You are here

सिक्किमे विपक्षीहरू 14 जना विधायकको सदस्यता रद्ध नभएसम्म जेएसी चुप्प लागेर नबस्ने

गान्तोक, 23जनवरी ।


भारतको चुनाउ आयोगले आम आदमी पार्टी (आप) का 20 जना विधायकको सदस्यता अयोग्य ठहर गरियोस भनी पठाएको सिफारिशलाई राष्ट्रपतिले हरियो झण्डा देखाइदिएपछि सिक्किममा पनि राजनीतिक चहल—पहल शुरू भएको छ। लाभको पदको निम्ति आपका विधायकहरू विरूद्ध कार्वाही भएको हो। सिक्किममा पनि 14 जना विधायक विरूद्ध कथित लाभको पद मामिला विचाराधीन रहेको छ। यसै सन्दर्भमा सिक्किम सब्जेक्ट कमिटीले 14 जना विधायकको सदस्यता अयोग्य ठहर गरिनुपर्छ भन्ने माग गर्दै राज्यपाल समक्ष अगावै याचिका सुम्पिसकेको छ। नियमअनुसार राज्यपालले उक्त याचिका भारतको चुनाउ आयोगकहॉं पठाउनु पर्नेछ भने चुनाउ आयोगले यस विषयमा छानबीन गरेर निर्णय लिनेछ।
सोही विषयलाई लिएर राजधानीमा सोमबार एउटा बैठक आयोजन भयो जसमा विभिन्न राजनैतिक दलका साथै संघ संस्थाका प्रतिनिधिहरू उपस्थित थिए। सभामा प्रदेश कांग्रेसका अध्यक्ष भरत बस्नेत, सिक्किम राज्य मञ्च पार्टीका अध्यक्ष आरएन चामलिङ, एसएनपीपी अध्यक्ष बिराज अधिकारी, प्रदेश भाजपा प्रवक्ता डीएन नेपाल, सिक्किम संग्राम परिषदका प्रतिनिधि लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, स्वतन्त्र पञ्चायत आदि उपस्थित रहेको बताइएको छ। सभामा सत्ताधारी एसडीएफ र प्रमुख विपक्षी दल एसकेएमका प्रतिनिधिहरू आएनन्। आजको सभाले एउटा जोइन्ट एक्सन कमिटी (जेएसी) पनि गठन गरेको छ जसमा पूर्व सांसद पहलमान सुब्बा अध्यक्ष, डा कमल गुरूङ उपाध्यक्ष, नवीन किरण प्रधान, छिरिङ वाङचुक लेप्चा, सोनाम पिन्चो भोटिया, गुरू प्रसाद लुँइटेल लगायत पन्द्र जना संयोजक छन्।
आज गठन गरिएको जेएसीले राज्यपाललाई आगामी 28 जनवरीसम्म समय दिएको छ। 28 जनवरीसम्म राज्यपालले 14 जना विधायकको सदस्यता अयोग्य ठहर गरिनुपर्ने याचिका चुनाउ आयोगकहॉं पठाए अथवा पठाएनन् भन्ने कुराको आधिकारिक जानकारी जेएसीलाई दिनुपर्ने र यदि पठाएका छैनन् भने 28 जनवरीसम्म पठाउनुपर्ने जेएसीले माग गरेको छ। सोही मागलाई लिएर आज राज्यपाललाई एउटा ज्ञापन पत्र पनि सुम्पिएको जानकारी सिक्किम सब्जेक्ट कमिटीका उपसंयोजक नवीन किरण प्रधानले पत्रकार सम्मेलनमा दिए। उनले 28 जनवरीसम्म आफ्नो माग पूरा नभएको खण्डमा जेएसीले यस मुद्दालाई राजनैतिक, सामाजिक, कानूनी र संवैधानिक रूपमा अगाड़ी बढाएर लैजाने चेताउनी पनि दिए। उनले यो माग संविधानको पवित्रतालाई कायम राख्न उठाइरहेको दाबी गरे। यसरी नै जेएसीका उपाध्यक्ष डा कमल गुरूङ यस मुद्दालाई पार नलगाएसम्म जेएसी चुप्प लागेर नबस्ने बताए।
सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares