You are here

दार्जीलिङः रफ टक्स

दार्जीलिङ घटनाहरूको शहर भए तापनि पहाड़ी क्षेत्रमध्ये सबैभन्दा सुप्रतिष्ठित सुन्दर पर्यटक मनोरञ्जक शहर मानिन्छ। जहाँको प्राकृतिक छटाले होल्याण्डको मनोरम सुन्दरतालाई पनि मात दिन्छ।

दार्जीलिङलाई ‘पर्यटक मनोरञ्जक शहर’-भन्दा  शहिदहरूको पहाड़ झैं निर्धक्क उभिरहेको कैयौं वर्षदेखिको सपना ‘छुट्टै राज्य’ –को आकांक्षालाई घात पनि गर्न सक्छ। किन भने पर्यटकहरूले मनोरञ्जन गर्न अघि यो पहाड ती नै आकांक्षीहरूका हुन्। ती नै शहिदहरूका हुन्।

अनि कहिल्यै उनीहरूको हुन नपाएको र सँधै पर्यटकहरूको मनोरञ्जन गर्ने शहरमात्र भइरहेको शहर हो।

प्रत्येक मातृभूमिप्रेमी जनसाधारणको छातीमा पैह्रो गएको त्रासपूर्ण वाक्य हो-पर्यटकहरूले मनोरञ्जन गर्ने दार्जीलिङ। तर, यो दार्जीलिङको सत्य हो। इतिहास साक्षी छ, सन् १८१७ सालमा नेपाल अनि इष्ट-इण्डिया कम्पनी बीचको युद्धमा कम्पनीले नेपालबाट सिक्किमे राजासित गरेको सन्धी ‘Treaty of Titaliya-लाई खोस्नु सफल बनेपछि, कम्पनीले सिक्किमलाई टिस्टा नदीसम्मको भू-भाग चाहिँ फर्काएको थियो।

अनि दार्जीलिङलाई स्व-अधिनस्थ राखेको थियो। यसै क्रममा सन् १८३६ सालमा दार्जीलिङको जलवायु सम्बन्धी खोज गर्न कम्पनीले दार्जीलिङमा जेनेरल लोयड अनि डाक्टर क्याम्पेनलाई पठाएका थिए। कम्पनीका टीमले दार्जीलिङलाई हिउँदो कालको अवोहावालाई छानबिन गरेपश्‍चात् दार्जीलिङलाई आरोग्य-निवास (Saniatorium) वा मनोरञ्जक शहर बनाउने निर्णय गरे।

इतिहासबाट इष्ट-इण्डिया कम्पनीको स्वामित्व हटेर गयो। यसै क्रममा भारत स्वाधीन पनि बनियो। तर, इष्ट-इण्डिया कम्पनीले भारत छोड़ेर गएपछि पनि राजनैतिक सम्झौताहरूमा बाँधिँदै दार्जीलिङ अहिले पनि पश्‍चिम बङ्गाल सरकारको ‘मनोरञजक शहर’ नै बनिरहेको छ।

अहिलेको अत्याधुनिक टेक्नोलोजिकल युगमा पनि दार्जीलिङमा कतिपय टेक्नोलोजिकल इन्स्टिट्युटको प्रावधान छैन। यसैले गर्दा साधारण प्योर साइन्सको स्नातकोत्तर शिक्षा ग्रहण गर्न चाह राख्ने विद्यार्थीलाई दार्जीलिङ बाहिर अन्य शहरतिर जानुपर्ने बाध्यता छ।

त्यति मात्र कहाँ थियो र? शिक्षा ग्रहण गरेपश्‍चात् विद्यार्थीहरू मातृभूमिमा फर्किन चाह राखे त्यसबेला पनि उसले यहाँको राजनैतिक विचलनले खड़ा गरेको पोलिटिकल ब्याकिङ, चम्चागिरी, भाइबन्दी इत्यादिको समस्या भोगेर अन्ततिर हार खाई, ‘ब्रेन-ड्रेन’-को भिक्टिम बन्नु कर लागेका पात्रहरू छ्यापछ्याप्ति पाइन्छन्।

दार्जीलिङको यो अर्को अनुहार हो। दार्जीलिङमा ‘ब्रेन-ड्रेन’-को क्रोनिक समस्याले प्राय: शिक्षित समाजलाई सिकिस्त बनाएको छ। ‘ब्रेन-ड्रेन’-को त्रास समाजमा उब्जिने कारक यहाँको शिक्षा प्रणालीमा लगातार हुने, राजनैतिक हस्तक्षेप हो।

हुन पनि जब १८३० सालमा संसारमा रोमान्टिक ‘ऐज’को कुरा हुँदै थियो, अनि साहित्यमा विख्यात कवि Blake, Words Worth अनि Coleridge, Shelley, Keats , Byron-को कविताले क्लासिकल धारालाई पन्साउँदै रोमान्टिक धारामा यसरी कविता लेख्दै थिए-

Tyger, Tyger, burning bright

In the forests of the night

what immortal hand oreye

Could frame thy fearful symmetry?

अनि, जब संसारले डारविनको बायोलोजिकल हाइपोथेसिस् माथि ‘बेटर ह्युमन,’ फिउचरको कुरा सोच्दै थियो, त्यसबेला यही संसारको सानो कुनामा विद्यमान दार्जीलिङले इष्ट-इण्डिया कम्पनीको दासत्व भोगाईमा असाक्षर भविष्य काटिरहेको थियो।

यसैगरी इष्ट-इण्डियाले दार्जीलिङलाई नेतृत्वमा लिँदा, यहाँ बोलिने नेपाली भाषाको अस्तित्व पनि १८३० सालतिर गौण रहेको बुझिन्छ। १८३० को दसकतिर दार्जीलिङको अधिकांश जनसमुदायलाई कम्पनीको नोकर बनेर शिक्षा व उन्नतिको बाटोबाट कोशौं टाडोमा भेटाइन्थ्यो। झन् भाषाको अस्तित्व त अत्यन्त सोचनीय थियो।

 

विमर्शः दार्जीलिङे भाषा

१९३०-को दसकमा, इष्ट-इण्डिया कम्पनीको दासत्वको मारमा दार्जीलिङमा बोलिने नेपाली बोलीको मूल स्वरूप कस्तो थियो होला? सायद यस्तो दासत्वमुनि, नेपाली जातिको भविष्य साँघुरो बन्दै, संस्कार खोसिएर अत्यन्त दयनीय बनेको थियो होला।

त्यो सन् १८३० दसकमा दार्जीलिङ पूर्णत: इष्ट-इण्डिया कम्पनीको देखरेखमा थियो। दार्जीलिङ अङ्ग्रेजी दासत्व भोगाइमा लगातार शोषित बन्दै, यहाँ बोलिने प्रमुख नेपाली पर्वते बोलीले पनि स्वअस्तित्वको सङ्घर्षमाझ गौण अवस्था भोगिरहेको थियो।

त्यसबेला दार्जीलिङ पर्वतीय क्षेत्रमा नेपाली बोली पनि १३ किसिमको हुने गर्थ्यो- १. खस वा पर्वते बोली २. मगर ३. गुरूङ ४. सुनवार ५. कचारी ६. हायु ७. चेपाङ ८. कुसुन्डा ९. मुर्मी १०. नेवारी ११. किराती १२. लिम्बु १३. लाप्चे।

अङ्ग्रेजी शासनकालमा दार्जीलिङको जङ्गली भागतिर ज्यादातर लाप्चे समुदाय अनि फटाक-फुटुक लिम्बु, नेवारी अनि मगर समुदाय मात्र देखिन्थ्यो र उनीहरूमाझमा प्रयोग हुने आफ्नै जातीय भाषा थियो।

यसप्रकार कैयौं जातीय भाषामा बाँड़िएको एउटै नेपाली समुदायमाझ भाषाको भिन्नताले एक-अर्कासित सम्पर्क बनाउनु ठूलो चुनौतिको विषय नै हुने गर्थ्यो। यस्तो भाषिक भिन्नताको समस्यालाई मूलबाट हटाउनु, पहाड़मा सबैले एउटै पर्वते बोली बोल्ने कुरा निस्कियो।

र यसरी दार्जीलिङ जस्तो सानो पहाड़ी क्षेत्रमा नेपाली पर्वते बोलीको विकास हुनलाग्यो। यसै क्रममा अन्य जातीय भाषा प्रयोगको कमीले हराउँदै गए, तर पहाड़मा लाप्चे, लिम्बु, नेवारी तथा मगर समुदायको ज्यादै बोलवाला रहेकोले, यस संस्कृतिसित सम्बन्धित कैयौं पुस्तक अनि दस्तावेजहरू दार्जीलिङमा अहिले पनि प्रशस्त रूपमा पाइन्छ।

फेरि अङ्ग्रेजी प्रशासनले पनि पहाड़मा आफ्नो साम्राज्य बलियो पार्नु, यही पर्वते बोलीको विकासको निम्ति कैयौं अङ्ग्रेजी विद्वानहरूलाई खटाए।

यो भन्नु भूल नहोला, अङ्ग्रेज विशेषज्ञहरूको क्रमश: खोजबिनमा नेपाली पर्वते भाषा, फिल्टर हुँदै विशुद्धिकरणको मार्ग तर्फ बढ्यो। भाषाको विस्तार विषय लिएर Linguistic Survey of India  नामक पुस्तक पल्टाएर हेर्दा, त्यहाँ पनि अङ्ग्रेज विद्वान् ग्रीयर्सन अनि प्रथमचोटि इष्ट-इण्डिया कम्पनीलाई नेपाली भाषा सिकाउनु भनि प्रकाशमा आएको प्रोफेसर टर्नरलको नेपाली शब्दकोषको वृहत् रूपमा चर्चा भेटाइन्छ।

हुन पनि टर्नरलको नेपाली शब्दकोषले इष्ट-इण्डिया कम्पनीलाई दार्जीलिङे पर्वते बोलीको एक हरफ ज्ञान पक्कै पनि दियो होला, तर अङ्ग्रेज ज्ञाताले लेखेको नेपाली भाषाको त्यो रूप कस्तो पो थियो होला?

पक्कै पनि ‘स’ अनि ‘ट’ शब्द लगाउँदै अङ्ग्रेजी टोनको नेपाली भाषा थियो, जो अहिलेको टिनेजर नेपाली समुदायमा अत्यन्त लोकप्रिय बन्नपुगेको छ, त्यस्तै थियो होला अङ्ग्रेजी नेपाली बोली।

तर यसप्रकार अङ्ग्रेज शासनमा नेपाली पर्वते बोली जे भए पनि भत्किँदै-सप्रिँदै बिस्तारी प्रयोगमा आउँदै थियो। फेरि प्रयोगमा लगातार आउने वस्तुमा कहिले पनि कृत्रिमताको खिया लाग्दैन, भने जस्तो गरी त्यही   Linguistic Survey of India लगायत Vol. III Part I, Vol. IX Part IV  हेर्दा, नेपालमा पर्वते बोलीको विकास इतिहास लेखिएको भेटाइन्छ।

भाषाको इतिहासमा सोह्रौँ शताब्दीतिर राजा द्रव्य शाहको नेपाल जित्ने अभियानमा, उनले गोर्खा जितेपछि मगर राज्य लमजु धोर, भीरकोट, धिरिङ, रिसिग जितेपछि पृथ्वीनारायण शाहले नेपालको मुटु काठमाड़ौंमाथि चढ़ाई गरेको कुरा छ, जो भाषा विकाससित सोझो रूपमा सम्बन्धित रहेको पाइन्छ।

त्यसैले भाषा विकासमा पृथ्वीनारायण शाहको हस्तक्षेपी युद्ध महत्वपूर्ण रहेको छ। त्यसबेला काठमाड़ौं नेवारी राजाको साम्राज्य थियो, तर यो युद्धपछि सम्पूर्ण नेपालको मसिना क्षेत्र पनि पृथ्वीनारायण शाहको वशमा पर्नु गयो।

त्यसबेला नेपालमा तिब्बती बर्मेली पार्टमा ३२ बोली अनि इन्डो आर्य्य पार्टमा ३ मुख्य एवम् ९ अन्य बोली भएको तथ्य पाइन्छ। यसप्रकार रफ एस्टिमेट लगाएर हेर्दा नेपालमा सोह्र शताब्दीतिर ४४ किसिमको बोली रहेको विशेषज्ञको मत रहेको भेटाइन्छ।

तर, पृथ्वीनारायण शाहको पूर्व नेपाल विजयपछि नेपालमा बिस्तारी यी ४४ जातीय बोली हराउँदै गयो, अबउसो नेपालमा पृथ्वीनारायण शाहको नेपाली एकत्र अभियानको मूख्य खुड्किलोले नेपाली पर्वते बोलिनु पर्ने निर्णयमा समस्त जनसमुदायलाई बाँध्ने वा थोप्ने कार्य नै गऱ्यो। र यस्तै बाध्यतामा बिस्तारी नेपाली भाषाको विकास पनि हुँदै गयो।

तर, भाषा सम्बन्धित कुराहरू केवल हाइपोथिसिस् नै साबित हुन्छ, कारण गोर्खा वा नेपाली वा पर्वते भाषाको शुरूवात ज्ञाताको हात परेको छैन, तरैपनि भाषाको गम्भीर विषय लिएर पार्सी ब्राउनले पिक्चरस्क नेपाल अन्तर्गत लेखेको भेटाइन्छ:- ^^The Gurkhas claim descent from the Rajas of Chitore in Rajputana. They were driven out of their own country by the Muhammadan invaders in the fourteenth century and took refuse in the hilly districts about Kumaon on the western boarders of the present confines of Nepal** नेपाली-भाषा र साहित्य : पारसमणि प्रधान।

यसै  पुस्तकलाई आधार बनाएर हेर्दा, कतिपय विद्वान्ले राजस्थानी अनि नेपाली शब्दहरूमा एक अर्थ सूचक पक्षहरू रहेको तथ्य पनि राख्छन्। अनि यहीँ पिक्चरस्क नेपालमा, नेपाली भाषा राजस्थानबाट शुरू भएको काल्पनिक सिद्धान्त पनि उल्लेख गरिएको छ।

तर, नेपाली भाषा जहाँबाट शुरूवात भएको होस्। यसरी उत्पति भएको नेपाली भाषाको स्वरूप अहिलेको विशुद्ध नेपाली भाषा जस्तो थिएन। यसको विशुद्धिकरण हेतु कयौं विद्वान्हरूको नि:स्वार्थ योगदान रहेको छ।

यस्तै भाषिक योगदानको कुरा आउँदा अङ्ग्रेज विद्वान् पाद्री किल्गौर, पाद्री टर्नबूल अनि पाद्री ऐटनको नेपाली/गोर्खाली व्याकरण बारेमा थाहा लाग्छ, तर यो व्याकरणमा प्रयोग गरिएको नेपाली भाषाको रूपलाई नेपाली पण्डित ज्ञाता प. विश्‍वराज हरिहर शर्मा, शिखरनाथ सुवेदी तथा पुण्यप्रसाद शर्माहरूले अस्वीकार गर्दै, भाषा शुद्धिकरण हेतु गोर्खा भाषामा कैयौं ग्रन्थहरू बारम्बार प्रकाश गरे।

तर, भाषा विशेषज्ञहरूले यी ग्रन्थहरूमा काशी भाषाको प्रभाव परेको कुरा बताए, कारण नेपाली भाषामा ज्यादै ड्यास (-) अनि एक्स्क्लेमेशन् (!)-को प्रयोगले भाषा जटिल देखिन्थ्यो। फेरि नेपाली साहित्यमा पनि नेपाली भाषाको सर्वाङ्ग विकासको क्रममा प्रतिदिन नूतन पुस्तकहरू प्रकाशमान हुने गर्थ्यो, अनि यही भाषा सन्दर्भलाई लिएर मोतीराम भट्टका कतिपय ग्रन्थहरू नेपाली भाषालाई उन्नत पुराउने ध्येयमा प्रकाशमा आयो, तर भट्टका कृतिहरूमा पनि नेपाली भाषामा ज्यादै हलन्त-को प्रयोग देखियो, जसले भाषा झन-झन गम्भीर बन्यो।

नेपाली भाषा विकासको मोड़मा बल्ल विशुद्ध मोड़ आदिकवि भानुभक्तको नेपाली भाषामा अनुवाद भएको रामायणबाट देखिनु गयो। नेपाली भाषाको विकास अनि शुद्धिकरण मार्गमा आदिकवि भानुभक्तकृत रामायण बढो कारगर साबित रह्यो।

तर, यसप्रकारको नेपाली भाषामा आएको प्रगति लहरबाट दार्जीलिङे आम-जनसमुदाय वञ्चित नै रह्यो। त्यसैले दार्जीलिङमा नेपाली भाषा विकासको इतिहासले अर्कै परिप्रेक्षलाई समाउँछ। सन् १८३६ सालमा इष्ट-इण्डिया कम्पनीले दार्जीलिङलाई आरोग्य निवास बनाएपछि सन् १८३९ सालमा दार्जीलिङमा डाक्टर क्यामबेलद्वारा वृहत् क्षेत्रमा चियापत्ती उद्योगको कार्य शुरू भयो।

यसरी संसारको मानचित्रमा दार्जीलिङ आर्थिक रूपमा सबल बन्दै थियो। विस्तारी यहाँ चियापत्ती कमानतिर कयौं रोजगारहरू खोलिनु थाल्यो। चियापत्तीको उद्योगको सफलतासित, चियाको बोटमा पैसा उम्रिन्छ भन्ने जनविश्‍वासलाई लिएर, दार्जीलिङ बाहिर अन्य राज्य बिहार, बाल, भोटाङ, नेपाल, सिक्किम इत्यादि क्षेत्रबाट बहु जनसंख्याको आप्रवास हुन थाल्यो। यसप्रकारको आप्रवासमा, दार्जीलिङमा बोलिने नेपाली भाषामा अन्य राज्यको बोली पनि मिश्रित हुन थाल्यो। तर, चियापत्ती उद्योगमा मस्त रहेको जनमानस त्यसबेलाको दार्जीलिङमा पैसा टिप्ने ध्येयले निरक्षर नै रहेको थियो।

तर, चिया कमानमा बढ्दै गएको कामको चापलाई समाल्नु भनेर, इष्ट-इण्डिया कम्पनीका कप्तान जोर्डनका प्रयासमा कतिपय निरक्षर युवकलाई साक्षर बनाउन, गया पढ्नु पठाइने कार्य हुन्थ्यो। यसरी, प्रथमपल्ट जस्तै कारणले भए तापनि नेपाली युवा जमात् दार्जीलिङमा साक्षर बन्दै गएका थिए।

सन् १८७४ सालमा मैकफर्लेनले नेपाली युवावर्गको निरक्षर अवस्था देखेपछि नेपाली भाषालाई धर्म प्रचारको माध्यम बनाउने पाद्री गङ्गाप्रसाद प्रधानको नेतृत्वमा दार्जीलिङका कुना-कुनामा प्राइमरी मिशनरी स्कूलहरूको विस्तार गराएका थिए।

पाद्री गङ्गाप्रसाद प्रधानले १९९० सालमा गयामा बसेर हिन्दी भाषा सिकेर दार्जीलिङ फर्केपछि, यहाँ इष्ट-इण्डिया कम्पनीका कतिपय भाषा सिक्नु मनपराउने ज्ञाताहरू जस्तै पाद्री टर्नबूललाई उनले  नेपाली भाषा सिकाएका थिए।

यसरी पाद्री टर्नबूलले, पाद्री गङ्गाप्रसाद प्रधानसित तीन वर्षसम्म नेपाली भाषा सिकेर, नेपालीमा व्याकरण अनि अन्य पुस्तकहरू लेखे। यसरी सिकेको आधारमा पाद्री गङ्गाप्रसाद प्रधानले प्रथमपल्ट सम्पूर्ण अङ्ग्रेजी बाइबललाई नेपाली भाषामा अनुवाद पनि गरे।

यसरी अनुवाद भएको नेपाली भाषामा लिखित बाइबलले जनमानसमाझ Christian  धर्मसितै नेपाली भाषाको प्रचार गर्ने कार्य पनि गऱ्यो। यसप्रकार, फिल्ट्रेसनको मार्गबाट हुँदै, भाषा विकासको मोड़तिर उभिएको भटाइयो। तर भाषा विकासको कुरा जटिल विषय नै हो।

यही भाषाको विकासकार्य हेतु दार्जीलिङमा कैयौं खुल्ला गोष्ठी, नाटक, लोक अनि भक्ति-गीतको आयोजन भइरहन्थ्यो। यस्ता नाटक, गीत, कविता पठन कार्यक्रमबाट पनि भाषा शुद्धिकरण तथा प्रचारको कार्य पहाड़मा सुचारू ढङ्गमा चलिरह्यो।

सायद यस्तै साहित्यिक नेपालीमा अनुवाद भएको रामायणले पनि दार्जीलिङे कन्दराहरूमा गुञ्जने बाटो पायो होला। जे-जस्तै भएपनि भाषा ज्ञाता, लेखकवर्ग, गीतकार इत्यादिको कठोर परिश्रमको फल नै आजको दार्जीलिङे नेपाली बोली हो।

यसबाहेक ज्ञाता पारसमणि प्रधानको नेपाली भाषामाथिको खोज, दार्जीलिङको ‘खबर कागत्’, पत्रिका चन्द्रिका, सूर्यविक्रम ज्ञावालीको काशीबाट आउने ‘जन्मभूमि’ मासिक पत्रिका, देहरादूनको ‘गोर्खा खबर’ ठाकुर चन्दन सिंहको साप्ताहिक पत्र ‘तरूण गोर्खा’ नेपालबाट निस्कने सरकारी साप्ताहिक पत्र ‘गोरखापत्र’-ले पनि कतिपय पक्षसम्म दार्जीलिङे नेपाली भाषा विकासमा सोझो प्रभाव पारेको बुझिन्छ।

फेरि, कालिम्पोङ स्काटिस यूनिभर्सिटीज मिसन इन्स्टिट्युसनका प्रिन्सिपल डाक्टर सदर्लैण्डले नेपाली भाषालाई दार्जीलिङमा स्थापित हाई-स्कूलतिर पढ़ाउन आवेदन गरे। उनको यस आवेदनमा २४ जुलाई १९१८ मा नेपाली भाषा म्याट्रिक, आइ. ए. र बी. ए. मा स्वीकार गरिएको थियो। नेपाली,  भाषामा आएको यसप्रकारको रोचक तथा उन्नत मोड़बारेमा कलकत्ताको विशिष्ट समाचार पत्रतिर पनि यो खबरले त्यसबेला धेरै हलचल मचाएको थियो।

यसप्रकारको प्रभावले भाषामा आउँदै गरेको फिल्ट्रेशन प्रक्रियाको सजक छाप भाषामा पूर्णरूपमा देखिन गयो। तर, यस्तो सङ्घर्षपछि अहिले भाषाले मान्यता पाएको पच्चीस वर्ष बितेरपनि २०१७ मा पनि Nepali language is in a state of flux भन्ने विचारलाई दार्जीलिङे नेपाली समाजले समाधान गर्न सकेको छैन!

प्रश्‍न अहिले पनि उत्तिकै गौण छ, कारण यसरी सङ्घर्ष गर्दै आएको नेपाली भाषाको कायामाथि बारम्बार राजनैतिक षड़यन्त्रकारी भाषिक प्रहार भइरहन्छ। त्यसैले घोर सङ्घर्ष पश्‍चात् नेपाली भाषाले मान्यता पाएपछि पनि दार्जीलिङे जनमानसको परिचय वा आइडेन्टिटीले संसारको मानचित्रमा गम्भीर क्राइसिसको समस्या भोगिरहेछ। अहिलेको २०१७ को अत्याधुनिक युगमा पनि कतिपय राजनैतिक षड़यन्त्रको व्यापक खेलमा कैयौं वर्षको सङ्घर्ष लगाएर एकत्र बनेको विशुद्ध नेपाली भाषालाई टुक्राउँदै, नेपाली जनतालाई पूर्णत् कालो भविष्यतिर लैजाने कार्य हुँदैछ।

हुनपनि भाषा वा जाति टुक्रिए, जाति अनि भाषाको विकासको कार्य पनि गौण बन्दै जान्छ। तर, सरकारले रचेको षड़यन्त्रमा अल्झिँदैछ नेपाली भावना। प्रत्येक नेपाली भाषी जनताले स्वजातीय मातृ भाषालाई हृदयस्त प्रेम गरेको हुन्छ। र यही प्रेमलाई सरकारले ब्ल्याकमेल स्टन्टको रूपमा प्रयोग गर्दै, नेपाली जनसमुदायलाई भाषा-भाषाको विकास बोर्डमा छुटाउने कार्य गरिरहेको छ।

आखिर हामीले पनि त हाम्रो भाषा नै बोलिरहेका हुन्छौं, त्यसबेला हामी कसरी विकसित समाजको अनुहारमा जङ्गली साबित हुन्छौं? प्रश्‍न गम्भीर अनि सोचनीय रहे तापनि हामीले नेपाली भाषाको संरक्षण गर्नु अविनार्य छ, कारण प्रयोग अनि प्रेमको कमीले संसारको कैयौं भाषाको मृत्यु भइसकेको सत्य प्रमाण समाजमा देखिरहन्छ।

 

दार्जीलिङे राजनीति विचलन

चर्चित कवि जीम मोरिसनलाई क्यानेडियन ब्रोटकास्टिङ कम्पनीका टोनी थोमसले सन् १९७० तिर एउटा साक्षात्कार प्रोग्राममा युवा जमातलाई मनपर्ने कुराबारे प्रश्न गर्दा चर्चित युवा कवि, जीमले युवा जमातलाई ‘जोय आफ् इग्रजिस्टटेन्ट’, ‘सेल्फ-रियलाइजेसन’, ‘सेल्फ-डिस्कभरी’ अनि ‘फ्रिडम्’ पछाड़ि दगुर्नु मनपरेको कुरा बताए।

त्यसक्षण, सायद युवा आँखाबाट कवि जीमले पुरानो जमात अनि नयाँ जमात बीचमा ठूलो जेनरेशन ग्याप रहेको देखे होलान् र नै जेनेरेशन ग्याप पछि राजनैतिक अनि सामाजिक कारणहरू तर्फ क्रेन्द्रित कविताहरू लेखे। जीम अनुसार युवावर्गमा स्वभावना अनि स्वपावरको जारूकता रहेकोले, पुरानो राजनैतिक सिस्टमले युवा-जमातको सेल्फ-रियालाइजेसनमाथि थिचोमिचो गर्ने साथ, त्यस्तै जागरूकताबाट नै रेवलूशन शुरूभएको कुरा बताउँछन्।

हुनपनि, प्रत्येक रेवलूशन/आन्दोलन युवा जमातको नौलो आइडियामा केन्द्रित रहेको हुन्छ, र यस्तो आइडियाले युवावर्गदेखि वर्किङ क्लास भएर अन्ततिर आम जनतालाई प्रभावित पारेको हुन्छ।

यसप्रकारको विचार ७० को दशकमा संसारमा बढ्दै गएको डीहयूमनाइज प्रक्रिया अनि बढ्दो उद्योगीकरणले मानव सभ्यतामा उब्जिएको सोझो कम्युनिकेशन विभेदले मानव भविष्यलाई मशिनरी अनि कम्प्यूटराइज बनाउँदै गरेको अवस्थामाथि जीमको सैद्धान्तिक दृष्टिकोण थियो।

तर, यही ७० को दशकले दार्जीलिङे उन्नतिमा कस्तो प्रभाव छोड़ेको थियो? सो विचारयोग्य छ। यही ७० को दशकमा विश्‍व साहित्यमा इलियट, जैन कोरेन्सम, क्लीन्च ब्रक्स, डोनाल्ड डेनी, रिचर्ड एल्डिगटनले समयसित परिवर्तित बन्दै दर्शन अनुभूतिको कुरा गर्दैगर्दा दार्जीलिङमा पनि पूरातन रूप अन्तर्य र बोधसमेतमा काँचुली फेर्ने समय आएको थियो।

दार्जीलिङले काँचुली फेर्नु अनिवार्य नै थियो, कारण १८३९ सालदेखि दासत्व भोगेको दार्जीलिङको वर्तमान परिस्थिति अनिश्‍चित देखिन्थ्यो। त्यस्तै चित्रो वर्तमानलाई हटाउने ज्वलन्त प्रयासमा युवा आइडियाको राजनैतिक परिप्रेक्ष पछ्याउँदै पहाड़मा प्रथमपल्ट आन्दोलनको लप्का दन्कियो।

८६ को आन्दोलनले जातीय अस्मिताको मनोविश्‍लेषणात्मक साम्जस्य देखाउँदै पूँजीवादी सरकारलाई सकेसम्म टक्कर दिएको देखिन्थ्यो। त्यसैले इतिहासमा ८६ को आन्दोलनलाई नेपाली समाजले भोग्दै गरेको आइडेन्टिटी क्राइसिसको जटिल समस्यामाथि द्वन्द्वात्मक युद्धको एक युग भनेर मानिलिन सकिन्छ।

तर, अन्तमा यस्तो क्रान्तिको द्योतक सङ्घर्षले नेपाली मनको आत्मग्रस्त तथा सम्वेदनात्मक उत्पीड़नको बयान मात्र बोक्यो। यस्तो जातीय सङ्घर्षमा १२०० नेपाली जीवन शहीद भए र पनि शहीदको सपना राजनैतिक षड़यन्त्रको पाशोमा कसेर आवाज बिहिन बन्न पुग्यो अनि कालान्तरमा त्यही शहीदको स्मारक दबाउँदै दार्जीलिङे राजनैतिक नेताको स्वार्थ महल खड़ा हुँदै गयो।

तर, ८६ को भीषण आन्दोलनमा सङ्ग्रामी-जनताको जोशसित निस्किएको अदम्य जुलुस पनि दिन दुइ गुणा र रात चार गुणा गर्दै आन्दोलनको स्वरमा असाध्यसित बढ़्दै थियो।

घटनाहरू

सन्तरी बढी त्यसदिन जुलुसको अघिल्तिर ठूलो झण्डा समातेर खूबै जोशिलो देखिन्थे। बढीको निडरताले दार्जीलिङलाई न्याय दिलाउँछ, यस्तो लाग्थ्यो। त्यस जुलुसमा भागीदार जनताको जोश एक प्रकारमा हानथाप नै भए जस्तो लादग्थ्यो। जनसमूहको सामुहिक नाराहरूको भीष्म प्रभावमा आफसे-आफ सरकारी-योजना/तन्त्रलाई शिथिल बने झैं देखिन्थ्यो।

तर सरकारी सामरिक दलले ढ्याङ…ढ्याङ गर्दै अन्धाधुन्ध बन्दुक पड्काउन थाल्यो। चरैतिरबाट जुलुसमाथि जोड़सित लाठी प्रहार हुन थाल्यो अनि जुलुसलाई छताछुल्ल पार्नु आँसु ग्यास छोडियो। सबै ज्यान जोगाएर भागे।

तर सन्तरी बढी भीड़मा लड़ेर घाइते बनिन्। र अहिले सन्तरी ढी मेरूदण्डको त्यो चोटले हिँड्न पनि सक्दैनन्।  तर आँखामा निरङ्कुश दार्जीलिङको सुन्दर स्वतन्त्रताको सपना ज्वलन्त देखिन्छ।

आन्दोलनकालमा, विदेशबाट हात-हतियारहरू आन्दोलनकारीहरूले प्रचुर मात्रामा पाएको झूटो प्रचारमा, सामरिक दलले घरिघरि गाउँ-घरमा छापा मार्ने कार्य गरिरहयो।

यस्तो सरकारी हस्तक्षेपी छापा अरेन्जभेल्ली टी स्टेटका स्त्री समुदायको भविष्यमा अभिशापको कालो दाग नै सावित भयो। छापामा अत्याचारी लुटमार अनि तोड़फोड़ त हुन्थ्यो तर, त्योभन्दा डरलाग्दो कुरा छापामा पुरूष समुदाय जेल परेकोले त्यहाँको निर्बल स्त्रीलाई सकेसम्म उपद्र्याहा सामरिकले बलात्कारको शिकार बनाएका थिए।

त्यहाँका स्त्रीले आन्दोलनकालमा गाँस अनि अस्मिता लुटेको कथा सुनाउँदा अहिले पनि नेपाली नारी-मन घृणाले ओतप्रोत बन्छ। आँखा करूणाको अश्रुले भिज्ने गर्छ। आन्दोलनकालमा, एकदिन यहीं सैनिक छाउनीतिर केही काम विषय लिएर जाँदै गर्दा त्यहींनेर एक्कासी अजय सरलाई सैनिकले आक्रमण गरेको थियो। यसबेला सरको हातमा केवल दैनिक समाचार-पत्र अनि कथाकार साथी शरद् छेत्रीको दार्जीलिङ बजारमा जलाइएको कथा किताब ‘चक्रव्यूह’-को कतिपय प्रति थिएछ।

यसैलाई सरकारले आन्दोलनको गोपनीय कागजपत्र ठानेर सरकारी सैनिकले सरलाई छोड़्नु मानेनन्। उल्टा हात-हतियारसित पक्रेको कृत्रिम आरोपमा सरलाई जेलमा बन्द गरियो।

सरमाथि सैनिकले थर्ड डिग्री टर्चर जस्तो निष्ठुर अत्याचार चलायो। त्यस टर्चरले निर्दोष अजय सरको कान ठ्याम्मै नसुन्ने भयो। त्यसरी बेकारण गरिएको अत्याचारमा सर जीवनभर मानसिक रूपमा कुँजिए।

८६ को आन्दोलनकालसित यस्ता कैयौं मार्मिक कथाहरू जोड़िएको छ, जहाँ नेपाली घरको भरण-पोषण गर्ने ठूलो छोरा, गरीबको जसोतसो टाउको लुकाउने सानो वास अनि भुँड़ी भर्ने गाँस खोसिएका घटनाहरूले दन्किरहेको छ दार्जीलिङको ८६ को इतिहास।

तर, यस्तो कठोर विद्रोह अनि सङ्घर्षपछि दार्जीलिङको अनिश्‍चित भविष्यमा के लेखिएको थियो? उत्तर जे जस्तो होस्, चालिस दिनको लामो सङ्घर्षपछि आन्दोलन विफल बनेको थियो। दार्जीलिङे प्रमुख नेता अनि उपनेताहरूको झुण्डले त्यतिखेर जनतालाई गुँगो र बहिरो बनाउँदै कतिपय राजनैतिक सम्झौता अनुसार दार्जीलिङमाथि मनोपोलीको बीस वर्षसम्मको शासन बागडोर चलायो।

यस अवधिमा दार्जीलिङको कुना-कुनामा डेभलपमेन्टको नाममा कैयौं सड़क अनि भवन निर्माणको कार्य चाहिँ पूर्णरूपमा भयो। दार्जीलिङको खोच, गाउँ-बस्तीमा बत्ती अनि राशन सुविधाहरू पुग्यो। तर, जाति उत्थानको प्रश्‍न गौण नै बन्दै, कत्तै अँध्यारोमा हराउनु पुग्यो।

यसरी दार्जीलिङमा शुरू भएको राजनीतिक परिप्रेक्ष्यको प्रभामण्डलमा दार्जीलिङे जनताले विश्‍वको मानचित्रमा आफ्नो आइडेन्टिटीको चैतन्य हराउनु बाध्य बने। यहाँ चलिरहेको राजनीतिक परिवेश अर्न्तध्वनित सत्यको पातक रूप मात्रै बन्यो। जसभित्र दार्जीलिङमा राजत्व जमाउने नेता समुदायको सत्ता अनि शक्ति अमर्यादित ठहरिणदै गयो।

र समसामयिक समाजले उन्नति अनि उन्नयनको नाममा बारम्बार सम्झौता मात्रै देख्यो। दार्जीलिङको प्रत्येक जनमानसको भविष्य अबउसो अनिश्‍चित हुने भयो। चियापत्तीको उपार्जनमा खटन खपेका चिया श्रमिकको दैनिक अवस्था पनि अत्यन्त सोचनीय बन्दै गयो।

चियाबारीमा भोक, दु:ख, पीड़ा, रोगको लहर चल्नु थाल्यो। त्यसैले दार्जीलिङे प्रत्येक जनसाधारण लगायत चिया श्रमिक, गरीब जनता, युवा जमातलाई भौतिक विकासको फाँट चाहिने भयो। र, एकचोटि नेपाली जातिको साँघुरिएको नयाँ भविष्यमा संस्कार खोसिने त्रासले राजनीतिक पुँजीजीवि सङ्गठनलाई टक्कर दिने गरि, सैद्धान्तिक विचारधारामा नयाँ आन्दोलनको स्वर गुञ्जियो।

यसरी पहाड़मा फेरि सन् २०१७ को कलम अनि बुद्धि मार्गको परिपेक्ष समातेको बौद्धिक आन्दोलनले दार्जीलिङको कन्दरालाई चर्को स्वरले थर्काउनुसम्म थर्कायो।

त्यसैले भन्छु, छहारीमा छौं हामी गोर्खाली जनता। स्वअस्तित्वको लड़ाईंलाई मूलमन्त्र बनाएर दन्किएको सन् २०१७ हुन त अत्याधुनिक युगको कलम युद्ध भनेर घोषणा भएको थियो, तर यो आन्दोलन पनि नेताहरूको बुद्धिको दमबाट खेलिएको एउटा षड़यन्त्रकारी मृगजल सावित भयो।

पहाड़मा जातीय भावनात्मक हननलाई केन्द्र बनाएर चलिआएको आन्दोलनमा नेताहरूबाट फेरि एकचोटि ठूल्ठूला भाषणहरू बढ़ाइ-चढ़ाइसित राखिँदै गयो। नेपालीभाषी जनता बस्ने प्रत्येक शहरमा गणतान्त्रिक पद्धतिमा हिँड़ेर एकलब्य न्यायको लक्ष्य हासिल गर्ने जोड़तोड़ जोश उम्रियो।

पहाड़को प्रत्येक सड़क दार्जीलिङको सुन्दर भविष्यको परिकल्पनामा न्यायको माग राख्दै लगातार जुलुस शुरू भयो। साहित्यिक अनि कलाप्रेमीहरूले पनि यस समस्या आन्दोलनलाई अघाड़ि ठेल्दै प्रोग्रामहरू गर्न थाले। बौद्धिक स्तरमा  दार्जीलिङको अनि जातिको आइडेन्टिटी बारेमा चर्चा हुन थाल्यो।

तर पुन: ८६ को आन्दोलनकालको दमनकारी इतिहास दोहोरिए झैं आन्दोलनमाथि सत्तारूढ़ सरकारको लाठी प्रहार हुन थाल्यो। फेरि एकचोटि आँसु ग्यासको विस्फोटले पहाड़को अस्तित्वलाई धमिलो पार्ने कार्य हुन गयो।

चारैतिर सरकारको बन्दुक पड्किनु थाल्यो। अनि पहाड़मा पुन: छात्ती, टाउको र ढाड़मा गोली लागेर भ्वाङ परेका शहीदका घाइते सपना दिन प्रतिदिन दार्जीलिङको सड़कमा लड़ेको देखिन थाले। परतन्त्रबाट स्वदेशको स्वतन्त्रताको सपना आँखामा राख्नु कुनै अपराध थिएन, तर यस्तो माग व सपना नेपाली जमातको निम्ति अपराधको अर्को अध्याय जस्तो बन्यो।  पहाड़को छात्तीमा सामरिक दलको लगातार हननको परेड़ किन सरकार र स्वजातीय नेतारहरूले गरेका होलान्?

१०५ दिनको लामो जातीय अस्मिताको मागलाई यसपल्ट पनि कैयौं उपद्र्याहा राजनैतिक व्यूहमाझ अल्झिँदै खण्डित बनेको देखियो। यसरी प्रत्येकपल्ट आन्दोलनमा किन नेताको भ्रष्टाचार, अनैतिकतावाद, स्वार्थपरता, चम्चागिरी मुनि दबिन्छ आम जनताको आवाज?

र जस्तै जागरूक अत्याधुनिक युगमा पनि किन जनताले नेताले खड़ा गरेको डरको पर्खालमा चेप्टिन्दै गुँगो र बहिरो बन्नु पर्ने बाध्यता सहनुपर्छ? किन जातिको भविष्य उन्नत देशमा रहेर पनि पछौटे बन्छ?

यस्ता कैयौं प्रश्‍नहरू छन्, तर उत्तर जटिल अनि गौण। त्यसैले होला, यसपल्ट पनि सत्ताधारी शासनको विश्‍वासघातमा नेपाली आइडेन्टिटीबाट तातो रगत बगेको मात्र देखियो। त्यसैले होला २०१७ को आन्दोलन पछाड़ि नेपाली चिन्हारीको ठूलो अनुहारमा अस्मिता हनन्को लज्जित रातो दाग स्पष्ट देखिन थालेको छ।

त्यसैले, सङ्घर्ष दमनपछि दार्जीलिङे आम जमातको दार्जीलिङ बाहिर ‘म नेपाली’ भनेर चिनाउने आइडेन्टिटी राजनैतिक सम्झौतामा खोसिएर, अहिले भारत देशको मानचित्रमा आफूलाई कुन तहमा राखेर हेर्ने, सो विषयमा स्पष्टतया विचार गर्नु पर्ने स्थिति ज्वलन्त बनेको देखिन्छ।

त्यसर्थ, हामी छहारीमाझ तितीक्षु बनेका छौं। यसरी नै कयौंपल्ट पुराना खाकाबाट उज्जीवित बनिरहनेछ दार्जीलिङमा विकट आइडेन्टिटीको समस्या। र सधैं जस्तो यो समस्या मेटाउने कृत्रिम सपना समातेर पुनारावृत्त भइरहने छ नेताहरूको सत्ता पाउने षड़यन्त्रकारी सपना।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares