You are here

विमलको पाइलाको डाम मेट्दै विनयको सफल तकभर अभियान

मोहन लामा/दार्जीलिङ, 14 जनवरी: विमल गुरूङको पाइलाको डाम मेट्दै आज विनय तामाङले सफलतापूर्वक तकभर अभियान पूर्ण गरे। उनको तकभर अभियान आज बिहान सिंहमारीस्थित गोजमुमोको सीलबन्द पार्टीको केन्द्रिय कार्यालयको मुनिल्लो तलामा अवस्थित चिया दोकानमा चिया पिएपछि शुरू भएको थियो। जहाँ विनय तामाङले गोजमुमोका केन्द्रिय समितिका सहसचिव हुँदा पनि चिया पिउने गर्थे। यसै चिया दोकानको हाहिर उभिएरनै आज उनले विमल गुरूङको गौडा मानिएको तकभर समष्टिको भ्रमण शुरू गरेका थिए। यसै समय गोजमुमोका समर्थकहरूले यहाँ आएर तामाङलाई खदा लगाइदिए।

यसपछि आफ्नो गाड़ीमा चडेर उनी अनि उनका समर्थकहरूको लाम-लश्कर विमल गुरूङको गाउँ पातलेबास पुगे, जहाँ उनी पुनः गाड़ीबाट ओर्लिएर केही समय टोलाए। यस समय उनले छेवैमा रहेको बन्द पार्टी कार्यालयलाई पनि राम्ररी हेरे अनि आफ्नो गाड़ीमा चडेर पुनः तकभरतर्फ बढ़े। पातलेबास आज लगभग सुनसान थियो, पार्टी कार्यालय निर्जन बनेको थियो भने विमल गुरूङको घर र पातलेबासस्थित पार्टी कार्यालयको मूल द्वारमा ठूल्ठूला ताला झुण्डिएका थिए।

पातलेबासबाट तामाङ तकभर, लिम्बु बस्ती, सिङ्ला चियाबगान, सिङ्ला बजार, कर्मटार, गोक हुँदै जामुने आएर उनकै स्वागतमा आयोजना गरिएको एक कार्यक्रममा भाग लिए। यसै समय उनले पत्रकारहरूसित कुराकानी गर्दै भने-जामुनेमा म यसअघि 26-27 मई 2017-को दिन आएको थिएँ। त्यसपछि गोर्खाल्यान्डको आन्दोलन भइहाल्यो, यहाँ आउने कुनै कार्यक्रम पनि बनिएन अनि चाँजै पनि मिलेन। तर धेरै समयपछि म यस स्थानमा आएको छु, जहाँ जनताले भव्य स्वागत जनाए साथै उनीहरूले भोग्न परिरहेका विभिन्न समस्या समाधानको लागि ज्ञापनहरू पेश गरेका छन्।

जसलाई म यस समष्टिका एक अभिभावकनै बनेर समाधान गर्नेछु। उनले भने-पहाड़मा धेरै राजनैतिक नेताहरू देखियो, जसले आफ्ना विरोधी पार्टीका नेता वा समर्थकहरू रहेका स्थानहरूलाई भिक्टमाइज गर्थे, तर म त्यस्तो प्रथालाई परिवर्तन गर्न चाहन्छु। यसैले यस क्षेत्रमा प्रथमनै जीटीएले सिङ्लादेखि जोरथाङ जाने मूल सड़कको मरम्मति गर्ने योजना बनाएको छ, जसको प्रथम चरणको काम शुरू पनि भइसकेको छ। यसरीनै सिङ्लामानै पिउने पानीको परियोजना पनि शीघ्रै शुरू गर्ने योजना बनाएको उनले बताए। हाल गोजमुमो अध्यक्ष विनय तामाङले प्रत्येक छुट्टीको दिन वा समय पहाड़का विभिन्न समष्टिहरूको भ्रमण गरिरहेका छन्, यसै क्रममा आज उनले तकभर समष्टिको भ्रमण गरेको बताए।

उनले भने-तकभर समष्टि गोजमुमोका पूर्व अध्यक्ष विमल गुरूङकै समष्टि थियो, तर यस समष्टिमा पनि धेरै समस्याहरू रहेको अनि ती समस्याहरूमा विमल गुरूङले गम्भीरतासित ध्यान नदिएको आज स्पष्ट भएको छ। किनभने, आज जुन-जुन गाउँमा पनि मेरो जनतासित भेट भयो, ती सबै गाउँ-घरका जनताले विभिन्न समस्याहरूको सामना गर्न परिरहेको दुखेसो पोखाए। यसैले यस समष्टिलाई म एक अभिभावकको रूपमा हेर्नेछु अनि समस्याहरू समाधान गर्नेछु। यसैबीच, एक प्रश्श्को उत्तरमा जीटीए वा गोजमुमो अध्यक्ष तामाङले भने-जामुनेलाई पर्यटन स्थलको रूप दिनको लागि हालसम्म यस स्थानमा 50 करोड़ रूपियाँभन्दा अधिक राशि राशि भइसकेको छ, यसैले यसलाई पूर्ण गरेर एक आकर्षक पर्यटन स्थल बनाउने क्रम जारी छ।

यहाँ भगवान शिवको मूर्ति बसाउने, मुगल गार्डन निर्माण गर्ने काम अझै पनि जारीनै छ। यसैले म कुनै क्षेत्रलाई भिक्टिमाइज गर्ने पक्षमा छुइनँ। उनले सिंहमारी-तकभर क्षेत्रका जनता शान्तिप्रिय रहेको जनाउँदै शान्तिलेनै विकास ल्याउँछ भन्ने पनि मत व्यक्त गरे। उनले विमल गुरूङलाई देखाउनको लागि आज आफूले सिंहमारी-तकभर समष्टिको भ्रमण गरेको होइन भन्ने बताउँदै अघि भने-कसैलाई देखाउनु हो भने विकास गरेर देखाउनुपर्छ, विकासकै लागि मैले ठाउँ-ठाउँको भ्रमण गरिरहेको छु। यसैबीच, उनले अघिबाटै पास भइसकेका 276 वटा कामलाई पूर्ण गर्नको लागि विभागीय तौरमा छोड़िसकेको पनि जानकारी गराए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares