You are here

विमल गुरूङ ममता व्यानर्जीसित बैठक गर्ने कुरा विनय गुट र मिडियाले फैलाएको अफवाहः विनय-अनित ममताका कठपुतली- युवा मोर्चा

दार्जीलिङ, 13 जनवरी


गोर्खा जनमुक्ति युवा मोर्चा विमल गुटका सहसचिव सञ्जिव लामाले विनयपन्थी गोजमुमोले जनतालाई भ्रममा पार्ने काम गरिरहेको आरोप लगाउँदै विनयपन्थी गोजमुमोलाई ‘क्षमता छ भने खुल्ला प्रतिस्पर्धामा आएर देखाउ’ भनेका छन्। उनले भनेका छन्, ‘गोर्खाल्यान्डको निम्ति नै हामीले दु:ख कष्ट भोगेका हौं। विनय तामाङहरूको स्वार्थपुर्तिको लागि होइन।’

उनले अनित थापाले अरूलाई लाटो सम्झिएर आफू चाहीँ बाठो छु भन्ने भ्रम पालेर बसेको भन्दै लामाले बिमल गुरुङले बङ्गालका मुख्यमन्त्रीसित बस्ने कुरा कतै पनि उल्लेख नगरेको स्पष्टिकरण दिएका छन्।

‘विमल गुरूङको प्रेस विज्ञप्तिको भिडियो समेत सबै जनताले हेरिसकेका छन्। एकदुई वटा सञ्चारकर्मी र बिनय अनितको षडयन्त्र स्वरूप यो भ्रम जनतामा फैलाउने असफल प्रयास भइरहेको छ,’ लामाले भनेका छन्, ‘तर जनताले सबै कुरो छर्लङ्ग बुझिसके, यो विनयहरूको डुब्दैगरेको जहाजलाई जनताको सोझोपनको माध्यमबाट बैतर्नी पार गर्ने प्रयास मात्र हो भन्ने कुरा। तर गोर्खाल्यान्डको निम्ति सङ्घीय ढाँचा अन्तर्गत मुख्यमन्त्रीलाई भेटनैपर्छ अनि वार्ता गर्नै पर्छ भने हामी त्यो पनि गर्नेछौँ। किनकि मुख्यमन्त्रीमाथि बिनयपन्थी को मात्र कपिराईट छैन।’

लामाले विमल गुरुङलाई बिजेपी सरकारको कठपुतली भन्ने बिनय-अनित तृणमूल काङ्ग्रेसका कठपुतली रहेको पनि लामाले बताएका छन्। ‘उनीहरू ममताका कठपुतली हुन् भन्ने कुरा दुनियाँलाई थाहा छ। गोर्खाल्याण्ड राज्य निर्माणमा हुनुमा केन्द्र सरकारको अहम भूमिका हुनेछ। बङ्गाल सरकारसंग बस्नै पर्छ भन्ने बाध्यता छैन,’ लामाले भनेका छन्, ‘त्यसै पनि हाम्रो भूभाग बङ्गालभित्र पूर्ण रूपमा समावेश गरिएको छैन। यो जमिनको असली मालीक हामी हौं। यसको प्रशस्तै ऐतिहासिक तथ्याङ्क हामीसँग छ।’

उनले आफूहरूले अनितहरूको लागि नभएर आफ्नो खोसिएको भूभागको उत्थान हेतु आन्दोलनमा होमिएको बताउँदै आफ्नो राजनैतिक व्यापर फस्टाउनलाई ममता सरकारको कहिलेसम्म कमारो भएर जाति बिरोधी कार्य गर्ने? भनेर प्रश्न पनि तेर्साएका छन्।

‘पुलिस प्रशासनको आडमा कति दिन आफ्नो व्यापर चलाउने? सुबास घिसिङले पनि जनतालाई लाटा सम्झेर बङ्गालसंग आन्तरिक रूपमा सम्बन्ध कायम राखी एक्काइस बर्षसम्म आफ्नो मनमानी गरिरहे। जसको कारण गोरामुमो पार्टी सत्ताच्यूत मात्र होइन पहाडमै डायनासोरको कथा सरह भयो,’ लामाले भनेका छन्, ‘जिटिए प्रमुख र डेभलपमेन्ट बोर्ड प्रमुखहरूलाई पहाडमा ममता सरकारले दिएको कुन प्रसाशन अथवा व्यवस्थाले पहाडको बिकास गर्ने?

लामाले बिनय र अनितले तृणमूल काङ्ग्रेसको झऩ्डा समाते असल हुने भन्दै उनीहरूले बोकिरहेको झण्डालाई ‘चोरेको झण्डा’-को संज्ञा दिएका छन्। ‘उनीहरूले चोरेर हाँकेको गाडी जस्तै पार्टी चलाइरहेका छन्। भोलिको दिनमा गाडीको मालिक आइपुग्दा खेरी के गर्ने?,’ लामाले भनेका छन्,  ‘हाम्रो साधारण सदस्यहरूलाई धम्काएर, घर जलाएर, लुटपाट गरेर राजनीति गर्नु सही होइन।, सबैलाई थाहा भएकै कुरो हो लगभग सय प्रतिसत जनता बिमल गुरुङलाई नै पर्खेर बसेका छन्। जुनदिन गुरुङ आउँछन् पहाडमा मानिसहरुको ओइरो लाग्नेछ।’

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares