‘सोम’ सिद्धान्त – एक संस्मरण

घुमघाम »

मुन्नु गौतम


गत जनवरी महीनाको अन्तिम साता हामी दुई दम्पति बङ्गलोर र मौसूरको यात्रामा निस्किएका थियौँ। उच्च तक्निकीको केन्द्र मानिने आजको बङ्गलुरू अर्थात् बङ्गलोर नदेख्ने गोर्खाहरू भारतमा थोरै होलान् – सत्य साई अनुयायीका रूपमा वा सन्तानका कर्मस्थल बन्न पुगेकोले भेटघाट गर्ने आगन्तुकका रूपमा वा प्रसिद्ध चिकित्सालयतिर शारीरिक जाँचको निम्ति मधौरोका रूपमा वा फगत् पर्यटककै रूपमा होस् बङ्गलोर धेरैको निम्ति खाँचो र चासोको गन्तव्य स्थल बन्ने गर्दछ।

यही बङ्गलोर अनि त्यहाँबाट प्रायः 150 किलोमिटरको दूरीमा अवस्थित सुन्दर ठाउँ मैसूर वा मैसूरको सुन्दरता, स्वच्छता अनि शालीन स्वभावी वासिन्दाहरूको प्रशंसा गर्न यो लघु नियात्रा लेखनमा शब्द र भावको यथेष्ट अभाव हुनजाला यो निश्चित छ। यस चोटिको हिउँदे यात्राको लक्ष्य भने मैसूर नै रहेकोले बङ्गलोर जयनगरका एक भलाद्मीसित सम्पर्क स्थापित गर्न आवश्यक थियो।

ती व्यक्ति थिए शहरका प्रख्यात् कृषि अनि बागवानीमा संलग्न श्री सोम शेखर महाशय। पैँसठी वर्षीय अग्ला गज्जबको सेता जुँगा पालेका, रातापिरा, फूर्तिला सोम महाशयको भव्य व्यक्तित्व कुनै अवकाशप्राप्त सेना अधिकारी झैँ देखिन्थ्यो। अङ्ग्रेजी र कन्नड़ मात्र बोल्ने, अति आवश्यक पर्दा मात्र थोरै हिन्दी बोल्ने यी महाशयले हामीलाई तिनकै एक आफन्तको लजमा बस्ने, खाने चाँजो मिलाइदिए आफ्नै खर्चमा। वर्तमान बङ्गलोरलाई आजको हरियाली र सुन्दरता प्रदान गर्नुमा, प्रसिद्ध लालवागलाई सजाउनुमा सोमकै पूर्वजका अथक योगदान रहेछ।

विभिन्न व्यवसायमा लगानी गरे पनि मूलतः वागवानी वा फूलखेतीलाई प्राथमिकता दिएर बङ्गलोरमा जमेका सोमको उच्च जीवनशैली जयनगरअवस्थित भव्य ‘साई आलय’ भवन हेरेर नै आभास हुँदछ। सोमकी पत्नी सरोजम्मा छिन् अत्यन्त ईश्वरभक्त। अतिथिलाई मन्दिरको टिका लगाइदिएर स्वागत गरिन्, जलपान गराइन् साथै ईश्वरकै एक सुन्दर सानो प्रतिमा दिएर आफ्नो हर्ष प्रकट गरिन्। सम्पन्नताको थोरै पनि शेखी प्रदर्शन नहुने सरला गृहिणी सरोजम्मालाई देखेर सोमको उज्ज्वल हाँसो र सन्तुष्टिको रहस्य थाहा पाएँ।

सोमको अर्को रूचि हो – गोल्फ खेल। जवानीमा एक असल फूटबल खेलाड़ी थिएछन्। बङ्गलोरमा दिनचर्या गोल्फ मैदानमा विशिष्ट शैलीमा हातमा क्लब बोकेर शुरू गर्छन् भने मैसूर बल्लभ भाइ पटेल नगर अवस्थित आफ्नो विस्तृत ‘सोम एग्री फार्म’-मा कुटे र कोदालो हातमा लिएर शुरू गर्छन्। बङ्गलोर शहरमा तिनलाई एक उच्च कुलीनवर्गका प्रतिनिधि देखिन्छ भने मैसूरमा एक साधारण कृषक।

आफ्नो कृषि भूमिमा प्रशस्त नरिवल सापोटा, निम्बू, मरीच, पान-पत्ता, फामफल अनि विभिन्न प्रजातिका फूल लगाएका छन्। त्यसको देखरेख गर्न मानिसहरू खटाएका छन्। त्यही फार्ममा तिनको एक आरामदायक निवास पनि छ। सयौँ अग्ला प्रत्येक वृक्षले उँभो रसिला नरिवल फलाएर उँधो मरीच र पानका लता लहरालाई आफूमा चड़ाई अर्थ-उत्पादनका स्रोतले थप थाँक्रो पाएको सुन्दर दृश्य देखिन्छ।

अघिल्तिर केरा, गोलभेड़ा, आलुको नयनाभिराम कृषिभूमिको हरियालीले आँखालाई बेग्लै सुखद अनुभूति दिन्छ। सम्पन्नताको शिखरमा विहारमा गर्ने सोमको सिद्धान्त उदाहरणीय छ- तिनी भूमि स्पर्शको आनन्दमा मानसिक शान्ति पाउँछन् – तिनको मन रमाउँछ। आफ्ना पूर्वजले देखाएका कठिन कर्म र सङ्घर्षको फलस्वरूप आज आफूले सुखभोग गर्न पाएको अनि वर्तमानमा तिनले सकुञ्जेल सक्रिय जीवनशैली अप्नाए मात्र भविष्यका पिँढ़ीले दुःख नपाउने ठान्छन्। मानिस धनाढ्य नै भए पनि कर्म छोड़्नु हुन्न भन्ने तिनको सिद्धान्त छ। 15 वर्ष अघिदेखि आफूले सिँचेर आइरहेको धरतीले आज आफूलाई अर्थ साथै सुखानुभूति दिइरहेको तिनी आभास गर्छन्। यसैको मोहमा तिनी हप्तामा वा पन्ध्र दिनमा, महीनामा एकपटक आफ्नो व्यस्त खेल र व्यावसायिक व्यवस्ततालाई पन्साएर मैसूरसम्म ओहोर-दोहोर गर्छन्।

अर्को विचित्रको कुरो तिनी आफ्नो पैतृक उपनाम ‘देवेगौड़ा’ धारण गर्दैनन् – त्यसमा तिनलाई सङ्कुचन र अहम अनुभव हुन्छ भन्छन्। तिनको विस्तृत सोचले हाम्रो सङ्कुचनको आभास गराइछाड़्यो – कसरी हामी भने जात-जातको जालोमा अल्झिएर टुक्रिँदै जाँदैछौँ। गोर्खाको वीरता, नागरिकता, परिचय सङ्कट, आन्दोलन, विशेषता सबै विषय चर्चा भए – तर यी कमजोरी भने अवश्यै लुकाएँ। प्रसिद्ध नाटककार बालकृष्ण समले झैँ आफ्नो सामन्ती सोच मिल्काएर ‘सम’ बन्न चाहन्छन् ‘सोम’ पनि। यस्तो सदिच्छा भएको व्यक्ति सामु आफ्नो जातिको ‘जात’ सङ्कुचन त लुकाउनै बाध्यता पऱ्यो।

बङ्गलोरदेखि मैसुरसम्मको तिनले हाँकेको वाहनमा लामो यात्रा गर्दा, फार्म हाउसमा वास बस्दा कतिपय विषयमा विचार विनिमय गर्न पायौँ। मैसुरवासी तिनका मित्र अशोकलाई तिनले आफू नहुँदा हाम्रो सहायता गरिदिने अनुनय गरेर बङ्गलोर हिँड़ेपछि तिनी पनि आफ्नो व्यावसायिक व्यस्ततालाई पन्साएर प्रस्तुत भइरहे। अत्यन्त कृतज्ञ भयौँ अशोककी सुन्दरी पत्नी र प्यारी छोरीप्रति। हाल असारको पन्ध्र छ सोमलाई।

तिनलाई आगामी 16, 17, 18 फरवरी भिसाखापटनममा हुने गोल्फ प्रतियोगिताको निम्ति तत्पर हुनु छ। यसैको निम्ति प्रशिक्षकको देखरेखमा कड़ा प्रशिक्षण लिँदैछन् तर व्यस्ततालाई पन्साएर विमानस्थलसम्म पुऱ्याउन हाम्रो निम्ति भ्याउँछन् अनि कालेबुङ नपुगुञ्जेल अभिभावकजस्तो सोधखोज लिइरहन्छन्।

यस्ता सहृदयी व्यक्तिहरूका साथ र सहयोग पाएर बङ्गलोर मैसुर यात्रा अत्यन्त सुखद र आरामदायी रह्यो।

यस लघु नियात्रा लेख वास्तवमा ती सत्पात्रहरूलाई साधुवाद स्वरूप एक भेट हो – विडम्बना के छ भने  तिनीहरूले नेपाली त कुरै छोड़ौं हिन्दीसम्म बुझ्न गाह्रो छ। निष्कर्षमा यो पनि भन्न मन लाग्यो – सोमलाई बाहिरबाट सुखी देखिए पनि एउटा साझा सोचले व्यग्र बनाइराखेकै छ। आफूपछि विदेशमा हुने दुई छोराले के तिनको कृषि भूमिलाई तिनले झैँ महत्त्व देलान्, माया गर्लान? हुन त आफूपछि के हुने हो भनेर चिन्ता गरिरहने मानिसहरूको खरानीले संसार आधा ढाकेको छ भनिन्छ। तिनीपछि तिनले झै माटोलाई माया गर्ने कोही व्यक्ति अघि आउलान् नै। बाँझो भूमि नबन्ला कृषिभूमि। पैकारीहरूको होड़ चलिरहला दरभाउमा अनि त मैसुरका शहर बजारले फलफूलको अभाव कहिले देख्नै नपर्ला।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares