फरवरी 8 र हाम्रो सपना

स्मृति

गगण राई


आज बलिदान दिवस।  8 फरवरी 2011 को दिन विमला राई, निता खवास र बिक्की लामाले छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति बङ्गाल पुलिसले हानेको गोली थापेका हुन्। आज हाम्रा सारा सपनाहरूलाई साकार गर्न उनीहरूले आफ्नो प्राणको आहूति दिएको दिन। 8 फरवरी हाम्रो निम्ति उनीहरू शहीद भएको दिन।

मलाई अझै पनि थाहा छ, निता बहिनीको भुँड़ीमा गोली लागेको थियो। आन्द्राभुँडी निस्किएको। घटनास्थलबाट निकालेर निता बहिनीलाई कुमानी मोड़मा सवारी गाड़ीमा अस्पताल लैजाने तयारी चल्दैथियो। त्यसबखतका गोजमुमो केन्द्रिय समिति सदस्य, दार्जीलिङ निवासी नरेशचन्द्र प्रधानले नितालाई कुमानी मोड़मा ल्याउन खोजिरहेका थिए।

तर बाटोमा थिए पुलिस र सारपीएफका जवानहरू। प्रधानज्यू निडर भई गाड़ी अघाड़ि बढाइरहेका थिए। उतिखेर पुलिस र सीआरपीएफका जवानहरूले बन्दुकको नाल र बटले हिर्काएर गाड़ीको शिशा फुटाइदिए। त्यसलाई पनि पर्वाह नगरी नरेशचन्द्रजीले घटनास्थलबाट गाड़ी पार गराएर कुमानी मोड़मा ल्याइछाड़े।

नरेशजीले त्यति साहस नदेखाएका थिए भने गाड़ीमा सवार निता बहिनीलाई स्याहार्न र सम्हाल्न चढ़ेका अन्य धेरैजना कार्यकर्ताहरू शहीद हुनेथिए। गाड़ी पार गरिसकेपछि मात्र थाहा भयो, नरेशज्यूको शरीर र अनुहारमा गम्भीर चोट लागेको थियो।

केहीदिनपछि कालेबुङमा उपचाराधीन निता बहिनीको मृत्यु भयो। यस घटनामा पट्ठो जवान, युवा युवतीदेखि लिएर 70-80 वर्षीय वृद्ध-वृद्धाहरू घाइते बनेका थिए। विमला राई, बिक्की लामाले प्राण गुमाएका थिए। उनीहरूको बलिदानलाई कदर गर्दै यस दिनलाई हामी निरन्तर रूपले बलिदान दिवसको रूपमा पालन गर्दै आइरहेका छौँ।

सिब्सूअवस्थित बलिदान पार्कमा गएर उनीहरूलाई श्रद्धाञ्जली चढ़ाउन धेरैजना सायद आज असमर्थ छन्। तर मलाई लाग्छ विश्वभरि छरिएर बसेका गोर्खाहरूले आज उनीहरूलाई सम्झना गरेका छन्। तपाईँहरू सिब्सू पुग्न पर्दैन। उनीहरूको योगदानको सम्झना तपाईँ जहाँ हुनुहुन्छ त्यहीँबाट गरे पर्याप्त छ।

आज ती वीर विरङ्गनाहरूलाई सम्झौँ। आज फेरि सम्झनुहोस् विमलाको निधार बन्दुकको गोलीले छेँड़ेको दिनलाई। विमलाले निश्चय पनि त्यो गोली हाम्रो निम्ति थापेकी हुन्। बिक्की लामाको छात्तीमा लागेको गोलीले के हाम्रो सपनालाई मार्न सक्छ र?

तपाईँ सम्झनुहोस् निता बहिनीको आन्द्रा भुँड़ी छताछुल्लै बनेको त्यो दिन। गोली पसेर निधार ह्वाङ्ग भएको विमलाको निधार। के त्यसको तपाईँले ती सबै बिर्सनु भयो?

उनीहरू हाम्रा निम्ति बितेर गए। हाम्रा निम्ति मरेर गए तर के हामीले उनीहरूको मृत्युको कदर गर्न सक्यौँ? शहीदको सपना पूरा गर्न सक्यौँ?  आज उनीहरूलाई सम्झौं र शहीदको सपना पूरा गर्न प्रण गरौं।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares