You are here

पुलिसले निकाल्यो जनतासित झ्यामिने उपाय

दार्जीलिङ, 11 जनवरी।


जनताको नजिक पुग्न अनि जनतासित मैत्रीपूर्ण सम्बन्ध कायम गर्न दार्जीलिङ पुलिसले आफ्नो सक्रियता गतिलैसित बढ़ायो। एकतर्फ पुलिसले पहाड़का विभिन्न स्थानहरूमा फूटबल प्रतियोगिताहरूको आयोजना गरेर जनताको नजिक पुग्ने अनि उनीहरूसित असल सम्बन्ध कायम गर्ने  प्रयास गरिरहेको छ भने यसै क्रममा आज दार्जीलिङ ट्राफिक पुलिसले    ट्राफिक सुरक्षा सप्ताह शुरू गऱ्यो।

यसरीनै भोलि दार्जीलिङ पुलिसको आयोजनामा हाल्फ म्याराथान हुने निश्‍चित भएको छ। यसबाहेक भोलिदेखिनै पश्‍चिम बंगाल सरकारको दिशानिर्देश अनि सूचना एवं संस्कृति विभागको आयोजनामा यहाँको चौरास्तामा उत्तर बंग उत्सव पनि शुरू हुने भएको छ। यी सम्पूर्ण विषयहरूबाट दार्जीलिङ पुलिस र राज्य सरकारले दार्जीलिङ पहाड़लाई उत्सवमय बनाउने प्रयास गरिरहेको स्पष्ट भएको छ।

गोर्खाल्यान्ड आन्दोलनको कारण 104 दिनसम्म अचल बनेको दार्जीलिङ पहाड़लाई पूर्णरूपले सामान्य पार्नको लागिनै दार्जीलिङ पुलिसले यहाँ विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको छ। जसअन्तर्गत आजदेखि यहाँ ट्राफिक सुरक्षा सप्ताह शुरू भएको छ। यस अवसरमा यहाँको ट्राफिक कार्यालयअघिबाट र्यालीको पनि आयोजना गरिएको थियो। जसमा दार्जीलिङ पुलिस, चालकवर्गका साथै स्थानीय केही नागरिकहरूको सहभागिता रहेको थियो। यसबारे दार्जीलिङ ट्राफिक पुलिसले गाड़ी चालकहरूलाई गाड़ी चलाएको समय मोबाइल फोनमा बात गर्न नहुने, गाड़ीमा आवश्यकताभन्दा अधिक सामान अनि यात्री बोक्न नहुने आह्वान गर्यो।

दार्जीलिङ सदर ट्राफिक कार्यालयअघिबाट शुरू भएको र्यालीले शहरका विभिन्न स्थानहरूको परिक्रमा गर्दै चौरास्ता पुगेर समापन गरेको थियो। यसै कार्यक्रमलाई सम्बोधन गर्दै दार्जीलिङका पुलिस अधीक्षक अखिलेश चतुर्वेदीले यस कार्यक्रममार्फत सड़क दुर्घट्ना कम्ति गर्न प्रयास गरिने बताए। उनले यसै कार्यक्रममार्फत जनतालाई ट्राफिकका नियमहरूबारे पनि जानकारी गराउने योजना बनाएको पनि बताए। यसबाहेक गत 8 जनवरीको दिन शुरू भएको उत्तर बंग उत्सवको एकांशस्वरूप दार्जीलिङमा भोलि 12 र 13 जनवरीका दिन सांगीतिक कार्यक्रमहरूको आयोजना गरिने भएको छ। यस अवसरमा भोलि बिहान 11 बजी यहाँको रेलवे स्टेशन परिसरबाट एक सांस्कृतिक र्याली पनि निकालिने भएको छ। स्मरण गराइन्छ, राज्यको उत्तर बंगाल विकास विभागले 7 वर्षदेखि लगातार उत्तर बंगालका 8 वटा जिल्लामा उत्तर बंग उत्सवको आयोजना गरिरहेको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares