लाभको पदबारे नैतिकताको आधारमा मुख्यमन्त्रीले राजीनामा दिनुपर्छ: कुङ्गा नीमा लेप्चा

गान्तोक, 23 जनवरी ।


लाभको पदमाथि चम्किएको मुद्दालाई उचाल्दै सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले मुख्यमन्त्री पवन चामलिङको राजीनामाको माग गरेको छ। संसदीय सचिवको पद गैर कानूनी र असंवैधानिक हो भनेर थाहा हुॅंदाहुॅंदै पनि विधायकहरूलाई संसदीय सचिव नियुक्त गरेको आरोप एसकेएमले मुख्यमन्त्रीमाथि लगाएको छ। यस कारण मुख्यमन्त्रीले आफ्नो गल्तीलाई स्वीकार गरेर नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्छ भन्ने माग एसकेएमका कार्यवाहक अध्यक्ष कुङ्गा नीमा लेप्चाले सोमबार आयोजित पत्रकार सम्मेलनमा गरे। उनले विधायकहरूलाई संसदीय सचिवको पदमा नियुक्त गर्ने कार्य मुख्यमन्त्रीले नै गरेका हुन्, यस कारण मुख्यमन्त्रीले आफ्ने गल्ती स्वीकार गर्दै यसको जिम्मेवारी लिनुपर्छ भने। राज्यका मुख्यमन्त्रीले संसदीय सचिवको पद गैर कानूनी र असंवैधानिक हो भनेर जान्दाजान्दै पनि नियुक्त गरेको उनले दाबी गरे।
उनले संसदीय सचिवको नियुक्तिलाई अनावश्यक बताउॅंदै भने, ‘संसदीय सचिवको नियुक्तिले आम जनतालाई केही फाइदा भएन। केवल राज्यकोषको नोक्सानी भयो। यो पद ‘पोलीटिकल एड्जस्टमेन्ट’ को लागि दिइएको थियो।’ कार्यवाहक अध्यक्ष लेप्चाले एसकेएम छोडेर एसडीएफमा जाने सात जना विधायकलाई पोलीटिकल एड्जस्टमेन्ट गर्न संसदीय सचिव नियुक्त गरेको दाबी गरे। अर्कोतिर, उनले सात जना विधायकले राजीनामा नदिइ एसडीएफमा सामेल भएको दाबी पनि गरे। त्यस समय यस विषयमा एसकेएमले राज्य विधान सभामा कार्वाहीको निम्ति पत्रचार गरेको जानकारी दिए।
अर्कोतिर, आज धुर्व सिलवाल, रिन्जिङ वाङग्याल छोपेल र कर्मा पिन्चो भोटिया एसकेएम पार्टीमा सामेल भएका छन्। कार्यवाहक अध्यक्ष लेप्चाले उनीहरूलाई पार्टीमा स्वागत जनाए। रिन्जिङ वाङग्याल छोपेल सिक्किममा खेलाडीहरूलाई सरकारद्वारा कुनै प्रकारको सहयोग प्राप्त नरहेको आरोप लगाए। धेरै खेलाडीहरूलाई राज्यको नाम उच्च राख्ने काम गरेको छ, तर सरकारबाट यस्ता खेलाडीहरूलाई अदेखा भइरहेको छ भने। उनले विन्टर कार्निभल आयोजन गर्न खर्च गरिएको करोडौ रूपियॉं यदि खेल पूर्वाधार निर्माणमा खर्च गरिएको भए धेरै राम्रो हुने विचार प्रकट गरे। उनले राज्यका युवाहरूको निम्ति सरकार समक्ष कुनै ठोस कार्यक्रम नरहेको आरोप पनि लगाए। यसरी नै पूर्व शिक्षक धुर्व सिलवालले पनि आफ्नो मन्तव्य प्रकट गरेका थिए।
सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares