विमल गुरुङको फोटो र भिडियो अघि आएपछि विनय तामाङहरू सक्रियः विमल गौडा घुम्ने विनय

दार्जीलिङ, 13 जनवरी।


गोर्खा जनमुक्ति मोर्चा एवं जीटीएका अध्यक्ष विनय तामाङले भोलि विमल गुरूङको समष्टिको भ्रमण गर्ने योजना बनाएका छन्। जसले भोलि सिंहमारीदेखि पातलेबास हुँदै तकभर, सिङ्गला आदि क्षेत्रको भ्रमण गरेर जामुनेमा पुगी एक सभा गर्ने भएका छन्।

उक्त सभामा गोजमुमो कोर कमिटीका सदस्यवर्ग, विभिन्न भ्रातृ सङ्गठनका प्रतिनिधिहरू सामेल रहने भएका छन्। विनय तामाङ गोजमुमोका अध्यक्ष बनेपछि भोलि उनले प्रथमपल्ट तकभर समष्टिको भ्रमण गर्ने कार्यक्रम बनाएका हुन्, जसले यस क्षेत्रका विभिन्न स्थानहरूको भ्रमण गर्दै यस क्षेत्रका जनताको समस्या पनि बुझ्ने भएका छन्।

यसैको जानकारी गराउँदै गोजमुमो दार्जीलिङ महकुमा समितिका प्रवक्ता दावा तामाङले भने-गोजमुमोका पूर्व अध्यक्ष विमल गुरूङको गढ़ मानिएका तकभर र लेबोङ-बदमताम समष्टिमा जीटीए अध्यक्ष विनय तामाङको भ्रमणबाट यस क्षेत्रमा शान्ति बहाल भइसकेको छ भन्ने प्रमाण गर्छ।

यी दुवै समष्टिमा शान्ति छाइसकेको छ अनि यस क्षेत्रका जनताले पनि शान्तिनै चाहेका छन्। यसैकारण भोलि जीटीएका अध्यक्ष विनय तामाङले यस क्षेत्रको भ्रमण गरेर जनताका दुःखहरू पनि बुझ्ने कार्यक्रम बनाएका छन्। यसरीनै आगामी 28 जनवरीको दिन गोजमुमो अध्यक्ष विनय तामाङले लेबोङ-बतमताम समष्टिको पनि भ्रमण गर्ने कार्यक्रम बनाएको पार्टी प्रवक्ता दावा तामाङले जानकारी गराए।

उनले भने-लेबोङ-बदमताम समष्टिमा गोजमुमोको नयाँ समष्टि कमिटीको गठन भइसकेको छ, जसका प्रतिनिधिहरूले आज पार्टी अध्यक्षसित भेट गरी पार्टी पदाधिकारीवर्गको सूची पनि पेश गरेका छन्। यसै समय पार्टी अध्यक्ष तामाङले आगामी 28 जनवरीको दिन समष्टिको भ्रमण गर्ने अनि जनताका दुःखहरू बुझ्ने कार्यक्रम बनाएको पार्टी पदाधिकारीवर्गलाई बताएको जनाए।

उनले आज पार्टी अध्यक्ष तामाङसित भेट गर्न लेबोङ-बदमताम समष्टिका 17 वटा शाखा र विभिन्न भ्रातृ संगठनका प्रतिनिधिहरू गएको पनि तामाङले जनाए। यद्यपि, विनय तामाङको भोलिको तकभर समष्टि भ्रमणलाई पहाड़का जनताले अधिक महत्व दिएर हेरिरहेका छन्। तकभर इलाका विमल गुरूङको गौड़ा हो, तर अब यस क्षेत्रमा पनि विमल गुरूङको वर्चस्व समाप्त भइसकेको छ भन्ने देखाउनको लागिनै विनय तामाङले भोलि यस क्षेत्रको भ्रमण गर्ने कार्यक्रम बनाएको स्पष्ट भएको छ। यसैले भोलि उनले सिंहमारीदेखि प्रत्येक गाउँकोनै भ्रमण गर्ने अनुमान लगाइएको छ। ताकि यस क्षेत्रका जनताको आन्तरिक विचार पनि बुझ्न सकियोस्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares