कृष्ण धराबासी-को लेखनयात्रा अनुभूति

कृष्ण धराबासी


२०६७ मंसिरमा मैले एउटा लेख लेखेको थिएँ ‘मैले रोजेको बाटो’ शीर्षकमा । जुन लेखमा भनिएको थियो– ‘मैले कृषि विकास व्याङ्कको जागिर पाँच वर्ष सेवा अवधि बाँकी हुँदाहुँदै छोडेँ र अब म पूर्णकालीन लेखक हुनेछु।’ वास्तवमा मलाई सबै काम छोडेर लेख्न पढ्न मात्र पाए कस्तो हुन्थ्यो होला भन्ने सधै लागिरहन्थ्यो। रहरले म यो जागिरमा आएको थिइनँ तर, आर्थिक दृष्टिकोणले स्कूलको शिक्षकभन्दा व्याङ्क कता हो कता सुविधाजनक थियो। वास्तवमा व्याङ्कमा पसेपछि नै हाम्रो घरको आर्थिक अवस्थामा पनि कायापलट भयो। व्याङ्कले मलाई कहिल्यै मेरो साहित्यिक यात्रामा बाधा हालेन। सधैँ प्रोत्साहन नै गऱ्यो तर पनि किन किन मलाई यो जागिर मेरो मनले खाएको हो भन्ने कहिल्यै लागेन। काम गरिरहें, माया पाइरहें। पुलपुलिएरै चौबिस वर्ष सात महिना पुऱ्याइसकेको थिएँ। त्यस्तै बेलामा व्याङ्कले स्वेच्छिक अवकास योजना लिएर आयो। मैले नमस्कार गरिहालें।

जीवनमा अनेकौं त्यस्ता कठिन अवस्थाहरू आउँछन् जसले बारम्बार आफू हिँडिरहेको यात्रा स्थगन गर्न मन लाग्छ। बाटो नै मोड्न मन लाग्छ। निराशाबाट डरलाग्दा खाडलहरूमा खस्न मन लाग्छ। लोकप्रिय रहँदारहँदै अलोकप्रिय निर्णयहरू गर्न मन लाग्छ। हतास र निरासाका कैयौं नदीहरू कठोरताका साथ तर्नु पर्छ। हामी आफैं बन्न खोज्दा खोज्दै पहिले कहिले अरूले नै बनाइसकेको क्यानभासमा लतपतिएको रङले एव्सट्र्याक्ट अर्थ बाहक बनिसकेका हुन्छौं।

गुनासो कसैसँग केही कुरामा पनि छैन। सबैको माया र सहानुभूतिले उभिएको गणेश हुँ म। आज जागिर छोडेको सातौं वर्ष पूरा हुन लागेको छ। यो सात वर्षमा मैले जे भनेर जागिर छोडेको हुँ त्यस कुरामा कतै बिचलित नभएरै काम गरिरहेको छु। यो सात वर्षको अवधिमा आमा, पाण्डुलिपि, सुवर्ण समसेर निस्ठाको राजनीतिक यात्रा, गेस्टापो, कागजको मान्छे, रेड स्क्वायर, ग्रेट फल्स, लीलाबोध, तल्लोबाटो गरी नौवटा किताबहरू पाठकमाझ पुऱ्याइसकेको छु। यीबाहेक फुटकर लेख रचनाहरूको खासै अभिलेख राखेको छैन। झोला कथामा आधारित फिल्म झोला दर्शकका हत्केला हत्केलामा पुगेको छ। केही महिना भित्रमै मेरै कथामा आधारित मधेशमा हुने महिला हिंसामाथि बनिएको फिल्म भोर सार्वजनिक हुँदैछ।

जुन उत्साहका साथ जागिर छोडेको थिएँ, त्यसको केही महिना पछि नै भएको पारिवारिक दुर्घटनाले डरलाग्दो निरासामा परिणत गरेको थियो। जब जब मलाई दिक्क लाग्थ्यो र निरासाले थिच्थ्यो, हठात् म सम्झन्थें– ‘मैले त लेखनका लागि पो जागिर छोडेको। मैले लेख्नु पर्छ।’ अनि फेरि समात्थें कलम र बालुवामा दौडिएको झैं जताततै कलम कुदाउन थाल्थें। त्यसबेला मलाई लेखनको स्तरीयतासँग पनि मतलव थिएन। लेखनका लागि चाहिने बिषयवस्तु र सैद्धान्तिक निर्देशनहरूको पनि महत्व थिएन। मलाई एउटै कुराको डर थियो कि यसै कारणलाई निहुँ बनाउँदै कतै म यो लेखन क्षेत्रबाट बाहिर पुग्ने त होइनँ!

सन् २००९ मा पहिलोपल्ट ठूलो हवाइजहाज चढेर युरोप भ्रमणमा निस्केको थिएँ। त्यो पनि साहित्यिक यात्रा नै थियो टुँडाल उपन्यास लेखे वापत। त्यस पछि परिबन्धले म अमेरिका आइपुगेको छु र यतैबाट रूस पनि पुग्ने मौका मिल्यो। पछिल्लोकालका यिनै यात्राहरूले मलाई लेखनमा उर्जाशील बनाइरहेका छन्। अमेरिका पसेपछि यो चार वर्षमा चारवटै पुस्तक तयार भए। तिनै मध्यको ग्रेटफल्सले भर्खरै अन्तराष्ट्यि कृति पुरस्कार पाएको छ।

अमेरिका आएको एउटा विशेष उपलब्धिको रूपमा महेश पौड्यालद्वारा अनुवाद गरिएको राधा उपन्यासको अङ्ग्रेजी प्रति विश्व बजारमा उपलब्ध छ। नेपाली साहित्यलाई विश्व बजारमा पुऱ्याउनका लागि अनुवाद बाहेक अरू कुनै उपाय छैन। यसबारेको विशेष अनुभव पछि अरू नै कुनै लेख मार्फत सार्वजनिक गर्ने नै छु। धेरै पहिला मैले एउटा कवितामा लेखेको थिएँ–

‘समयले हरेक धारको पाइन् खान्छ

यता, सृजनाको नारीमा चुरा बजिरहन्छ।’

समयले मेरो पीरको धारको पाइन् पनि खाँदै गयो र म पुनः लेखनमा फर्किएँ।

लेखनको यही यात्रामा एउटा नयाँ समस्याको पनि अनुभव भइरहेको थियो र आज पनि छ। यो समस्या मेरो मात्र होइन, म जस्ता, लेखनलाई नै पूर्णकालीन बनाउने हरेक लेखकमाथि छ होला। केही वर्ष पहिला यही कुरा अभि सुवेदी, केशवप्रसाद उपाध्याय र तारानाथ शर्माहरूले पनि लेख्नु भएको थियो। त्यो लेख पछि उहाँहरू त्यस समस्याबाट कत्तिको मुक्त हुनु भो होला मैले सोधेको छैन! अहिले म समय र भूगोलबाट यति टाडा आइपुगेर पनि त्यही झमेलामा थिचिन पुगिरहेकै छु।

काठमाडौंमा हुँदा प्रत्येक दिन जसो फोन आउँथे–

‘दाइसँग भेट्न मन छ। एउटा काम छ भेटेरै भन्छु।’

‘हुन्छ! आउनोस् न!’

‘कहाँ कसरी आउने दाई?’

‘पर्यटन वोर्ड छेउबाट चप्पल कारखाना लेखेको माइक्रोमा चढ्नोस् अनि भित्ते गणेशमा ओर्लनोस्।’ आइपुग्थे एक डेढ घण्टा भित्रमा। अनि विस्तारै कुरा गर्दै उनले झोलाबाट कम्प्युटरलिपि झिक्थे र भन्थे– ‘दाइ! एउटा पुस्तक लेखेको छु। भयो कि भएन, के कस्तो भो हेरेर सुझाव दिनु पऱ्यो। चाँडै नै छाप्ने योजना छ। प्रेसमा काम भइरहेको छ। एउटा राम्रो भूमिका पनि लेखिदिन अनुरोध गर्छु मनले जितेर।’

केही भन्न नसकी विस्तारै काम्दो हातले समात्थें र राख्थें। हप्तामा तीन चार वटा यस्ता अनुरोध र अतिरिक्त कामहरू। म त पूर्णकालीन लेखन गर्न जागिर छोडेको मान्छे, तर यता पूर्णकालीन अप्रकाशित कृतिका पाठकको रूपमा रूपान्तरण भइरहेको थिएँ। शुरू शुरूमा लेख्दै पनि गएँ तर, पछि बुझ्दै गएँ– यो त अनवरत बगेर आफैंतिर आइरहने हिमनदी जस्तो पो हुँदोरहेछ। आफ्नै मनको काम चाहिँ गर्नै नपाइने। अर्काकै कृतिहरू हेर्दै फुर्सद नहुने। कति त कामै नलाग्ने, विरक्त लाग्दा पनि हुन्थे, कत्ति सामान्य जस्ता। तर उनीहरू भन्थे– ‘दाइ! मैले एकदम नयाँ विषयमा कलम चलाएको छु। दाइले ध्यान दिएर हेरिदिनु होला।’

त्यति मात्र थिएन, गोष्ठीमा बोलिदिनु पर्ने, अन्तर्वार्ताका लागि एफ.एम. स्टुडीयोहरूसम्म पुगिदिनु पर्ने, प्रमूख अतिथि भइदिनु पर्ने, गोष्ठी र सेमिनारहरूमा भाग लिइदिनु पर्ने। अनि सोच्न थालें– ‘महिनाको वीस हजारको जागिर मैले के यही काम गर्न छोडेको हुँ? मलाई खान पुगेर, पुगिसरी आएर, उभ्रिएको पैसाले ताजमहल बनाउन जागिर छोडेको हुँ? या जागिरको तलव थोर भएर अझ धेरै कमाउन जागिर छोडेको?’

जागिरको व्यस्तताका बीच मलाई यो एउटा ठूलो समस्याको रूपमा विकसित भइरहेको रहेछ भन्ने थाहा थिएन। कोही फोन गरेर भन्थे– ‘दाइ! एउटा साहित्यिक पत्रिका छाप्न लागेको। तपाईको एउटा रचना भए हाम्रो पत्रिकाको स्तर अर्कै हुन्थ्यो। एउटा जे भए पनि सात दिन भित्रमा पाउँ, म ईमेल ठेगाना एस.एम.एस. गरिदिन्छु।’

अनि लाग्न थाल्यो सबै कुरा व्यावसायीकरण भइसकेको यो बेलासम्म पनि लेखनले भने त्यो मैदान देख्न बाँकी नै रहेछ। सबै कामका लागि बजेट छुट्याउने त्यो लेखकले सम्पादनका लागि पनि लगानी गर्नु पर्छ भन्ने सोच्न भ्याइसकेको थिएन। प्रोत्साहनका लागि सेवा गर्दा गर्दै हामी चिनिएका लेखकहरूले तन्नम हुनु पर्ने समस्या जिवित नै रहेछ। नजरशर्मी भएर निकै काम गरियो। कत्तिजनाले  समयमा हेर्न नभ्याइदिएकोमा नराम्रैंसँग चित्त पनि दुखाए। कत्तिले त बरू पहिल्यै सक्दिन भनेको भए हुने नि भनेर केके जस्तो पनि भने। केही विदेशमा बस्ने लेखकहरूका भूमिका लेखिदिए वापत नमागिकनै दुईचार हजार हात लागी पनि भयो।

कसैकसैले कुरा गरेको सुन्थें ‘ प्रदीप नेपाल अन्तर्वार्ता दिएको पनि पारिश्रमिक माग्छन्।’ हो-होइन मैले आजसम्म उहाँसँग सोधेको छैन तर त्यो कुरा हो भने सारै जायज कुरा भन्नु भएको हो प्रदीप नेपालले भन्ने उसै बेला लागेको थियो। हुन पनि एउटा विचार लेखको रूपमा कुनै पारिश्रमिक दिने पत्रिकामा छापिए पैसा पाइन्छ। त्यही विचार कसैले सोधेको भनी जवाफ दिँदा निःशुल्क किन हुने? आफ्नै प्रयोजनका लागि हो भने ठिकै होला नत्र उसको व्यापार चलाउन हामीले निःशुल्क विचारहरू किन दिने!

अमेरिका आइपुगे पछि मनमा एकप्रकारको ढुक्क लागेको थियो – ‘ अब चाहीं यस्ता समस्याहरूबाट मुक्त भइयो होला।’ हुन पनि यहाँ आएको एक वर्षसम्म त मानिसले भेउ नै पाएनछन् होला। जब म स्थायी रूपमा अचेल यतैछु भन्ने थाहा हुँदै गयो बिस्तारै फोन र इमेलहरूबाट पुरानै निःशुल्क सेवाका याचनाहरूले सम्वादसौन्दर्यको रूप लिन थाले। अब यी याचनाहरू नेपालका मात्र थिएनन्। अमेरिकाकै व्यस्त जीवनबाट बढा कष्टका साथ समय निकालेर लेखिएका कृतिहरू पनि थिए। उनीहरू कष्टका साथ घण्टा हान्थे र पैसा कमाउँदै विदेशमा बसेर पनि समय निकालेर साहित्यको सेवा गरिरहेको भन्थे र मैले विदेशमा यो साहित्यलाई जीवित र अझ सशक्त बनाउन निःशुल्क सम्पादन गरिदिनु पर्ने थियो। जब म पारिश्रमिकको कुरा उठाउँथें उनीहरू यसरी पर्दाबाट हराउँथे मानौं तीसँग कुनै कालमा पनि परिचय थिएन।

अचेल जब बजारमा साग पनि तौलिएर बिक्री हुन्छ, बुझ्नु पर्छ सबै क्षेत्र व्यावसायिक भइसकेको छ। कसैको श्रम पनि अब बिना मूल्य उपयोग गर्नु हुँदैन। मलाई यस पाली यो कुरा झन् राम्ररी प्रष्ट भएको छ कि अमेरिकामा कसरी हरेक कुराको मूल्य छ र त्यो बिना सम्झौता शुरू हँदैन। मैले मेरो शीघ्र प्रकाशित राधा उपन्यासको लागि शब्द शब्द गनेर कपी एडिटिङ, कभर डिजाइनिङ, बुक डिजाइनिङ र आइएसबिएन नम्बर लिनको लागि डलर तिरेको छु।

यी सबै कुरा, हामीले साहित्य पनि व्यावसायिक विषय हो र यो पनि जीविकाको साधन बन्न सक्छ भन्ने नबुझेकै कारण हो जस्तो मलाई लाग्छ। लेखक, प्रकाशक, सञ्चार माध्यम, सरकार सबैले साहित्यलाई बौद्धिक सम्पत्तिको रूपमा नस्वीकारेसम्म हाम्रो लेखनको आफ्नै पनि स्तरको सही निर्धारण हुन सक्दैन।

पूर्णकालिन लेखनमा आए पछि म पूर्णकालिन नै भएको छु। अमेरिकामा पनि म सबै समय घरमै बसेर लेखिरहन्छु। कुनै हप्ता केही लेखिन भने मलाई कुनै अपराध गरिरहे झैं लाग्छ र लेखे वापत चित्तबुझ्दो पारिश्रमिक पाइरहेकै छु।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares