You are here

खेती प्रविधि : गनेउला खेती अनि गनेउला मल

गनेउलाःमाटो, गोबर, केराको बोट, जैविक पदार्थ कुहेको ठाउँहरूमा सामान्यतः गनेउला पाइन्छ। यो कीराकै एउटा प्रजाति हो। जसले माटोको भित्र-भित्र दूलो पारेर अक्सिजन पास गराउन मदत्‌ पुर्‍याउँछ, माटोको उर्वरता बढ़ाउँछ। यसै गनेउलाबाट बनिएको मलले फसल उत्पादनको निम्ति फॉंटिलो मलको काम गर्छ।

गनेउलाकै कुरा गर्दा प्रायः तीन हजार दुइसय प्रजातिका गनेउला संसारमा पाइन्छन्‌। भर्मी कम्पोष्टिङ अर्थात गनेउलाबाट तयार मलःगाउँ बस्ती अनि शहर क्षेत्रमा प्रत्येक दिन माटोमा कुहाउन सकिने जैविक अवशेषहरू जतासुकै फालेका हुन्छन्‌, खेतीबारीको झार-पात सुकाएर डढ़ाउँछन्‌। शहरको मैलाहरू खुल्ला ठाउँमा थुप्रो लाउँछन्‌, जसबाट एकतर्फ दूर्गन्ध सृष्टि हुन्छ भने अर्कोतर्फ पर्यावरण प्रदूषित हुँदछ।

यदि यस्ता मैला-कुचैलाबाट कुहुन सक्ने अवशेषहरूलाई भर्मी कम्पोष्टिङ प्रणालीसित जोड्न सकियो भने दुर्गन्ध अनि पर्यावरण प्रदूषणको साटो उत्तम गुणको मल तयार पार्न सकिन्छ। यस मललाई खेतबारीको उर्वरता शक्ति साथै फसल उत्पादन बढ़ाउनको निम्ति सहज ढङ्गमा प्रयोग गर्न सकिन्छ।

जसको निम्ति जैविक अवशेषहरूको परिमाण अनुसार गनेउला हाल्नु पर्छ र यसो गरेको दुइ-अढ़ाइ महीनामा भर्मी कम्पोष्ट तयार हुन्छ, चियापत्तीको धुलो जस्तो मल बनिन्छ। यस विधि अनुरूप तयार भएको मललाई नै भर्मी कम्पोष्ट भनिन्छ।

भर्मी कम्पोष्ट तयार गर्दा निम्न लिखित जैविक अवशेषहरू मिसाउन सकिन्छः

  • भान्साघर वा होटलको अवशेष।
  • पशुप्राणीको मल।
  • साग-सब्जी, अन्नबालीको अवशेष।
  • शहरबाट निस्केको कुहुने अवशेष।
  • खेतबारीको झारपात।जैविक अवशेष भन्नुको अर्थ यस्ता अवशेषहरूमा विभिन्न किटाणुहरू हुन्छ जसले सामाग्रीलाई कुहाएर मलको रूपमा परिवर्तन हुनमा सहायता पुर्‍याउँदछ। माटोमा पाइने कीरा आदिले पनि यस प्रक्रियामा सहायता पुर्‍याउँदछ।

भर्मी कम्पोष्टको निम्ति चाहिने सामाग्रीः

  • एकसयदेखि पॉंच हजारवटा गनेउला पाल्नको निम्ति एउटा काठको बक्साको नाप- 2”18”15 इञ्च हुनुपर्छ।
  • काठको बक्सालाई घाम पानीबाट जोगाउन कुनै छानामुनि राख्नु पर्छ।
  • 25000 देखि 1,00,000 गनेउला पाल्नको निम्ति सिमेन्ट र ईंटाले बनिएको पीठ(आकार-8”3”2),जसलाई बीचमा बारेर मल निकाल्नु सजिलो पार्नु पर्छ।
  • पीठ बनाएको ठाउँमा घाम पानी जोगाउन छाना लगाउनुपर्छ।
  • मल कति चाहिन्छ त्यही अनुसार गनेउला, गाईको गोबर र अन्य अवशेष मिसाउनु पर्छ।
  • गनेउलाले अण्डा पार्दछ र यसलाई बेला बेला पौष्टिक आहार र 25 दिनको अन्तरालमा मकैको पीठो दिनु पर्छ।
  • पानी सधैँ चाहिन्छ।

भर्मी कम्पोष्ट बनाउने विधिः

. प्रथमतः काठको बक्सा तयार पार्नुहोस्‌।

ख. जैविक अवशेषहरू जस्तै भान्साघरको काम नलाग्ने साग-सब्जीको बोक्रा-खोस्टा अनि खेतबारीको झारपात, सोतर आदि मसिनो टुक्रा पारेर गोबरसित मिश्रण गरी दश बाह्र दिन कुहाउनुहोस्‌।

ग. उक्त मिश्रणमाथि पानी छम्केर आर्द्धता चिसो पार्नुहोस्‌।

घ. मिश्रणको परिमाण अनुसार गनेउला हाल्नुहोस्‌।ङ. पन्ध्र दिनको अन्तरालमा मिश्रणलाई कॉंटाले राम्रोसँग ओल्टाइ-पोल्टाई गर्नुपर्छ जसले गर्दा मिश्रणभित्र हावा खेल्छ अनि गनेउलालाई मल बनाउनु सजिलो पर्छ।

बक्सा/पीठबाट भर्मी कम्पोष्ट निकाल्ने विधिः

मल तयार भएको कसरी चाल पाउनु? मिश्रण जब चियापत्तीको धूलो जस्तो अथवा कालो हुन्छ त्यसबेला गोबर मिश्रणको कुनै गन्ध आउँदैन तब मल तयार हुँदछ। त्यस समय पानी हाल्नु हुँदैन। मल तयार भएपछि माथिल्लो भाग दुइ-चार दिनमा फुरूरू हुन थाल्छ र फुरूरू भएको मललाई एकापट्टिबाट निकाल्नु पर्छ।

यसो गरेर मल निकालेपछि अन्तमा गनेउलाले भरिएको मुनिल्लो तीन-चार इञ्च भागलाई विस्तारै बाहिर निकालेर फेरि उपरोक्त विधि अनुसार बक्सामा गनेउला हालेर मल बनाउने कार्यलाई बढ़ाइराख्नुपर्छ। फुरूरू भएर निकालेको मल सिधै खेतबारीमा उपयोग गर्न सकिन्छ। तर यसरी तयार गरिएको मल साधारण गाईको मल भन्दा धेरै तिक्खर अनि कड़ा हुन्छ।

कुन प्रजातिको गनेउला पाल्ने?

गनेउला 45-50 दिनमा नै हुर्केर फेरि अण्डा पार्न सक्ने हुनाले छिट्टै धेरै संख्यामा बढ्दछ। आफूलाई चाहिएको भन्दा धेरै गनेउला बनिए त्यसलाई बेच्दा पनि हुन्छ। राम्रो परिणाम पाउनको निम्ति विदेशी प्रजाति-अष्ट्रेलियन ब्रीड एसेनिया फेटिड़ा गनेउला पाल्न सकिन्छ। कारण यिनीहरूको सन्तान फैलिने दर अनि मल छिट्टो धूलो पार्ने क्षमता धेरै राम्रो हुन्छ।

भर्मी कम्पोष्टका फाइदाहरूः

माटोलाई मलिलो बनाइ रूखो विरूवा, साग-पात, अन्नबाली आदिलाई बढ्न मजबूत हुन, धेरै फलफूल दिन यस मलले सहयोग गर्दछ। वैज्ञानिकहरूले यस तथ्यलाई स्थापित गरी यसका गुणहरू पत्तो लगाएका छन्‌।

गनेउलाले मिश्रण जैविक अवशेषहरू खाएर चियापत्तीको धूलो जस्तो मल त्याग गर्छ। जसमा नाइट्रोजन, फोसफोरस र पोटासियम अधिक मात्रामा पाइन्छ। खेतबारीमा असल फसलको निम्ति यी तत्वहरू अत्यन्त जरूरी छ।

माटोको स्वास्थ्य र सुरक्षाको अन्तिम विकल्पः

हिजोआज खेतबारीमा अन्नबालीलाई विभिन्न रोगले आक्रमण गरेर फसल हुनुमा धेरै बाधा पुर्‍याएको छ। माटोको जॉंच प्रत्येक वर्ष नै गरिरहनु पर्ने समय भएको छ। यसको निम्ति कृषक परिवार सचेत हुनुपर्छ। जैविक मल माटोमा प्रयोग गरिरहँदा माटोको उर्वरता शक्ति बढ्दछ।

जैविक मलबाट उमारेको साग-सब्जी, अन्नबाली, फलफूल अलिक महँगो भएपनि यसको सेवन गरे शरीरलाई धेरै फाइदा पुग्दछ। शरीरलाई निरोगी बनाउँछ। जैविक मलबाट उमारेको साग-सब्जी, अन्न आदि पकाउँदा लतक्कै पाक्छ र खॉंदा स्वाद नै रसिलो हुन्छ।

सँधै खाइरहे स्वास्थ्यमा सुधार आउँछ, स्फुर्ति आउँछ, दिमाग सन्तुलित राख्दछ। घर परिवारमा बिमार कम हुन्छ र आर्थिक अवस्थामा धक्का पर्दैन। स्वास्थ्य सँगसँगै जैविक मल नै माटो बचाउने अन्तिम विकल्प मानिन्छ। रसायनिक मललाई सबैले मिलेर हटाउने सङ्‌कल्प लिनुपर्छ।

कृषकहरूले विभिन्न रसायनिक मल खेतबारीमा प्रयोग गरे। केही वर्षसम्म फसल भयो तर यसरी माटोको जिवाणु मर्‍यो, माटोको उर्वरता क्षमता सकियो, फसल हुन छोड्यो, फलेको अन्नबालीको स्वाद हरायो अनि रसायनिक मलद्वारा उत्पादित फसल खानु मानिसलाई बाध्य गरायो। परिणाम स्वरूप यस्ता रसायनिक खाद्य वस्तुले मानिसको स्वास्थ्यलाई दिनोदिन बिगार्दै लगिरहेको छ।

(सौजन्य-भानु थापा)

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares