फेरि अनिश र कान्छीमाया नै च्याम्पियन

अनिश 3 वर्ष र कान्छीमाया 2 वर्षदेखि प्रथम
दार्जीलिङ, 12 जनवरी।


नेपालमा जन्मेर शिलाङमा कार्यरत रहेका अनिश थापा अनि नेपालकी बासिन्दा कान्छीमाया कोजुलेनै यसपाली पनि दार्जीलिङको दौड़ प्रतियोगितामा बाजी मारे। अनिश थापा 2015-देखि लगातार प्रथम बन्दै आइरहेका छन् भने कान्छीमाया कोजुले पनि गत वर्षदेखि अन्य धावकहरूलाई आफूभन्दा अघि आउनै दिएकी छैनन्।
युवाहरूका लागि जोश, वृद्धहरुका लागि उत्साह, पिएर छोड़्नेहरुका लागि मार्गदर्शन अनि दार्जीलिङको लागि रौनकता बनिरहेको वार्षिक खेलको रूपमा आयोजना हुने एमवे दार्जीलिङ पुलिस म्याराथानको सातौं वर्ष यसपाली पनि देश-विदेशका सयौं धावकहरूले भाग लिएका थिए, जसमा अनिश थापा र कान्छीमाया कोजु पुरूष र महिला वर्गमा प्रथम भए।
दार्जीलिङ पुलिसको तत्वावधानमा स्थानीय सुकेपोखरीबाट दार्जीलिङको चौरास्तासम्म मोठ 21 किलोमिटरको यो दौड़ प्रतियोगिता बिस्तारै प्रसिद्ध बन्दै गइरहेको छ, यसैले यसपालीको यस दौड़ प्रतियोगिता इथोपिया, केन्याका धावकहरूले पनि भाग लिएका थिए, जसमध्ये इथोपिया निवासी मियास येमताले पुरूष वर्गमा दोस्रो स्थानमा आएर सन्तोष माने। पुरूष वर्गमा प्रथम अनिश थापा भए भने दोस्रो मियास येमता र तेस्रो हैदरावाद निवासी आरी सिंह बने।
यसरीनै महिला वर्गको यस दौड़ प्रतियोगितामा क्रमैले प्रथम कान्छीमाया कोजु, दोस्रो मनिका चौधरी (लखनउ) र तेस्रो दिल्लीकी सीमा भइन्। दार्जीलिङ पहाड़का सम्पूर्ण युवती मात्रै होइन, युवावर्गको लागि पनि हौसला बनेर आएकी कान्छीमाया कोजुले 21 किलोमिटरको दूरी केवल 1 घण्टा 22 मिनट 49 सेकेण्डमा पूर्ण गरेकी थिइन् भने युवावर्गमा प्रथम हुने अनिश थापाले 1 घण्टा 9 मिनट 25 सेकेण्डमा यो दूरी पूर्ण गरेका थिए।
अनिश थापा 2015 र 2017-मा भएका एमवे दार्जीलिङ पुलिस म्याराथान प्रतियोगितामा पनि प्रथमनै भएका थिए। शिलाङमा गोर्खा टे्रनिङ सेन्टरमा कार्यरत अनिश थापाले देशका विभिन्न स्थानहरुमा भएका दौड़ प्रतियोगिताहरुमा पनि भाग लिएर धेरैवटा प्रथम, दोस्रो पुरस्कारहरु प्राप्त गरिसकेका छन्। कान्छीमाया कोजुसित सोध्दा उनले यसपाली दार्जीलिङको मौसम अतिनै सुन्दर रहेको बताउँदै यस्तो घमाइलो मौसम भएको कारण आज कुद्न पनि धेरै सजिलो भएको बताइन्।
गत वर्ष आजको दिन धेरै चिसो थियो, जसले गर्दा गत वर्ष कुद्न धेरै गाह्रो परेको थियो। स्मरण गराइन्छ, राज्य सरकारको दिशानिर्देशमानै दार्जीलिङ पुलिसले विगत 7 वर्षदेखि लगातार यहाँ एमवे दार्जीलिङ पुलिस म्याराथानको आयोजना गर्दै आइरहेको छ, जसमा भाग लिनेहरूको संख्या वर्षेनी वृद्धि भइरहेको छ। यसै दौड़ प्रतियोगितामा भाग लिन 5 वर्षदेखि आइरहेका न्यूजील्यान्ड निवासी एन्ड्रयू ब्रोड्लीले भने-5 वर्षअघि दार्जीलिङ आउँदा यहाँ पुलिसले दौड़ प्रतियोगिताको आयोजना गरेको थाह पाएँ, यसैले मैले त्यस वर्षदेखि लगातार यस प्रतियोगितामा भाग लिइरहेको छु। यसपाली पनि म यस दौड़ प्रतियोगितामा भाग लिनको लागि मात्रै दार्जीलिङ आएको हो। स्वामी विवेकानन्दको जन्म जयन्तीको अवसर पारेर आयोजना गरिने यस दौड़ प्रतियोगिताबीचै आज यहाँको रेलवे स्टेशन परिसरबाट सांस्कृतिक र्यालीको पनि आयोजना गरिएको थियो। आजको यस दौड़ प्रतियोगितालाई अझै रोचक बनाउनको लागि यहाँको चौरास्तामा सांगीतिक एवं सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो, जसमा स्थानीय कलाकारहरूले गीत, नृत्य प्रस्तुत गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares