सपनाको अवैधता

  • राजा पुनियानी, सुकना

लाइफस्टाइलको चुरीफुरीले एड्भान्स्ड, मोडर्न र लिबरल देखिने दार्जीलिङमा दमित दलित मुद्दा खरानीको भुङ्गरोजस्तै सुषुप्त ढङ्गमा रहेको छ। तर यसलाई यहाँका दलितहरूले नै पनि भारतीय दलित आन्दोलनको परिप्रेक्ष्यमा उचित ढङ्गमा एड्रेस नगरिरहेको अवस्था छ। दार्जीलिङे रोहित वेमुल्लाहरू आत्महत्या गर्दैनन् तर सामाजिक लाञ्छना, अपमान र गिल्लाहरूको प्रत्यक्ष-परोक्ष मारले भित्रभित्रै कुँड़िन्छन्। जिल्ल पर्छन्। यसो र यताको छुट्टै दलित साहित्य, दलित विमर्शको माटो खन्ने काम उमेश र उमेशजस्तै कविहरूले गर्लान्, उनका केही कविताले त्यो सङ्केत दिएको छ।


“र त्यही खरानीको इतिहासमाथि डुबेको छ

अवैध सपना”

 

तुनुतुनु तनाउ

उमेश परियार यस्तो कवि हुन्, जसलाई देखेपछि धेरैले रफ कवि रैछ भन्लान्। जसको आलोकाँचो कविता सुनेपछि धेरैले उनलाई कवि नै नपत्याउलान्। मेरो चाहिँ यिनको कविता गर्भेनी हुँदैपिच्छे यी कवि-आमासँग हेमखेम हुने गर्छ। यिनलाई सुन्दैपिच्छे आविष्कार गरिबस्छु एक कच्चा कवि। एक बच्चा कवि। एक सच्चा कवि।

कवि उमेश परियारको कविता सङ्ग्रहः अवैध सपना

कवितालाई आफ्नै नानी जत्तिको माया गर्ने कवि उमेश। कविताको छटपटीले उनलाई तनाउ दिइरहन्छ। टिस्टामा पोखिएको घामको छायाँले यिनको तनाउलाई रङाउँछ। हाइवे टेन-को पैह्रोको रोड़ाले यिनको तनाउलाई उस्काउँछ। कालेबुङको चिसो कुटनैतिक आँधीले यिनको तनाउलाई अज्जिर पार्छ। दार्जीलिङको च्याँखे राजनैतिक लु-ले यिनको तनाउलाई चिमोट्छ।

तुनुतुनु तनाउ बोकेरै हिँड़ेका हुन्छन् ठाउँ-ठाउँ गोष्ठीहुँदी। सुमुसुमु मञ्चमा चढ़ेपछि कविताको बीच-बीचै टुलुटुलु हेर्छन् श्रोतालाई। मानौँ, श्रोताको सुक्खा मन-पातमा कविताको माचिस पार्दैछन्। छ्यार्र-छ्यार्र। दुर्दशाग्रस्त समाजप्रति यिनको मुटुमा जुन घोर माया छ, त्यो नै छल्किबस्छ यिनको अनुहारमा। सिस्टमको दुराचारप्रति यिनको गिदीमा जुन चर्को आक्रोश छ, त्यो नै जलिबस्छ यिनको आँखामा। त्यसैले उमेशलाई हेर्नु कुनै खतराभन्दा कम होइन लाग्छ। उमेशको आँखाले मागिबसेको उत्तर जब मसँग हुँदैन, म कि चुपो लाग्छु। कि अर्कोतिर हेरिदिन्छु। कायर छु। तर उमेशकै आँखाको कायल छु।

 

छटपटीमा सिर्जना

घरि कवि मनोज बोगटी सँग कविताबारे झगड़िन पुग्छन् कालेबुङ। घरि मूर्तिकार मामा अमीर सुन्दासलाई के के दङ्ग्याउन पुग्छन् बाग्राकोट। घरि कवि सूरज रोसूरिसँग डिजाइनको खुसखुस गर्न पुग्छन् सालुगड़ा। उनको एजेन्डा कि कार्यक्रम हुन्छ । कि कविता। कि ओखती।

उमेशले कविता जति मुटुबाट गर्छन्, उति नै दिमागबाट पनि। उमेशको कविता कला र विचारको सन्तुलित बाटोमा हिँड़्न खोजिरहेको ताजा यात्री हो। उनी बाँचेको विसङ्गत समाजको यावत् घटनाले जब पिरोल्छ, तब उनी चिन्ताले तमतमिन्छन्। तब भकाभक जन्मन्छ ‘सड़क’, ‘साइरन’, ‘हड़ताल’ कविताहरू।उमेशको देश छटपटी हेरौँ –

“झण्डालाई थाहा थियो

यो युद्ध सिद्धिएकै छैन

फुलेकै छैन तीन रङसित मिल्ने

देशको विचारहरू

घुमेकै छैन मस्तिष्कभित्र

त्यो चौबीस धर्साहरू चक्र भएर” (झण्डा र देश)

उमेश अर्थात् अथक कोशिश। कोशिशै कोशिशको लश्कर हो उमेश। सद्दे कविता जन्माउने कोशिशमा उनले कैयौँ कविताको एबोर्शन समेत गराएका छन्। उमेशको लगनलाई मैले बितेका केही सालदेखि धेरै नगिचबाट छाम्न पाएको हुँ। उनको यो लगनलाई छामिपठाउनुको आत्मीय अनुभूति कुनै समलैङ्गिक छुवाइको अनुभूतिभन्दा कम होइन कि जस्तो।

 

आउँसिर्जना

पाको उमेर नभई पेटको गम्भीर रोगले समेत पीड़ित उमेश कविता कसरी निरन्तर लेखिरहँदा हुन्। किन लेखिरहँदा हुन्। यी सवालबारे सोच्दै म शङ्कर लामिछानेको निबन्ध “साहित्य – आलुबखड़ा कि आउँ” रिकल गरिपठाउँदो रहेछु। शारीरिक आउँले सताउँदै गर्दा समेत लक्ष्मीप्रसाद देवकोटा, पारिजात, विकास गोतामे, जगदीश घिमिरे, झमकहरूले मास्टरपीसहरू सिर्जिरहे। आउँ थियो र नै उनीहरूको साहित्य पनि साहित्य थियो। साहित्यले साहित्य हुनलाई आउँ परेकै हुनुपर्छ भन्दै लामिछानेकै विचारसँग पनि यसो सामान्य काल्पनिक डिस्कस गरिपठाउँदो रहेछु।

समस्या प्रकृतिकै मात्र नभएर समाजकै समेत चरित्र हो। किनभने, साहित्य समस्याबाट जन्मिन्छ। समस्याको आउँ साहित्यको सामान्यता हो। समस्यालाई एड्रेस नगरेको साहित्य समाजको लागि के कामको? त्यो त मात्र अक्करको उनिउँफूल हो। उमेश शारीरिक समस्यासँग जुझ्दै सामाजिक कविता रच्ने कामलाग्ने कवि हुन्।

 

दार्जीलिङ र दलित विमर्श

कवि उमेशको अर्को एउटा चाखलाग्दो व्यक्ति पाटा पनि छ। कथित रूपले ‘फ्री’ ठानिने नेपाली समाज जात-जातको पर्खालले बाँड़िएको पहिलेदेखि नै हो। हिन्दु परम्परानुसार ब्राह्मण-वैश्य-शुद्रको पिरामिडीय वर्णविभाजनले दार्जीलिङे नेपाली समाज अहिलेसम्म पनि विभक्त छ। यो समाजको विडम्बना भनौँ वा प्रपञ्च : के अनुसुचित के गैर-अनुसुचित, सबै सरकारी सहुलियतको लोभमा वर्ण राजनीतिको चलखेलमा व्यस्त छन्। आ-आफ्ना मूल सरोकारबाट कटेर, कट्न बाध्य भएर वा कटाइएर।

उच्चकोटिको जात र उच्च-इतर कोटिको जात एकैसाथ ‘ट्राइबल स्टाटस’-को आवाज समेत घन्काइरहेको सङ्क्रमणकाल हो यो। यद्यपि, ठूलो र सानो जातको भाजक-परिधि भने जैसे थे-कै अवस्था। ‘दार्जीलिङे नेपाली समाज त लिबरल छ’ भनेर ढोल पिट्ने जातीय भाइचाराका प्रवक्ताहरू समेत कि बाहुन-छेत्री सङ्गठनमा छन्, कि कामी-दमाइ सङ्गठनमा। कथित ‘लिबरल’ पहाड़मा अहिले पनि आङ्गनमै राखेर चिया खुवाउने उच्च जातको घर छ। अहिले पनि उचो जातको मूल कोठा पस्न आफै धकाउने तल्लो जातका मान्छे छ। दार्जीलिङकै कतिपय आँगनबाट ‘पानीमाथि’-को भान्साकोठा चिहाउने रीति छ। दार्जीलिङमै ‘तल्लो’ जातको घरमा जजमानी गर्न नमान्ने ‘उचो’ जातको पुरोहित पनि प्रशस्त छन्। दार्जीलिङमै पनि अहिलेसम्म जूनमा पृथ्वीको छायाँ पर्दा छोड़्दे चमारे भनेर थाल ठटाउने मानसिकता छ्याप्छ्याप्ती छ। हुन त जो पायो त्यही पोंड़े हुने हो दार्जीलिङमा। तर यही समाजमा कसरी भर्चुअल पोंड़े पनि छ सन्तबीरहरूको संस्करणमा, त्यो यहाँ हेरौँ –

“जुन दिन मर्छ सन्तबीर

र फोर्छ उसको निधार कुनै पोँड़ेले

त्यतिखेर मात्र थाहा हुनेछ

कि सन्तबीरको निधारमा

कस्को हस्ताक्षर थियो”(निधारको हस्ताक्षर)

यस्तै विषमजात व्यवस्थाको नकारात्मक पक्षको शिकार एक व्यक्ति कवि भएर उदाएका हुन् उमेश। पानीमाथि र पानीमुनिको नस्लीय मिथ र यथार्थको प्रहारको जिउँदोजाग्दो उपज हुन् उमेश। आमा-बाबाको अन्तर्जातीय प्रेम बिहेको सजाय भोगेका छन् उमेशले।

आमा-बाबाको अन्तर्जातिक बिहेको दण्डस्वरूप सामाजिक करकापमा आफ्नो वर्णनाम समेत फेरेर दलित वर्णनाम ‘परियार’ धारण गर्नु परेका ‘राई कवि’ हुन् उमेश। कोल्टे वर्णव्यवस्थाको कोपभाजनमा परेका स्यान्डविच कवि उमेश। यस अर्थमा उनी केस स्टडी नै हुन् समाजशास्त्रीय साहित्य अध्ययनका लागि।

भारतमा चलेका मुख्य डिस्कोर्समध्ये एक दलित लेखन। भारतमै मूल करेन्ट भएर बगिरहेको ‘दलित विमर्श’ पहाड़को साहित्यमा नघुस्नु उदेककै विषय हो।दार्जीलिङे समाज मुजा परेको छ जात-जातको सङ्कीर्ण राजनीतिले। जातको मुक्तिको सवाल आफ्नो ठाउँमा जायज हो। तर टुमौटे सरकारी सहुलियतको लोभ र जनजाति बन्ने अवसरवादी भोकले किनारीकृत जातको, सीमान्तीकृत समुदायको संरक्षण-सम्बर्द्धन हुनैसक्ने ग्यारन्टी कसैले दिनसक्तैन।

लाइफस्टाइलको चुरीफुरीले एड्भान्स्ड, मोडर्न र लिबरल देखिने दार्जीलिङमा दमित दलित मुद्दा खरानीको भुङ्गरोजस्तै सुषुप्त ढङ्गमा रहेको छ। तर यसलाई यहाँका दलितहरूले नै पनि भारतीय दलित आन्दोलनको परिप्रेक्ष्यमा उचित ढङ्गमा एड्रेस नगरिरहेको अवस्था छ। दार्जीलिङे रोहित वेमुल्लाहरू आत्महत्या गर्दैनन् तर सामाजिक लाञ्छना, अपमान र गिल्लाहरूको प्रत्यक्ष-परोक्ष मारले भित्रभित्रै कुँड़िन्छन्। जिल्ल पर्छन्। यसो र यताको छुट्टै दलित साहित्य, दलित विमर्शको माटो खन्ने काम उमेश र उमेशजस्तै कविहरूले गर्लान्, उनका केही कविताले त्यो सङ्केत दिएको छ। दलित र आदिवासी मुद्दा नङमासुझैँ गाँसिएका मुद्दा हुन्। यस्तै आलोकमा उमेशले रचेको एउटा कवितांश हेरौँ-

“काँधमा तीरधनु भिरेर निस्किएको त्यो योद्धाले

देख्यो कि उसको समाजलाई साङ्लीले कसेर घिसारिरहेको छ कसैले

देख्यो कि उसको चेतनालाई कोर्रा लगाइरहेको छ कसैले

देख्यो कि उसका अक्षरहरूको मुन्टो चुँड़ाइरहेको छ कसैले

देख्यो कि उसको गीतको ओठ सिलाइरहेछ कसैले

अचानक उसले तीर उठायो र हान्यो वेगले”(बिरसा मुण्डा)

किनारीकृत किसानले सिस्टमको कुव्यवस्था सहेको उहिलेदेखिकै। उचित बजार व्यवस्थाको अभाव, उत्पादको कोल्टे दरदामको मार, वैज्ञानिकखेती प्रशिक्षणको खड़ेरी, समुचित बजारव्यवस्थाको अनुपस्थितिमाझ पहाड़का किसानहरू खटेका छन्। किसान पनि यस अर्थमा दलित हुन्। कसरी उमेश यस दलित खेमालाई एड्रेस गर्छन्, हेरौँ –

“उसले कोरेको सरकार किरिङ मिरिङ भएर नै हो

कहिले काहीँ उसैले पढ़्न सक्दैन आफ्नै लेखाइ

अनि खोजिहिँड़्छ

गह्रा गह्रामा सरकार

मकैको पातले सेरिएर आत्माहत्या गर्छ किसान

त्यो टुनीको रूखले चुस्छ

किसानको सप्पै रगत

सरकार भने

किसानको चिसो पैतालामा हस्ताक्षर गर्नसमेत

हिसाब गरिबस्छ”(किसान)

 

हाइवेलेखन

“धनकुबिर, शान्तिमाया, रामबहादुर, कालु,

सोमलाल, छविलाल, बुधवा,

करिम चाचाको पैतालाको कड़ा छालालाई

तातो अलकत्रमा पेलेको हो बुल्डोजरले

अनि बनिएको हो सड़क” (सड़क)

सिक्किम र कालेबुङलाई भारतसँग जोड़्छ हाइवे-टेन। यही हाइवेको एक अङ्गमा हुर्केको हो कालीझोड़ा। भारत सरकारको जर्जर सिन्कोनाबगान थामेर बसेका मङ्पू, लाटपञ्चरले पनि कालीझोड़ासँग अलि मास्तिरबाट साउती गरिरहन्छन्। टेलिभिजनमा मात्र देश आइपुगेको कालीझोड़ा सुनसान छ। सधैँ।

कालीझोड़ासँग अहिले गम्नलाई केही एजेन्डा चाहिँ छन् :

एनएचपीसी-को सरकारी टिस्टा बिजुली परियोजनाबाट लोकल वासिन्दाले आक्कालझुक्कुल पैसा कमाउने मौका। वा टिस्टाको बाँध कथङ्काल भत्किएर भोग्नु पर्ने अप्रत्याशित कुनै अँध्यारो दिनको दुर्घटनामा डुबिजाने छायाँ। वा भौगोलिक विस्थापनको भय समेत। वा भनेजस्तो स्कूल, अस्पताल, हाटबजारको कमी। यता कालेबुङ, उता दार्जीलिङको प्रशासनिक दूरीको मारमा चेप्टिएको कालीझोड़ा।

यही सीमान्तीकृत इलाकामा बसेर थकित टिस्टाको मधुरो सुसेली सुन्दै उमेश चुपचाप कविताको खिप्ती गरिरहेका हुन्। वास्तवमा बोल्न नपाएको कालीझोड़ा उमेशको कवितामा बोलेको छ। त्यो कसरी भने –

“कहिले कालूसिंह पाँड़ेको खुँड़ाबाट

चिस्सिएको बाक्लो रगत पखाल्दै  बग्यौ

कहिले शान्तिको नाममा रेटिएको

कौड़े भालेको तातो रगतसितै बग्यौ

तिमीलाई बध गर्न

सरकार तिम्रो आङमाथि चढ़ेको छ”(बग्न सिकाई देऊ टिस्टा!)

यो त्यही कालीझोड़ा हो, जहाँ ऐतिहासिक टिस्टा नदीलाई शहरका लागि चाहिने भनेर बिजुलीको भुँड़ी बोकाएका छन् दुइ राज्यका सरकारले। कालीझोड़ा कुलैनबारी लाटपञ्चर र मङ्पूको फेदमा पर्छ। जहाँबाट सिक्किम र कालेबुङका सवारी गाड़ी, लरी-ट्रक र सेनाका बड़े-बड़े गाड़ी घ्वाँ-घ्वाँ गर्दै कुदिरहन्छन्। दिनभरि- रातभरि। कालीझोड़ावासीको आवाज त्यहीँ कतै दबेको होला। छ्वाप्प पुरिएको होला।

उमेश त्यही टिस्टा नदीको बाँधको काँधमै बस्छन्। उनको कवि मनले व्यक्ति उमेशको आत्मस्वीकृति पोख्छ। आफू सुपरभाइजर कम्पनीको औजार भएर मजदुरको पसिना लुट्ने माध्यम हुनुको पीड़ा र मजदुरको दुखप्रतिको उनको सहभाव यसरी व्यक्त गर्छन् –

“कि उनीहरू जीवनलाई अँध्यारो गुफामा थुनेर

देशलाई उज्यालोमा सुताउने मजदूरहरू हुन्

अनि त्यही कारिगरको हात काट्ने देशको हेलिकप्टरमा

उड़ेर आउने कम्पनीको

म सुपरभाइजर”(सुपरभाइजर)

यो कविता पढ़्दै गर्दा बालकृष्ण समको इमानदार कविता‘के त्यसको कविता लेखुँ’ सम्झना हुन्छ। कविको लेखनप्रतिको इमानदारी र प्रतिबद्धता भनेको यही हो। उमेश कालीझोड़ा, सरकार र मान्छेको समीकरणलाई कवितामा अझ कोर्छन् –

“बस्तीमा बिजुली थिएन

बस्ती, बस्तीकै अनुहारले उज्यालो थियो

जब बिजुली पस्यो

बस्तीको कालो चायाँ छर्लङ्ग देखियो

… बिजुली बस्ती पस्यो

बिजुलीसितै बजार पस्यो

बजारसितै गद्दार पस्यो

मालिक पस्यो

कम्पनी पस्यो

अनि कालो चायाँको औषधी बेच्यो”(बिजुली बस्ती पस्यो)

कालीझोड़ाले पोखाउन नसकेको असन्तोक, रीस, पीड़ा, दुख, हर्क, विस्मात्, भत्कोस, क्रन्दन, चित्कार उमेशको कवितामा पोखिन्छ। छताछुल्ल। छ्याल्लब्याल्ल। कालीझोड़ाको त्यही अलिखित लोकल मर्मको प्रतिनिधित्व गरिरहेका लाग्छन् उमेश कविका तरूना शब्दहरू।

हुन त अहिलेसम्म ‘हाइवे-लेखन’ भनेर तोकेरै सिर्जना गरिएको छैन। तर उमेश र उनको हाँचका हाइवेकिनारका प्रतिभाशाली सर्जकहरूको सिर्जनालाई यही नामले पुकार्ने खाँचो पनि देख्दैछु। एउटा छुट्टै खाले साहित्य पो जन्मने हो कि यसो गर्दा। हाइवे-लेखनले हाइवेलाई फोकस गरेको लेखन हुनसक्छ, जसमा विशेष गरी हाइवेकै लोक जीवनले केन्द्रविन्दु हुन पाओस्। अहिलेलाई, उमेश सँगसँगै हाइवे-लेखनमा जोड़तोड़ले लागिपर्ने ताजा सर्जकहरू हुन् विशाल राई टिस्टे, प्रकाश हाङ्खिम, डीके वाइबा।

 

लोकल आँखाको हस्तक्षेप

“यो तिम्रो आँखा हो कि

एउटा दर्पण

जहाँ म हज्जारौँ मुट्ठीहरू

उठेका मात्र देख्छु” (तिम्रो आँखा)

उमेशको कविता लोकल कविता हो। तर उनको लोकल कविता केवल लोकल होइन। कालीझोड़ाको बाङ्गोटिङ्गो भूगोलमा मात्र खुम्चिएको अप्ठ्यारो कविता ठ्याम्मै होइन। हुँदै होइन। नेपाली भारतीय कवितामा एउटा नयाँ हकदाबी गर्ने पुस्ताको ‘हस्तक्षेपी’ स्वर हो उमेशको निडर, फुर्के र सोलिड कविता। जसले राष्ट्रिय र विश्व स्तरमै जताजतै चलिरहेको विषम राजनीतिको सोल्लोडल्लो व्यवस्थालाई सिङ्गोपाङ्गो हेरेको छ। हाक्की हेरेको छ।

उमेशको कवितामा मिहिन सूक्ष्म लोकल संवेदनाहरू कलात्मक सिँढ़ी उक्लन्छन्, यसरी –

“सरिता भौज्यूको ओठैमा अब झुण्डिबस्छ

माइतामै छोड़िआएको त्यो गीत

उसका पैतालाहरूमा काउकुती लागिबस्छ”(काँस फुलेपछि)

उमेशको कविता सिद्धान्तले बालखा होला, शिल्पले मैलेधुस्रे होला, प्रस्तुतिले आलोकाँचो होला। तर कविता त हो नै। त्यो पनि बोल्ड र अर्ग्यानिक। किनभने यिनको कविताले यता लेखिने पुरानो फर्म्याटको कविताको कठालो समातेको त छ नै। साथै, विचारविहीन फ्यातुला पिञ्चे आवाजलाई कन्सिरीमा समातेको हो नै। कवितामा ताजा स्वाद त हुलेको हो नै। यति भएपछि यिनका कवितालाई पढ़िहेर्ने प्रस्थानविन्दु हामी तय गर्न सक्छौँ। कहाँ थाल्नुपर्ने हो, त्यो तय गर्न सजिलो हुन्छ। केही औसत प्रस्तुति, केही कमजोर परिच्छेद, केही स्वाभाविक भूल उमेशको कविताको सामान्यता हुन्। कतिपय उक्तिचातुर्य, कतिपय मुद्दा गम्भीरता, कतिपय क्राफ्ट-सचेतता यिनको कविताको आभूषण भएको छ। ‘इतिहासका खप्पर’,‘भर्जिन भूगोल’,‘छिप्पेको बूढ़ो क्यालेण्डर’-जस्ता नौलो बिम्बले सजाएका छन् उमेशले कविता। दृष्टान्तस्वरूप, आङै सिरिङ्ग पारिदिने यिनको कवितांश हेरौँ, यो-

“फेरि पनि आइपुग्यो नयाँवर्ष र टाँस्यो

नयाँ क्यालेण्डर

मलाई थाहा छ

राता तारिकहरूले फेरि मलाई बहिष्कार गर्नेछन्

काला तारिखहरूले शासन।

… यतिखेर तिम्रो ग्रिटिङ कार्ड

मलाई तरवारभन्दा धारिलो  छ”(एउटा नयाँ वर्ष)

भलै उमेशका सबै कविता एकै उचाइका छैनन्। एउटा कविले जीवनमा कतिवटा पो श्रेष्ठ कविता लेख्दो हो। हिजोका पर्सी शेली, रवि ठाकुर, लक्ष्मीप्रसाद देवकोटा र आजका मनप्रसाद सुब्बा, नोर्जाङ स्याङ्देन, मनोज बोगटीहरू समेतले आफ्ना शीर्ष कविताको तुलनामा झुर कविता नै बढ़ी लेखेका हुन्। उमेश यसको अपवादमा छैन।‘अवैध सपना’-भित्र उमेशका बढ़ीजसो कविता नै औसत छन्। उमेशले कविता लेखनको धार पाउन आफ्नो लेखनी अर्जाप्नु नै छ समयको आउँदो आरनमा।

हुँदा हुँदै उमेशलाई लिएर बायस्ड बसेका केही समालोचक र सर्जकहरूले उमेशको कविता पढ़ेनन् भने केही जरूरी समकालीन कविता मिस गरिरहेका हुने हुन्। उमेशको हस्तक्षेपी स्वरले उनको कविताको बोलीचालीलाई स्वाभाविकता दिएको हेर्नलायक बनाएको छ। उनको कवितामा नियोजित ढङ्गमा उपस्थित जनमुखी वैचारिकताले ‘हस्तक्षेपआन्दोलन’-को पैरवी गरेको बोध भए पनि त्यो कविको निजी शक्तिको रूपमा समेत उभिएको छ। उमेशले गहिरो गरी बोध गरेको समस्यामध्ये एक हो दार्जीलिङ-डुवर्सको चिया सङ्कट।यहाँ उनको एउटा कविता ‘चियाबारीको क्रन्दन’-लाई स्याम्पल झिकाएँ। कविताको थालनीमै प्रयुक्त ‘साइरनको छुरी’विम्ब पूरै नयाँ र चाखलाग्दो भएको छ। ‘पोतिदेऊ एउटा जून बस्तीमा’अभिधा-शक्तिको बलियो दृष्टान्त छ।अभिव्यक्ति-क्राफ्ट हेर्न लायक छ यहाँ –

“सरकार! तिमीलाई उचाल्दा उचाल्दा यति कुप्रेछु कि

अब छात्ती उठाएर हिँड़्नै सक्दिनँ”

बौद्धिक दुर्बलताका लागि निख्रिएको विचारको भिटामिन साबित हुनेछ तलको जस्तो काव्यांश -जहाँ यताका कवितामा कवि अगमसिंह गिरीको प्रायः पुनरावृत्त हुने ‘युद्ध र योद्धा’-कोप्रतिध्वनि पनि घन्किएको पाउँछौँ –

“सक्छौ भने फर्काइदेऊ

मानिसबाट निस्किएको सास

मानिसबाट निस्किएको आत्मा

मानिसबाट निस्किएको मानिस”

 

विश्वमै मजदुरले आफ्नो हकको लागि प्रयोग गर्दै आएको प्रतिवादको माध्यम हड़ताल होतर दार्जीलिङ पहाड़का राजनैतिक दलहरूले सरकारलाई ब्लायकमेल गर्दै सुविधावादी सम्झौतामा झर्ने नौटङ्की भएको छ हड़ताल। चिया मजदुर सङ्घर्षको केसमा पनि ट्रेड युनियनहरूको खिया परिसकेको बार्गेनिङ-अस्त्र हो हड़ताल। हड़ताललाई उमेश यसरी काव्यिक परिभाषा दिन्छन् –

“देशको आँखाबाट तप्प आँशु चुहाउँदै

ऐंठन पारिबस्छ हड़ताल…

लिखुभीरको पैह्रोसरह धस्किँदै

बढ़्दै गइरहेछ हड़ताल।

त्यै पैह्रो सोहोर्ने

कालुबड़ाको चामलको बाक्साभित्र पसेर

सेतै दाँत फुलाएर हाँसिरहेछ हड़ताल” (हड़ताल)

चियाकमान, सिन्कोनाबगानसँग गाँसिएको बिम्ब हो साइरन। कत्ति दक्षतासाथ उमेश साइरनलाई टिप्छन् कवितामा, हेरौँ –

“यो साइरनको आख्यान यति खतरनाक छ कि

यो बज्दा पनि मरिरहेछन् आमाहरू

यो नबज्दा पनि मरिरहेछन् आमाहरू” (साइरन)

 

उपसंहारजस्तै उपसंहार

सपना वैध र अवैध दुवै हुन्छन्। देखिएका सप्पै सपना सिस्टमले मानिदिँदैन। मान्छेले देख्ने हजार सपनाको माया लागेर आउँछ मान्छेलाई। तर मान्छेको जीवन नियन्त्रण गरी पोसिएको सत्तालाई त्यो माया नलाग्न पनि सक्छ। सत्ताले उल्टो उसकै लागि सपना देखिदिने ट्रेनिङ मान्छेलाई दिइबस्छ। उसको मिडिया, फिल्म, गीत, शिक्षा, संस्कृतिको औजार चलाएर। मान्छेले तर पनि सपना त देख्छ। खाँट्टी उसकै। आफ्नो सपना। त्यो भइदिन्छ अवैध। संसारभरि यही अवैध सपनाको लुकाचोरी चलिबस्छ मान्छे र सत्तामाझ। उमेशको कविताले त्यो सपनाको काव्यिक दस्तावेजीकरण गरेको हो। मान्छेको आफ्नै सपना देख्ने हकमा उमेशका कविता दह्रो उभेका छन्।

कविताले हत्तपत्त निष्कर्ष दिँदैन। दिएको हुन्न पनि। दिएको सुहाउँदैन पनि। हस्तक्षेप आन्दोलनले काव्यिक वैचारिकताको आह्वान राखेको हो। हस्तक्षेप-मा हामी कवितालाई अब्जर्भेशन गराएपछि लगत्तै कमेण्ट गराउँछौँ। कवितालाई कुनै दिशाको ओपिनियन-होल्डर बनाउँछौँ। कलासँग कम्प्रोमाइज नगरी कवितामा हठात् चामत्कारिक चुड़ान्त वाक्यहरू आउनु हस्तक्षेपी कविताको विशेषता हो। उमेश, स्वाभाविक रूपले, यसको अपवादमा परेन।उपसंहार नहुने विधा कविता भए पनि उमेशको कवितामा परम्परालाई च्यालेञ्ज गर्दै ठिङ्ग उभिएको उपसंहार औसम छ। त्यो कसरी, यहाँ हेरौँ –

“यदि सकेनौ भने

त्यही भूमिगत मानिसहरूले बनाउनेछन् अर्को पृथ्वी

जुन तिम्रो पृथ्वीको निम्ति बेहद खतरनाक हुनेछ”

यस्ता बेहद खतरनाक पङ्क्तिहरू प्ल्याट-प्ल्याट देखा पर्ने उमेशका लोकल कविताहरू भोगेर भन्न मन लाग्छ उमेशको कविता बन्देजको काँड़ेतारमा उनिएको लोकल कविताको काँड़ हो। त्यसको धनु उमेशले पाठकको हातमा सुम्पिएका छन्। पाठकको हकमा त्यो धनु उठाउने वा राख्ने दुवै विकल्प मौजूद छ अहिलेलाई।

‘अवैध सपना’-माथिको यो लेखनीले उमेशकै तलका पङ्क्तिमा सियाँल खोजेको छ –

“र सङ्कटको बेला संसारलाई सुनाउनेछु

प्रिय नदीझैँमानिसहरू

जीवन भनेको केवल बग्नु मात्र होइन

बगाउनु पनि हो” …

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares