You are here

सर्जक सम्झना

राजा पुनियानी


कवि सानुमतिको किताब विमोचन समारोह। चित्रे नाघेछि कवि मनोज बोगटीलाई फोन लगाएँ। उनले स्थलको पक्कापक्की सूचना दिए, “दाजु, क्लब रोयलमा आइपुग्नुहोस् न।” साहित्यिक सक्रियतामा अब्बल हुँदै गएको कालेबुङको सानुपनले, विनम्रताले सधैँ खिँच्छ। कालेबुङ पुगेर ऐतिह्य भइसकेकी सानुमतिको कविताको किताब “मनपीड़ा”-को पूर्वाभास चौक, सड़क, दोकानपाट, बटुवाहरूमा खोज्न थाल्छु।

मनले प्रचुर बोलिरहेकी सानुमतिलाई देख्दा पटक्कै लाग्दैन, तिनले बोल्नसक्ने क्षमता प्राय: गुमाइसकेकी छन्। सानुमति भएर मञ्चबाट बोल्दैथिइन् कथाकार विन्द्या सुब्बा। जनाइन्, सानुमतिजी सन् 1947 –देखि साहित्यमा खटेकी। “सानुमतिका मनका पीड़ालाई हामीले उनका कविताबाट आत्मस्थ गरौँ”, आह्वान हुँदैथियो। परिचित अनुहारहरू देखिँदैथिए। जो सानुमति राईको मनको पीड़ालाई छोइदिन, सुमसुम्याइदिन टाढ़ाटाढ़ाबाट आइपुगेका थिए। सानुमति मञ्चमा धपक्क बलेको मैनझैँ बसेकी छन्। उनी सुन्न खोज्दैछिन्। उनी हेर्न खोज्दैछिन्। उनी बोल्न खोज्दैछिन्। जब उनको बोलीलाई हामी हेर्न खोज्दैछौँ। हेर्न पाएर उनको मनको पीड़ाको आकार छिचोल्दैछौँ।

वाक्-पटु कवि सुधीर छेत्रीले उनका कविताबारे विनिर्माण शैलीमा बोलेर सबैलाई ट्वाल्ल पारेका छन्। नरबहादुर दाहाल, अगमसिंह गिरी, सावित्री सुन्दासहरूको हाँचमा कविता लेख्ने सानुमतिलाई स्वच्छन्दवादी प्रवृत्तिको कविमा दर्‍याउँछन् तिनी। सानुमति र हाम्रो लेखनीय नाता कोट्याउँछन्। उनलाई सुन्दै किताब पल्टाउँदैछु। कतै ठक्कर नलाग्ने, रिङ्गटा नचल्ने, बङ्गै नलड़्ने शब्दहरू। पानीजस्तै बगिरहेका। हावाजस्तै उड़िरहेका। तर किताबको नामकरणअनुसार मनको पीड़ालाई कविताका लहरहरूमा उस्तो प्रकाश गरिएको देख्दिनँ। बरू कवि त लक्ष्य ताकेर जानेहरूलाई जाने आह्वान बोलिरहेकी, गलत बाटोमा हिँड़्नेहरूलाई फर्किआउने आह्वान गरिरहेकी पाउँछु। उनका अक्लिष्ट, अभारी, अजटिल बलिया कविताहरूले जीवनजगतको सरल चित्र कोरेका पाउँछु। यति हुँदाहुँदै पनि पीड़ाका रहस्यमयी स्वरहरू त कविताका चेपचाप र प्रतीकका कापहरूबाट चियाउँछन् नै।

यतिखेर, कविको व्यक्तिगत जीवन र काव्यिक जीवनमाझको द्वन्द्वलाई बुझ्ने प्रयास गरिरहेको छु। कविले आफ्नो व्यक्तिगत जीवनलाई, व्यक्तिगत अनुभवहरूलाई कसरी अभिव्यक्ति दिनुपर्दो छ, यो निकै पुरानो विमर्शको विषय हो। कति व्यक्तिगत, कति निर्वैयक्तिक हुनुपर्छ, यो तर्कले निर्क्यौल पाउन गाह्रो छ। इलियटले निर्वैयक्तिकताको सिद्धान्तै ल्याए। प्रगतिवादी सौन्दर्यशास्त्रमा पनि व्यक्तिमुखी लेखनको निषेध बोलिन्छ। व्यक्तिगत अनुभवलाई समष्टिको सामूहिक अनुभवमा मिसाएर बहुजनमुखी अभिव्यक्ति दिनु सकिएको छ भने त्यो लेखन सर्वग्राह्य र सर्वोपयोगी हुनुसक्छ।

व्यक्तिगत पीड़ालाई सामूहिक पीड़ाको प्रतिनिधिको रूपमा व्यक्त गर्ने लेखकहरू अङ्ग्रेजी साहित्यमा सिल्भिया प्लाथ भइन्। नेपालीमा पारिजात, पञ्जाबीमा अमृता प्रीतम, बङ्गलामा महाश्वेता देवी, भारतीय अङ्ग्रेजीमा इम्तियाज धार्कर। यी लेखकले विशेष गरी नारी मनको पीड़ालाई सौन्दर्यको तहमा उकासेर पीड़ालाई सार्वजनिक गरिदिए। यसरी अब पीड़ा चारदिवारमा कैद एकाकी नारीको एक्लो पीड़ा मात्र रहेन। यो सड़कमा उत्रियो। पीड़ा त्यसैले व्यक्तिगत नभएर सामाजिक मुद्दा भयो। पीड़ालाई सामाजिक अलगावमा होइन, सामाजिक संयोजनमा हेर्ने आलोक समाजका एक्ला मानिसहरूले पाए। पीड़ाको उत्स, कारण, चरित्र र परिणाम व्यक्तिगत नभएर त्यसैले सामाजिक हो भन्ने चेतना पलाउन थाल्छ। हरेक व्यक्ति सामाजिक एकाइ भएकोले जति नै व्यक्तिगत देखिए पनि हरेक व्यक्तिगत पीड़ाको जरा वास्तवमा सामाजिक नै हुने गर्छ। लाग्दैथियो, किताब विमोचन समारोहमा मेरा मनभित्र यी आन्तरिक विचारहरूको उन्मोचन भइरहेका छन्।

यसरी मानिसले व्यक्तिगत तहबाट नभएर सामूहिक तहबाट गर्नथालेका पीड़ामुक्तिका प्रयासहरूले इतिहासका अध्यायहरू भरिन थाल्छन्। नारी मुक्ति आन्दोलनका विभिन्न प्रवाहहरूले दर्शन, साहित्य र समाजशास्त्रको क्षेत्रमा उत्तर आधुनिकताको प्रवाहलाई समेत नाघे। उत्तर आधुनिकताको विमर्शभन्दा मुख्य विमर्श नै नारी विमर्श भयो।

पुरुषले शक्तिशाली र शक्तिहीनमाझ विभाजित समाजमा शक्तिशाली तब्काको शोषण सहनुपर्छ। तर नारीले विभाजित समाजमा शक्तिशाली तब्काको शोषण सँगसँगै अबला नारी र ताकतवर पुरूषमाझ विभाजित परिवारमा शक्तिशाली पुरुषको शोषण समेत सहँदै आउनुपरेको त्यसबेलादेखि हो, जबदेखि समाज मातृसत्तात्मकदेखि पितृसत्तात्मक भयो। जबदेखि मानिस प्राकृतिकदेखि सामाजिक प्राणी भयो। त्यसैले पहिलेपहिले पीड़ा पनि प्राकृतिक थियो, पछिपछि त्यही पीड़ाको चरित्र सामाजिक हुनपुग्यो। यसो र समाज र परिवार गरी दुइ खाप शोषणको जाँतोमा पिसिएका नारी जति नै सुखी देखिए पनि दु:खको ठाउँ त रहिरहन्छ। किनभने उनीहरूको दु:खका कारण, समाज र परिवार, यथावत् छन्।

नारी मुक्ति, नारी सशक्तिकरणजस्ता आन्दोलनहरूले अलिकति भए पनि चेतना त आएको छ मान्नुपर्छ। अहिले पुरुषले भाँड़ा मोल्नु, लुगा धुनु, कुच्चो लगाउनुजस्ता नारीमय कामकाज टिपिहालेको छैन। यो पुरुष संस्कार बस्नु सालौंसाल लागेको थियो। जानु पनि उस्तै हो। महिलाले गरिआएको काम महिलाले नै गर्नुपर्छ- यो भनाइ पुरूषमा भन्दा बढ़ी महिलाभित्रै गाढ़िएको छ। घरमा आमा, बहिनी, स्त्रीहरूले गरेका यावत् कामकुरामा बिस्तारै हात बाँड़्न लागेको पुरुषलाई महिलाले पढ़ेरलेखेर, घरबाहिरका पुरुषमय कामकाज गरिदेखाएर, नेतृत्वका लहरमा पनि उभिएर नारीपुरुष समानताको खाँचोको आभास गराइरहेका भने छन्। नारी हेपेर पनि नहेपिएका, हारेर पनि नहारेका उदाहरण समाजमा देख्न थालिएका छन्। यस्तोमा, अस्तित्वप्रेमी एक तब्का रुढ़िवादी पुरुषहरू भने भित्रभित्रै यसबाट त्रस्त हुनसक्लान्। एक तब्का समानताप्रेमी पुरुषहरू चाहिँ नारी ऊर्जाको सम्मान गर्न लागेका हुनसक्लान्। यी विपरीत विचार राख्ने पुरुषहरूमाझको द्वन्द्वले पनि नारी विमर्शमा स्थान पाउनु पर्ने हो।

नारी मन मात्रै पीड़ित हुने कुरा पनि सत्य होइन। नारीवाद यही अतिवादमा गाँठो पर्छ। समाजको सामग्रिक दुखाइले नारीसँगसँगै पुरुषलाई पनि पिरोलेको छ। विचारको यो सम्पूर्णताले मात्र नारीपुरुषलाई एक भएर सम्पूर्ण मुक्तिपथमा अगाड़ि बढ़्ने ऊर्जा दिनेछ। नत्र नारीपुरुषको सम्बन्ध केवल आमाछोरा, लोग्नेस्वास्नी, दाजुबहिनी भएर रहनेछन्। नारीपुरुषमाझ, हुनेखाने-नहुनेनखानेमाझ विखण्डित व्यवस्था उखेल्ने एकधारे सङ्घर्षमा हिस्सादार भएका साथीको सम्बन्धसम्म नारीपुरुषका पुराना सम्बन्धहरूले फड़्को हान्नु अझ युगौँ लाग्ला।

मनपीड़ाको गोहो पछ्याउँदै म फेरि पनि सम्झिरहेको छु पारिजातलाई, जसले नितान्त व्यक्तिगत लेखनबाट सामाजिक लेखनसम्म सर्ने जुक्ति पाइन् र जनताकी लेखक भइन्। जसलाई शारीरिक-मानसिक पीड़ाले कहिल्यै कहीँ कसरी पनि रोक्न सकेन। किनभने पारिजातको पीड़ा त्यसबेलासम्म सामाजिक भइसकेको थियो।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares