हाम्रोतिर पनि फग नै चलिरा’छ हजुर

  • अनिल तेलैजा, रोङ्गो सिन्कोना बगान

उता देशमा देशभक्ति पोखिदोँ छ, यता नगरपालिकामा गोर्खाल्याण्ड उम्लँदो छ। उता देशमा माम भन्दा राम ठूलो भो यता पहाड़मा काम भन्दा हाम ठूलो भो। उता देशमा गाई बचाउँ भन्नेहरू उफ्रिरहेका रहेका छन् यता नगरपालिकामा भाई बचाउ भन्नेहरू थुप्रिरहेका छन। देशलाई अति देशभक्तिले मार्देछ, गोर्खाहरूलाई अति गोर्खाल्याण्डले। भोटमा गोर्खाल्याण्ड, रोडमा गोर्खाल्याण्ड, नोट गोर्खाल्याण्ड, गोठमा पनि गोर्खाल्याण्ड।


केही महिनादेखि राष्ट्रिय च्यानnहरूमा एउटा मल्टिनेशनल कम्पनीले आफ्नो परफ्यूमको विज्ञापन चलाइरहेछ।

‘क्या चल रहा है जनाब?’

अर्थात् ‘के हुँदैछ वा कस्तो हुनुहुन्छ महाशय?’- भनेर एक पाकिस्तानी अफसरले भारतीय अफसरसित सौहार्दपूर्ण प्रश्न गर्छन्। लाइन अफ कन्ट्रोलमा।

जवाबमा भारतीय अफसर भन्छ, ‘हामारे यहाँ तो फग चल रहा है जनाब।’

अर्थात् ‘हाम्रोतिर त फग चल्दैछ महाशय।’

‘फग’ नामको बड़ीसप्रेको प्रचार प्रसारमा उतारिएको उक्त विज्ञापनले दुइअर्थी भाव बोकेको छ। फग भन्दा धुवाँ वा कम्पनीले स्थापित गर्न खोजेको परफ्यूम ब्रान्डलाई बुझाएको छ भने यसको अर्को अर्थ अश्लिल छ। अङ्ग्रेजी भाषालाई रोचकसित प्रयोग गरेर दुइ खाले अर्थ दिने उक्त विज्ञापनले राष्ट्रियस्तरमा भइरहेको राजनैतिक सामाजिक विसङ्गगतिहरूमाथि पनि व्यङ्ग्यपूर्ण चोट गरेको छ।

अचेल टेलिभिजनको कुनै कार्यक्रमबीच उक्त विज्ञापन प्रसारित हुँदा पहाड़को वर्तमान राजनैतिक अवस्थालाई पनि सम्झने गर्छु म। पहाड़मा पनि उस्तै मौसम छ। वर्खा शुरू भइसकेको छ। हुस्से र धुम्मले घरिघरि ढाकिदिन्छ। त्यसमाथि नगरपालिका चुनाउ थपिएको छ। राजनीतिको रासलीला शुरू भइसकेको छ। दश घर यता बिस घर उता। कोही झण्डा थाप्ने कोही झण्डा फालेर नियुक्ति थाप्ने। कोही पैसा थापेर उम्मेद्वारिता फिर्ता लिने, कोही  पैसा फालेर उम्मेद्वारिता हासिल गर्ने।

यस्तोमा जनमत भने छोरा हुन्छ कि छोरी हुन्छ भन्ने स्थितिमा छ। हाम्रोतिर एक नव दम्पतीलाई जोखाना हेरेपछि झाँक्रीले खुट्याएको जोखना बड़ो रोचक छ। स्वास्नीको गर्भबाट छोरो जन्मला कि छोरी? भनेर प्रश्न गरेपछि केहीबेर चामलको दानासित जोड़ घटाउ गरेर झाँक्रीले भने रे- छोरा हुन्छ कि… छोरी हुन्छ।

वर्तमान नगरका जनताको स्थिति पनि यस्तै छ। कसैले कसैसित सोझै आफ्नो विचार राख्ने समय र स्थिति दुवै छैन। बिकास जरूरी छ भनौं भने माटो विरोधी भइने डर। अलग राज्यलाई समर्थन गर्दा नियुक्ति रोकिने डर। यसैले दुइर्थी शब्द प्रयोगको अर्को विकल्प छैन।

यसैले अचेल कसैले ‘के चल्दैछ?’ भनेर सोधी हाले मेरो पनि रेडिमेड उत्तर हुन्छ- हाम्रोतिर पनि फग् नै चलिराछ हजुर।

साँच्चै फग नै त चलिरा’छ। प्राकृतिक हुस्से एकातिर, राजनैतिक कुहिरो अर्कोतिर छ। यी सबैको सेरोफेरोमा राजनीतिले देखाएको रासलीलालाई फग भनेर मात्र काफी छैन यसलाई त ‘फक’ नै भन्नु पर्ने स्थिति छ।

चुनाउ छ पहाड़मा। पहाड़को चारैवटा नगरपालिकामा। मिरिकमा। खरसाङमा। दार्जीलिङमा अनि कालेबुङमा। उसो त नगरपालिका चुनाउ यो पहिलो चोटी होइन। यस्ता चुनाउ हामीले कति पचायौँ पचायौँ। कहिले विकास भनेर पचायौँ, कहिले निकास भनेर पचायौँ। यसबाजी ‘गोर्खाल्याण्ड बनाम गोर्खाल्याण्ड विरोधी’- भनेर पचाउन खोजिरहेका छौँ।

यसबाजी ‘एक मौका’ भनेर पचाउन चाहिरहेका छौँ। यसबाजी ‘विकास बोर्ड’ भनेर डकार्न चाहिरहेका छौँ। फरक यत्ति हो उहिलेको र अहिलेको चुनाउमा। नत्र भन्ने नै हो भने पानीको समस्या सुख्खै छ, मैलाको समस्या थुप्रो छ। सड़क मिचेर दोकान थापेकै छ। झुटको व्यापार फापेकै छ। भन्नेहरू त के के भन्छन्-भन्छन विरोधी र विपक्षी पार्टीकाहरू। तिनीहरूले पनि के पो नापेका छन्?

आश्वासनको मेनिफेस्टोमा चुनाउ चिह्न टाँसेर निर्धक्क घुमिरहेछन् समर्थकहरू।

नयाँ जिल्लाको पुरानो नगरपालिकामा। कालेबुङ नगरपालिकामा।

नयाँ महकुमाको पुरानै नगरपालिकामा। मिरिक नगरपालिकामा।

पुरानो जिल्लाको पुरानै नगरपालिकामा। दार्जीलिङ नगरपालिकामा

– अनि पुरानो महकुमाको पुरानै नगरपालिका खरसाङ नगरपालिकामा।

सड़कदेखि संसद पसेको गोर्खाल्याण्ड अचेल नगरपालिका पसेको छ। केहीअघिसम्म सयदिने रोजगार र नाली झोड़ामा उफ्रिरहने गोर्खाल्याण्ड अहिले नगरपालिकामा ठमठमी हिँडछ। यो मतदान ‘गोर्खा बनाम बङ्गालबीको युद्ध’ हो भन्छ। हामी हारे गोर्खा हार्छ भन्छ।

2002 को प्राथमिक शिक्षक नियुक्तिमा नै नाङ्गै देखिएको गोर्खाल्याण्ड अहिले नगरपालिमा चटक देखाइरहेको छ। अब नगरपालिकाले ल्याउँछ गोर्खाल्याण्डको बिल र बनिनेछ छुटै राज्य। गोर्खाल्याण्डलाई नगरपालिकाको पनि म्यान्डेट चाहिएको छ। पानी चलाउन नसक्नेहरूको राज्य चलाउनछु भन्ने यो दावी गजबको छ। यही गजबलाई अजब मानेर हेरिरहेको छु म।

उता देशमा देशभक्ति पोखिदोँ छ, यता नगरपालिकामा गोर्खाल्याण्ड उम्लँदो छ।

उता देशमा माम भन्दा राम ठूलो भो यता पहाड़मा काम भन्दा हाम ठूलो भो।

उता देशमा गाई बचाउँ भन्नेहरू उफ्रिरहेका रहेका छन् यता नगरपालिकामा भाई बचाउ भन्नेहरू थुप्रिरहेका छन।

देशलाई अति देशभक्तिले मार्देछ, गोर्खाहरूलाई अति गोर्खाल्याण्डले।

भोटमा गोर्खाल्याण्ड, रोडमा गोर्खाल्याण्ड, नोट गोर्खाल्याण्ड, गोठमा पनि गोर्खाल्याण्ड।

-विमल दाज्यु भन्नुहुन्छ, च्यातिएको जातिलाई सिउँदै हिँड़्दैछु, यो चुनाउ गोर्खा बनाम बङ्गालको हो। उनले नगरको मैलालाई पनि गोर्खाल्याण्डसित जोडीछोडे।

-हर्क सर भन्नुहुन्छ- जापले गोर्खाल्याण्डको मुद्दालाई पहिलो प्राथमिक्तामा राखेको छ। नगरपालिकाको मेनिफेस्टोमा मैला व्यवस्थापन, पिउने पानी, ट्राफिक समस्या भन्दामाथि गोर्खाल्याण्ड राखेर उनले पनि नगरपालिकालाई गोर्खाल्याण्डमय बनाइ छोड़े।

86 देखि शुरू भएको गोर्खाल्याण्ड दोहन 2017 सम्म आइपुग्दा चरममा पुगेको छ। हरेकले हरेक पल्ट हरेक स्थानमा हरेक तरिकाले गोर्खाल्याण्डलाई दोहन गरे।

कहिले माटो भनेर बाटो मात्र बनाए।

कहिले बाटोको नाममा माटो मात्र खनाए।

घिसिङले माटो भनेर बाटो बनाए।

विमलले पनि माटो नै भने त्यसपछि पहिला बाटो अनि मात्र माटो भने।

अनि दुवैमा माटो खनाए।

घिसिङको गोर्खाल्याण्ड र जातीय चिह्नारी भनेको दागोपाप थियो।

विमलको गोर्खे राष्ट्रियता र अलग राज्य जीटीए भयो।

अब नेतृत्वहरूकै माटो प्रेममा माटो परेपछि समर्थकहरूको माटो प्रेममा कुन कल्पवृक्ष उम्रन्थ्यो र? भयो पनि उस्तै। केही माटो भन्नेहरू ठेका पट्टामा लागे।

केही जाति भन्नेहरू हरियो च्यादरको छाना भएको घरतिर लागे।

केही अलग राज्य भन्नेहरू शिक्षक नियुक्ति र स्थायीकरणमा तानिए।

केही जातीय चिह्नारी भन्नेहरू पाउँछ कि पाउँछ कि भन्ने आशे नियततिर हानिए।

अलग राज्य गोर्खाल्याण्ड भन्नेहरूले भारत देशमा गोर्खाहरूले पाउन पर्ने समान नागरिक अधिकार र राष्ट्रियताको प्रश्नमाथि गरेको युद्ध कथाको अहिलेसम्मको चित्र यही हो। अनि हाम्रो यही नियतलाई रोडम्याप बनाएर पहाड़ पस्ने गर्छ सरकार र जलाउँछ हाम्रैहरूको हातबाट हामीलाई नै।

86 मा माकपा भएर।

2008 यता  माँ, माटी र मानुषको सरकार भएर।

हाम्रैहरूको भ्रष्ट नियतको टाउको टेकेर उक्लिएको छ उ अहिले।

जातिलाई जात बनाउँदै, स्वाभिमानलाई भात बनाउँदै। हाम्रैहरूलाई हाम्रै विरोधमा उठाएर हाम्रै तमासा हेर्छ सरकार अनि यस्तो हुनुमा हाम्रैहरूको हात छ। दिदीलाई आमा भन्दै पिन्टेलमा नाँच्नेहरू पनि हाम्रै थिए, दिदीलाई देवता बनाएर मेलाग्राउण्डमा कम्बर मर्काउनेहरू पनि हाम्रैहरू नै थिए। हाम्रैहरूले बिकास वोर्ड, सरकारी नोकरी, ठेकापट्टा, पद र अहोदाको लोभमा कालेबुङलाई कलकत्ता र दार्जीलिङलाई दिल्ली बनाएका हुन।

केन्द्रिय मन्त्रीहरूको पुच्छर समातेर डम्बरचोक र चोकबजार घुम्ने हाम्रै लश्कर हुन, पराय होइनन्। हाम्रैहरूको काँध चढ़ेर इन्द्रनीलहरू चोकबजार छिर्छन् र हाम्रैहरूलाई हट्टाबाहिर गर्ने धम्की हाम्रैहरूको मुखमा दिइराखेर जान्छन्। यो भन्दा लज्जास्पद समयको साक्षी अर्को के हुनसक्छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares