अनित थापाले लगाए विमल गुरूङलाई आरोप: भने- जङ्गलमा दुःख, यातना भोगिरहेको अफवाह फैलाएर दिल्लीमा मोजमस्ती गरिरहेका छन्

दार्जीलिङ, 12 जनवरी।


हिजो अचानक विमल गुरूङले बङ्गालसित कुराकानी गर्न आफू इच्छुक रहेको भन्दै सार्वजनिक मन्तव्य गरेपछि गोर्खा जनमुक्ति मोर्चाका सचिव अनित थापाले विज्ञप्ति जारी गर्दै विमल गुरूङको बुद्धिको विर्को ढिलो खोलिएको आरोप लगाएका छन्।

‘भारतको सङ्घीय ढाँचाअन्तर्गत त्रिपक्षीय वार्ता पश्चिम बङ्गाल राज्यको सहमतिमा मात्रै सम्भव छ भनेर हामीले 29 अगस्त 2017 सालमा नै तत्कालीन गोजमुमो अध्यक्ष विमल गुरूङलाई सम्झाएका हौं जुन कुरा उनले लगभग 5 महीना नाघेपछिमात्रै बुझिरहेका छन्,’ थापाले भनेका छन्, ‘दिशाहिन, भावनात्मक आन्दोलन अनि रणनीतिबिनाको बन्दले कुनै फायदा होइन तर हाम्रै मानिसहरूलाई दुःख- पीड़ा अनि समस्यामात्रै हुन्छ, यसैले त्रिपक्षीय वार्ताको निम्ति राज्य सरकारलाई सहमतिमा ल्याउने रणनीति अप्नाउनुपर्छ भनेर हामीले उलाई बुझाउन खोज्दा हामीलाई नै उल्टै मीर जाफर भन्ने संज्ञा दिइयो, जाति विरोधी भन्दै पहाड़ चढ्न नदिने अनि ज्यानमालको धम्की समेत दिइयो। आज लगभग 5 महिनापछिमात्रै उनले हाम्रो कुरा बुझेका छन् जो अति नै ढिलो भइसक्यो।’

थापालेले आफूहरूले सम्झाएको बेला नै गुरुङले ती कुराहरू बुझेको भए मानिसहरूको ज्यान नजाने, धेरै मानिसहरूले जेलको यातना भोग्नु नपर्ने, परिवार छोड़ेर जङ्गल- जङ्गल भट्किरहनु नपर्ने बताएका छन्।

‘वास्तवमा विमल गुरूङको नेतृत्त्वमा भएको तीनवटा गोर्खाल्याण्ड आन्दोलन उनकै अदूरदर्शिता अनि अपरिपक्वताको कारण असफल भएको हो। गोर्खाल्याण्ड आन्दोलनलाई मन पर्दा चर्काउने अनि मन नपर्दा थन्काउने उनको पुरानो आदत हो, उनको यही आदतले पहाड़को जन भावना अनि आकांक्षाको बारम्बार हार भएको छ,’ थापाले भनेका छन्, ‘यसपल्ट पनि उनले गोर्खाल्याण्डको निम्ति आफू जङ्गलमा दुःख, यातना भोगिरहेको अफवाह फैलाएर जनतासित भावनात्मक ब्लाकमेल गरे। तर वास्तवमा उनी दिल्लीमा थिए। 15- 20 जना समर्थकहरूलाई लिएर उनी धेरैअघिदेखि नै दिल्लीमा डेरा जमाएका छन्।’

जनतालाई गोर्खाल्याण्डको नाममा विमल गुरूङले  दुःख दिएको अनि उनका अन्य नेताहरूले दिल्लीमा ऐश आरामपूर्ण जिन्दगी बाँचिरहेको आरोप पनि लगाएका छन्। गुरुङको आह्वानमा शहीद बन्नेहरूको परिवार के कसरी बाँचिरहेका छन्, जेलमा हुने सैयौं आन्दोलनकारीहरूको अवस्था कस्ता छन्, उनलाई पर्खेर जङ्गल- जङ्गल भौतारिरहेका समर्थकहरूको हालत कस्तो छ, यसबारे विमल गुरुङलाई केही पर्वाह नरहेको आरोप पनि थापाले लगाएका छन्।

‘विभिन्न मुद्दाहरूबाट बाँच्नुको निम्ति अनि गुमाएको सत्ता हासिल गर्नुको निम्ति उनी दिल्लीमा भाजपाको कठपुतली बनेर बसिरहेका छन्। भाजपाले उठाउँदा उठ्ने अनि सुताउँदा सुत्ने भइसकेका छन्। तर अब गोर्खाल्याण्डको नाममा व्यक्तिगत स्वार्थ अनि सत्ताको निम्ति फेरि फेरि पहाड़ अशान्त अनि बन्द गर्न हामी कदापि दिनेछैनौं,’ थापाले अझ भनेका छन्, ‘बारम्बार जनताको भावना अनि आकांक्षाको आहुति दिनेछैनौं। यदि विमल गुरूङ गोर्खाल्याण्डको निम्ति इमान्दार छन् भने सर्वप्रथम भाजपाले गोर्खाल्याण्डको समर्थन गर्छ भनेर भाजपाको राष्ट्रिय कार्यकारी सभामा एउटा लिखित प्रस्ताव लिनु लगाउनुपर्छ।’

थापाले सांसद एसएस आहलुवालियालाई गोर्खाल्याण्डको प्रस्ताव सदनमा उठाउनु लगाउनुपर्ने अनि भाजपाका सम्पूर्ण सासंदहरूलाई समर्थन गर्नु लगाउनुपर्ने बताएका छन्। ‘गोर्खाल्याण्ड आन्दोलन हुन्छ भने जनताले समर्थन गर्नेछ। किनभने अब फेरि फेरि गोर्खाल्याण्डको नाममा गोर्खाहरू भाजपाको भोटब्याङ्क हुनुहुँदैन। ह्रदयले होइन मस्तिष्कले गोर्खाल्याण्ड सम्भव छ,’ थापाले भनेका छन्, ‘हामी व्यवस्थित एवं असल प्रशासनमार्फत पहाड़ अनि पहाड़वासीलाई व्यवस्थित अनि सक्षम बनाउने कार्य गरिरहेका छौं। आर्थिक, सामाजिक, शैक्षिक आदि क्षेत्रहरूमा व्यवस्थित भइसकेपछि गरिएको हरेक आन्दोलन सक्षम अनि सफल बन्नेछ। सक्षम जनताले नै सफल आन्दोलनको नेतृत्त्व दिन सक्नेछ। यही सोच अनि अभियानमा हामी कार्य गरिरहेका छौं। किनभने गोर्खाल्याण्डको कुनै सर्टकर्ट छैन, यसको निम्ति सर्वप्रथम हामीलाई हरेक क्षेत्रमा सक्षम हुन अत्यन्त आवश्यक रहेको छ।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares