गोर्खाल्याण्डको मागमा रन फर गोर्खाल्याण्ड खरसाङ हुँदै सिलगढीतर्फ प्रस्थान

खरसाङ, १२ फरवरी।


गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समितिको आयोजनामा आइतबार कालेबुङबाट शुरु भएको रन फर गोर्खाल्याण्ड दौड सोमबार खरसाङ आइपुगेको थियो। सोमबार बिहान ९.३० बजी दार्जीलिङबाट शुरु भएको रन फर गोर्खाल्याण्ड दौड घुम जोरबङ्गलो हुँदै सोनादा, टुङ भएर खरसाङ आइपुगेको छ। दिउँसो लगभग ३ बजीतिर गोर्खाल्याण्डको निम्ति दौडनेहरू खरसाङ आइपुगेका थिए।

जीएसएसएसका कोषाध्यक्ष उत्तमकुमार छेत्रीले बताएअनुसार दार्जीलिङबाट शुरु भएको दौड प्रत्येक १० किलोमिटरसम्म पुगेर आराम गर्दै धावकहरू थपिँदै आएको बताएका छन्। उनले सोनादाबाट १५ जना अनि खरसाङबाट ९ जनाले यसमा सहभागिता जनाएको बताए अनि खरसाङबाट रोहिणी रोड हुँदै सिलगढीतर्फ जाने पनि बताएका छन्।

‘गोर्खाल्याण्ड आन्दोलनको दियो निभेको छैन अनि यसमा तेल हाल्ने काम हामीले गरिरहेका छौँ’ यस रन फर गोर्खाल्याण्ड विषयमा बोल्दै गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समितिका सभापति किरण बीकेले भने, यसको उद्देश्य पहाडमा गोर्खाल्याण्ड मागलाई गोर्खाहरूले छोडेका छैनन् तर यो माग लगातार चलिरहेको छ।’ सभापति बीकेले केन्द्रमा दार्जीलिङ पहाडका गोर्खाहरूले अझै गोर्खाल्याण्डको माग गरिरहेको सन्देश दिन चाहेको बताउँदै यहाँका गोर्खाहरू गोर्खाल्याण्ड भएपछि मात्र खुशी हुने बताए।

उनले यो दौडमा सबै आउन चाहेर पनि आउन नसकेको बताउँदै धेरैजनाले व्यक्तिगत रुपमा अघि आएर सहयोग र साथ दिएको अनि स्थानीय जनताको तर्फबाट पनि धेरै सहयोग गरेको पनि बताएका छन्। उनले यो गोर्खाल्याण्ड आन्दोलन भारतव्यापी‌ रूपमा गर्नुपर्ने बताउँदै यो रन फर गोर्खाल्याण्ड २१ दिवसीय कार्यक्रम रहेको र आगामी १ मार्चको दिन दिल्ली पुगेर समापन हुने पनि बताएका छन्।

सोमबार खरसाङ आइपुगेको बेला खरसाङका जनताले यहाँको मोटर स्ट्याण्डमा स्वागत जनाएका थिए। रन फर गोर्खाल्याण्डको टोली यहाँबाट रोहिणी रोड हुँदै सिलगढीतर्फ लागेको हो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares