न्यायको माग गर्दै बरूण भुजेलको परिवारद्वारा प्रदर्शन, पतिको मृत्यु राजनैतिक षड्यन्त्र रहेको पत्नीको आरोप

कालेबुङ, 13 जनवरी।

गत 25 अक्टोबरका दिन न्यायिक हिरासतमा मृत बनेका बरुण भुजेलका आमा कुमारी भुजेल, पत्नि सबिता भुजेल , 14 अनि 4 वर्षिय नानीहरूसितै  परिवारका अन्य सदस्यवर्गले वरूणको मृत्यु भएको छ 5 महिना बितिसक्दा समेत न्याय नपाएको भन्दै न्यायको मागमा आज कालेबुङ डम्बर चोकमा प्रदर्शन गरे।

बरूण भुजेल पक्राउ अघिसम्म स्वस्थ रहेको अनि पुलिसले पक्राउ गरेपछि अन्याय गरेको भन्दै परिवारका सदस्यहरूले बरूण भुजेलको फोटो अङ्कित प्लाकार्डहरू लिएर धेरै बेरसम्म डम्बर चोकमा मौन प्रदर्शन गरेका थिए। छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको क्रममा पक्रा परेर बरुण भुजेल न्यायिक हिरासतमा हुँदा नै बिरामी भएका थिए। बिरामी बनेका भुजेललाई न्यायिक हिरासतबाटै उपचार्थ कोलकोता पुऱ्याइए तापनि गत 25 अक्टोबरका दिन मृत्यु भएपछि परिवार पक्षले न्यायको माग गर्दै आइरहेका छन्। आफूहरूले निरन्तर रूपमा न्यायको माग गर्दै आइरहेको भए तापनि आज पर्यन्त न्याय प्राप्त नभएपछि डम्बर चोकमा आएर प्रदर्शन गर्न परेको परिवार पक्षले बताएको छ। बरूण भुजेलकी आमा कुमारी भुजेललाई त छोराको मृत्यु नै अप्राकृतिक लाग्छ भने आफूहरूलाई छोरा बिरामी हुँदा उपचार गर्न नदिएको गुनासो उनले पोखेकी छन्।

“मेरो छोरा स्वस्थ थियो,  पक्रा परेर बिरामी भएपछी हामीले उपचार गर्न पाएनौँ। पक्रा परेर उनको जसरी मृत्यु भयो त्यो अप्राकृतिक मृत्यु हो। यसकारण उक्त मृत्युबारे सहीँ जाँच भएर न्याय पाउनुपर्छ भन्ने हाम्रो माग हो”- आमा कुमारी भुजेलले भनिन्। गहभरि आशु लिएर उनले अझ भनिन्- “मेरा छोराको मृत्युपछि आजसम्म न्यायका निम्ति कसैले केही पाइला चालिदिएका छैनन्। उनकै नजिकका साथीहरू समेत आज चुपचाप बसेका छन्। हामीलाई न्याय चाहिन्छ अनि न्यायको निम्ति लडीरहनेछौँ।”

मौन प्रदर्शन अवधि डम्बर चोकमा बाबुको फोटो अङ्कित प्ला कार्ड लिएर उभिएका नानीहरूलाई देखाउँदै कुमारी भुजेलले “यी नानीहरूले आफ्नो पिताको मृत्युको न्याय पाउनुपर्छ” भनिन्। बरूण भुजेल नगरपार्षद रहेको समयमा आफ्नो क्षेत्रको निम्ति धेरै कार्य गरेको भए तापनि आज उनको मृत्युलाई लिएर कोही पनि नबोल्नु दुखपूर्ण रहेको पनि उनले बताइन्।

आजको मौन प्रदर्शन अवधि बरुण भुजेलकी पत्नि सबिता भुजेलले पनि आफ्ना पतिको मृत्युलाई लिएर आफू, दुई नानीहरू अनि परिवारले न्याय पाउनुपर्ने माग गरेकी छन्। उनले आफ्नो पतिको मृत्यु प्राकृतिक नभएर राजनैतिक षड्यन्त्र रहेको आरोप पनि लगाइन्। तिनले भनिन्- “मेरो पतिको मृत्यु एउटा सामान्य मृत्यु हुँदै होइन। यो एउटा राजनैतिक षडयन्त्रको शिकार भएर भएको मृत्यु  हो। यसैकारण उनको न्यायको निम्ति हामी परिवार लडिरहनेछौँ।”

बरूण भुजेलको मृत्यु सहि उपचारको कमिको कारण भएको आरोप लगाउँदै तिनले अझ भनिन्- “एकजना कैदीलाई उपचारको निम्ति जे-जस्तो व्यवस्था गर्नुपर्थ्यो त्यो व्यवस्था गर्ने कार्य भएन। एकजना स्वस्थ्य मान्छेको हिरासतमा जसरी मृत्यु भयो त्यो सरासर षडयन्त्र नै हो।”

वरूण भुजेल मामिलामा उच्च न्यायालयमा मुद्दा खारेज भइसकेको छ। यद्यपि उनको परिवारपक्षले भने फेरि न्यायालयमा मुद्दा दर्ता गर्ने भएको छ। वरूणको मृत्यु सामान्य नभएर न्यायिक हिसारतकै अवधि पुलिसी हेलचेक्राइको कारण भएको आरोप लगाउँदै वरूणकी पत्नी सबिता भुजेलले पुनः उच्च न्यायलयमा मुद्दा दर्ता गर्ने भएकी हुन्। वरूण पत्नी सबिता अनुसार पुलिस हिरासतमा छँदा वरूणसित राम्रो व्यवहार गरिएन। उनलाई शुरूदेखि नै पेनक्रिजयको बिरामी रहेको थाहा लागेपछि ठिकसित उपचार गरिएन। ठिकसित उपचार नपाएको कारण नै वरूणको मृत्यु भएको भन्दै उनले आफूहरूले न्याय पाउनुपर्ने माग गरेकी छन्।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares