लघु कथा

मणिकुमार प्रधान, सालबारी


मित्रताको धागोमा भर्खरै गाँसिएका दुई वृद्ध विधवा सखीहरू – भावना र शुद्धता।   मित्रताका सुत्रमा बाँधिएका क्षणहरूदेखिनै एकार्काका दु:ख-सुख साझे गर्नमा निरन्तर सुखको अनुभव गर्थे यी दुई सखीहरू।

यी सखीहरू  एकाअर्काका घर आइ-जाइ गर्थे।  तीता-मीठा कुराहरू दुवैमा साझे हुन्थे।   यस्तै क्षणहरूमा भावनाले एक दिन शुद्धतालाई  उदास भएकी पाई।   शुद्धताको यो अवस्था भवनालाई असह्य भयो र सोधी शुद्धतालाई, “के भयो शुद्ध? तिमी त निकै अपसेट पो देखिन्छ्यौ त आज, के भयो भन त।”

“त्यस्तो केही छैन भावना, म ठिकै छु,’’ भनी शुद्धताले।

“तिम्रो अनुहारले नै बताउँदैछ – केही त भएकै हुनुपर्छ तिमीलाई। मलाईधरि नभन्ने?”  भावनाले कुरा कोट्टयाई।   आफ्ना ओंठहरूमा  अलि-अलि मुस्कान बाँध्ने प्रयाश गर्दै शुद्धताले भनी, “हेर भावना, मेरो छोराको अनुहार नदेखेको पनि आज चार वर्ष जस्तो भइसक्यो।  त्यो कैले आउने?  इञ्जिनियरको काम पाएर त्यो बेल्जियम गएको… ऐलेलम्म पत्तो छैन।  कैले आउँछस्? भनेर  कैले-काहीँ फोनमा सोधिपठाउँछु।  ऐले आउन सक्तिनँ, साह्रै बिजी छु। मात्रै भन्छ।  लु भन त भावना, अब कैले चाहिँ घर आउने मेरो छोरा?  किन त्यो मसँग टाढिएको यसरी?”

“ए त्यति स्यानो कुरा!” भावनाले शुद्धतालाई शान्तवना दिँदै भनी, “तिम्रो त छोरा विदेशमा छ। कतिपय कारणहरूले बिजी भयो नै होला। सायद भिजाको निम्ति केही वर्ष त्यहीं बिताउनुपर्ला कि?  धेरै समस्याहरू हुनसक्छन् नि! त्यो त उनीहरूलाई नै थाहा होला।  तर मलाई नै हेर न, मेरो त छोरा विदेशमा नभएर यहीं छ।  मदेखि टाढा पनि छैन।  बुहारी ल्याइसकेपछि त्यो मदेखि छुट्टिएर म बसेकै फ्ल्याटको माथिल्लो तलामा बसाइँ सऱ्यो।  त्यस दिनदेखि उता त्यसको अनुहार नदेखेको प्राय: एक वर्ष भैसक्यो… त्यसको अनुहार हेर्न कति तृषित छु म।  जैले पनि त्यसलाई फोनमा सोध्नु, साह्रै बिजी छु  मात्र भन्छ।

यतिनै बेला शुद्धताको मोबाइल फोन बज्यो।  “स्याबास छोरा, तेरो भलो होस्।…” शुद्धता मोबाइल फोनमा बोल्दै थिई।

“लु, छोरा छोरा भन्दैथियौ, हेर आयु त कति लामो रहेछ तिम्रो छोराको!   अन्त के भन्दैछ छोराले?”  सोधी भावनाले।

“के भन्थ्यो र त्यसले, उही त हो सधैंकै कुरा, म साह्रै बिजी छु।” भनी शुद्धताले।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares