You are here

सिलिमहिलदेखि नयाँ कमानसम्म जाने सडकको निर्माण कार्य शुरु

खरसाङ, १३ फरवरी।


खरसाङ महकुमाअन्तर्गत तीनधारे महानदी समष्टिभित्र पर्ने सिलिमहिलदेखि नयाँ कमानसम्म जाने सडकको निर्माण कार्य शुरु भएको छ। घैयाबारी ग्राम पञ्चायत ३ अन्तर्गत लगभग २.५ किलोमिटर दूरीसम्म रहेको उक्त सडक निर्माण कार्यको लागि सोमबार शिलान्यास गरिएको छ।

गोजमुमो घैयाबारी खण्ड समितिका सभापति मणिकुमार छेत्रीले पूजा अर्चना गरी नरिवल फुटाएर निर्माण कार्यको शिलान्यास गरेका छन्। आजदेखि नै उक्त सडकको निर्माण कार्य पनि थालिएको छ। यस जिपेबल रोड निर्माण कार्य दुई फेस गरेर जम्मा ७९ लाख लागतमा बनिरहेको छ।

यो सडक निर्माण कार्य पूरा भए घैयाबारी ग्राम पञ्चायत ३ अन्तर्गत मुख्य तीनवटा गाउँहरूलाई सुविधा हुनेछ। यस सडक निर्माण भएपछि विशेष गरी नयाँ कमानको जनतालाई धेरै सुविधाहरू हुनेछ। यहाँबाट घैयाबारी ग्राम पञ्चायत कार्यालय, घैयाबारीस्थित अस्पताल अनि स्कूलहरू आउनु धेरै सुविधा हुनेछ। घैयाबारी, कालीमाटी र सिलिमहिल क्षेत्रका मानिसहरूलाई नयाँ कमानको बाटो रोहिणी निस्केर सिलगढी जान पनि सुविधा हुने स्थानीयहरूले बताएका छन्।

यो जिपेबल रोड निर्माण कार्य खरसाङ खण्ड विकास कार्यालयअन्तर्गत सयदिने रोजगार कार्यबाट हुने भएको छ। यस शिलान्यास कार्यमा गोजयुमो घैयाबारी खण्ड समितिका सभापति राजु छेत्री, सदस्य विपन विश्वकर्म, घैयाबारी ग्राम पञ्चायत ३ का ट्याक्स कलेक्टर वाङ्दी लामा, गोजमुमो सिलिमहिल शाखा सचिव सरोज राई लगायत पार्टी कार्यकर्ताहरू र स्थानीय मानिसहरू उपस्थित थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares