You are here

भुइँकुरा

प्रवीण खालिङ


लामो समयदेखि विवादै विवादमा रहेको रूम्तेक धर्मचक्र परिसरमा चाना, बदाम र झालमुरी बेच्ने मुख्तार भाइले हातमा एक मुट्ठी चना र बदाम राखे पछि ‘ओम आँ हुँ बज्र गुरू पेमा सिद्धे हुँ’ गुनगुनाउँदै सड़क तल्तिरको टीनको छानोमा घाम तापिरहेको एक हुल परेवा सानो हातमा बसेर चना र बदाम ठुग्न आइपुग्छ।

लामाहरूको रातो रङ र बर्खा लाग्न अघि नै पानी परिदिएपछि पुनःजिवीत बनेको हरियो दुवोसितको कलर कम्बीनेशनलाई खिचिरहेको हिमालको ध्यान परेवा र मुख्तार भाइको हातमा अडिन्छ। क्यामेराको फोकस मुख्तारको दाहिने हात र औलीहरूमा अडिने प्रयास गर्दै बदामको दाना टिपिरहेको त्यो परेवामा परेपछि खिचिएको खिट्टिक्क आवाजसितै शान्तिको चित्र तयार भएको आभास हुन्छ।

यतिबेला रातो पोशाकमा बुद्धत्व भाकिबस्ने लामाहरूको एकहुल छेवैबाट हिँड्दा परेवा र मुख्तार भाइको खेल रोकिन्छ।

हिमालले रातो रङ र हरियो दुबोको सुन्दरतालाई क्लिक गर्न तिरै मन दिन्छ।

बुद्धको घरमा आउनेहरूलाई बदाम,झालमुरी र भुटेको चाना बेचेरै पनि प्रत्येक शुक्रबार मस्दिजमा सेतो टोपी लगाएर अल्लाहलाई भेट्न भुल्दैन मुख्तार।

यसैगरी शान्ति भाकेर उभिएको गुम्पाको गुम्बज र फरफराउने लुङ्दरको छायामा मोहम्मदले बन्दुक भिरेर पर्यटकहरूलाई फोटो खिच्न बर्जित ठाउँहरूमा क्यामेर अन गर्न नदिएर बुद्धत्व र त्यसको महत्व जोगाइरहेको देख्दा बामियाणमा ढालिएको बुद्धहरू यहाँ बौरिन्छ।

यतिखेर विश्व कविता दिवसको दिन  विश्वभरिका कविहरूलाई समर्पित गर्दै लेखेको बर्ल्ड पोइट्री डे 2012 कविताको मन परेको पङ्क्ति सम्झन्छु जहाँ शान्तिबारे कुरा गरिएको छ।

विश्वलाई चाँडै शान्ति चाहिएको छ,

शान्ति एकदमै जरूरी छ,

चलायमान युद्धले शान्ति आँउदैन,

शान्ति ठूलै प्रयासपछि जन्मन्छ

-भन्ने डॉ. जोहन सिलको कविताको भावलाई सायदै मुख्तार, मोहम्मदले गरेको प्रयास मान्नु पर्छ कि। शान्ति परेवा बनेर मुख्तारको हातको बदाम टिप्न आइपुग्छ।

अल्लाहको छोरो बुद्धको सुरक्षामा लुङ्दरको छायामा टनटलापुर घाममा  बन्दुक भिरेर पर्यटकहरूमाथि दृष्टि दिइरहेको बेला सायद बुद्धले भन्दो हो,- तिमीले आफैलाई जीत, त्यो हजारौं युद्ध जित्नु भन्दा ठूलो जीत हो, त्यो जीत तिम्रै हुनेछ, त्यसले तिमीबाट केही लिँदैन न त परीबाट लिन्छ न त दानवबाट लिन्छ, न स्वर्ग र नर्कबाटै लिइन्छ।

हो त जित त आफ्नै हुनु पऱ्यो नी। रेसको घोड़ा जस्तो अरूले लगाएको बाजी जितिदिनको निम्ति कति कुद्ने।

विश्व कविता दिवसको दिन 21 मार्चको दिन कवि मनोजले दिल्लीमा हुँदा फोनमा कविता दिवसको बारेमा प्रतिक्रिया मागेका थिए। त्यो दिनभरि रेलको यात्रामा थाकेको भए पनि जैसलमेयरको सेण्ड ड्युसमा बनिएको ओएसिस रेस्टराँमा पलेटी मारेर सुनेको ‘पधारो म्हारो देश’ बोलको गीतको सम्झना सुनाएको थिएँ।

नोम्याडहरूले देखाएको लोक नित्य नै कवितामय भएको कुरा दोह्रोऱ्याइ दिएको थिएँ। लोक सङ्गीतमा कस्तो कविताको मह लुकेको हुन्छ त्यो ओएसिस रेस्तराँको साँझले व्यक्त गरिदिएको थियो।

कसरी सम्मोहन जस्तो भएर हात खुट्टा आफै शब्द नबुझ्ने त्यो लोकगीतमा नाचेको थियो अहिले सम्झँदा कविताको शान्ति र मोक्षको नजिक रहेछ त्यो लोक गीत र नृत्य।

शान्ति उड्ने त्यो परेवाहरू कति भाग्यशाली छन् जसले दैनिक अल्लाहको नाम जप्ने मुख्तारको हातबाट बदाम र चना खान्छ। बुद्धत्व भाक्ने लामाहरू मुख्तार भाइले बनाएको झालमुरी खाएर फ्रेस हुन्छ। प्रतिबन्धित क्षेत्रमा फोटो खिच्न मनाही छ बन्दै मोहम्मदले बन्दुक भिरेर पर्यटकहरूलाई बुद्धको पवित्रता जोगाइ राख्छ। कञ्चनजङ्घा शीरमा राखेर बुद्धले यहाँ शान्ति बाँचेको हुन्छ।

आफ्नो जीवनकालमा एउटै मात्र चित्र बेच्न सकेका डच कलाकार भिन्सेन्ट विलियम वान गोफले तारामय रात शिर्षकको चर्चित चित्र कोर्न सक्दा बुद्धको शान्ति पनि कोर्थे होला। ओभर सुरबाजको कुना बघैंचाहरूमा घुमिहिँड्ने ती वानगोफ निश्चय नै शान्ति र बुद्ध शिर्षकमा चित्र कोर्न पछि हट्दैन थिए।

सोनामलाई भेट्न हिमाल प्रत्येकपल्ट गुम्पा पुग्छ। उ हो त नी सोनामले घुमाएको प्रे ह्वीलमा छोड़िका स्पर्शहरू समेट्ने प्रयास गर्दैछ हिमाल। साँच्चै प्रेममय स्पर्शहरू पनि क्यामेरामा उतार्न सकिने भए त्यो भन्दा ठूलो मास्टपीस के हुने थियो होला।  क्यामेराले उतार्न नसकेको सोनामले प्रेह्वील घुमाउँदा छोडिराखेको स्पर्श छुने प्रयास गर्छ हिमाल।

गाउँमा कुनै काम लिएर जान पर्दा पनि सोनाम ध्यानमग्न प्रार्थना चक्रहरूलाई छोइदिएर बिउँझाइ राखेर पर जान्छे।  अहिले अकाशे रङको बख्खु लगाएर निस्किएकी सोनामको माया उतार्ने प्रयास गर्दैछ हिमाल। मुख्तार भाइ आलु र पियाज काटेर बट्टामा मुरइ फिट्दैछ। परेवाको बथानलाई हातको मुट्ठी बनाएर मुख्तारको एक्टिङ गर्दैछु ओम आँ हुँ बज्र गुरू पेमा सिद्धे हुँ भन्दै घाम तापिरहेका परेवाको बथान मेरो नजिक आइपुग्छ।

एक हुल विदेशी पर्यटक छेवैबाट पार हुन लाग्दा परेवा उडेर आकाशै ढाक्यो। परेवासितै विश्व शान्ति उडेर गएको छ।  साम्राज्यवादको आतेसमा परेको बथान फर्केर आउला कि नआउला पर्खिरहेछु।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares