भव्य रूपमा गणतन्त्र दिवस पालन गर्न जिल्लापालले डाके बैठक

कालेबुङ, 5 जनवरी।

यस वर्ष कालेबुङ जिल्ला प्रशासनले गणतन्त्र दिवसलाई भव्यताका साथ पालन गर्ने निर्णय लिएको छ। आज जिल्लापाल कार्यालयमा बसेको बैठकपछि जिल्लापाल डा. विश्वनाथले उक्त जानकारी दिएका छन्।

आज बसेको बैठकमा जिल्लापाल डा. विश्वनाथ लगायत अतिरिक्त जिल्लापाल हरिशंकर पाणिकर, महकुमा अधिकारी निर्मल्या घरामी, जिल्ला सूचना एवम् सांस्कृतिक विभाग अधिकारी दिपक केरकेट्टा लगायत विभिन्न विद्यालय, महाविद्यालय सँगै विकास बोर्ड अनि नगरपालिकाका प्रतिनिधीवर्ग उपस्थित रहेका थिए। “कालेबुङ जिल्ला गठन भएपश्चात यो गणतन्त्र दिवस पहिलो रहेकाले  हामी भव्यताका साथमा कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेका छौं। कार्यक्रमलाई कालेबुङमा मनाइने स्वतन्त्रता दिवसकै प्रारूपमा व्यापक रूपमा पालन गर्ने हामीले सोंच राखेर पहल गरेका छौं”- जिल्लापाल डा. विश्वनाथले भने।

अर्कोतर्फ गणतन्त्र दिवसलाई भव्यताको साथमा पालन गर्नका निम्ति पश्चिम बङ्गाल सरकारद्वारा गठन गरिएका विकास बोर्डहरूले पनि सक्रियतासँग भाग लिने तय आजको बैठकले गरेको छ। बैठकमा उपस्थित मङ्गर सांस्कृतिक अनि विकास बोर्डका अध्यक्ष नविन मङ्गरले कार्यक्रममा विकास बोर्डहरूले पनि सहभागिता जनाउने तथा साङ्गीतिक अनि सांस्कृतिक प्रस्तुतीहरू दिने बताए।

बैठकमा उपस्थित रहेका नगरपालिका उपाध्यक्ष भीम अग्रवालले पनि गणतन्त्र दिवसलाई भव्यताका पालन गर्न कालेबुङ नगरपालिकाले विशेष भूमिका निर्वाह गर्ने बताए। सम्पूर्ण नगर पार्षद्हरूलाई पनि सहभागि गराएर कार्यक्रमलाई सफल बनाउन नगरपालिकाको पक्षबाट पहल शुरू गरिने जानकारी पनि उनले दिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares