लामाहट्टा इको टुरिजम पार्क सरकारी सहयोग पर्खिँदै

रिमल मोक्तान/ पेशोक: १० जनवरी: देशी विदेशी पर्यटकहरुको आकर्षणको केन्द्र रहेको लामाहट्टाको इको टुरिजम सरकारी सहयोग बिना नै सञ्चालन भइरहेको छ। न त सरकारको पर्यटन विभागको आर्थिक सहयोग छ, न त जीटीए पर्यटन विभागको सहयोग छ, न त वन विभागको सहयोग प्राप्त छ। उक्त इको टुरिजम आफ्नै बलबुतामा सञ्चालन भइरहेको छ। उक्त मन्तव्य फरेष्ट प्रोटेक्सन कमिटीका सभानेत्री निमा लमु डुक्पाको हो। डुक्पा अनुसार लामाहट्टा इको टुरिजम फरेष्ट प्रोटेक्सन कमिटिको देखरेखमा सञ्चालन भइरहेको छ ।

बर्ष २०१३ देखि सञ्चालनमा आए यता आफ्नै बलबुतामा सञ्चालन भइरहेको छ भने पार्कको मरमती, रखरखाउ, रंग पचेरा आदिको खर्च सबै कमिटीले बेहोरी रहेको छ। पर्यटन मौसमको बेला यति धेरै सङ्ख्यामा पर्यटकहरू यहाँ भीड लाग्ने गर्छन् भने यहाँ स्थित होम स्टेहरूमा कोठा पाउन गाह्रो पर्ने स्थिती समेत हुने गरेको सञ्चालन समितिकी सभानेत्री निमा लमु बताउछिन्।

तिनले भनिन् ,पार्कको देखरेख, मालीको पारिश्रमिक ,टिकट सेलर आदिलाई दिइने पारिश्रमिक आदि पनि समितिले आर्जन गरेको रकम बाट नै व्यवस्था गर्नुपर्छ। डुक्पाले अझ भनिन्,  हाल सँधै भन्दा पर्यटकहरुको आगमनमा कमी आए तापनि केही पर्यटकहरू आइरहेकै छैन्। विशेष यहाँको जाडो मौसमको बेला हिमपातको दृश्य हेर्न रुचाउने गरेको डुक्पाले बताइन्। सरकारी आर्थिक सहयोग बारे बोल्दै हालसम्म कसैबाट पनि आर्थिक सहयोग नपाएको उनले बताइन्।

उनले भनिन्, पार्कमा भएका हावाघरहरू, फूलबारी, बाटोघाटो, जोर पोखरी आदिको जिर्णोद्वार गरी नयाँ रुपमा ल्याउनसके अझ पर्यटकहरुलाई आकर्षण गर्नसक्ने थियौँ। डुक्पा अनुसार यदि सरकार या जीटीए या वन विभागले नै आर्थिक सहयोग गरिदिए यसलाई अझ सुन्दर र आकर्षित बनाउन सकिने थिय। फलस्वरुप अझ देशी विदेशी सैलानीहरुलाई यहाँको सुन्दरताले आकर्षित पार्थ्यो भने नौ माईल लामाहट्टा पार्क (इको टुरिजम) अझ लोकप्रियता बडेर जाने थियो भनी मन्तव्य गरेकी छन्।

स्थानीयहरूका अनुसार पार्कको सुन्दरता र लोकप्रियताले लामाहट्टाको गरिमा अझ विकसित बनेर जानेछ।  वन संरक्षण समितिको देखरेखमा नै होम स्टेहरू पर्यटकहरूको निम्ति सञ्चालित छन्। जम्मा १५ वटा होम स्टेहरू समितिको देखरेखमा छन् भने निजी रुपमा पनि सातवटा जति होम स्टेहरु सञ्चालनमा रहेको छ। पर्यटन मौसममा समिति अनि निजि होमस्टेहरुमा कोठा पहिले नै बुक हुने गरेको होमस्टे सञ्चालकहरू बताउँछन्।

अर्कोतिर पार्क घुम्न आउने पर्यटरकहरूले खबरम्यागजिनसित कुराकानी गर्दै क्षेत्रको प्रसंशा गरेका छन्य़। उनीहरूले यहाँको मौसम अनुकूल रहेको अनि प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको बताउँदै लमाहट्टा क्षेत्रमा अझ धेरै सुविधाहरू प्रदान गर्न जुरूरी रहेको बताए।

विशेष गरी लामाहट्टा इको टुरिजमलाई अझ सजाउन सकिए पर्यटन व्यवसाय फस्टाएर जाने साथै रोजीरोटी पनि चल्ने प्रशस्त सम्भावनाहरु रहेको देखिन्छ। यसलाई पर्यटनको मानचित्रमा गाभ्नसके सरकार अनि विभागलाई राजस्वमा बढोत्तरी हुने सम्भावनालाई नकार्न सकिन्न। तर यस क्षेत्रको विकासमा सम्बन्धित निकाय वा विभागको भनेजस्तो पहल भइरहेको छैन।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares