बनियो जीटीए स्पोर्टस् काउन्सिल

खरसाङ, ११ जनवरी


जीटीए क्षेत्रमा खेलकूदलाई बढावा दिन अनि यहाँबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरू निकाल्न  जीटीए स्तरीय खेलकुद स्पोर्टस् काउन्सिलको गठन गरिएको छ। बिहिबार खरसाङको एउटा होटलमा खरसाङ गोर्खा पार्वत्य खेलकूद सङ्घको आयोजनामा जीटीए क्षेत्रमा रहेका विभिन्न खेलकुद सङ्घहरु, वरिष्ठ खेलाडीहरुलाई लिएर सभा सम्पन्न भयो।

उक्त सभा खरसाङ गोर्खा पार्वत्य खेलकूद सङ्घको सभापति मोहन योञ्जनको अध्यक्षता र महासचिव निर्मल गुरुङको सञ्चालनमा सम्पन्न भयो। सभामा दार्जीलिङ, कालेबुङ, खरसाङ, मिरिक क्षेत्रमा रहेका विभिन्न खेलकुद सङ्घहरुका प्रतिनिधिवर्ग अनि विभिन्न खेलका वरिष्ठ खेलाडीहरु उपस्थित थिए।

काउन्सिलले जीटीएको खेलकुद विभागसित सम्बद्ध रहेर विभिन्न खेलकुदहरुको आयोजना, खेलको विकास, खेलकूदको लागि बुनियादी ढाँचा निर्माण गर्नतथा खेलाडीहरूलाई प्रोत्साहन गर्ने काम गर्ने भएको छ। सभामा लामो चर्चा परिचर्चा भएपछि जीटीए स्तरीय अस्थायी कमिटीको गठन गरिएको छ। यस कमिटीमा मुख्य संयोजक दिव्यतम अधिकारी, सभापति एसएम लेप्चा (दार्जीलिङ), उप सभापति प्रेमकुमार छेत्री (मिरिक) र रोहिण लेप्चा (कालेबुङ) महासचिव निर्मल गुरुङ (खरसाङ), सहसचिव शान्ति मोथे र प्रणय गुरुङ (दार्जीलिङ), कोषाध्यक्ष फुर्बा घिसिङ (खरसाङ), सह-कोषाध्यक्ष ऋषि योञ्जन र भरत रेग्मी (दार्जीलिङ), सल्लाहकारमा वाङ्देन लामा (दार्जीलिङ), श्याम लामा (कालेबुङ), मोहन योञ्जन (खरसाङ), केसाङ लामा (मिरिक) चयन भएका छन्।

यस कमिटीलाई भविष्यमा जीटीएको खेलकुद विभागले अनुमोदन गरे स्थायी रूपमा यही कमिटी रहने नत्र भविष्यमा फेरबदल हुन सक्ने सम्भावना रहेको सचिव निर्मल गुरुङले बताए। यस जीटीए स्तरीय अस्थायी जीटीए स्पोर्टस् काउन्सिलले भविष्यमा सुकना, गोरुबथान, सुकेपोखरी लगायत अन्य स-साना क्षेत्रहरुलाई पनि समावेस गरेर लाने पनि तिनले बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares