You are here

   कुरा मुम्बईका/ ठुलो चित्तकी सानुमति गुरामा

कालेबुङको वैचारिक गोष्ठीको कार्यक्रम बसिबियाँलो-को 125 -औँ प्रकरण हामीले मुम्बईको मिरा रोडमा आयोजना गरेका थियौँ 2014 मा। हाम्रो सोच थियो बसिबियाँलो-लाई कालेबुङ-दार्जीलिङको परिधिदेखि केही बाहिर पनि पुऱ्याउनुपर्छ भन्ने अनि यसका लागि ताकमा थियौँ हामी। 100 -औँ प्रकरण बहुभाषी साहित्यिक गोष्ठीको रुपमा भव्यतापूर्वक अनि दुइ दिनव्यापी तरिकाले कालेबुङको रामकृष्ण रङ्गमञ्चमा आयोजना गरेका हुनाले 125 पनि त्यसभन्दा सानु त गर्नु हुँदैन भन्ने उत्साह थियो। त्यसैले हामीले सोच्यौँ उसो भए कालेबुङदेखि टाढ़ा आयोजना गरौँ। र छान्यौँ भारतको आर्थिक राजधानी अथवा बलिउड मुम्बई।

यसका लागि पहिलो सभाको आयोजना गऱ्यौँ चरित्र प्रकाशनको कार्यालयमा लगभग चार-पाँच महिनाअघि नै। त्यस दिनको सभाको मूल उद्देश्य थियो – बसिबियाँलोको 125 -औँ प्रकरणलाई मुम्बईमा आयोजना गर्दा हुन्छ कि हुँदैन अथवा सकिन्छ कि सकिँदैन भन्ने विषयमा सहयात्रीहरूको राय जान्नु मात्रै। सबैलाई बोलाइएको सभामा धेरै कम्ती साथीहरू भेला भए। भेला हुनेहरूमा सबैभन्दा पहिला आइपुग्ने सहयात्री थिइन् – सानुमति गुरामा। गुरामाको यौटा बानी थियो कुनै पनि सभा-भेलातिर समयभन्दा पहिला पुग्ने। कति ठाउँमा त गुरामा आयोजकभन्दा पहिले पुगेको घटना पनि छ। त्यसपछि अरूहरू पनि देखा पर्नथाले अनि सभा सुरू भयो।

बैठकमा मैले नै प्रस्ताव राखेँ – ‘बसिबियाँलो -को 125 -औँ प्रकरणले छोपिसकेको छ। सयौँ त हामीले भव्यतापूर्वक पालन गरेका हौँ, अब यसलाई पनि सानोतिनो रुपमा आयोजना गर्नुभएन। बरू कालेबुङदेखि बाहिर कतै आयोजना गर्दा कसो होला?’ साथीहरू सबैले हैँसे दिएर ‘हुन्छ नि तपाईँले कुनै ठाउँ सोच्नुभएको छ कि?’ भनेर सोधे। मैले आफ्नो मन्तव्य पोखेँ, ‘मेरो प्राथमिकता त मुम्बई हो।’ मुम्बईमा किन आयोजना गर्नुका पछि रहेका कारणहरू बताएँ।

त्यसपछि त साथीहरू एकअर्कालाई हेराहेर पो गर्नथाल्छन्। धेरैजना त तरङ्ग तर्सिए। थुप्रो प्रश्नहरू ओइरिए मेरासामु। ‘यति टाढ़ा किन आयोजना गर्नु?’ ‘मेरो त यो बिमार छ कि सक्तिनँ जान।’ ‘मलाई त जानु त मन छ नि तर पैसा छैन।’ ‘अबुई, मलाई त उल्टी आउँछ, होस्।’ ‘म त रेलमा कैल्यै चढ़ेको छुइनँ, कसैले दोहोऱ्याउने हो भने चै जान्छु।’ ‘भाड़ा कति लाग्छ?’ ‘कसरी जानु?’ ‘बिमार भयो भने?’ ‘घुम्न पनि जानुपर्छ’ ‘परिवारका सदस्यहरू पनि लानसकिन्छ होला हैन?’ ‘म त शिरडीको दर्शन पनि गर्छु है।’ ‘रेलमा जाने कि जहाजमा?’ ‘मेरो त एकछिन् दिल्लीमा काम छ कि रेलबाट उत्रिनु पाइन्छ होला नि?’ ‘म त आफ्नै मान्छेकहाँ बस्छु है।’ ‘म त फर्कँदा अलिक दिन ढिलो आउँछु’ इत्यादि प्रतिक्रिया चलिरह्यो। अन्त्यमा प्रस्ताव पारित भयो।

त्यसपछि कुरा चल्यो खर्चपातको। प्रत्येक सहभागीको यति लाग्छ होला भनेर अनुमानित राशि तय गरिसकेका पनि थिएनौँ हामीले। यतिन्जेल केही नबोली चुपचाप बसेकी सानुमति गुरामाले आफ्नो हातेझोलाबाट पैसा झिकेर दिइन् अनि ‘लु, मेरो नाम लेखिदेऊ’ भनिन्।

अस्सी वर्षको उमेर पार गरिसकेकी गुरामाले बीसपच्चीसजना युवाहरूको जोश, जाँगर, उत्साह सबैलाई परास्त गरिदिइन् अनि भनिन्, ‘लु मेरो नाउँ लेखिदेऊ।’ मुम्बई नजाने बहानाबाजीलाई परास्त गरिदिएर गुरामाले चाहिँ जाने सहभागीहरूमा सबैभन्दा पहिले नाउँ दिएर सबैलाई चकित पारिदिएकी थिइन्।

अनि गुरामाको यो व्यवहार नयाँ हैन। कुनै पनि कुरामा पछि नसर्ने गुरामाले सधैँभरि युवाहरूलाई जोश प्रदान गरिन्।  नेपाली साहित्य अध्ययन समितिमा धेरै कालसम्म अध्यक्षको पद सम्हालेर बित्नुहुने आफ्ना पति स्व. भाइचन्द प्रधानको नाउँमा पुरस्कार सुरू गरिदिएर गुरामाले यौटा उदाहरण नै प्रस्तुत गरेकी थिइन्। भाइचन्द प्रधानअघि पनि धेरै दिवङ्गत भए। कतिका आमा, कतिका बाबु तर यसरी दिवङ्गत आत्मालाई चिरस्मरणीय बनाउँदै साहित्यकै उन्नति पनि गर्ने लक्ष्यले भने सायदै कसैले श्रद्धाञ्जली चढ़ाए।

भर्खरै गुरामाको निधन भयो। धेरैजनाले यस घटनालाई आआफ्नै प्रकारले ग्रहण गरेर गुरामासितको संसर्गलाई सामाजिक माध्यमहरूद्वारा खुलाए। सिक्किम विश्वविद्यालयकी डा. कविता लामाले ‘गुरामाले मलाई छोरीजस्तै गर्थिन्’ भनेर दिवङ्गत आत्माको स्मरण गरिन्। मलाई अचम्म लाग्यो गुरामाले त चरित्र प्रकाशनमा तालिम लिने दुइ केटीहरू (नीति तामाङ – जो अहिले दुबईमा एयर होस्टेस छिन्) र स्मृति छेत्री (हाल टिस्टाभ्याल्ली) -लाई पो छोरीजस्तै गर्थिन् त। त्यसपछि मलाई लाग्यो गुरामाले कसैलाई लाखापाखा गर्दिन थिइन्। मनोज बोगटीले पनि त्यस्तै कुरा राखे – ‘मलाई छोराजस्तै गर्थिन्’ भन्ने। त्यसपछि खुतुखुतु खोतलेँ मैले – गुरामाले त खड़क छेत्री (पत्रकार) -लाई पनि छोरा नै गन्थिन्, मेरो छोरो नमनलाई पनि अघोरै माया गर्थिन्, असीम सागरले सुरुआती दौरमा सङ्घर्ष गर्दा गुरामाले गरेको सहयोग छोरालाई भन्दा कम थिएन। यसै प्रसङ्गमा मलाई याद आयो – बसिबियाँलो -को यौटा प्रकरण आयोजना गर्न हामी चारधाम, नाम्ची पुगेका थियौँ। त्यतिखेर घरपट्टि (कार्यक्रम आयोजक) नै गायब भइदिएर हाम्रो बिल्लिबाठ भएको थियो। चारधाम मन्दिर परिसरभित्र त हामी पस्यौँ तर कार्यक्रम आयोजना गर्ने अनुमतिको अभावमा केही बेर अलमल्ल पऱ्यौँ। त्यतिखेर हामी मन्दिर परिसरतिर घुम्न थाल्यौँ सबैजना। तर गुरामा त छैनन्। यताउति हेरेको गुरामा र विन्द्या सुब्बा दिदी त घमाइलो दिनमा मज्जाले भुइँमा पलैँटी कसेर हरियो चौरमा बसी मस्तसित गफ गरिरहेको टाढ़ाबाट देखेँ। दुइ नारी स्रष्टाहरूमाझ के कुरा भइरहेथ्यो कुन्नि तर मलाई त्यतिखेर दुइजना आमाछोरी धेरै दिनपछि भेट भएर कुनै घरेलु बातचित पो भइरहेको थियो कि जस्तो लागेको थियो।

तात्पर्य के भने गुरामाले हरेकलाई आफ्नो घरका छोराछोरीजस्तै सम्झेर वात्सल्य प्रेम दिएकी रहिछन्। आज जो पनि गुरामाको कुरा गर्छन् उनीहरू भन्छन् ‘मलाई छोराजस्तै गर्थिन्, मलाई छोरीजस्तै गर्थिन्।’ अरू साथीभाइहरूले गुरामाबाट पाएको माया-ममताको सामु मैले अलिक धेर पाएको थिएँ कि भनेर नाक घोक्र्याउनु त्यत्ति नै स्नेह बटुलेको कुरा फेरि अर्कोले गरेको टिप्पणीबाट बुझ्नसकिन्छ। यौटा गीतको याद आउँछ यतिखेर – ‘मैं तुमसे इतना प्यार करता हूँ, जितना तू नहीं करती, तुम मुझसे इतना प्यार करती हो जितना मैं नहीं करता।’

नेपाली साहित्य संसारकै आमा हुन् सानुमति गुरामा। हामीले उनलाई बसिबियाँलोको 100 -औँ प्रकरणमा गाउँबुढ़ाको उपाधिले सम्मानित गर्ने निधो गऱ्यौँ। बसिबियाँलो -को लामु यात्रामा पहिलोपल्ट कुनै एक नारी स्रष्टालाई यो सम्मानले विभूषित गर्न गइरहेको हुँदा ‘महिलालाई प्रदान गर्ने उपाधि गाउँबुढ़ा कसरी हुन्छ?’ भन्ने प्रश्न उठ्यो। साथीभाइलाई धेरै सम्झाउने प्रयास गर्नुपऱ्यो तर मानेनन्। त्यतिखेरकी राष्ट्रपतिको उदाहरण दिँदै मैले ‘श्रीमती प्रतिभा पाटिल भारतकी राष्ट्रपति हुन् कि हैनन्?’ भनेर सोद्धा सबैले ‘हुन्’ भने। तरै पनि एकपल्ट सम्मानित व्यक्तित्वको मनसाय बुझेर मात्रै उपाधिको नाउँ तय गर्नुपर्छ भन्ने राय सबैले व्यक्त गरे। उसै पनि गुरामालाई औपचारिक रुपमा पूर्वसूचना दिन अनि कार्यक्रममा सम्मानित व्यक्तित्वको रुपमा उपस्थित भइदिने आग्रह गर्नलाई उहाँको निवासमा जानैपर्ने हुनाले दुइचार दिनमा हामी धर्मोदय पुग्यौँ। गुरामालाई यो सन्देश दियौँ। ‘पर्दैन, मलाई किन यस्तो गरेको, म त घरकै मान्छे हुँ, तिमीहरूले यसरी सम्मानित गरेर मलाई बसिबियाँलो-बाट टाढ़ो राख्न खोजेको?’ भनेर हकारिन् हामीलाई अनि अन्त्यमा हाम्रो अनुरोधलाई सहर्ष स्वीकार गरिन्। त्यसपछि हामीले उपाधिको नाउँ गाउँबुढ़ामाथि कुनै आपत्ती छ कि भनेर प्रश्न गऱ्यौँ। वैयाकरण स्व. भाइचन्द प्रधानकी धर्मपत्नी सानुमति गुरामाले ‘केको आपत्ती? यत्ति राम्रो नाउँ। आफ्नो नेपालीपन भएको नाउँ। स्त्री र पुरुष छुट्याउने युग गयो अब। लेखक भनेपछि केटाकेटी दुवै बुझिन्छ आजकल। त्यस्तै हो यो पनि। फेरि यस्तो सानुसानु कुरामा अल्झिनु हुँदैन हामी। थुप्रो काम गर्नुछ हामीले। तिमीहरूले जत्ति गर्दैछौ, धेरै गर्दैछौ। मलाई त बसिबियाँलो -को कुनै पनि कार्यक्रममा नछुट्याउनू है’ भनेर हाम्रो ऊर्जा अझै दोब्बर पारिदिइन्।

अस्सी वर्ष पार गरेकी गुरामा हामीसित देउसी खेल्थिन्। राती मात्रै आयोजना हुने यो सामूहिक देउसीमा 10-11 बजी पनि मञ्चमा चढ़ेर अरू युवा भाइबहिनीहरूसित ताली मार्दै ‘सबै नै जागौँ, सबैलाई जगाऔँ’ भन्दै गीत गाएर गुरामाले सबै देउसेहरूमा उत्साह जगाइदिन्थिन्। पेदोङमा आयोजित देउसीबाट घर कालेबुङ फर्किँदा हामीलाई धेरै ढिलो भइसकेको थियो। मध्य रात्रीको समयमा सबैजना गाड़ीभित्र निदाइसकेका थिए तर गुरामा भने जागै थिइन्।

खास कुरा मुम्बईको बसिबियाँलो -को हुँदैथ्यो तर विषय भँगालियो। नभँगालियोस् पनि किन… गुरामासितका संस्मरणहरू यति धेरै छन् अनि यति रमाइला र अविस्मरणी छन् कि त्यसको मात्रै एक अलग सँगालो तयार गर्नसकिन्छ।

मुम्बईको बसिबियाँलो -मा भाग लिनचाहनेहरूको सङ्ख्या तब मात्र बढ़्न थाल्यो जब गुरामाले आफ्नो नाउँ एक नम्बरमा लेखाइन्। त्यसपछि त फेसबुकको माध्यमबाट पनि पञ्जीकरण आउनथाल्यो। डा. कविता लामाले यसरी नै अनलाइन नाउँ दर्ता गराइन्। त्यसपछि मुम्बईमा कार्यक्रमको आयोजनाका लागि हाम्रो सम्पर्क सुनाखरी महिला समितिका दिदीबैनीहरूसित हुनथाल्यो। उनीहरूबाट सकारात्मक प्रतिक्रिया पाउनथालेपछि बातचित लगातार चलिरह्यो। इमेल, फेसबुकजस्ता उपलब्ध संसाधनहरूको प्रयोग गर्दै तयारी गर्नथाल्यौँ। मुम्बई बसिबियाँलो-मा हामीलाई गोर्खा मेलाको पनि आयोजना गर्नुथियो। यसैले तयारी युद्धस्तरमा चालु भयो। घरिघरि भेटघाट र सभाहरू भइबसे।

यस्तै सभाहरूमा एकमा कुरा उठ्यो – जनवरी महिनामा मुम्बईमा खुब जाड़ो हुन्छ भन्ने। हाम्रो कार्यक्रमको तारिख तय भएथ्यो माघे सङ्क्रान्तिको दिन। 10 जनवरीका दिन हामी बिहान 1 बजी नयाँ जलपाइगुड़ीबाट रेल चढ़्नुपर्ने। मदेशको इलाकामा बिहान 1 बजी रेल चढ़्नलाई हामी 12 बजी स्टेसन पुग्नुपर्ने भयो। यसका लागि हामीलाई  9 तारिककै दिन मदेश झर्नुपर्ने भयो। बरू केही बेरअगावै पुगेर प्रणामी मन्दिरमा आराम गर्ने योजना हुनथाल्यो। मन्दिरबाट 11 बजीतिर निस्कने तय भयो। त्यतिखेर कत्ति चिसो हुन्छ होला भनेर सबैजना आत्तिन थाले। त्यसपछि फेरि आसामबाट आएको रेलमा राती 1 बजी चढ़्दा अन्य यात्रीहरू त मस्त निद्रामा रहेका हुनेछन्। उनीहरूको निद्रा खज्मज्याउनु भएन। हाम्रो टोलीमा 45-46 -जना थिए। कोही रेलको अनुहारै नदेखेका, कोही उमेरले धेरै सानासाना, कोही बुढ़ापाका। त्यसमाथि गोर्खा मेलाका लागि झन्नै 50 वटाभन्दा धेर पोकापत्यौराहरू आफुसित मुम्बई लानुपर्ने। ती पोकाहरूमा कोही फुट्ने, कोही गन्हाउने सामानहरू पनि रहने हुनाले खुबै जिम्मावारीसित सम्हाल्नुपर्ने भयो। यस्तो अवस्थामा यदि कोही सहभागी बिमार भइदिए के गर्ने त भन्ने चिन्ता भयो। यस्तैमा एकजनाले प्वाक्क भने, ‘सानुमति गुरामा जान सक्नुहुन्छ के?’

प्रश्न खुबै व्यावहारिक थियो। गुरामा उसै पनि उमेर धेरै खाएकी व्यक्ति। रातब्यालको कुरो हो। यदि रेल ढिलो भएर कुर्नुपर्ने भयो र स्टेसनको भुइँतिर सुताइ भयो भने गुरामालाई कसले सम्हाल्ने? रेल आएर चढ़्ने बेलामा आफुलाई सम्हाल्नु कि सरसामान हेर्नु कि बुढ़ापाकाको देखभाल गर्नु भन्ने प्रश्नहरू उठ्न थाले। विषय खुबै गम्भीर देखियो। चार महिनाअघि गुरामाको कारण नै सबैमा उत्साह र जोश भरिएको थियो अहिले आएर गुरामालाई मुम्बई लैजान सकिन्छ के भन्ने कुरो पो उठ्नथाल्यो। हामी सबै धर्मसङ्कटमा पऱ्यौँ। गुरामाकै आँट र उत्साह  नै हामीलाई मुम्बईको बसिबियाँलो आयोजना गर्नुको इन्जिन थियो। सल्लाह के भयो भने गुरामाको परिवारबाट पनि कसैलाई साथी लिएर जाने अनि यस विषयमा परिवारका सदस्यहरूसित बातचित गर्ने।

हामीले गुरामाका ठुला छोरा सञ्जय प्रधानसित बात गऱ्यौँ। दाजुले भन्नुभयो, ‘हामीले त मुमालाई भनेको नि नजानू भनेर मानेकै छैनन्। खै के गर्नु, अब घरबाट त कोही जान पाउने खालको छैन…..’

त्यसपछि गुरामाका ज्वाइँ टाशी छिरिङ भोटियालाई गुरामालाई सम्झाइदिने कुरा गऱ्यौँ। केही सकारात्मक र ठोस काम हुनसकेन। घरपरिवारकाहरूले चाहिँ गुरामालाई भन्नचाहिँ भनेछन् – ‘रेलमा दुक्ख पाउनसकिन्छ, उता पुगेर रहनुबस्नुमा तकलिफ हुनसक्छ, बाटामा बिमार हुनसक्छ’ इत्यादि।

दिनदिनै हाम्रो मुम्बई प्रस्थान गर्ने दिन नजिकिन थाल्यो तर गुरामाको विषयमा अझ पनि धुकचुक नै भइरहेथ्यो। यस्तैमा एक सभामा हामीले निर्णय गऱ्यौँ आफै गएर गुरामालाई सम्झाउने। यसरी हामी एक टोली गुरामाकहाँ जाने तयार भयौँ। विडम्बना कस्तो भने निमन्त्रणा गर्नुको साटो ‘तपाईँ नआइदिनु होस्’ भन्नका लागि हाम्रो टोली गुरामाको निवासतिर लागिरहेथ्यो। अर्को शब्दमा भन्नु हो भने ‘तपाईँ हाम्रो टोलीमा पगितो हुनुभयो, फाल्तु हुनुभयो, अनावश्यक हुनुभयो, नचाहिने हुनुभयो’ भन्ने कुरा हामीले मिठो भाषामा भन्नुपर्ने भयो। कुन हृदयले भन्नसक्थ्यो होला यस्तो कुरा? कुन मुखले आँट गर्थ्यो होला यो कुरा गुरामालाई भन्न?  आफ्नो घरको बराम्दामा घाम ताप्दै बसिरहेकी गुरामाले हामीलाई स्वागत गरिन् र भित्री कोठामा हुलिन्। बातचित सुरू गर्ने क्रममा मनमा खिन्नता र डर बोकेर हामीले भन्यौँ, ‘गुरामा, यौटा कुरा भन्न आएको हामी….’

गुरामाले हाँस्दै आफ्नो थोते दाँत देखाइन् अनि भनिन्, ‘मलाई थाहा छ।  म जान्नँ।’

गुरामाले आफै भन्दैगइन्, ‘मजस्तो मान्छे गएर त्यो कार्यक्रममा के हुन्छ। त्यहाँ त तिमीहरूजस्ता होनहार युवाहरूको जरुरत छ। नेपाली भाषा, साहित्यको प्रचार-प्रसार गर्ने काममा तिमीहरूजस्ता ऊर्जावान् युवाहरू चाहिन्छ। म त रोगी मान्छे। बाटामा केही भइहाल्यो भने मलाई स्याहार्छौ कि कार्यक्रमको आयोजना गर्छौ…? म एकजनाले गर्दा सम्पूर्ण कार्यक्रम नै नष्ट हुन बेर छैन।’

गुरामाको मुखबाट यो कुरा सुनेर हामी त छाँगाबाट खसेजस्तो झऱ्यौँ। एकातिर चार महिनाअघिको पैलो सभामा कोही पनि नाउँ दर्ता गराउन तयार नरहेको बेला अघि सरेर आउने गुरामा अनि अर्कातिर उनकै सिको गरेर जाँगर चलाइपठाउने अन्य युवक-युवती र आधाबैँसेहरू। तर आज पछिल्लो टोलीमा उत्साह धेर, गुरामामा कम।

हामीले सोध्यौँ, ‘अनि गुरामा अस्ति सबैभन्दा पहिला नाउँ त तपाईँले लेखाउनुभएको थियो त?’

यो सुनेर गुरामा एकपल्ट मुसुक्क हाँसिन् त्यसरी नै जसरी हामी कहानीतिर पढ़ेर अनुभव गर्छौँ नि कुनै दिव्यपुरुष आफ्ना शिष्यहरूसामु रहस्योद्घाटन गर्दा हाँसेको। भनिन्, ‘यति राम्रो कार्यक्रम गर्ने सोच्यौ तिमीहरूले। कालेबुङको कार्यक्रम बम्बईजस्तो ठाउँमा पुऱ्याउने सोच राख्यौ। यहाँको सिर्जनालाई बाहिर पुऱ्याउने योजना सोच्यौ तर प्रेक्टिकलमा गर्ने बेलामा चाहिँ नाम दिन सबैजना पछि पऱ्यौ। थुप्रै बहाना बनायौ। यसैले मैले सोचे मेरो नाउँ दिए भने अरूले पनि दिन्छन् होला भनेर अनि दिएँ। त्यस्तै भयो….। भन्दा पनि ऐलेसम्म कतिजना भइसक्यो?’ भनेर गुरामाले कुरालाई टार्न खोजिन्। हामीले ‘पच्चास पुग्छ होला गुरामा’ भनेपछि दिव्य हाँसो हाँसेर गुरामा खुसी भइन् अनि भनिन्, ‘मेरो आशीर्वाद छ। राम्रोसित गर्नू। लड़ाइँ-झगड़ा नगर्नू। एक भएर जानू। ठुलो जिम्मावारी शिरमा लिएर जाँदैछौ सार्थक भएर फर्किनू। मैले दिएको रेलको भाड़ाको पैसा पनि फन्डमा नै चलाउनू…। पैसा नपुगेर जान नपाएको कोही छ भने मलाई भन्नू म सघाइदिन्छु…….।’

यसरी इन्जिनबिना चलेको थियो मुम्बई बसिबियाँलो -को रेल। आज सम्पूर्ण नेपाली साहित्य संसार इन्जिनविहीन बनेको छ।

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares