You are here

तामाङ बोर्ड अध्यक्षमाथि पूर्व सदस्यले लगाए पारदर्शिता नराखेको आरोप,  अध्यक्षले भने- आरोप लगाउनेले नै लिएका थिए पैसा

कालेबुङ, 12 जनवरी।

तामाङ विकास अनि सांस्कृतिक बोर्ड अध्यक्ष सञ्जय मोक्तानले बोर्डभित्र पारदर्शिता नराखेको अनि सहि ढङ्गमा कार्य नगरेको आरोप उठेको छ। बोर्डमा सदस्य रहिसकेका कमल घिसिङले बोर्ड अध्यक्षमाथि उक्त आरोप लगाउँदै लाखौं रूपियाँ हिनामिना भएको बताएका छन्।

“आर्थिक रूपले विपन्न तामाङहरूसँगै सम्पूर्ण तामाङ जातीको उत्थान गर्न राज्य सरकारले बोर्ड दिएको थियो। तर यो बोर्ड  केवल अध्यक्ष सञ्जय मोक्तान अनि एक-दुई जनाको निम्ति कमाई खाने भाँडो मात्र भएको छ”-कमल घिसिङले यसरी आरोप लगाए। उनले बोर्ड अन्तर्गत निर्माण हुने घरहरूको निर्माण अन्तर्गत पनि धाँधली भइरहेको अनि सामाग्रीहरू निम्न स्तरीय प्रदान गरिएको साथै कतिपयको राशि आज पर्यन्त प्राप्त नभएको आरोप पनि लगाए। “सहुलियत पाउनेहरूले घर निर्माणको निम्ति कूल खर्च दुई लाख पाउनुपर्ने भए तापनि उनीहरूले केवल नब्बेदेखि-एक लाखसम्म मात्र पाइरहेका छन्। त्यसअन्तर्गत रड, सिमेन्ट आदि सामाग्रीहरू निम्न स्तरीय पाइरहेका छन्।”

बोर्डभित्र आजसम्म के-कति रकमहरू आए अनि के-कत्ति खर्च गरिए त्यस कुराको पारदर्शिता अध्यक्ष मोक्तानले नराखेको आरोप पनि घिसिङले लगाए। बोर्ड अध्यक्ष मोक्तानले बोर्डको संविधानलाई पनि अवमान्य गरेको अनि उनीबाट तामाङ जातीको विकास अनि उत्थान हुन नसक्ने बताउँदै बोर्डमा धेरै व्यक्तिहरू बोर्ड सञ्चालन गर्न सक्षम रहेको अनि अब उनीहरूलाई नै जिम्मेवारी दिनुपर्ने माग पनि घिसिङले गरे।

यता तामाङ विकास अनि सांस्कृतिक बोर्डका अध्यक्ष सञ्जय मोक्तानले घिसिङको सम्पूर्ण आरोपहरू निराधार रहेको बताएका छन्। गत 105 दिनको बन्द अवधि नै घिसिङले बोर्डको सदस्यताबाट राजिनामा दिइसकेकोले अहिले आएर बोर्डमाथि यस प्रकारको आरोप लगाउनु अनुचित रहेको उनले बताएका छन्। “उनले अगावैबाट पदबाट राजिनामा दिइसकेका छन्। उनले बोर्डको नियम उल्लङ्घन गर्दै बोर्डको निर्देश बिना कतिपय कार्यहरू गरेकाले हामीले उनलाई निष्कासित गरेका छौं”-अध्यक्ष मोक्तानले भने। उनले अझ भने- “हामीले तामाङहरूको हितार्थ कार्य गरेको छ या छैनौं भन्ने कुरा त उनकै गाउँ कफेरका मानिसहरूले भनिहाल्छन्। हामीले जे जत्ति पनि कार्य गरिरहेका छौं अनि ज-जसको पनि घरहरू निर्माण गरिरहेका छौं त्यो कार्यकारी समितिमा छलफल गरेर लिइएको निर्णय बमोजिम गरिरहेका छौं।”

अध्यक्ष मोक्तानले बोर्डको कार्य अनि आफूमाथि औंला उठाउने कमल घिसिङ स्वयंले नै घर बनाउने मान्छेहरूबाट पैसा लिएको आरोप लगाएका छन्। घिसिङले यस्ता कार्यहरू गरेको कारण नै उनलाई निष्कासित गरिएको पनि उनले बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares