You are here

‘मार्क्सवादलाई मार्क्सवादभित्रबाट विचार गर्दा मात्रै साँचो देखिन्छ’

 

२०६४ साल असारमा सासंक प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडाको झापा धुलाबारी स्थित निवासमा केही बुद्धिजीवीहरूका विभिन्न जिज्ञासाहरू बीच साहित्यकार इन्द्रबहादुर राईका विचारहरू यस्ता थिए। त्यसदिन हामीले यो बसाइलाई औपचारिक–अनौपचारिक बनाएका थियौं र ती वार्ताहरूलाई भिडियोमा रेकर्ड पनि गरेका थियौं।

त्यस रेकर्डलाई धेरै वर्षपछि मैले भर्खरै अक्षरमा उतारेको हुँ। त्यस भेलामा बैरागी काइँला, छविलाल खतिवडा, चन्द्र भण्डारी, शिरो सान्दाई, तेराख, केशव आचार्य, शिव प्रणत, रश्मिशेखर, लेखनाथ भट्टराई, बिष्णुकुमार भट्टराई, कृष्ण बराल, पुण्य बराल, चन्द्र श्रेष्ठ, चन्द्र भट्टराई, केशव पौडेल, टिकेन्द्र खनाल र म थियौं।

भोलिपल्ट हुने साहित्यिक कार्यक्रमको प्रमुख अतिथिको रूपमा झापा आउनु भएका बेला हामीले यो मौका छोपेका थियौं। दशवर्ष अघिको उहाँका यी विचारहरू आज पनि उत्तिकै सान्दर्भिक छन् भन्ने मलाई लाग्दछ। नेपाली साहित्यमा उहाँको सिर्जना तथा सिर्जनात्मक योगदान अतुलनीय छ।

आज बयानब्बे वर्षको उमेरमा पनि आधुनिक भन्दा आधुनिक चिन्तन गरिरहनुहुने उहाँको बौद्धिकता प्रशंसनीय मात्र नभई अनुकरणीय समेत छ। नेपाली साहित्यमा कुनै न कुनै सिद्धान्तहरूको प्रस्ताव गरिरहने र पछिल्लो कालमा लीलालेखनलाई साहित्यिक तथा जीवनवादी चिन्तनका रूपमा स्थापना गर्न सफल हुनु भएका उहाँलाई आदर गर्दै नेपाली भाषाले कल्पना मात्र लेख्दैन विचार पनि गर्न सक्छ भन्ने गहिरो ध्वनि विस्तारण गर्नु सक्नु भएकोमा उहाँप्रति श्रद्धाले शिर झुक्दछ। उहाँका ती वाणीहरूलाई अक्षरमा उतारी आज पाठकहरू माझ प्रस्तुत गरेको छु।

 « कृष्ण धराबासी


 

  दुर्लभ संवाद »

धुलावारी वार्ता – २


आ.वी.— हामी जहिले पनि भन्छौँ यथार्थलाई लेख्नुपर्छ। सप्पैले मानेकै कुरा हो त्यो। यथार्थलाई नलेखी अरू केलाई लेख्ने त! यथार्थ शब्द त एउटै छ, तर यसको बुझाई आफ्नो आफ्नो हुन्छ। कसैले मनोवैज्ञानिक यथार्थलाई नै यथार्थ भनेर बुझ्छन्, कसैले ऐतिहासिक यथार्थ तथ्यलाई नै यथार्थ भनेर बुझ्छन्। दुवै बुझाई ठीकै हो। आ–आफ्नोपट्टिबाट हेर्दा कसैले ठोस वस्तु, ठोस यथार्थ लेख्नुपर्छ सामाजिक यथार्थ भन्नु पनि ठीकै हो। त्यसरी यथार्थ लेख्नुपर्छ भन्ने ‘रियलिज्म’ साहित्यमा आयो फ्रान्सबाट।

आज हामी यसो विचार गरौँ त, यथार्थ साँच्चै नै लेख्न सकिन्छ के त! यथार्थ भनेको त, सप्पै थोकलाई लिएर यथार्थ हो। मानिसको यथार्थ भनेको शीरदेखि लिएर पैतालासम्म जम्मै मानिसको यथार्थ हो। यसको एक भागलाई छाड्यौं भने त्यो सम्पूर्ण भएन। सम्पूर्ण नै यथार्थ हो। हाम्रो दैनन्दिन जीवनमा त यथार्थ देख्छौं। तर लेख्दा हामी ती सप्पै कुरा लेख्छौं के त? लेख्न सक्दैनौँ।

चुनेर लिन्छौँ रोजेर। आफूलाई चाहिने, चाहिने जति कुनै रूख, बाटो वा केही। जम्मै त लेख्नै सक्दैनौं नि। जम्मै लेख्दा त त्यसको अशेष त्यो कहिल्यै नतुरिने लेखाइ हुन्छ। हामीले जे कुरा सम्झिराखेका छौँ यथार्थता लेख्छौँ भनेर, साँच्चैमा त चुनेका कुरा मात्रै लेख्दा रहेछौँ । हामीले चुनेका कुरा मात्रै चाहिँ यथार्थ? त्यो त यथार्थ भएन।

त्यसैले सबभन्दा पहिले हामी यहाँ आउँछौँ— यथार्थ भनेर हामी जो लेख्दछौँ, वास्तवमा हामी यथार्थ लेख्दैन रहेछौँ। हामीले चुनेका कुरा मात्र लेख्दारहेछौँ। अनि ती चुनेका कुरालाई पनि आफ्नो दृष्टिले हेरेर अर्थाएर लेख्छौँ। बाहिरको यथार्थमा त त्यो इन्टरप्रिटेशन छैन। त्यो ढुङ्गा त्यहाँ पर छ, त्यो ढुङ्गाले त आफ्नो इन्टरप्रिटेशन बताएको छैन। त्यसको इन्टरप्रिटेशन त हामी गर्छौँ। तर यथार्थको नाममा चुनिएका कुराहरू लेख्छौँ –पहिलो भूल हाम्रो। यथार्थको नाममा आफ्नै अर्थ्याई लगाएर लेख्छौँ–अर्को भूल हाम्रो आफ्नो। यसरी हामीले अथाहमै कत्ति भूल गर्दा रहेछौँ भन्ने अनि हामीलाई आउँछ।

यसरी यथार्थवादबाट आउँदै गयो। त्यसपछि फ्रायडवाद, अस्तित्ववाद, अनेकवादहरू आउँदै गए। यथार्थवादमा जुन कुरा हामीले भूल गऱ्यौँ सायद यी पछि आएका वादहरूमा पनि यस्तै किसिमका भूलहरू पो गर्दैछौँ कि हामीले भन्ने एउटा आत्म संशय हामीलाई लाग्नु पर्ने हो। तर लाग्दैन। यतापट्टि सचेत छैनौँ तर सचेत हुनु पर्ने हो जस्तो लाग्छ।

अब एक दुईवटा कुरा म यहाँहरूलाई राख्छु।

अहिले लेख्दा, नयाँ उपन्यासहरू पढ्दा परिहालेको एकदुईवटा समस्या हेरौँ। हेर्नुहोस्– अहिले यो उत्तरआधुनिकतावाद भन्नेले निकै नै पिटेको छ। उत्तर आधुनिकतावाद एउटा त काल हुन्छ। तर उत्तरआधुनिकतावादी काल चाहिँ साँच्चै आएको छ कि छैन? उत्तर आधुनिकतावादी हाम्रो दृष्टिकोण कस्तो हो!

यसै त आधुनिकतावादको पछि आएको उत्तरआधुनिकतावाद, यसको नाम पनि त अलिक ठीक भएन। यस्तो त नामै पनि भएन नि। यो त विवरण पो भयो त! आधुनिकता भन्दा पछि आएकोभन्ने। हाम्रो गाउँघरतिर कसै कसैलाई बोलाउँदा गाउँकाहरूले काइँलाको भाइ भन्छन् नि! उसको नाम छ नि धनबहादुर। नामै धनबहादुर राख्न पायौँ भने पो साँच्चैको मानिस चिन्यौँ तर काइँलाको भाइ भन्यौँ भने त चिनियो पनि तर अलिक भएन नि नाम! यो उत्तरआधुनिकता भन्ने नाम पनि आधुनिकतापछिको, आधुनिकताको भाइ। यो त नाम पनि कस्तो कस्तो भयो। तर अब के नाम राख्ने त भन्दा उनीहरूलाई अप्ठयारो पऱ्यो।

कुनै समयमा पनि एउटै मात्र साहित्यिक वा कलाको प्रविधि चलेको हुँदैन। हाराहारी धेरैवटा प्रवृत्तिसँगै चलेका हुन्छन् जहिले पनि। अब कुन चाहिँ प्रवृत्तिको नामबाट राखौँ त यो काललाई। कुनै प्रवृत्तिलाई प्रधानता दिएर त्यसको नाममा राख्न पनि नमिल्ने भयो। त्यसकारणले हारेर भनौँ केही नलागेर यसको नाउँ उत्तरआधुनिकतावाद नै राखियो। त, उत्तरआधुनिकतावादको बेला चाहिँ आएको छ। यो बेला आएको छ भन्ने कुरा चाहिँ मार्क्सवादबाट हामीलाई विश्वास गराइएको छ।

उत्तरआधुनिकतावादी काल आएको छ है! साँच्चै आएको छ भन्ने चाहिँ मार्क्सवादबाट भएको हो। कसरी भने, अमेरिकामा एकजना ठूला मार्क्सवादी प्रोडरिक जेम्सन (अमेरिकामा त कम्युनिष्ट पार्टी छैन। हुन पनि दिँदैन तर मार्क्सवाद त एउटा ज्ञान हो। त्यो ज्ञान सबैले नै लिन्छन्। त्यहाँको कलेजका प्रोफेसरहरूले त्यसलाई धेरै समातेका छन्। उनीहरूले त्यतापट्टिबाट हेर्ने गर्छन्।)-ले के देखे भने, उनी भन्छन्–सोसियो इकनमिक, सामाजिक, आर्थिक व्यवस्था कस्तो हुन्छ त्यसैबाट ज्ञान उब्जन्छ। यो मार्क्सवादको एउटा फन्डामेन्टल कुरा (आधारभूत कुरा हो यो) त्यसो हो भने, यो उत्तरआधुनिकवाद चाहि कुन चाहि सोसियो इकनमिक व्यवस्थाबाट जन्मियो त?

उनीहरूले बताएका छन्– बहुराष्ट्रिय कम्पनीहरू आएपछि लेट क्यापिटलिज्म आयो। यो लेट क्यापिटलिज्म आएपछि यसैले उत्तरआधुनिकतावादी काल पनि ल्यायो। मार्क्सवादमा छ– कुनै कुराको पनि बेसिक (आधार) सोसियो इकनमिक व्यवस्था। त्यसमाथि चाहिँ सुपर स्ट्रक्चर उठेको हुन्छ। यो उत्तरआधुनिकतावाद पनि एउटा सुपर स्ट्रक्चर हो।

त्यसको आधार बहुराष्ट्रिय पूँजीवाद वा लेट क्यापिटलिज्मबाट आयो भन्ने कुरा छ। मोटामोटी रूपमा यो कुरा ठीकै हो। किनभने जस्तो युग हुन्छ मानिसको विचार पनि त्यस्तै हुन्छ। त्यो साँच्चै नै हो। त्यो कुरा होइन भनी हामी भन्न सक्दैनौँ। र, अहिले हाम्रो जुन नयाँ विचार आएको छ, त्यो पनि केही न केही त लेट क्यापिटलिज्मबाटै आएको हो भन्ने हामी मान्छौं।

तर इतिहासको एकएकवटा हिसाब रिठ्ठो नबिराइकन गर्नेहरू भन्दछन्– उत्तरआधुनिकतावादी लेखन त पहिले साहित्यमा आयो। त्यसपछि कलामा गयो, त्यसपछि गृह निर्माण कलामा गयो। विस्तारै राजनीतिमा पनि आइपुग्यो तर, यो शुरू हुँदाखेरी चाहिँ साहित्यबाट शुरू भयो। साहित्यबाट शुरू हुँदा खेरी– उत्तरआधुनिकतावादी शैलीमा दुई चारवटा फाट्टफुट्ट लेख्न थालिसकिएको थियो जति बेला मल्टिनेशनलहरू बनेकै थिएन। मार्क्सवादले भन्छ –मल्टी नेशनलहरू पहिला बन्यो। सोसियो इकनमिक बेस तयार भयो, अनि उत्तरआधुनिकतावादी साहित्यिक लेखन पनि आउन थाल्यो। उनीहरूको कुरा त्यो हो।

हिसाब हेर्दा खेरी त्यो मिल्दैन। यो नमिलेको कुरा के हो बुझ्नु पऱ्यो। किन त लेट क्यापिटलिज्म नआइकनै फ्रेडरिक जेम्सन उत्तरआधुनिकतालाई उनको परिभाषा भन्छन्– Is culture logic of late capitalism. आजकल हामीले जानेकै शब्दहरूलाई पनि अलिक विशेष अर्थहरूमा यिनीहरूले बुझेर हामीलाई गुलमुल पार्छन् ।

अब Culture logic भने हेर्नोस् त। Culture logic के भनेको? logic भनेको त तर्कशास्त्र हो हामीले जानेको। अनि Culture भनेको साँस्कृतिक भन्ने बुझ्दछौँ। तर Culture logic या late capitalism। यो late capitalism त हामीले बुझ्यौँ मल्टिनेशनल कम्पनीहरू बने पछि यो बनेको रैछ। यहाँ अलिकति बुझ्नु पर्ने कुरा के भने Culture भन्नाले हामी साधारणतया जातीय संस्कृति भन्ने बुझ्छौँ– जस्तो, हातहतियार, भाडाकुडा, लुगाफाटा, घर आदि। तर, अहिले Culture को त्यो अवस्था छैन। अहिले कल्चरको अवस्था चाहिँ way of living, जीवन शैली, जिउने ढङ्ग, आदि। अर्थात् हामीसँग थाना कचहरी छ, पुलिसहरू छन् भने हाम्रो जीवन शैली बेग्लै किसिमको भएर जान्छ।

पहिला हाम्रो बाबुबाजेको पालामा थाना, कचहरी, पुलिसहरू थिएन। उनीहरूको जीवन अर्कै ढङ्गले जान्थ्यो। समाजको बाँच्ने ढङ्ग, यहाँको आर्थिक, राजनीतिक, शैक्षिक यस्ता कतिखाले व्यवस्थाले गर्दा हाम्रो जिउने तरिका नै बेग्लै किसिमले बनेर गयो। यसलाई उनीहरू culture logic भन्छन्। अनि यो logic भन्ने शब्दको अर्थ यहाँ चाहिँ त्यसको परिणाम भन्ने बुझियो। यसरी चलेर आएको शब्दलाई पनि ती सिद्धान्तविद्हरूले नयाँ नयाँ अर्थमा लगाइदिएकोले पनि हामी धेरै गुलमुल हुन्छौँ।

त्यसो भए कसरी पहिल्यै आयो त उत्तरआधुनिकतावादी लेखन! जब कि मल्टिनेशनलहरू बनेकै थिएन। त्यसको व्याख्या चाहिँ यहीँ छ। उता युरोपमा एकजना लियोटार्ड भन्ने विद्वानलाई फ्रान्सको सरकारले अहिलेको बेलामा ज्ञानको स्थिति कस्तो छ? हामी ज्ञान कसरी पाउँदैछौँ, यो ज्ञान ज्ञान नै हो भनेर कसरी चिन्नु ?

भनेर यो ज्ञानमाथि अध्ययन गरेर रिर्पोट दिन उनलाई जिम्मा लगाएछ। लियोटार्डले त्यो कामको जिम्मा लिएर हेर्न थाले। ज्ञानहरू धेरै किसिमका छन् दर्शनशास्त्र, धर्म, अर्थशास्त्र, आदि सबैलाई एकएक गरी जाँच गर्नु पनि पर्ने हो, तर सम्भव हुँदैन। संसारभरिका ज्ञानहरू जस्तै हिन्दू, इसाई, इस्लाम, बौद्ध आदि धर्महरू, भ्याइसक्नु हुँदैन उनलाई। र उनले हेरेछन्– सबै ज्ञानभन्दा निश्चित ज्ञान दिने चाहिँ कुन हो, म त्यसलाई जाँच गर्छु। यसरी हेर्दा उनले देखे -विज्ञान।

विज्ञान चाहिँ सबभन्दा निश्चित ज्ञान दिने ज्ञान हो। अनि उनले विज्ञानलाई जाँच गर्न थाले। वैज्ञानिकहरूले के–के भन्दैछन्, वैज्ञानिकहरूले भनेका सप्पै कुराहरू हेरे। अन्त्यमा उनले पाए विज्ञानले पनि कुनै कुरालाई अन्तिम रूपमा भन्न नसक्दो पो रहेछ। त्यसको पनि सीमा पो रहेछ। वैज्ञानिकहरू भन्दा रैछन्– हाम्रो बुद्धिको एउटा सीमा हुन्छ। त्यहाँदेखि उता हामी कहिल्यै देख्न सक्दैनौँ, अनुमान मात्रै गर्नु पर्छ। हाम्रो अनुमानको पनि एउटा सीमा हुन्छ, त्यसमाथि पनि जब हामी त्यसलाई परीक्षण गर्न खोज्छौँ अनि त्यो बद्लिन थाल्छ।

यसरी बद्लिन थालेपछि त त्यसको साँच्चो रूप त झन् कहिल्यै पनि पत्ता लगाउन सकिँदैन। विज्ञानको पनि यो अवस्था छ भने अरू ज्ञानको त झन् के कुरा र! र पछि उनले भने –यो सबै एउटा कथा मात्र रैछ। विज्ञान पनि कथा मात्र रैछ। धर्महरू पनि कथा मात्रै रैछ, इतिहास पनि कथा मात्रै रैछ। यी वादहरू पनि सबै कथा मात्रै रैछ। यिनीहरू साँच्चै ठीक हुन् भन्ने प्रमाण कहिले पनि छैन। त्यही विचार भित्रबाट विचार गर्दा मात्रै त्यो साँच्चो देखिन्छ।

मार्क्सवादलाई मार्क्सवादभित्रबाट विचार गर्दा मात्रै साँचो देखिन्छ। हिन्दूधर्मलाई हिन्दू धार्मिकहरू भित्रबाट विचार गर्दा मात्र त्यो प्रमाणित हुन्छ। मुस्लिम धर्म पनि त्यस्तै हुन्छ। तर ती धर्म, ती वाद र ज्ञानभन्दा बाहिरबाट प्रमाण खोज्दा केही पनि पाइँदैन। यो देखेपछि उनले सोचे यो चाहिँ मेटान्यारेटिभको बेला आयो। अर्को परिभाषा दिए – यो उत्तरआधुनिकता भनेको चाहिँ मेटान्यारेटिभमा (अविश्वास गर्नु) हो।

हामीलाई निश्चित ज्ञान दिने कुरा साहित्यपट्टि चाहिँ आधुनकितावाद थियो। आधुनिकतावादबाट त हामीलाई निश्चित ज्ञान पाइन्छ भन्ने विश्वास थियो। फ्रायडवादले मानिसको भित्रको कुरा पत्ता लगाउन सक्छ। त्यस्तै अर्थशास्त्रले, अरू कुन कुनहरू सबैले एउटा निश्चित ज्ञान दिन सक्छन् भन्ने थियो। तर अब जब विज्ञानले नै दिन सक्दिन भनेपछि अरूहरूको त कुरै आएन।

आधुनिकतावाद साहित्यमा रहेसम्म निश्चित ज्ञान पाउछौँ भन्ने हुन्थ्यो र आधुनिकतावादमा अर्काको कुरा खण्डन गर्ने, निश्चित तवरले ऊ भूल हो, निश्चित तवरले म चाहिँ ठीक छु, सही बाटोमा छु भन्ने निश्चित ज्ञान पाउने विश्वास थियो। तर पछिपछि विद्वानहरूले देख्न थाले– होइन रहेछ, आधुनिकतावादबाटै पनि अनिश्चितिमा पुगिने रहेछ। बहुदृष्टि कोणहरू पो निस्किने रहेछ भन्ने बुझेँ।

अब आधुनिकतावादबाट निश्चितिमा पुगिन्छ भन्ने कुरालाई अविश्वास गर्ने पनि आधुनिकतावाद नै जन्म्यो। हाईमोडनिज्म यसलाई भनिन्छ। यसले भनेका कत्तिवटा कुराहरू चाहिँ पोष्टमोडनिज्मसँग मिल्छ।

अब यसो विचार गरौँ साँच्चै नै यो उत्तरआधुनिकतावाद आएको छ के त? उनीहरूले भन्दैछन्– हो, आएको छ। एकदुईवटा उदाहरण दिऊँ– हामी कसैले आफूलाई इङिलस भन्छौँ, कसैले जर्मन भन्छौँ, कसैले इण्डियन भन्छन्, कसैले नेपाली भन्छन्। हो, हामी नेपाली हौँ। तर हाम्रो सोच, विचार, लवाई, खुवाई, बसाई, आज कति प्रतिशत नेपाली छ। आज हाम्रो सोचाई नै मिश्रित सोचाइ भएको छ। अङ्ग्रेजी पनि पढेका छौँ, कता कता हिन्दी पनि पढेका छौँ, अनेक थोक पढेर टाउकोभरी कोचेकोले गर्दा हाम्रो सोचाइ नै मिश्रित भइसक्यो। अब यो खुट्याउँछ उत्तरआधुनिकतावादले। हामी कत्तिको मिश्रित जीवन बाँच्दछौँ, यो कुरालाई थाहा गरेर लेख्यौँ भनेदेखि त्यो उत्तरआधुनिकतावादी लेखन भइहाल्छ। एउटा साधारण उदाहरण दिऊँ, घरमा दाजुभाइ दुईजना मिल्दैनन्। त्यो त नयाँ कुरा होइन।

यस्तो त अघिदेखि भएकै हो –घरमा दाजुभाइ दुईजना बाझ्छन्। अङ्ग्रेजी पढेकाहरूले यस्तो हेरेर भन्छन्– क्ल्यास अफ पर्सनालिटिज त्यो नेपाली सोचाइ हो? व्यक्तित्वको टकराव। अर्कोले अर्को पढेको छ र भन्छ– यो सुपेरिटी कम्पलेक्स र इन्फेरिटी कम्प्लेक्स हो। त्यो पनि त नेपाली सोचाई भएन। कहाँ अस्ट्रियाबाट आएको फ्रायडको सोचाई भयो त्यो। अनि हाम्रा बाजेबराजुले चाहि कसरी सोँच्थे होलान् त? हामीले जानेको त, हाम्रा बाजे बराजुले त, यी दाजुभाइको ग्रह नै नमिल्ने भन्थे। त्यो हो नि हाम्रो सोचाई त। तर त्यो सोचाईबाट हामी अब कत्ति टाडा भइसक्यौँ? लगाउने लुगादेखि लिएर बस्ने घरदेखि लिएर, खानेकुरादेखि लिएर, हाम्रो सोचाईसम्ममा हामी अर्कै भइसक्यौँ। यसलाई थाहा गरेर हामीले लेख्यौँ भनेदेखि उत्तरआधुनिकता भइहाल्छ।

झगडा त नयाँ होइन, पुरानै हो। अर्को एउटा उदाहरण लिऊँ। ल सम्झौँ, हामी कुनै जग्गामा मट्टितेल लिन जाँदैछौँ। लामो लश्कर छ, त्यहाँ उभिनुपर्छ। एक घण्टा,  डेढ घण्टा टाइम लाग्छ। एक घण्टा, डेढ घण्टा कुनै स्थानमा हामी उभिन्छौँ भने केही समय हामी त्यहाँ उभिन्छौँ। हाम्रो स्थान र समयमा हुन्छौँ हामी। समय भनेको त के हो! समय भनेको त रसिलोसँग बितायौँ भने पो समय भन्नुपर्छ, जस्तो घरमा बस्दा। घरमा जति बस्दा पनि मीठो, खुशीसँगले समय बिताइन्छ। तर त्यो मट्टितेलको लाइनमा बस्दाको एकडेढ घण्टा चाहिँ लामो समय हुन्छ अरे। त्यो समय त हो तर के भयो भयो, नसमय भयो। त्यो उभिनु परेको स्थान पनि नन्प्लेस भयो।

जुन उभिने काम छ त्यो काम पनि नन् वर्क भइहाल्यो। यसरी हाम्रो जीवनमा अहिले नसमयमा, नकार्यमा, नस्थानमा रहनु परेर बितिरहेको यो कुरालाई पनि लेख्नु पर्ने। उत्तरआधुनिकताले पहिले यो चिनेको हो भनेर हामीले भन्नु हुँदैन। हो, यो वाक्क लाग्ने, अलिकति उच्चाट लाग्ने त अघिदेखि नै थियो नि! अघि बाजेबराजुले कुनै काम गर्दा खेरी उच्चाट, विरक्त लागेकै हो। यो त पुरानो बेलामा पनि भएकै थियो। तर मार्क्सवादले भनेको जस्तो– कुरा पनि एकदुई मात्र हुँदाखेरी चाहिँ थाहा हुँदैन। त्यो बढता हुन थाल्यो भनेदेखि चाहिँ थाहा हुन्छ। मार्क्सवादमा यसलाई क्वान्टिटी चेञ्जज इन टु क्वालीटी भन्छ।

यसरी आधुनिकतावादले देखिसकेको बाटोमा नै उत्तरआधुनिकतावाद पनि हिँड्यो। आधुनिकतावाद चाहिँ अलिकति मात्रै हिँडेर यो बाटो छ है, यसमा त धेरै कुरा शङ्का गर्न सकिने बाटो पो छ है भनेर बन्द भयो। अनि उत्तरआधुनिकतावाद चाहिँ त्यही बाटो लिएर अगाडि हिँडेर जाँदा के–के देख्न थाल्यो, के–के! अझै अगाडि बढ्दै जाँदा के देखे उनीहरूले लेख्न थाले। अर्थ पनि पो छैन रैछ। मान्छेले मात्रै पो लगाएको हुँदोरैछ। अलिक अगाडि पुग्दा अर्थ नै नभेटिएपछि लेखकको मृत्यु भनेको ठाउँमा पुगे। यो उच्चाट लाग्ने कुरा कार्लमार्क्सले देखिसकेका थिए। उनले शब्दमा यसलाई एलियनेशन भन्छ। उनले भने आफ्नै घरको वा खेतको काम गऱ्यो भने दिनभरी गर्दा पनि विरक्त लाग्दैन तर, मालिकको कारखानामा गएर काम गर्नु पऱ्यो भने त्यो काम आफ्नो लाग्दैन। त्यो एउटा एलियनेशन हुन्छ। अब त्यही एलियनेशन अहिले आएर मट्टितेलमा लाइन लाग्दा पनि आयो।

पोष्टमोडनिज्मका कत्तिवटा कुराको जवाफ मार्क्सवादमा छ।

अर्थ छैन भन्नेमा लाग्यो। अलिक अगाडि जाँदा सत्य छैन भन्ने पनि देखियो। अर्थ लगाएको मात्र हो, खासमा स्थिर सत्य हुँदैन भनियो। अर्थ छैन भन्नेबाट रोलाँ वार्थले लेखकको मृत्यु भन्ने सिद्धान्त निकाले। एउटा पाठ हुन्छ, यसको निश्चित अर्थ हुन्छ भनेर आधुनिकतावादले भन्थ्यो, त्यसैले शिक्षकले निश्चित अर्थ लगाउँथे र त्यो निश्चित अर्थ लेखेन भने परिक्षामा विद्यार्थी फेल हुन्थे। तर अब उत्तरआधुनिकताले अर्थ त निश्चित हुँदैन पो, आ–आफ्नो अर्थ्याई मात्रै पो हुन्छ, भने पछि यही कुरालाई रोलाँ वार्थले पनि समाते डेथ अफ दि अथर। यसलाई ठूलो सिद्धान्त भन्छन्। यसलाई विश्लेषण गरेर जे बताउँछन् हामी झन् हुलमुलिन्छौं तर, जस्तै ठूलै सिद्धान्तभित्र पनि कुरा चाहिँ सानो हुन्छ। सप्पैले बुझ्ने कुरा हुन्छ। सरल किसिमले बतायो भने त्यो कुरा जसले पनि सजिलै बुझिहाल्छ।

लेखकको मृत्यु भनेको के हो त? कुनै कवि वा लेखकले लेख्दाखेरी उसको अभिप्राय हुन्छ यसमा म यो लेख्छु, अनि त्यो अभिप्राय लेखियो भन्ने लेखकले ठान्छ। लेखकको अभिप्राय हामी पाठकले समातेर उनले लेखेको यही हो भन्न सक्छौँ भनेदेखि त्यो लेखकको अभिप्राय हामीले बुझ्न सक्यौँ र लेखकले जुन अर्थ लगाएर त्यो लेखेको छ, त्यसलाई हामीले ठीक सम्झ्यौँ भनेदेखि लेखकको मृत्यु भएन तर लेखकले लेखेको कुरालाई हामीले आफ्नै अर्थले बुझ्न थाल्यौँ, लेखकको अर्थ बुझ्दैनौँ भने उनको मृत्यु भन्ने कुरा त्यत्ति त हो नि। आफ्नै अर्थ लगायौँ भने लेखकको मृत्यु भयो, लेखककै अर्थमा हामीले बुझ्यौँ भन्ने लाग्यो भने लेखक जिउँदै छ। यो त त्यति ठूलो कुरा त छैन। तर अब यहाँनेर हामीले सोँच्नु पऱ्यो– रोलाँ वार्थको ठूलो नाम देखेर उनको अनुसार हामी पनि अर्थ हुँदैन भन्नेमा जाऊँ कि, कता जाऊँ?

अलिकति सोँच्नुपर्छ। के लेखक कविले भनेको हामी पटक्कै बुझ्न सक्दैनौँ र? केही त सक्छौँ नि। लेखनाथलाई पढौँ उहाँले के भन्नु भएको छ कुनै श्लोकमा केही त हामी बुझ्छौँ नि। बाटोमा जाँदा एउटा साथीले कता जाँदैछौँ? भनेर सोध्दा, म बजारतिर जाँदैछु भन्दा बुझिएन र?  सम्प्रेषण हुँदै हुँदैन भन्ने त हुँदैन नि। त्यसैले लेखकका कुरालाई हामी बुझ्दै बुझ्दैनौँ त? लेखकको मृत्यु हुन्छ भन्ने कुरालाई पनि हामीले अलिकति विचार गर्नुपर्छ कि! हो, हामीले भिन्दै बुझ्छौँ त्यो पक्का हो, कति हामीले नलगाएको अर्थ कवि लेखकले नाकनिक गर्छ, यो त अलिक भएन, अलिक वढी व्याख्या भयो भन्छन्। हुन त कसैले पनि लेखकले भनेकै जस्तो गरी शत्प्रतिशत् बुझ्छन् भन्ने त हुँदैन। विपठन साँच्चै हो, तर अलिकति त लेखकले भनेको पनि त बुझ्छौँ है!

 

केशव आचार्य— लेखक लेखिसक्ने वित्तिकै मर्ने हो कि, पाठकसमक्ष कृति पुगेपछि पाठकले बुझेन भने मर्ने हो?

आई.बी.— रोला वार्थले यसरी लेखेका छन्– लेखकले लेखेपछि लेखक त त्यहीँ बसिरहँदैन, त्यही कुरा उ सधैँ बोली पनि रहँदैन, त्यो लेखकले लेखेको त टेक्स्ट मात्र बन्छ। स्कृप्ट मात्र बन्छ। लिपि मात्र रहन्छ। जीवित व्यक्तिले बोलेको सुनेको जस्तो, त्यो पाठ होइन। त्यो पाठ त स्कृप्ट मात्रै हो। स्कृप्ट पढ्दा खेरी त आ–आफ्नो अर्थ लाग्नसक्छ भन्ने उसको भनाई छ। त्यो पनि हो तर अलिकति त लेखकको उद्देश्य बुझ्छौँ है भन्ने पनि छ।

अनि यो इन्टेन्सन भन्ने कुरा आउँदो रहेछ चित्र कलामा। चित्रकलामा जब हामी त्यो कलाकारको उद्देश्य बुझ्छौँ अनि मात्र त्यो चित्रलाई बुझ्दो रहेछौँ। हामी आफैले चित्रकला हेरेर बुझेको भूल हुन सक्दोरहेछ। लेखकले नै कलाकारको इन्टेन्सन के चिज छ त्यो बुझ्न सक्यो भने कलाको अर्थ लाग्छ, साहित्यमा चाहि लेखकको अभिप्राय अलिकति घटाइएको छ तर कलामा चाहिँ घटेको छैन। जस्तो उदाहरण पिकासोले स्पेनको एउटा विध्वंशको चित्र बनाए। त्यसमा मुनि एउटा कुकुर बसिरहेको चित्र छ। त्यो चित्रबारे कला समीक्षकहरू भन्छन्– यस्तो चित्र त केटाकेटीले पनि बताउँछन्। तर कलाकारहरू भन्छन्– जब हामी पिकासोको अभिप्राय बुझ्छौँ तब मात्र त्यो चित्र बुझ्दछौँ।

उत्तरआधुनिकतावादीहरू भन्छन्– गहिराई हुँदैन। उनीहरू तर्क दिन्छन् गहिराई भनेको त कुनै चिर सत्य छ भने गहिराई त्यसलाई भन्नुपर्छ। सदा सर्वदा रहिरहने कुनै चीज छ भने त्यसलाई गहिरो सत्य भन्नुपर्छ तर, सदाकालको लागि सत्य हुने त कुरा नै छैन रैछ त! कुनै समयभरिको लागि हुने मात्र रहेछ। अब, यो सधैँ हुँदैन भन्ने कुरा भन्ने पनि पहिलो दार्शनिक त कार्लमार्क्स नै हुन्। वर्टन रसेलले एउटा किताब लेखेका छन् ‘हिस्ट्री अफ वेस्टर्न फिलसोफी’ त्यसमा एक अध्याय चाहिँ कार्लमार्क्समाथि लेख्दै जाँदा उनले लेखेका छन्– ‘मार्क्स वाज दी फस्ट फिलसोफर हु कृटिसाइज द लेसन अफ त्रुथ। सत्यको धारणालाई आलोचना गर्ने पहिलो दार्शनिक मार्क्स नै हो। उत्तरआधुनिकतामा मार्क्सबाट आउँछ यसको जराहरू।

लीलालेखनमा पनि हामी यही भन्दैछौँ– आज हामीले जानेकोलाई आज यही सत्य भन्छौँ अर्को बेलामा हाम्रो आँखा अर्कै खुल्छ होला। विज्ञानमा पनि त अहिले यो सत्य भनेर एउटा हाइपोथेसिस मानिएको हुन्छ अर्को पल्ट त्यो काटिएर अर्कै हाइपोथेसिस बनाइन्छ। स्थिर सत्य त हुँदै हुँदैन। नित्सेले पनि भनेकै हो सत्य हुँदैन, खालि विश्लेषण मात्र हुन्छ। यसरी कुराहरू आएर मिलिरहेका हुन्छन्। त्यसो भए सत्य हुँदैन भने गहिराई पनि हुँदैन भनेर उत्तरआधुनिकताले समातेको छ। अब यो कुरा चाहिँ कसो हो?

 

तेराख—यहाँले भद्रपुरको एउटा कार्यक्रममा लीला सम्बन्धी एउटा गहन विचार दिनुभएको थियो। त्यसमा चाहिँ लीला आध्यात्मिक दर्शनसँग धेरै मिल्दोजुल्दो छ भनी भन्नुभएको थियो। त्यसैक्रममा सिक्किमको गेजिङमा भएको लीलालेखन सम्बन्धी कार्यक्रममा पनि पुगियो– त्यस कार्यक्रमको व्यानरमा चाहिँ उत्तरआधुनिकताकै शाखाको रूपमा लीलालेखन हो भने जस्तो बुझिने गरी लेखिएको थियो। मलाई चाहिँ के आश थियो भने यहाँले प्रस्तुत गर्नुभएको दर्शन हाम्रो पूर्वीय धरातलबाट उठेको होला र बढिरहे यसले आफ्नो मौलिकपन राख्छ होला भन्ने तर अहिले यहाँको कुरा सुन्दा के यो लीलालेखन उत्तरआधुनिकताकै शाखा हो त?

आई.बी.— यो हाम्रो पुराणहरूबाट शुरू भयो। अब यसलाई पुष्टि गर्ने ज्ञान कहाँकहाँ पाउँछौ, हेर्नु पऱ्यो चारैपट्टि। हेर्दै जाँदा विज्ञानले पनि पुष्टि गर्दोरहेछ त्यसलाई पनि लियौँ, उत्तरआधुनिकताबादले पनि पुष्टि गर्दोरहेछ कति पक्षमा, त्यसलाई पनि लियौँ। यो सहायता चाहिँ सबैबाट लिइएको हो। तर त्यसको शाखा चाहिँ यो होइन। यसले अरू धेरै प्रकारका ज्ञानहरूसँग सहायता लिँदै आएको चाहिँ हो।

अघि म भन्दै थिएँ– सत्य, चिरसत्य भन्ने कुरा हुँदैन भनेदेखि गहिराई पनि हुँदैन। अब यसमा हामीलाई के अप्ठेरो पऱ्यो भने जब हामी तेस्रो आयाममा थियौं, हामी त गहिराईको कुरा गर्थ्यौँ। तेस्रो आयाम भनेको नै गहिराई हो। अनि अरूले गहिराई लेखेनन् त्यो सतही भयो, चेप्टो भयो, भनेर हामी त्यसको विरोध गर्थ्यौँ। हामी बढ्यौँ गहिराईलाई समातेर। तर अब आएको छ गहिराई हुँदैन भन्ने। अब यो हामीले कसरी मिलाउने? यो मिल्छ कि मिल्दैन? मिलाउन सकिने चीज हो कि होइन? यो कुरामा अलिकति विचार गर्नुपर्ने छ। आजकल के भन्छन् आर्टिस्टहरूले पनि, जस्तो भारतमा हुसेनले भन्छन्– ‘मेरो आर्ट हेर, त्यो हेर्दा राम्रो लाग्छ तिमीलाई एकछिन, मनमा राम्रो लागेको फिलिङ आउँछ, मेरो आर्ट त्यत्ति हो। त्योभन्दा बढी नखोज, यसको अर्थ पनि छैन, महत्व पनि छैन। यसको गहिराई पनि छैन।’ त्यत्ति मात्रै हो उत्तरआधुनिक आर्ट भनेको।

अब त्यस्तै गरेर उदाहरणको लागि हाम्रो उपन्यास पल्पसा क्याफे। पल्पसा क्याफेलाई राम्ररी हेरौँ हामी। हेर्दाखेरी त्यहाँ गहिराई त्यत्ति जाँदैन। माओवादीको कुरा पनि गरेको छ, तर माओवादीको बारेमा गहिराईसम्म पुगेको छैन। प्रचण्डपथ के हो? माओत्सेतुङको भन्दा प्रचण्डको पथ भिन्दै के हो? त्यसको बारेमा खास केही छैन। मार्क्सवादमा आफ्नो आफ्नो पथ छ क्रान्ति गर्ने। कार्लमार्क्सले भने जब पूँजीवाद एकदम नै चरम अवस्थामा पुग्छ, जब मजदूरको शक्ति एकदम धेरै हुन्छ त्यतिबेला क्रान्ति गर्नुपर्छ।

माओले आएर भने ‘हाम्रो चीनमा त त्यस्तो उद्योग, कलकारखाना कहिल्यै हुँदै हुँदैन, त्यत्रो क्रान्ति गर्ने मजदुर शक्ति कहिले होला, हाम्रोमा त किसानै किसान छन्, किसानबाटै क्रान्ति शुरू गर्नुपर्छ। मार्क्सले मजदूरहरूबाट क्रान्ति हुन्छ भनेको ठीक बाटो छोडेर माओले किसानबाट क्रान्ति गर्नुपर्छ भने। उता चे ग्वेराले भने– मार्क्सको मजदूरबाट क्रान्ति हुन्छ भन्ने बाटो पनि हामी पछ्याउँदैनौँ, माओको किसानबाट क्रान्ति हुन्छ भन्ने बाटो पनि हामी पछ्याउँदैनौँ, समय पर्खिनुपर्छ भन्ने कुरा पनि हामी पत्याउँदैनौँ। हामी गतिशील गोरिल्ला शक्तिबाट प्रमाणित गर्छौँ। उनीहरूले मार्क्सका मजदुर र माओका किसानहरूको सङ्गठन पर्खेनन्, न क्रान्तिको लागि अनुकूल समय नै पर्खे। उनीहरू भने– ‘गर्न सके क्रान्ति जहिले पनि हुन्छ, गर्न नसके कहिले पनि हुँदैन।’ यता माओत्सेतुङको बाटो छोडेर प्रचण्डपथ अर्कै आयो।

माओले भनेका थिए पहिला किसानहरूको क्षेत्रलाई आफ्नो हातमा पार्नुपर्छ, शहरलाई छुनै हुन्न। गाउँलाई आफ्नो पारेर घेरेपछि शहर आफै पतन हुन्छ। यता प्रचण्डपथले भन्यो– ‘हाम्रो नेपालमा त किसान क्षेत्रमात्र समातेर हुँदैन साथसाथै शहरमा पनि आक्रमण गर्नुपर्छ।’  नयाँ धारणा भएर आयो प्रचण्डपथ। यो कुराको छलफल गराइकन माओवादको कुरा गरेको भए पनि गहिराइमा गयो भनेर हामी भन्थ्यौँ। तर त्यहाँ त अलिअलि माथि माथिको कुरा मात्रै छ। अब त्यहाँ पल्पसाको मृत्यु हुन्छ माइन पड्केर कत्ति गहिरो चोट लाग्नु पर्ने थियो,  गहिरो शोक लागेको कुरै छैन त्यहाँ। चोट पनि सतही मात्रै। यसलाई भन्छ ‘फिल एण्ड फर्गेट’ एकछिनलाई सम्झनु र भूल। त्यसमा उत्तरआधुनिक कलाको पनि अलिअलि छलफल छ।

आर्किटेकचरको पनि अलिअलि छलफल छ। यस्तो किन भएको भने उनीहरूको विश्वास नै हो गहिराई हुँदैन भन्ने। जेभए तापनि एउटा राम्रो कृति त बन्यो। हामीले सोचेकोअनुसार लेखेको कृति मात्र असल हुन्छ भन्ने त छैन। हामीले नसोचेको र अर्कै प्रकारले लेखिएको मात्र असल कृति हुन्छ भन्ने पनि छैन। उनीहरू भन्छन् तिमीलाई कत्तिको तीव्र चोट लाग्छ त्यही नै गहिराई हो। एकछिन हुने तीव्र चोट नै ज्ञान हो, त्यो बाहेक ज्ञान विशेष भन्ने छैन। अब यो कुरा लीलालेखनसँग कत्तिको मिल्छ, मिल्दैन, मिलाउन सकिन्छ, सकिँदैन। अलिकति हामीले हेर्नु पर्ने कुरा छ।

अब एउटा कुरा गरौँ। झापा जिल्ला एकदम नै सफलतमसँगले अघि बढिरहेको क्षेत्र हो। यहाँ भइराखेका कतिवटा प्रयोगहरू हामी देख्छौँ। ती प्रयोगहरूमा चाहिँ अलिकति विचार गर्नु पर्छ होला। जस्तो हामी हाम्रो कृष्ण धरावासीको पुस्तक हेरौँ। उहाँको आधाबाटो हामीले पायौँ,  त्यसभन्दा अघि शरणार्थी। शरणार्थीमा भ्रमित लेखकको सिद्धान्तलाई उहाँले अगाडि बढाउनुभयो।

आई.बी.राई भ्रमित थिए, जयमायाको कथालाई लेखेर त्यही नै अन्त गरे,  त्यो कथा त अघि पनि बढ्न सक्थ्यो, भनी भ्रमित लेखकलाई प्रमाणित गर्दै शरणार्थी उपन्यास तयार गर्नुभयो। त्यसपछि आधाबाटो आयो। आधाबाटोमा अझ अगाडि बढ्नुभयो उहाँ। त्यो अटोवायोग्राफी पनि हो, आत्मजीवनी पनि हो, किनकि यो फ्याक्चुयल छ। तथ्यहरू छ। उहाँलाई जान्ने धेरैले भन्छन् यसमा साँचो साँचो कुराहरू छ। तर साथै फेरि त्यो उपन्यास पनि हो। तर अटोवायोग्राफी कसरी उपन्यास पनि हुनसक्ला? त्यसको मुनि पिँधको कुरा हामी अलिकति हेरौँ।

मैले शुरूमै भनेको थिएँ हामी जे लेख्दा पनि सप्पै यथार्थता लेख्दैनौँ, चुनेर मात्र लेख्छौँ। यथार्थ लेख्नेले त सप्पै पो लेख्नुपर्छ त। यथार्थमा त सप्पै पो छ त तर त्यो त लेख्नै सकिँदैन। उहाँले आफ्नो जीवनको यथार्थ लेख्दा त जीवनको सम्पूर्ण कुरा लेख्नु पर्ने हो। एकएक सेकेण्ड, एकएक मिनट लेखेको हुनुपर्ने, अनि पढ्न पनि हामीलाई त्यति नै लामो समय लाग्नुपर्ने हो। तर त्यस्तो त हुँदैन! त्यसैले उहाँले चुन्दै, चुन्दै लेख्नुभाको छ त्यहाँ। यथार्थ लेखेँ भन्नु भयो, तर त्यहाँ चयन गरिएको छ।

उपन्यासमा चयन नै त गरिएको हुन्छ? उपन्यासले जुन वर्णन गर्छ, त्यहाँ पनि सम्पूर्ण त दिएको हुँदैन नि। चुनाई अटोवायोग्राफीमा पनि हुन्छ, त्यही चुनाई उपन्यासमा पनि हुन्छ। फेरि उहाँले ती तथ्यहरूलाई इन्टरप्रियट गर्नुभाको छ। आफ्नो अर्थ लगाउनु भएको छ– मैले यति दुःख पाएँ मलाई यस्तोहरूले मद्दत गरे, म भाग्यमानी भएँ त्यहाँ आदि। उहाँले अर्थ्याउनु भएको छ। त्यो अर्थ्याई त यथार्थतामा हुँदैन नि, उहाँकोबाट आएको हो नि त्यो। त्यसैगरी उपन्यासमा पनि त हामी अर्थ्याई गर्दै गर्दै त लेख्छौं नि। त्यसैले मुनि पिँधमा त उपन्यास,  इतिहास र अटोवाटोग्राफीमा केही पनि भेद छैन। बाहिरी रूपमा मात्र भेद, मुनी त एकै छ। त्यसै गरेर उहाँले राधामा अर्कै काम गर्नुभएको छ।

यस्तै कृष्ण बराल पनि आइरहनु भएको छ। उहाँले आफ्नै वरिपरिको परिवेशका घटना र व्यक्तिहरूको विचारलाई समेत मिसाएर समालोचना दिनुभएको छ। यथार्थ र समालोचना मिसाएको उहाँको कृति छ। अहिले नयाँ कृति आयो, अरामायण। लेखकको नाम छैन त्यसमा। अरामायणमा विशेष हेर्नु पर्ने कुरा त्यहाँ आठ दशवटा सम्भावित अन्त्यहरू दिइएको छ। हामी लेखकले जान्ने भएर यो कथाको अन्त्य यस्तै हुन्छ भनेर भन्न सकिँदैन। आजकल विज्ञानमा पनि कजालिटी कसैले मान्दैन। स्थुल कुरामा कजालिटी हुन्छ होला तर आजकल त अकजालिटीको कुरा छ। निश्चित परिणाममा पुग्न त कजेशन चेञ्ज हुनुपर्छ त्यहाँ। कजेशन नै चेञ्ज हुँदैन भने यो परिणाममै पुग्छ यो कथा भनेर कसरी भन्नु?

त्यस्तै हामीले धेरै अगाडि पढेका थियौ सञ्जीव उप्रेतीको नेपाली अनुवाद भएको कृति ‘आलु, नौनी र कफी’। त्यसमा हामी देख्छौँ एउटा गहिरो कुरा। पश्चिमी ज्ञानलाई लिएर यता पूर्वको धार्मिक ज्ञान, मन्त्र तन्त्र पनि मिसाउनु भएको छ। यो त साँच्चै ठूलो काम भयो नि त। मिल्दो रहेछ नि त। मिलेको देखाउनु भएको छ नि त उहाँले। अघि आधुनिकवादी जुगमा धर्मलाई एकदम नै हिनामी गरिन्थ्यो। यो अन्धविश्वास हो, यसलाई मान्नु हुँदैन, भनिन्थ्यो।

जब विज्ञान बढेर आउँछ, धर्मको नाम निशान रहँदैन भन्थे तर जब साइन्सले नै हार मानेपछि त र धर्म पनि एउटा कथा मात्रै, साइन्स पनि अर्को कथा मात्रै भएपछि त हाराहारी एकै लहरमा त भए तिनीहरू। अझ सञ्जीव उप्रेतीले त धर्मलाई पनि त्यहाँ ल्याइदिए। त्यसैले धर्मलाई हामी त्यत्तिकै त्याग्न सक्दैनौँ किनभने त्यसभित्रबाट त कत्तिवटा साहित्यिक सिद्धान्त बन्नसक्छ।

हामीले उहाँ तेराखका किताब पनि हेरेका छौँ। उहाँले निबन्धात्मक नाटक लेख्नुभएको छ। नाटक भनेको संवाद त हो! नाटकको संवाद अलिक बेग्लै ढङ्गको हुन्छ, चरित्र देखिने, कार्यलाई अगाडि बढाउने हुन्छ तर उहाँले चाहिँ यसलाई त्यस्तो कार्यमा नलगाएर कुनै कुराको व्याख्या गर्ने कुनै कुराको साङ्गोपाङ्गो बनाउने, निबन्ध जस्तो किसिमले बनाउनु भएको छ। उहाँले भन्नुभएको छ विषय म तोकिदिन्नँ। विषय जे राखेर लेखे पनि हुन्छ। त्यसैले उहाँले त्यसलाई लेखन मात्र भन्नु भएको छ।

शिव प्रणतके लीलालेखनको अभिष्टता सकारात्मक लेखनपट्टि हो?

आई.बी.— लीलालेखनलाई हामीले ज्यादा भ्रमपट्टि जोड दियौँ। यसमा जोड दिँदा लीलालेखनको ऋणात्मक पक्षपट्टि ज्यादा देखिए जस्तो भयो। तर यसको घनात्मक पक्ष पनि त हामीले खोज्नुपर्छ नि। त्यसो भए यसको घनात्मक पक्ष कसरी खोज्ने? यो कुरा खोज्न हामीलाई सजिलो सहायता मिल्छ कान्टबाट। उनी भन्छन्– हामीले साँच्चै कुरा ‘थिङ इस सेल्फ’ जान्नै सक्दैनौँ। हामीले जानेको सबै इल्युजन नै हो, भ्रम नै हो। भ्रम हुँदाहुँदै पनि यो कत्ति बहादुर छ कि यसले आफ्नो जीवन, आफ्नो बँचाइलाई सार्थक पार्ने कोशिश गरिरहन्छ। त्यस्तै हामीले पनि आफ्नो कुरालाई सार्थक कसरी पार्नु? त्यसैले यसको उत्तर खोज्नलाई हामीले हाम्रो धर्ममा पुग्नैपर्छ।

हाम्रो धर्मले भनेको छ, यो सृष्टि किन ईश्वरले गरेको? उनलाई त यो चाहिएको थिएन! यो सृष्टि नगरे पनि ईश्वर त सम्पन्न नै थिए। सत् चित् आनन्द छँदै थिए। उनी भन्छन् यो सृष्टि चाहिँ उनले क्रिडा गर्न, खेल्न गरेको रे। कुनै व्यक्तिले बजाउन जान्दछ भने उसले त्यसलाई नबजाई बस्नै सक्दैन। जत्ति नै लुकाए पनि एकदिन न एकदिन त त्यो कला बाहिर आउँछ आउँछ। त्यो कलाले क्रिडा त गर्छ गर्छ। त्यस्तै यो सृष्टिको कुनै अर्थ पनि छैन। तर यस्तो सृष्टिमा पनि हाम्रा दार्शनिकहरूले अर्थ खोज्न कत्ति कोशिश गरेको? त्यसैले भ्रमलाई पनि निरर्थक भ्रम र सार्थक भ्रम भनेर दुई किसिमले पो छुट्याउनु पर्छ होला कि? निरर्थक भ्रम चाँहि राति डोरीलाई साप देखेको जस्तो हो।

तर कत्ति भ्रमले त हामीलाई बाँच्न मद्दत पनि गर्दोरैछ। जस्तो बाबुआमालाई ढोग गर्नुपर्छ भनिन्छ तर किन ढोग्नुपर्छ भन्ने कुराबारे हामी प्रश्नकर्तालाई चित्त बुझाउन त सक्दैनौँ। त्यो ढोग्नैपर्ने भन्ने पनि एउटा भ्रम त हो नि समाजले बनाएको। त्यसमा खास कुनै महान अर्थ त के नै छ र? तर त्यसरी ढोग गर्नाले हाम्रो समाज, जीवनमा एउटा सरलता बनेको त छ नि। भ्रम नै भए पनि त्यसले बाँच्न सजिलो बनाएको छ। त्यसैले भ्रमलाई पनि निरर्थक र सार्थक रूपमा पो बुझ्नुपर्छ कि त!

धेरै सार्थक भ्रम त हामी बाँचिरहेकै छौँ नि। अब भनौँ न, यो साहित्य गरेर के हुन्छ र? जत्ति गरे पनि एकदिन हामी मरिहाल्छौँ। मरेपछि मैले यस्तो लेखेको थिएँ भन्ने ज्ञान पनि रहँदैन। व्यर्थमा हामी किन अमर हुन्छौँ भन्दै लेख्न मरिहत्ते गरिबस्छौँ? भित्र गढेर हेर्दा त त्यसमा केही छैन। त्यो सबै भ्रम नै हो तर पनि त यसमा एउटा सार्थकता त छ नि। यो विषयमा चाहिँ हामीले विचार गरौँ न। भ्रममा पनि सार्थकता हुन्छ कि भन्नेमा पनि सोचौँ न।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares