You are here

राजनीति: बहस

बबिता मादेन (छेत्री)


राजनीति समाजको सङ्गठित जीवनका सबैभन्दा महत्वपूर्ण क्रियाकलाप हो। हामीलाई राजनीति मन परोस् अथवा  नपरोस् तर प्रत्यक्षअप्रत्यक्ष हामी राजनीतिसँग जोडिएका हुन्छौं। यदि कसैले ‘मलाई राजनीतिप्रति कुनै चासो छैन’ भन्छ भने बुझ्नुहोस्, उसले आफैले आफैलाई झुक्काउँदैछ। व्यक्तिगत वा सामूहिक स्वतन्त्रता, समानता, न्याय,  अधिकार र कर्त्तव्य सबै राजनैतिक क्षेत्रभित्र पर्दछ।

यदि हामी कुनै पनि राजनैतिक सङ्गठनसित संलग्न भएर कार्य गर्दैछौं भने त्यो राजनीतिमा हाम्रो प्रत्यक्ष उपस्थिति हो तर हामीले कुनै राजनैतिक दलको क्रियाकलाप टाढैबाट हेर्दै चुपचाप बस्यौं भने पनि हामी राजनीतिबाट बाहिर हुँदैनौ।

हाम्रो मौनताले उनीहरूलाई मनमानी कार्य गर्ने अवसर उपलब्ध गराइरहेको हुन्छ। हाम्रो निष्क्रियताले यो प्रमाणित गर्दछ कि हामीलाई त्यो सबै स्वीकार्य छ।

आज हाम्रो सामान्य जीवनमा पनि यही कुराहरू देखापर्दैछ। स्थानीय राजनैतिक दलहरू व्यक्तिगत तथा दलगत फाइदाका लागि राजसत्तामा स्थान बनाइराख्न तैंछाड र मैछाड गर्दैछन् अनि हामी मौन स्वीकृति दिएर उनीहरूको महत्वाकांक्षालाई टेवा पुऱ्याइरहेका छौं।

 

पहाडका ढुङ्गा – माटो, बन – जङ्गल र कन्दराहरूले जान्दछ, गोर्खाल्यान्ड गोर्खाहरूको आस्थाको विषय हो तर आज पहाडमा त्यही आस्थाको शिखरमा टेकेर सत्ताको झन्डा फरफराउने प्रतिस्पर्धा भइरहेको छ।

आर्थिक स्थिरता भित्राउने बहानामा पहाडका विभिन्न ठाउँहरूमा पर्यटन / सांस्कृतिक उत्सव र महोत्सवहरूको आयोजना गरियो। आन्दोलनले भाँचेको अर्थदण्डलाई सोझ्याउन यस उत्सवले कति भूमिका खेल्यो या खेल्ने हुन्, यो कुरा आउने समयले बताउदै जानेछन् तर जिटिएद्वारा गरिएको यस आयोजनाको पछाडि पहाड अब स्थिर भइसकेको, पूर्णरूपले शान्ति फर्किआएको र हामीले महामहिम बङ्गाल सरकारको हुकुमतलाई सर्वोपरि राखेर गोर्खे जनताको अस्मिताको लडाईँलाई बिकासको मुहानतर्फ मोड्न सफल भयौं भनी बङ्गाल सरकारलाई खुशी पार्न चढाएको उपहार थियो भन्दा किन्चित पनि गलत हुने छैन।

यसघरि पहाडको ठण्डा ठिहीमा पनि राजनीतिको गरम हावा चल्दैछ।  वास्तवमा सत्ताको राप नै यस्तो हुन्छ कि जब यसले कुनै नेताको अन्तरात्माको लालचलाई जगाउँछ तब उसले देख्दैन कि लाचार जनताको अभाव कति पीडादायक हुन्छ।  बुझ्न सक्दैन कि गरीबको बुनियादी जरूरतहरूको पुर्ति, कैयौंपटक जोड्दा घटाउँदा पनि नमिलेको हिसाब अनि प्रत्येक रात एउटा अधकल्चो सपनाले अनिँदो पारेको बिहान कति कष्टदायक हुन्छ।

तथापि गोर्खे जनताले यी व्यक्तिगत बिपत्तीहरूलाई गोर्खाल्यान्डका बाटोको काँडा कहिल्यै सम्झेनन्, जब जब अलग राज्यको विद्रोह उठ्यो छात्तीमा बुलेट थाप्न जनता नै अघि सरे।

आफ्नै माटो र भुभागमा जीवनको अन्तिम स्वास लिने चाहनामा थाहा छैन कति जिन्दगी हामीदेखि छुटेर गए अनि कैयौं जिन्दगी आज यही घिटघिटोमा बाचिरहेको छ। तर आज आएर गोर्खे जनताको आस्था, बलिदान, मेहनत र विश्वासको हत्या हुँदैछ।

केही दिनभित्र जिटिए पदाधिकारीहरूको बयानहरूमा पनि आन्दोलनका परिणाम शुन्य उपलब्धिप्रति अफसोस् कम र आन्दोलनका नकारात्मक असरहरूमाथि नै धेर जोड दिइरहेका देखियो।

यो समय कुनै पनि आयोजनाको लागि पहाड कति तयार थियो अथवा थिएन यो फरक विषय हो तर आन्दोलनले दिएको पीडालाई भुलाउन क्षणिक मनोरञ्जन दिने एउटा असफल कोशिश भने पक्कै थियो। यस उत्सवले भर्खरै आस्वस्त हुँदै गरेको अशान्त पहाडको दुख्दो पीडामा मलम भन्दा ज्यादा जलेको घाउमा नुन छर्किने काम भएको छ।

 

सरकार, पुलिस-प्रशासनद्वारा निर्ममतापूर्वक दमन गरिएको आन्दोलन, निर्दोष जनताहरूमाथि अत्याचार र धडपकड नीति, त्योभन्दा धेर राज्य सत्ताले गोर्खाली स्वाभिमानलाई समेत खुल्ला रूपमा खिल्ली उडायो तर आज जिटिएले जस्तो प्रकारका कार्यहरू गरिरहेको छ त्यो राज्यको तानाशाही नीतिको स्वागत गर्ने पहल नभएर अरू के हुनसक्छ?

यदि हाम्रा नेताहरू गोर्खाल्यान्डप्रति इमानदार भए आन्दोलन स्थगित पश्चात पनि मुद्दालाई निरन्तरता दिने परिकल्पनाहरूको निर्माण गर्न सक्थ्यो तर यस तर्फ कुनै सक्रियता देखाएनन्।

एउटा सामूहिक समिती गठन गरी पराजयप्रति  गहन आत्मा मन्थन गरेर असफलता  र कमजोरीका समीक्षा गरिनु जरूरी थियो, जुनमाथि पनि उदासीन नीति नै अप्नाए अनि यसमाथि कुनै विश्लेषण नगरिनु शहिद अनि आन्दोनकारीहरूको पक्षमा संम्वेदनहीनता मात्र होइन अन्यायपूर्ण आचरण पनि हो।

मूलभूत विषयहरूलाई किनारा गरेर जिटिए पार्ट टु पनि सत्ताकै वरिपरि घुमिरहेका छ।

नौलो विचार जन्मिनु ठूलो कुरा होइन। विचारसँग विचार सहमत हुनु पनि ठूलो कुरा होइन तर त्यो नवीन विचारहरूले हुर्किने प्रशस्त ठाउँ पाउनुपर्छ तर आज पहाडमा यही फाँटिलो सोचको गतिलो अभाव देखिँदैछ।

टाकुरामा पुगेर मुनि झरेको हाम्रो आत्मविश्वास र अस्मिताको लडाईँ पहिला जति जटिल थियो आउने दिनहरूमा अझ धेरै जटिल हुनेछ। समयको साथ राज्य सरकारले आफ्नो दमन नीतिहरूलाई नयाँ रूप दिएर अझ प्रभावशाली बनाइरहेको छ। यसकारण पनि हाम्रो अलग राज्यको दावीले धेरै कठिनाइहरूको सामना गर्नु पर्ने देखिन्छ।

पहिला हामीलाई विदेशीको लाञ्छना मात्र थियो तर अब आतङ्कवादी र देशद्रोहीको दाग पनि बोकेर हिँड्नु परिरहेको छ। हुन त यो नौलो कुरा पटक्कै होइन भारतमा प्रत्येक अल्पसंख्यक समुदाय जसले अधिकारको उठान गर्छ,  शङ्काको नजरले हेरिन्छ। कुनै पनि जातीय हिंसालाई दबाउनु राष्ट्रद्रोही जस्तो आरोप एउटा गतिलो हतियार भएको छ। भारत जस्तो संवेदनशील राष्ट्रको आत्मालाई जगाएर राष्ट्रहितमा कुनै विद्रोहलाई दबाउनु नैतिकमूल्य र सठिक निर्णय हो भन्ने एउटा संदेश पनि हो।

यसैले जहाँसम्म हाम्रो वासभूमिको प्रश्न छ, यो लडाईँ राज्यको वर्तमान सरकारसँग मात्र होइन राज्यको समस्त गोर्खा विरोधी विचारधारा लगायत राष्ट्रमै गोर्खाहरूको योगदानदेखि अनभिज्ञ रहेका,  गोर्खाहरू विदेशी हुन् भन्ने र गोर्खाल्यान्ड आन्दोलनको पछाडि विदेशी शक्तिहरूको हात देख्ने कुमानसिकताको विरूद्ध पनि हो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares