चियाश्रमिकलाई पैसाको साटो दाउरा नै दिनुपर्छ, बोनस नदिए नमूना चिया पनि लान नदिने

 

दार्जीलिङ, 13 फरवरी।


अब दार्जीलिङ पहाड़का चियाश्रमिकहरूलाई दाउराको साटो पैसा होइन, दाउरा नै दिनुपर्छ। यति मात्रै होइन, चियाश्रमिकहरूलाई अबउसो प्लान्टेशन लेबर ऐन 1951-अनुसार नै सुविधाहरू उपलब्ध गराउऩुपर्ने दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनले माग उठाएको छ। दार्जीलिङ पहाड़का चियाश्रमिकहरूले पाउनुपर्ने बाँकी 50 प्रतिशत बोनस अहिलेसम्म पनि पाउन नसकेपछि रिसाएको दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनले आज यस्तै माग उठाउँदै चियाबगान मालिक सङ्गठन डीटीए (दार्जीलिङ टी एसोसिएशन), आईटीए (इण्डियन टी एसोसिएशन)-का साथै श्रमायुक्तलाई पत्र दिएको छ।

यसैको जानकारी गराउँदै युनियनका महासचिव भरत ठकुरीले भने, राज्यको श्रम विभाग, श्रमिक सङ्गठन अनि चियाबगान मालिक सङ्गठनहरूमाझ भएको त्रिपक्षीय सम्झौता़अनुसार वर्ष 2016-17-को चियाश्रमिकहरूको बोनस दशैंअघि 50 प्रतिशत अनि तिहारअघि 50 प्रतिशत दिइने भएको थियो। तर प्रथम 50 प्रतिशत बोनस प्रदान गरिएपछि रहल 50 प्रतिशत बोनस 31 जनवरीभित्र दिइसक्नुपर्ने थियो। तर यो समय बितेर गइसक्यो, अझैसम्म पनि चियाश्रमिकहरूले यो बोनस पाएका छैनन्।

यसैले आगामी 28 फरवरीसम्म पनि चियाबगान मालिकहरूले बाँकी 50 प्रतिशत बोनस नदिए दार्जीलिङ पहाड़का चियाबगानहरूबाट चियाको नमूना पनि बाहिर लान दिइनेछैन, उनले चेताउनी दिए। यति मात्रै होइन, यदि चियाबगान मालिकपक्षले चियाश्रमिकहरूको अलिकति पनि हित चिताउँदैन अनि पाउनुपर्ने अधिकारबाट पनि वञ्चित राख्छ भने अबउसो श्रमिक सङ्गठनहरूले पनि चियाबगान मालिकपक्षलाई कुनै सहयोग गर्ने छैन। हालसम्म चियाबगान मालिकहररूलाई सुविधा दिनको लागि सहयोग गर्ने उद्देश्यले नै चियाश्रमिकहरूलाई दाउराको साटो पैसा दिने चलन लागू गरिएको थियो। जसअनुसार, एक मन दाउराको साटो चियाबगान मालिकले चियाश्रमिकहरूलाई केवल 40 देखि 60 रूपियाँसम्म दिने गरेका थिए। तर दाउरा नै दिनपरे एक मन दाउराको मोल नै 1,200 देखि 1,300 रूपियाँ पर्ने गर्छ। यसैले चियाबगान मालिकहरूले चियाश्रमिकहरूका यस्ता सुविधा पनि दिन चाहँदैन भने चियाबगान मालिकपक्षलाई पनि कुनै सहयोग गरिने छैन।

यसका साथै उनले प्लान्टेशन लेबर ऐन 1951-अनुसार चियाश्रमिकहरूलाई सम्पूर्ण सुविधा उपलब्ध गराउनुपर्ने पनि जोड दिएको छ। उनले भने, बरू चियाबगान बन्द होस्, यो नै ठीक हुन्छ। तर अब चियाश्रमिकहरूमाथि अन्याय हुन दिइने छैन। यसबारे डीटीएका मुख्य सल्लाहकार सन्दीप मुखर्जीले भने, उसै पनि दार्जीलिङ पहाड़को चिया उद्योग नोक्सानीमा चलिरहेको छ। आन्दोलनको कारण भएको पहाड़ बन्दले चिया उत्पादन पनि हुन सकेन। बन्द समाप्त भएर पहाड़ खुल्ला भयो, तर बन्द खोलिएपछि चियाबगान सफा गर्दा धेरै खर्च भइसकेको छ। 50 प्रतिशत बोनस पनि चियाबगान मालिकपक्षले आफ्नो गोजीबाट दिएका छन्। यसैले फर्स्ट फ्लसको चिया बेच्न नदिइए चिया उद्योग नै खत्तम हुनसक्छ, यसको जिम्मेवार श्रमिक सङ्गठन नै हुनपर्नेछ, उनले भने।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares