अलग राज्यको निम्ति जापले दिल्लीमा गर्ने चर्चा कार्यक्रम, राष्ट्रिय दलका प्रमुख तथा सांसदहरू उपस्थित रहने

कालेबुङ, 13फरवरी।

राष्ट्रका विभिन्न राजनैतिक दलका प्रमुखहरू, सांसदहरू साथै अलग राज्य गोर्खाल्याण्डका पक्षमा रहेका राजनैतिक दलहरूलाई लिएर जन आन्दोलन पार्टीले दिल्लीमा कार्यक्रम गर्ने भएको छ।

आगामी 15 मार्चका दिन दिल्लीको कन्सिट्यूसन क्लबमा जन आन्दोलन पार्टीले अलग राज्य गोर्खाल्याण्डको निम्ति गहन चर्चा गर्ने कार्यक्रम तय गरेको छ। पार्टी अध्यक्ष डा. हर्क बहादुर छेत्रीले आज उक्त कुराको जानकारी गराउँदै पहाड, तराई, डुवर्सका सम्पूर्ण राजनैतिक दलहरूलाई पनि कार्यक्रममा सहभागी बनिदिने आह्वान गरेका छन्।

“अलग राज्यको माग राख्ने उचित स्थान दिल्ली नै हो अनि अलग राज्य मागको औचित्यबारे बुझाउनुपर्ने स्थान पनि दिल्ली नै हो। जातिको भविष्य आधारित रहेको यो मुद्दाबारे कसैले पनि आफ्नो विचार राखोस् भन्ने धारणा लिएर नै हामीले यो खुल्ला मञ्च तयार पारेका छौं जहाँ आएर जो कसैले पनि अलग राज्यबारे आफ्नो विचार वा तथ्य प्रस्तुत गर्न सक्नेछन्”-छेत्रीले भने।

अहिलेसम्म जन समर्थन पाएका राजनैतिक दलहरूले अलग राज्य गोर्खाल्याण्डको मागलाई सहि स्थानमा सहि ढङ्गमा प्रस्तुत गर्न नसकेको कारण नै टुङ्गोमा पुऱ्याउन नसकेको बताउँदै  भने-“ यो मुद्दा धेरै बदनाम भएको छ। यो मुद्दालाई लिएर धेरै तल्लो स्तरको राजनीति भएको छ। यो मुद्दालाई बोकेर हिड्नेहरूको औकातमाथि  राष्ट्रीय नेतृत्वहरूले औंला उठाउन थालेका छन् योग्यता छैन भनेर। त्यसैले सबै जना आएर आफ्नो विचार राख्न सक्छन्। खुला मञ्च तयार पारेका छौं त्यहाँ सबैको योगदान रहोस् भन्ने जन आन्दोलन पार्टीको चाहना छ।”

विभिन्न राजनैतिक दल तथा दलका नेतृत्वहरूलाई पत्राचार गरेर कार्यक्रममा निम्ताइसकेको बताउने डा. छेत्रीले पहाड, तराई अनि डुवर्सका नेतृवर्ग साथै अलग राज्यको निम्ति विचार तथा तथ्य प्रस्तुत गर्न चाहनेहरूलाई पनि खुल्ला निमन्त्रण दिँदै यदि दिल्ली आउन नसकेको खण्डमा अघिबाटै जापलाई आफ्नो विचार तथा तथ्य प्रस्तुत गर्न सक्ने प्रावधान रहेको बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares