पठनः इकोज

आख्यानमा दर्शन प्रयोग

डा. केशवराज चालिसे


कवि एवं समालोचक ईश्वर कंडेलको इकोज पहिलो औपन्यासिक कृति हो। अङ्ग्रेजी र नेपाली दुवै भाषामा समान किसिमले सिर्जना गर्न सक्ने कंडेलको यो उपन्यास अङ्ग्रेजीमा लेखिएको छ। नेपाली र नेपाली भन्दा फरक तर पश्चिमी साहित्यसँग पनि समान रूची राख्ने कंडेल पूर्वीय र पाश्चात्य दर्शनका पाठक पनि हुन्। साहित्यमा दर्शनको उपस्थितिले साहित्यको क्षेत्र र विषयलाई ओझिलो बनाउछ भन्ने विचार राख्ने कंडेलका लेखनमा दर्शनको बलियो उपस्थिति पाइन्छ। इकोज पनि उनको साहित्यमा दर्शनको प्रयोग गरिएको एउटा शसक्त आख्यान हो।

इकोजको नेपाली अर्थ गुञ्जन, प्रतिविम्व अथवा प्रतिछायाँका रूपमा यस उपन्यासलाई लिन सकिन्छ। तृतीय पुरूषको कथानकमा हरीको समग्र जीवनको कथालाई यस उपन्यासमा कुशल किसिमले उनिएको छ। शिक्षक जीवन र शिक्षण पेशामा आवद्ध हरि एक प्रतिनिधि पात्र हुन् भने, हरिको माध्यमबाट लेखकका विचारहरू उपन्यासमा प्रस्तुत छन्।

कथाको परिवेशको भिन्नतासँगै उपन्यासको अन्त्यतिरको प्रथम पुरूषको कथानकले विषय वस्तुमा लेखकीय उपस्थिति अझबढी प्रभावकारी भएर उभिएको छ। विजुली चम्किनुको र आकाश गड्गडाएको परिवेशलाई प्रकृति र मानव जीवनको सम्वन्ध जोर्दै हरिले, मौसम पनि मानिसको जीवन जस्तै छ, तुरून्तै पछि के हुन्छ, थाहा पाइँदैन भन्दै सुरू भएको उपन्यासमा कथाको उठानसँगै सामान्य जीवनका अनुभितिहरूलाई दार्शनिक कलेवर दिन खोजिएको छ। हरिको जीवनसँगै जोडिएर आउने सीमा, दीप, सरिस्ता र सुरजका जीवन घटनाहरूले यथार्थ जीवन घटनालाई प्रस्तुत गर्छन् भने, प्रत्येक जीवन घटनालाई लेखकले दार्शनिक समिक्षा प्रस्तुत गरेका छन्। यसबाट उपन्यासको सुन्दरता थप मजवुत बनेको छ।  यथार्थ जीवन भित्र दार्शनिक ज्ञानको खोजी, अनि जीवनभित्र दर्शन र दर्शनभित्रको जीवनको वास्तविक अभिमन्त्रणा इकोज उपन्यास हो।

बूढो मान्छेसँगको भेटले हरिलाई जीवनको एउटा यथार्थ बोध गराउँछ। पीपलको रूख, बूढो मान्छे र युवतीका दार्शनिक विषयले विचलित मानसिकतामा युवतीका कुराले आस्तित्ववादी दर्शनलाई पृष्ठपोषण गर्दछ भने बूढो मानिसको दुःख बुद्धत्व प्रप्तिको विम्व पनि हो। हामीले हामीभित्र नै देख्न नसक्ने के हामी सबै अन्धा होइनौ भन्ने युवतीको प्रश्नले इडिपसको कथाभित्रको तथा चबकष्कको झलक दिन्छ। विभिन्न किसिमका सत्यहरूको रहस्य उद्घाटन गर्नसक्ने अन्धो बूढो मान्छेको उपस्थितिले उपन्यासमा बौद्ध दर्शनमा दुःखको प्रतिनिधित्व गर्ने बुढ्यौलीको विम्वात्मक संयोजन रहेको छ।

सीमाले विद्यालय बन्दगर्नुपर्ने बाध्यता, सरिस्ताको जीवन, सीमा र सुरजको विछोड जस्ता घटनाहरूले नेपाली राजनीति, राजनैतिक द्वन्द्व र माओवादी युद्धकाकारण सामान्य जनजीवनमा परेका र पारेका प्रभावहरूलाई स्पष्टरूपमा इङ्गित गर्दछन्।

जीवनमा खुसी बनावटी हुन्छ भने दुःख वास्तविक हुन्छ (१३३) भन्ने लेखकीय अवधारणाका उदाहरण घटनाका रूपमा समकालीन समयमा भोगेका पात्रका यी दुःखद् परिवेशहरूलाई विम्वात्मक भन्दा यथार्थपरकरूपमा प्रस्तुत गर्न लेखक सफल छन्। समय सँगै व्यक्तिका चाहनाहरू पनि परिवर्तित हुदै जान्छन्। वर्तमानमा बच्चाहरूका चाहना के हुन्छन् भन्नेकुरा अघिल्लो पुस्ताका आवश्यकता र चाहनाले प्रतिनिधित्व गर्न सक्दैनन्।

वर्तमानलाई भोगिरहेको हरि, उसले वर्तमानमा देखेका र पढाएका बच्चाहरू अनि हरिको आफ्नो जीवनको बाल्यकालका बिचमा ठुलो अन्तर छ। यही अन्तरको यथार्थले नै पुस्तान्तर निर्माण गरेको छ। यो यथार्थ पनि हो। आफ्नो पूर्व नैतिक बाल्यवस्था र वर्तमानका सडक र नदी किनारमा प्लास्टिक मुखमा च्यापेर लागू पदार्थ सेवन र मुख, मैथुनको आनन्दमा बिताउने बालकहरूबिचको भिन्नता नै वर्तमानको यथार्थता हो। आधुनिक प्रविधिले दिएका सुलभता हुन्। सहज जीवनको परिकल्पनामा विदेशिनु अनि दीपको जस्तो व्यस्त र मेसिन जस्तो जीवन बिताउन बाध्य हुनुपनि वर्तमानको यथार्थ जीवन हो। र यस्तै जीवनका वास्तविकताको यथार्थ तर कलात्मक संयोजन हो इकोज।

नेपाली जनजीवनको चित्र मात्र होइन इकोज। नेपाली परिवेशमा पश्चिमी जीवनको पनि शसक्त चित्रण छ यसभित्र। जोसेफसँगको मित्रता, दीपको अमेरिकाको जीवनशैली र आधुनिकता, होमो सेक्सको चित्र, ओरल सेक्सको चित्र, आदि विषयहरूले कतै चरम आधुनिकता र स्वतन्त्रताका पश्चिमी वाछिटाहरूलाई इङ्गित गरेको छ, यद्यपि पश्चिमी जीवनका अनेकन सूल पक्षहरूलाई पनि उपन्यासले उठान गरेको छ। कुनै न कुनै रूपमा हामी सवै अन्ध नै त हौं भन्ने मानवको अज्ञानता सम्बन्धि पूर्वीय चेतनालाई पश्चिमको दूरीलाई साँघुरो बनाएका छन्। भोगोलिक दुरी वैचारिक दूरीको सङ्केत हुन सक्दैन। त्यसैले त लेखक कंडेलले पूर्वको आफ्नो चेतना र पश्चिमी चेतनाको विम्वलाई यस उपन्यासमा एक बनाएका छन्।

कुनै एक वस्तुको अन्त्य, अर्को कुनै वस्तुको सुरूआत न्नसक्छ (९७) भन्ने पूर्वीय दर्शनको जीवन–मृत्यु–जन्म–जीवनको चक्रिय शृङ्खलालाई स्वीकार गर्दै, ईश्वरले हिन्दू दर्शन, बौद्ध दर्शन र पश्चिमेली अनेकन् दर्शनका विषय र प्रश्नहरूको उठान गरेको छन् इकोज मार्फत। बाइबलको मिथकलाई पुर्नपठन र पुर्नव्याख्या गर्दै एदम,इभ,बुद्ध र क्रुसोलाई सँगसँगै र उस्तै श्रेणीमा राखेर तुलनात्मक न्यारेटिभ सिर्जना गरेका छन्। उपन्यासभित्र वैदिक दर्शनको पूर्णमद ः पूर्णमिद पूर्णात्पूर्णमुदच्यते को आवधारणालाई पश्चिमी शुन्यवाद सँगको सह संयोगको अनुभूति हरि मार्फत लेखकले गरेका छन्।

परम्परागत कथानक भन्दा फरक किसिमले सङ्गठित इकोजको कथावस्तु सामान्य किसिमले विकसित छ। तर प्रत्येक परिवेशमा दार्शनिक तर्क र समिक्षामा लेखकीय अभिव्यक्ति झल्किन्छ। नेपाली विषयलाई अन्तराष्ट्रियकरण गर्न सफल उपन्यासमा मूलतः औपचारिक र परिस्कृत भाषा शैलीको प्रयोग छ।

यात्रा प्रसङगका प्राकृतिक चित्रण, मानव–प्रकृति चित्रण र पर्यावरणीय चेतना विकसित गर्न सफल उपन्यास हो। सामाजिक स्वार्थको केही घटनाको चित्रण, शिक्षकको जीवनका आयामहरू, शिक्षण विधाका केही जटिलता, पागलपन भित्र अर्थको खोजी जस्ता समसामायिकताका विषयमा उपन्यासले स्पष्ट बोलेको छ। प्रकृति पनि मानवजीवन जस्तै छ भन्दै आलङकारिक किसिमले प्रकृति र जीवनलाई दार्शनिक तुलनाबाट उठानभएको उपन्यासको अन्त्य पनि मानिस र प्रकृतिको तुलनाबाटै भएको छ –जीवन नदी जस्तै बगिरहन्छ र हामी हाम्रा चाहनाले मूर्ख बनाइएका छौँ। बगिरहने मानव जीवनमा जीवनको अर्थ खोज्दा लेखक ईश्वरले दर्शन, जीवन र प्रकृतिको संयोजनमा नयाँ आवाज गुञ्जाएका छन्, जो इकोजका रूपमा पुनरर्वत भइरहनेछ। उपन्यासले आख्यानभित्र दर्शनको प्रयोगको नयाँ विमर्श थालनी गरेको छ।


इकोज/ लेखक –  ईश्वर कंडेल

विधा– आख्यान/उपन्यास/पृष्ठ– १९२

प्रकाशक– निखिल प्रकासन, हेटौंडा/मुल्य– रू. २५०

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares