिणत गर्न सफल भयो। दार्जीलिङको लागि उक्त मौकालाई जर्सी नम्बर ६ वाङ्देन तामाङले दर्शनीय गोल गरेर बढत बनाए। त्यसरी नै दार्जीलिङको जर्सी नम्बर १२ ले पहिलो हाफको ३५ औं मिनटमा कर्नरलाई हेडबाट झण्डै गोल गरे।

पहिलो हाफको खेल १-० मा समाप्त भयो।दोस्रो हाफमा भने युनाइटेड दार्जीलिङ एफसीले धेरै राम्रो खेलको प्रदर्शन गरेर खेललाई आफ्नो नियन्त्रणमा लिएको थियो। दोस्रो हाफको शुरुमा नै दार्जीलिङको जर्सी नम्बर ६ वाङ्देन तामाङले आफ्नो अनि टिमको लागि दोस्रो गोल गरेर बढत दोब्बर बनाए। त्यसरी नै दोस्रो हाफको १४ औं मिनटमा युनाइटेड दार्जीलिङ एफसीको तर्फबाट जर्सी नम्बर ९ सचिन छेत्रीले गोल गरेर गोल अन्तर ३ बनाए। खचाखच दर्शकहरु रहेको यस खेलमा दुवै टिमलाई प्रोत्साहन गर्न उपस्थित थिए। दोस्रो हाफको खेल निकै रोमाञ्चक रह्यो अनि कतिपय समय खेल निकै उत्तेजित पनि रहेको थियो।

केएफसी सिलगढीले गोल गर्ने अन्तिमसम्म प्रयास गरिरहे पनि कुनै गोल गर्न सकेनन्। खेलको अन्तिम चरणमा केएफसीको जर्सी नम्बर १० अमीर लामा र युनाइटेड दार्जीलिङ एफसीको जर्सी नम्बर १२ माझ निकै संघर्ष देखियो।यो समय अमीर लामाले दार्जीलिङको डिफेन्सलाई घुस्सीले हिर्काएको भन्दै अम्पायरद्वारा रातो कार्ड देखाइयो। अन्तिम चरणमा केएफसीको खेलाडीहरु एकजना खेलाडीबिना नै खेल्न पर्यो। यस फाइनल खेलमा दुवै टिमको एक एकजना खेलाडीलाई पहेंलो कार्ड देखाइयो। आजको खेलमा मुख्य अतिथिको रुपमा गोर्खा फुटबल लिजेन्ट एंव ब्याक भलीका विशेषज्ञ खेलाडी श्याम थापा उपस्थित थिए।

तिनले आफ्नो सम्बोधनमा तीनधारेमा आउनु पाउँदा आफूलाई खुशी लागेको अनि तीनधारेको यस मैदान राम्रो फुटबल स्टेडियम बनिन सक्ने सम्भावना रहेको पनि बताए। तिनले फुटबलको माध्यमबाट गोर्खा जातिको उत्थान हुनसक्ने बताउँदै पहाडको नानीहरुलाई फुटबलबाट असल भविष्य निर्माण गर्न प्रोत्साहन गर्नुपर्ने पनि बताए। आजको फाइनल खेलमा सभाध्यक्षको रुपमा राष्ट्रिय शिक्षक पुरस्कार प्रापक हरिप्रसाद छेत्री एंव विशिष्ट अतिथिहरुमा जीटीए बोर्ड अफ् एडमिनिष्टेसनको उपाध्यक्ष अनित थापा लगायत डा० ईआर लामा, चन्दु भुसाल, रञ्जन कुमार रसाइली, निर्मल गुरुङ,दिपक प्रधान,कमल तामाङ, धर्मराज थापा, बीबी थापा लगायत सामाजिक कार्यकर्ताहरू अनि फुटबलसित सम्बन्धित व्यक्तित्वहरू उपस्थित थिए।

आजको विजयी दललाई मुख्य अतिथि श्याम थापाकोको बाहुलीबाट ट्रफी प्रदान गरियो जुन ट्रफीलाई तीनधारेको मिराज बिश्वकर्माले डिजाइन गरेका थिए। आजको फाइनल खेलमा उत्कृष्ट खेलाडी र टुर्नामेन्टभरिमा उत्कृष्ट गोलदाता पनि युनाइटेड दार्जीलिङ एफसीको जर्सी नम्बर ६ वाङ्देन तामाङ चयन भए।त।यसरी नै टुर्नामेन्टभरिमा सर्वोत्कृष्ट खेलाडी युनाइटेड दार्जीलिङ एफसीको जर्सी नम्बर १० गणेश लिम्बु चयन भएका थिए। त्यस्तै प्रकारले टुर्नामेन्टभरिमा बेसी गोल गर्ने खेलाडी केएफसी सिलगढीको जर्सी नम्बर १० अमीर लामा र टुर्नामेन्टभरिमा उत्कृष्ट गोलरक्षक ईस्ट बेंगल फुटबल क्लबको सुरज दास चयन भए । आजको यस फाइनल खेलमा सञ्चालन सन्तोष लामाले गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares