You are here

सिविटारमा एउटा घर जलेर नष्ट: तामाङ विकास बोर्डले घर निर्माण गरिदिने

खरसाङ, 9 जनवरी: तीनधारे महानदी समष्टीको सिविटार चियाबारी अन्तर्गत ५ नम्बर गाउँमा एउटा घर जलेर नष्ट भएको छ। सिविटार चियाबारीका श्रमिक रामबहादुर तामाङको घर सोमबार राती अचानक लागेको आगोको कारण नष्ट भएको हो। स्थानीय मानिसहरूले दिएको जानकारी अनुसार सोमबार रातिको समय रामबहादुर तामाङको घरको पूजा कोठामा बाल्न  राखिएको बत्तीबाट आगो लागेको आशङ्का गरिएको छ।

चारजनाको परिवार रहेको उक्त घर जलेर नष्ट भएपनि स्थानीय मानिसहरूको सहयोगमा भान्सा घर भने जोगिएको छ। आगो लागेको घरबाट लगाएको लुगाबाहेक केही कागजपत्रहरु मात्रै निकाल्नु सकिएको तर सबै सरसामानहरू जलेको बताइएको छ। दुईवटा कोठा भएको घर सम्पूर्ण रूपमा जलेर नष्ट भएको छ। घरमा भएको भाँडा वर्तनहरू पनि जलेको स्थानीय मानिसहरूले बताएका छन्। आगलागीको घटनास्थलमा स्थानीय मानिसहरू पुगेर आगो निभाउन सफल भए पनि आगोले घर जलिसकेको बताइएको छ।

यस घटनापछि पश्चिम बङ्गाल तामाङ विकास बोर्डका सुवोध लामा लगायत अन्य पदाधिकारीहरू सिविटार चियाबारीको ५ नम्बर गाउँमा पुगेर पिडीत परिवारलाई सहयोग गर्ने आश्वासन दिएका छन्। रामबहादुर तामाङको जलेको घर अब तामाङ विकास बोर्डले निर्माण गरिदिने वचन पनि केन्द्रीय महासचिव सुवोध लामाले दिएको जानकारी तामाङ विकास बोर्ड सिविटार शाखाको सचिव आनन्द तामाङले दिएका छन्।

घटनास्थलमा सोमबार राती नै गोजमुमो सिविटार गिताङ्गे खण्ड समितिको सचिव राजीव थापा पुगेर आगलागीको घटना विषयमा महानदी ग्राम पञ्चायत र खण्ड विकास कार्यालय खरसाङमा सम्पर्क गरेर उचित क्षतिपूर्तिको माग गरिएको जानकारी प्राप्त भएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares