सिप्सुको हावा र खरानीभित्रको भुङ्ग्रो

कालबोध

राजा पुनियानी


“हामी अझ युद्धरत छौं / मौन युद्धहरू जीवनका / लड़्दै बाँचेका छौं, बाँच्नलाई…”

गोर्खाल्याण्ड आन्दोलनको इतिहासमा सिप्सु एक अमेट अध्याय हुने निश्चित छ। डुवर्सको सिप्सु गोलीकाण्डमा शहीद हुन्छन् खटिखाने परिवारका युवाहरू। तिनीहरूले जातीय चिन्तामै बित्ने कवि अगमसिंह गिरीको आह्वान आत्मस्थ गरेको आभास हुन्छ। भारतवासी गोर्खाहरूको राजनैतिक मुक्तिको चेतनामा उद्देश्यपूर्ण, वास्तविक र सार्थक “युद्ध”-को आवश्यकताबोधको बीजारोपण गराउने नेपाली भारतीय साहित्यको महत्त्वपूर्ण कृति ‘युद्ध र योद्धा’। गिरी तिनको आउने पुस्तालाई आन्दोलित बन्ने आह्वान गर्छन् यसरी- “हाम्रो अस्तित्वको युद्ध अब हिँड़िदेऊ बोकेर छाती-छातीमा।”

एउटा गतिशील समयको साक्षी भइरहेको यो आन्दोलित समयमा गिरी र तिनको ‘युद्ध र योद्धा’ अझ बढ़ी प्रासङ्गिक, सान्दर्भिक र सापेक्षित हुँदै गइरहेको अनुभव हुन्छ। “तिम्रो उत्सर्ग थियो, उद्देश्य थिएन” – खबरदारी गराउने गिरीको यो पङ्क्तिले सिप्सुका शहीदहरूको बलिदानलाई निश्चित “उद्देश्य” प्रदान गर्ने जिम्मेवारी सम्झाएको छ। निश्चित छ, नेतृत्वको गोर्खाल्याण्ड आन्दोलनलाई निभ्न नदिने दायित्व-बोध र दायित्व-वहन अझ गहिरियो। उद्देश्यदेखि विचलित नबन्ने मूल्यले नै शहीदहरूको सपनालाई विपनामा फेर्ने ताकत पनि दिने गर्दछ।

पराधीन मानिसको विद्रोह गर्ने हक छ र उ विद्रोह गर्छ। दासप्रथाको बेलाका आदिविद्रोही स्पार्टाकसको परम्पराको निर्वाह उत्तर आधुनिक भइसकेको संसारमा पनि भइरहन्छ। किनभने समाज अझ विषम छ। यहाँ कुनै एउटा जाति, गोष्ठी र वर्गका मान्छे कुनै अर्को जाति, गोष्ठी र वर्गका मान्छेलाई समानाधिकारदेखि वञ्चित राखिराख्छ र आफ्नो विशेषाधिकारको रक्षा गरिरहन्छ। समानाधिकारको प्राप्ति र विशेषाधिकारको रक्षा गर्नेहरूमाझको लड़ाइँले समाजको इतिहास लेखाउँछ। संसारका अन्यान्य जातिकाजस्तै गोर्खा भारतीयको इतिहास पनि यही आत्मनिर्णयको सङ्घर्षले लेखाएको छ। परिपक्व नभइसकेको उसको यो अधूरो इतिहास घरि दनदन दन्किन्छ आगो भएर त घरि खरानीभित्रको भुङ्ग्रो भएर रुँगिबस्छ। हावा चलेको समयलाई।

सिप्सुको तातो हावाले फेरि त्यो खरानीभित्रको जिउँदो भुङ्ग्रोलाई हुरहुरती जल्ने कारण र सम्भावनाहरू दिएको स्पष्ट छ। “राज्य-आतङ्क”-लाई चुनौती दिन्छ सिप्सुको आगोले। मान्छेले जब आफ्नै साँघुरो विचारको पर्खाल तोड़्छ र मुक्तिको बाटो रोज्छ, तब उसका पाइलालाई कस्तै दमनले पनि रोक्न सक्दैन। इतिहासले यो पाठ पढ़ाएको आन्दोलन सजिलै हार्दैन। किनभने, जुझारु इतिहासको शिक्षाले आलोकित जनपहललाई सत्ताले जतिपल्ट कुल्चिन्छ, त्यतिपल्टै त्यो जुर्मुराइउठ्छ। किनभने, “तन्द्राबाट ब्यूँझाएर आफैलाई/ मुटुको पराधीन नेलहरू फुकाउनु छ।”

दमन र प्रतिरोधको अन्तरविरोधमै एउटा आन्दोलन अघाड़ि बढ़्छ। आन्दोलनको गति, दिशा र प्रतिफल तय हुन्छ। यही अन्तरविरोधकै स्तरले तय गर्छ आन्दोलनको भूगोललाई। विज्ञानलाई पनि। अर्कोतिर, जनता र शोषकका आ-आफ्नै चेतनाको स्तर र घनीभूत विचारमाझको सङ्घर्षले अन्तरविरोधको स्वरूपलाई परिवर्तित र विकसित गर्दै लगेको हुन्छ। आन्दोलनको जीवन्तताको प्रतिभूति हुन्छ अन्तरविरोधको जीवन्ततासँग। अन्तरविरोध कुन स्तरमा पुगेको छ र कति घनीभूत छ, त्यो विचार्ने नेतृत्व र जनता दुवैको जिम्मा।

जहाँसम्म गोर्खाल्याण्ड माग्ने वैधताको सवाल छ, भारतीय विधिव्यवस्थाभित्र यो जायज माग छ। समस्त नागरिकलाई सामाजिक, आर्थिक र राजनैतिक समानताको समान अवसर प्रदान गर्ने प्रावधान सङ्घीय भारतको संविधानमा छ। नयाँ राज्य गठन, विद्यमान राज्यका नाम, क्षेत्र, सिमाना परिवर्तनजस्ता जनाधिकारको विवरण धारा २ र ३-मा गरिएका छन्। संविधानको विधान तय गर्ने पूँजीको चरित्रले आन्दोलनको दिशा र परिणाम तय गर्नमा मूलभूत भूमिका वहन गर्ने गर्छ। सामन्तवादलाई लत्याइहाल्नु नसकेको भारतीय पूँजी वैश्वीकरणसँग पनि सल्किसकेको छ। यसको यो जटिल चरित्रले छत्तीसगढ़जस्तो राज्य निर्माण सहजतापूर्वक मान्छ भने गोर्खाल्याण्डजस्तो राज्यलाई बाधा दिन्छ। पूँजीको स्वभावलाई रौंचिरा अध्ययन गर्दै रणनीति बनाउनु गोर्खाल्याण्डजस्तो आन्दोलनमा सहायक सिद्ध हुनसक्छ।

बङ्गालको मार्क्सवाद भनेको मार्क्सवादको खाल ओढ़ेको पूँजीवादमा फेरिएको फासीवाद हो। प्रचुर बाह्य र आन्तरिक सङ्कट भोगिरहेको यो ‘छायाँ-मार्क्सवाद’-ले आफ्नै दर्शन, विचारधारा र आदर्शको एक-एक गर्दै गला घोटिरहेका दृष्टान्त भारतले सन् १९९१-मा उदारीकरणको नीति अप्नाई वैश्वीकरणलाई भित्र्याए यता बितेको दशकभरि प्रशस्त भेट्टाइन्छन्। आत्मभञ्जन र आत्माहारको दिशामा रहेको बङ्गालको पूँजीवादी वामपन्थ जनताको सबैभन्दा ठूलो शत्रु साबित भइसकेको छ।

बङ्गाल सरकारको निरङ्कुस दमन र अत्याचारको पीड़ा भोगिरहेका छन् उत्तर बङ्गालभन्दा बढ़ी दक्षिण बङ्गालका जनताले। सिङ्गुरपछि नन्दीग्राम, नानुर, मेदिनीपुरका बङ्गलाभाषी दाजुभाइ पुलिसी उत्पीड़नका प्रत्यक्ष शिकार भइरहेका छन्। दक्षिण बङ्गालमा पुलिसबलद्वारा समर्थित हातहतियारले लैस वामपन्थी कार्यकर्ताहरूको अत्याचार आम मान्छेहरू भोगिरहेका छन्। तिनीहरू सङ्गठित पनि भएका छन् उक्त अत्याचारको विरोधमा। पुलिस-प्रशासनको अत्याचारको विरोध गर्न सङ्गठित जनसङ्गठनले सिप्सु गोलीकाण्डको विरोध जनाउँदै कालो दिवस मनाए। हड़ताल डाके। जसरी शासकहरू एकजुट र एकसुर छन्, जनता पनि एकजुट र एकसुर हुनुपर्छ भन्ने अनुभव जनताले गर्नुसक्नुपर्छ यहाँबाट।

अमानवीय अत्याचार विरूद्ध उठेको दक्षिण बङ्गालवासीहरूको जनप्रतिरोधलाई हिंस्रक र माओवादीको ठप्पा लगाउन गुप्तचर विभाग र अन्यान्य मशिनरी जुटेका छन्। जनाधिकारको माग गर्ने र राज्य विरोधी ठहरिने प्रत्येक तत्त्वलाई “माओवादी”-को मोहोर ठोकी जेलनेल गराउने, गोली ठोक्ने र ढुङ्गामूढ़ा गर्ने प्रवृत्ति बङ्गाल सरकारको सामान्य प्रवृत्ति भइसकेको छ। भारत सरकार नै समग्रमा जनविरोधी भइसकेको तथ्य हामीअघि छ। संविधान प्रदत्त मानव अधिकारको कुरा गर्नेलाई समेत “माओवादी”-को लेबल टाँसी कठोरतम सजाइ दिइने चलन भारतमा नयाँ रहेन। डा. विनायक सेन प्रकरण यसको ज्वलन्त उदाहरण हो। वामपन्थी शक्तिकै पृष्ठपोषक केही इलेक्ट्रोनिक मिडियाले गोर्खाल्याण्ड आन्दोलनकारीहरू माओवादी ताकतहरूसँग साँठगाँठमा रहेको भुटुवा खबर प्रकाशमा ल्याइरहेको गतिविधिले राज्य-षड़्यन्त्र-को गन्ध अझ तिक्खर हुन्छ।

गोर्खाहरूको आत्मनिर्णयको सयवर्षाधिक पुरानो जनाकाँक्षालाई “विच्छिन्नतावादी”-को लेबल टाँसिरहने शक्ति र कुतर्कले यदाकदा “ग्रेटर नेपाल”-को उड़न्ते धारणासँग जोड़ेर देशद्रोहीसम्म भन्न चुकेका छैनन्। जब कि, मार्क्सवादीहरूका पुरोधा भीआइ लेनिनको जन्मदिन मनाउने र लेनिन समग्रको ठेली आफ्नो घरको पुस्तकालयमा सजाएर राख्न रुचाउने वामपन्थी कार्यकर्ताहरू र बुद्धिजीवीहरूले आत्मनिर्णयको अधिकार सम्बन्धी लेनिनको विचार पढ़ेका हुनुपर्ने।  आत्मनिर्णयको अधिकार माग्नेहरूलाई विच्छिन्नतावादी भन्नेहरूलाई “धूर्त” ठहर्‍याउँदै लेनिन भन्छन्,“आत्मनिर्णयको स्वाधीनता वा स्वाधीन जीवन निर्वाह गर्ने स्वतन्त्र विचारलाई विच्छिन्नतावादको आरोप लगाउनु धूर्तताको परिचायक हो। …पूँजीवादी राज्यमा आत्मनिर्णयको अधिकारलाई अस्वीकार गर्नुको अर्थ हुन्छ प्रजातन्त्रको विरोधमा एक शक्तिसम्पन्न जातिको विशेषाधिकार रक्षा गर्नु र प्रशासनमा पुलिसको प्रधानता स्वीकार गर्नु।”

“सचेतनापूर्ण स्वत्वको मौन युद्ध” लड़्नथालेको गोर्खे समुदाय परीक्षाको घड़ीमा छ। गिरी लेख्छन्, “हिंसाशून्य, हत्याहीन मौन युद्धहरू/ हाम्रो अस्तित्व वरिपरि/ घेरा लागिरहेछन् अझै/ मुटुका आक्रोशहरू फुटाएर/ प्रतिरोधको ज्वाला खनाइदिनुछ।” आन्दोलनरूपी “अवरोधको पर्खाल” उभ्याएर धैर्य र संयम राखी अघि बढ़्न सके “दासत्वको जीर्ण वर्तमानलाई, कातर सहिष्णुतालाई, निर्लज्ज उपस्थितिलाई, मृतप्रायः क्षणलाई समाप्तिको अन्तिम विराम” अवश्यै लगाउनसकिनेछ। गिरीकै भाषामा, “एउटा अस्त्रहीन युद्ध” बोलाएको गोर्खे समाजले आत्मा-आत्मामा विप्लव बालेर नयाँ क्षितिज खोजिरहेको छ। पतन भयले नरभक्षी भएको उग्र बङ्गाल सरकारले निहत्था प्रदर्शनकारीहरूमाथि गोली दागेर आन्दोलनको आगोमा अझ ईन्धन थपिदिइराखेको छ। सिप्सुका युवा शहीदहरूको शहादतलाई अर्थ दिन चाहनेहरूले पञ्जाबका शहीद कवि अवतार सिंह पाशको जियालो शब्द टिप्न सक्छन्- “हामी लड़्नेछौं साथी / जबसम्म लड़्ने ताकत रहनेछ / जबसम्म लड़्नुको अर्थ रहनेछ / हामी लड़्नेछौं साथी / कि लड़िएन अहिलेसम्म।”


पुनियानीको ब्लग-कालबोधबाट

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares