श्रमिकहरुले पाउने रहल ५० प्रतिशत बोनस ३१ जनवरीभित्र दिनुपर्ने निर्णय: निम्नतम रोजगार अधिनियम अनुसार रोज वृद्धिको निम्ति अर्को सभा ११ जनवरीमा हुने

खरसाङ, 5 जनवरी: पहाडको चियाबारी श्रमिकहरुको हितमा हिजो सिलगढीको उतरकन्यामा भएको सभामा श्रमिकहरुले पाउने रहल ५० प्रतिशत बोनस ३१ जनवरीभित्र दिनुपर्ने निर्णय भएको छ। उतर कन्यामा बसेको सभा विषयमा बिहिबार खरसाङमा पत्रकारहरुलाई सम्बोधन गर्दै डीटीडीपीएलयु केन्द्रीय समितिका सह-सचिव राजेश थापाले उक्त कुरा बताएका छन्। सभामा मालिकवर्गले पहाडको चियाबारीहरूबाट खासै नाफा नभएको र बोनस आगामी जून महिनाभित्र दिने प्रस्तावलाई अस्वीकार गर्दै ट्रेड युनियनहरुको तर्फबाट आगामी १५ जनवरी भित्र दिनुपर्ने माग गरिएको थियो।

दुवै पक्षलाई हेरेर सरकार पक्षबाट चिया श्रमिकहरूले पाउने रहल ५० प्रतिशत बोनस ३१ जनवरीभित्र दिनुपर्ने करामा सहमति भएको छ। तीन चरणमा चलेको यस सभा अन्तर्गत पहिलो चरणमा रहल ५० प्रतिशत बोनस विषयमा छलफल गरियो। दोस्रो चरणमा भएको सभामा चिया श्रमिकहरुको रोजवृध्दि निम्नतम रोजगार अधिनियम अनुसार लागु गर्नपर्ने माग ट्रेड युनियनहरुले गरेका थिए। यस सभामा निम्नतम रोजगार अधिनियम लागु गराउन गठित सल्लाहकार समितिका सदस्यहरू उपस्थित थिए। दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेवर युनियन ( डीटीडीपीएलयु) को पक्षमा केन्द्रिय सभापति करूणा गुरुङ र महासचिव भरत ठकुरी उपस्थित थिए।

यस सभामा केवल ट्रेड युनियनहरू र मालिकवर्ग उपस्थित थिए। सभामा‌ सरकारद्वारा निम्नत्तम रोजगार अधिनियमबारेमा छलफल गर्न आगामी ११ जनवरीमा उतरकन्यामा नै ट्रेड युनियनहरु र मालिकवर्गमाझ अर्को सभा गर्ने निर्णय लिइएको छ।

तेस्रो चरणको सभा अन्तर्गत श्रमिकहरूको पाउने राशन विषयमा छलफल भएको थियो। राष्ट्रिय खाद्य सुरक्षा ऐन लागु भएपछि चियाबारी श्रमिकहरूले पाउने राशन कटौती भएको भन्दै यसको क्षतिपूर्तिको रुपमा मासिक ६३० रुपियाँ दिनुपर्ने माग ट्रेड युनियनहरूले गरेका छन्। उत्तरकन्यामा भएको यस सभामा सरकार पक्षबाट श्रम आयुक्त जावेद अख्तर, सह श्रम आयुक्त, मालिक पक्षबाट दार्जिलिङ टि एसोसिएशनको प्रमुख सल्लाहकार सन्दीप मुखर्जी, इण्डियन टि एसोसिएशनको पक्षबाट सचिव महेश छेत्री लगायत अन्य पदाधिकारीहरू उपस्थित थिए। त्यसरी नै उतर बङ्गालको ट्रेड युनियनहरूका प्रतिनिधिहरू उपस्थित थिए भने दार्जीलिङ तराई-डुवर्स प्लान्टेसन लेवर युनियन ( डीटीडीपीएलयू) को पक्षबाट केन्द्रिय सभापति करूणा गुरुङ, महासचिव भरत ठकुरी, सह-सचिव राजेश थापा, उपाध्यक्ष रमेश थापा, हरिहर आचार्य, साङ्गठनिक सचिव बालम तामाङ उपस्थित थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares