काव्यम् : प्रतिमा पाठकका पाँच कविता : दीपा राईको केरकार : पवित्र लामाको काव्यम् टिप्पणी

काव्यम्


 

शरणार्थी                      

एउटा भद्र साँझमा

चिप्ल्याइरहँदा आँखाहरू

रूखका हाँगाहरूमा

म देख्छु

चराले त बनाएछ यति सुन्दर घर

तर किन छैन हाम्रो भागमा

कुनै जमिनको एक टुक्रो हाँगो

एउटा सानो गुँड बनाउन

सन्तुष्टिका झिक्राहरूले ।

 

नागरिकता, यी चराको पनि छैन

लालपुर्जा यसै छैन

देशको कुनै भुगोल यिनको होइन

न त कुनै सीमासम्बद्ध इतिहास …..

तर किन यी चराहरू त्यहीँसम्म उडेछन्

जहाँबाट फर्किन सकियोस् साँझमा घर

आफ्नै घर ।

 

खै हामी त हुत्तिएछौँ कहाँ कहाँ

कि फर्कनै सकिएन आफ्नै गुँड ।

म बुझ्दैछु किन फर्कँदा रहेछन् श्रमजीवि पंक्षीहरू

आफ्नै गुँड ।

 

गुँडभित्र बचेरा मात्रै होइन

सपना पनि बाँच्दो रहेछ

आखिर सबैभन्दा लामो उडान सपनाकै त हुन्छ !

पाउने भए देखिरहन सपना

म देख्ने थिएँ

अनवरत सपनाहरूको श्रृङ्खला

राष्ट्रको नाममा….

तर छामेर एकछिनमात्रै सपनाभित्र सपना

कति गाह्रो हुँदो रहेछ फर्किन,

तीन हात बित्ता जमिन पनि नहुँदा

स्वाधीन मृत्युका लागि ….!


सपना

आगो बनेर दन्कन्छ चुलोमा

धुँवा भइ उडिजान्छ

शीत बनेर तप्कन्छ धुरीबाट

बलेसीमै बिलाइजान्छ

आँगन बनेर फैलिन खोज्छ

रछ्यान बनेर साँघुरिन्छ

 

मेरा प्रश्नमा, प्रतिप्रश्नहरूमा

अनुरोध, रिस अनि विद्रोहहरूमा

गुनासा, निराशा र अनन्त आँशुहरूमा

अभिव्यक्त भइरहन्छ उही “सपना“

जिन्दगी उल्टै दर्शनको कोर्रा हान्छ

यथार्थको सिस्नुले पोलिदिन्छ ।

कुरूप भइदिन्छन् सम्बन्धका आस्थाहरू पनि ।

 

आयुसँगै फैलने मनको आकाशमा

प्रेमकै बादल मडारिन्छ

करूणा बनेर घुम्छ सूर्य

छट्पटि बनेर निदाउँछ रात

जीवनको खेतभरि सपना फलेको सपना आउँछ ।

 

सखारै बिहान टहल्छु आँगन,

सपनाका लेउ सहिष्णु लाग्दैनन्

झारहरू उखेलिदिन्छु , लेउ बढारिदिन्छु

सम्बन्धहरू नचिप्लिउन् भनि सफा राख्छु आँगन

जहाँ कर्तव्यका बिस्कुनहरू सुकाइरहनु छ ।

 

आजित भएर सपनाको स्वप्नदर्शिता

र जीवनको अकर्मण्यता ……बीचको लडाईँले

सपनाहरू मौनताको अभ्यास गर्दैछन् ।

 

सपना जति व्यग्र केही थिएन कुनै बेला

सपना जति शान्त केही छैन यति खेर

सपनाको भरिया भएर यो समयको चौतारोमा

अलमल्ल उभिएको छु ,

सपनाहरू आराममा छन् कि अवसादमा

आत्मसमर्पण गरे कि शक्तिसञ्चयमा छन् ?

 

हुन सक्छ थकित व्यथित सपनाहरू

केही नौला सपना देख्दैछन् !


अन्तिम दु:ख

तयार पार्दै मेरो विरूद्ध

एउटा शर्मनाक समय

सङ्कलन गर मेरा जीवनका अवयवहरू

गाढिदेऊ मेरै विचारकै गहिराइभित्र

बाँध मेरा सपनाहरू

अनि घिसार्दै मेरो अस्तित्वलाई

लैजाउ तिम्रो फाँसीखाना !

जहाँ झुण्डिएको छ

निरङ्कुशताको डोरी

गाँठो पारेर क्रुरता !

जहाँ आत्महत्या गरेका विचारले सोध्छन्

मेरो अन्तिम इच्छा

म इच्छाहरूकै पराकाष्ठा बनेर

अट्टहास गर्छु

“मेरो अन्तिम इच्छा सोध्ने

यो तिम्रो कस्तो धृष्टता ?”

सदियौँदेखि सदियौँसम्मका इच्छाहरू

नारावाजी गर्दैछन् मेरो पक्षमा

विडम्बना

मेरो विचारको यात्रामा

दुर्घटित हुँदैछौ तिमी

तिमीलाई बचाउन नसक्नु

मेरो अन्तिम दु:ख बन्दैछ !


कैदी सम्भावना

यहाँ कलिला देवकोटाहरू पत्रिका बेचिरहेछन्

फूल बेच्छन् पारिजातहरू राजमार्गको देउरालीमा

विद्यापतिहरू ठेलामा तरकारीको लय मिलाउँछन्

शङ्करहरू रेस्टुरेन्टमा काट्छन्

“एब्स्ट्राक्ट चिन्तन प्याज !”

 

भूपी र रिमालहरू गिलास भरिदिन्छन्

फनफनी घुमुन्जेल

आमाका सपनाहरू ….

एमिली डिकिन्सनहरूमा

डिप्रेसन छ करियरका लागि !

 

तेन्जिङ्गहरूले त सधैँ बोकेकै छन्

हिलारीका भारीहरू !

यहाँ प्रदर्शनी त लागोस्

कैदी सम्भावनाहरूको

हरेकका आँखाभित्र झल्किन्छ अपराध

उन्मुक्त सपनाहरूको…….. ।

 

यहाँ फेसबुकको प्लास्टिक भित्ताहरूमा

ठोकेर अहमका मुड्किहरू

गरिरहन्छौँ अभ्यास कलात्मक बक्सिङ्गको

उता दोर्जेले च्याँङ्ग्राको सिङ्गलाई

बनाएर बाइकको ह्यान्डल 

स्टन्ट बाँच्छ जिन्दगी !

 

“पहिचान” त देखिनेको हुन्छ

हाम्रा पहाड पछाडि ,

हिमालमुनि

र फाँटहरूभित्र

कति ओस्कार बेकार गएका छन्

कति नोबेल ओझेल परेका छन्…..

 

सबैतिर सुनिन्छ “क्वालिटी छैन यहाँ…..”

‘मान्छे’ले बाँच्नुपर्ने जीवनको क्वालिटी

कस्तो हुन्छ हँ ?


फेल

देखेदेखि यो राजमार्ग

लम्पसार छ आकाशमुनि

वर्षौँ भयो यो लोकल गाडी

यो “रातो म्याजिक”…

ह्युँक्याएको मैले पनि !

 

वर्षौँ भयो तिमीलाई मैले देख्न थालेको

वा भनौँ तिमीलाई मैले हेर्न थालेको

 

देखेदेखि परबाट आउँदै गरेकी

त्यो छातामुनि

घामपानीसँग लुक्ने कलिलो मुहार

हावासँग खेल्ने त्यो लामो कपाल

मुस्कान खोल्ने ती अधरहरू

स्नेह बोल्ने ती नयनहरू

सधैं हेरेको हुन्छु

तिम्रो सिउँदोको राजमार्ग

….खाली खाली हुन्छ

र ढुक्क भइरहन्छु म ।

 

मेरो रातो म्याजिकमा चढ्ने

ओ सुन्दर गुलाफ !

कसले ह्युँक्याउला रातो गाडी

तिम्रो सिउँदोको राजमार्गमा

कसले लगाउला चक्कर तिम्रो गलाको

कहाँ बस्ला ट्राफिक तिम्रो जिन्दगीको !!!

सोचिदिन्छु, सिर्फ सोचिदिन्छु…….

त्यो भन्दा बढी केही सोच्न सक्दिन

 

पढ्ने बेला भेटिएन

तिमी जस्ती शिक्षिका

छाढियो पढ्न, थालियो सुसेल्न

झुन्डिँदै गाडीको ढोकामा

आज हेर हामी बीचको दूरी पनि मेटिएन ।

कहिले काहीँ हाँसिदिन्छ्यौ , बोलिदिन्छ्यौ

मनमै आई सुसेलिदिन्छ्यौ

तिमी सुन्दिनौ आफ्नै सुसेलीहरू ।

 

१५ कि.मी तिमीलाई आँखाभरी पढ्छु

इयरफोनले कान र परेली बन्द हुँदा तिम्रो

अनि रातभरी कण्ठ गर्छु…….

झिलिक्क बल्ने–तिम्रा ती स्वप्निल आँखाहरू ।

 

आउँदा जाँदा राजमार्गमा

तिमीले पढाउने विद्यालय अगाडि

च्यातेर मनभरिका प्रश्नपत्र

फेल भईरहन्छु म….

….स्कुल पढ्दा जस्तै

 

झन् हिजो सुनेँ

स्कुटर किन्यौ अरे तिम्ले !


केरकार »

जिन्दगी सपनाहरूको रिले दौड हो- प्रतिमा पाठक

दीपा राई


कविताले घर’ / अस्तित्व नहुनुको पीरैपीर बोकेको छ। कविताको सेरोफेरोमा यस सङ्कटापन्न अवस्थाको उत्तरदायी को छ, किन छ, कसरी छ? कविताबाहिरको व्याख्या पाउँछौँ कि

कविताले बोकेको पीर कुनै एक पात्रको निजी दुःखहरूको परिकल्पना मात्रै होइन। विश्वभरका केही मानवहरू जसको “विशिष्ट पीडा” सबैले थाहा पाएका छन् तर त्यो पीडाको सहयोगार्थ मानव जगतले सजिलै केही राहत उपलब्ध गराउन सक्दैन। राष्ट्रियताको यस्तो पर्खाल जसले शरणार्थीहरूलाई यस्तो स्थितिमा उभ्याइदिएको छ जहाँ राज्य छैन तर राष्ट्रको खोजीमा भौँतारिरहनेहरू आफ्नो अस्तित्वको वैधानिकता, आफ्नो राज्य ससम्मान फिर्ता हुनु र नागरिक भएर जिउनुमा देखिरहेका छन्। अन्तर्राष्ट्रिय कानून र केही राज्यहरूको सार्वभौमसत्ताबीचमा न्यायिक तालमेल हुन नसकिरहँदा शरणार्थी समस्या यसरी जेलिएको छ कि अस्तित्व सङ्कटले एउटा ठूलो मानव समुदायको दुःखको छुट्टै राज्य बनेको छ।

पाउने भए देखिरहन सपना/म देख्ने थिएँ/ अनवरत सपनाहरूको श्रृङ्खला – कवितामा भन्नु भएको छ। विपना नभएका हजार सपनाहरू बोकेर हिँड़्नेहरूकै जमातले भरिएको यो संसार छ। त के सपना पाउनकै लागि मात्र देखिने हो? तपाइँ आफै चाहिँ पूरा हुने सपना नै देख्नु रूचाउनु हुन्छ कि पूरा नहुने सपना?
यही प्रश्नकै एक गहिरो वाक्यको सहायता लिएर म आफ्ना उत्तरमा केही प्रकाश पार्न चाहन्छु। “विपना नभएका हजार सपनाहरू बोकेर हिँड्नेहरूकै जमातले भरिएको यो संसार छ।” यो संसार, यो धर्ती भूगोलहरूको रङ्गमञ्च पनि हो। राज्यहरूमा विभक्त छन् भुगोल र राष्ट्रियतामा अन्तर्निहित छ मानवता। सपनाहरूको प्रतिस्पर्धामा फरक पारेका छन् भूगोल र संस्कृतिले। सबैका सबै सपना पूरा हुँदैनन् र त जिन्दगी सपनाहरूको रिले दौड हो।

तर दौडिनेहरूका सपनामा आफ्नो परिवारको भविष्य पनि सँगै दौडन्छ, आफ्नै रूचि र इच्छाले सपना आकर्षित हुन्छन् र सपनाहरूको आफ्नै श्रृङ्खला हुन्छ। तर जोसँग राज्यको भूमि छैन, दौडनलाई भूमिको स्वामित्व छैन, पखेटा फिजाउन आकाश छैन, कल्पना गर्न भविष्य छैन र गर्व गर्न राखेको इतिहास उबाट लुटिएको छ, उसले राज्यको सम्वृद्धिको लागि सपना देखोस् कसरी जब आफ्नो राज्य आफ्नो भन्न पाउनुको सपनाले वैधानिकता पाएको हुँदैन।

त्यसैले सामान्य नागरिकहरू भन्दा असामान्य पीडाले गुज्रिएका शरणार्थीको मनोदशा हो यो। रह्यो कुरा मेरो, नेपाली नागरिक हुँ, पूरा नभएका सपनाहरूलाई विस्थापित गर्ने हजार सपनाहरूले पर्खिबसेका छन्, किनकी मेरो सपनामा मेरो देशले धेरै स्पेस जो लिएको छ।

कहिलेकाहिँ सपनाभित्रै पनि सपना देख्न सम्भव होला। कविता यसै पनि एब्स्ट्र्याक्ट विधा। त्यसमाथि सपनाभित्र सपना जस्ता विम्बले कवितालाई अतिक्लिष्टतातिर लाँदैन र? कला तत्त्वलाई यथावत राख्दै कवितालाई पाठकमैत्री बनाउने आजका कविहरूको कर्तव्य छ। यही सन्दर्भमा, यस्ता विम्बहरू सुन्दर हुँदाहुँदै कविताबाट पाठक भाग्ने डर त रहँदैन?

कलाको दृष्टिकोणले एउटा कविलाई सोधिनुपर्ने महत्वपूर्ण प्रश्न हो यो। म पनि यी कुरामा धेरै सचेत रहन्छु। आफ्नो संवेदनाको गहिराइ र विचारको बहावसँगै हामी कविहरू आफ्नो अभिव्यक्तिको कम्फर्ट जोनमा यसरी साँघुरिन्छौँ कि कविता पाठकमाझ पुग्दा कविता एउटा गुफा जस्तो भइदिन्छ जसमा आफ्नै काव्यिक चेतको उज्यालो भएका पाठकहरू त अन्तिम विन्दुसम्म पुगेर उम्कन सक्छन् तर सामान्य पाठक वा जुन प्रतिनिधि वर्गका लागि लेखिन्छन् उनीहरूसम्म यो विचारको सम्प्रेषण हुन गाह्रै पर्छ।

सचेत हुँदा हुँदै पनि मैले पनि कति ठाउँमा क्लिष्टताकै सहारा लिएको हुँला। जिन्दगीका क्लिष्ट दर्शनहरू सामान्य ढङ्गमा सुन्दर तरिकाले जसले अभिव्यक्त गर्न सके तिनै सर्जकका सिर्जना बढी पठनीय र हितकर साबित भएका छन्। “सपना भित्र सपना” भन्ने विम्बको व्याख्या चाहिँ अघिकै उत्तरले बोलिसकेको छ। तै पनि आफू पनि परिमार्जित हुने क्रममा पाठक अल्मल्याउने कवि हुनबाट जोगिने प्रयास गरिनै रहेको छु।

फर्कनै सकिएन आफ्नै गुँड़ भनेर कवि पलायन हुन खोजेको हो कि कतै?
शरणार्थी कविता उपर नै धेरै बोलिसकेको हुनाले अब केही थपिरहनु नपर्ला। कविले इमान्दार कलमले समयचेतनाको पानामा लेख्नुपर्छ समाजका कथाहरू तर आशावादको मसी हालेर। यो मेरो स्वयंको पनि लेखकीय आदर्श हो, त्यो भन्दा पनि मानवीय विवेकको  प्रगतिशीलता हो। तर मैले अन्तर्राष्ट्रिय मुद्दालाई उठान गरेको र त्यो मुद्दा उपर कलमको सहायताले पैरवी गरेको हुनाले यथार्थलाई यथावत् नै दर्शाउनु जरूरी थियो। हो गुँड फर्कनै सकेका छैनन् उनीहरू। तर अन्तिम पङ्क्तिले उज्यालो खोजेको पक्कै छ।

सपनालाई अभिव्यक्ति दिनु र सपना देख्नुमाझ कति पातलो वा बाक्लो फरक-रेखा छ?
मान्छेका अभिव्यक्तिहरू अब प्राकृतिक संवेदना सरी इमान्दार रहेनन्।  तर यति चाहिँ भनूँ कि सपनाहरू देखिए पछि, सोचिए पछि नै अभिव्यक्तिहरूले पछ्याउँछन्। रेखा त पातलै हो, तर कसो सपना देख्नु र पूरा हुनुबीचको दुरीको बारेमा चाहिँ छलफल भएन।

यहाँ तिमी भनेर जसलाई सम्बोधन गरिएको छ, उसलाई बचाउन नसक्नु अन्तिम दुःख भनेर कविले आत्मसमर्पण पो गरेको हो कि?
यो कविता नितान्त एउटा घटना विशेषले उद्धेलित भएर लेखिएको हो। कवि असरफ फयादलाई साहित्यिक कर्मकै लागि मृत्यु दण्डको घोषणा भएपछि हामी कविहरूले यसको विरूद्धमा ऐक्यवद्धता जनाउने क्रममा यो लेखिएको थियो।

हुन सक्थ्यो फाँसीमा चढ्नु परेको भए उनले अन्तिम शब्दहरूले संसारलाई सम्बोधन गर्थे। तर “अन्तिम दुःख” भनेर आत्मसमर्पण बिल्कुलै होइन। सत्य र न्यायका पक्षधरहरूका लागि असत्य र अन्यायको विद्यमानता नै दुःख हो र त्यसका अन्त्यका लागि लड्नु नै जीवनको सार्थकता। त्यसैले उनले मृत्युदण्ड पाएका भए एउटा न्याय दुर्घटित हुने थियो, “तिमी” अर्थात् गलत विचारलाई रूपान्तरण गर्ने अन्तिम लडाइ त्यो नै हुने थियो। तर पनि उनको विचार बाँचिरहने छ भन्ने हुँकार हो त्यो। उनको जीवन हरण भएन, तुलनात्मक रूपमा सुखद पक्ष।

ओस्कर र नोबेल खेरो गएका छन् भन्नु हुन्छ। के पुरस्कार जरूरी छ र सही मूल्याङ्कनको लागि? पुरस्कृत नभएका किताबहरू उत्कृष्ट हुँदैनन् र?
आज सम्म मानिसको प्रतिभा र सत्कर्मको मूल्याङ्कन ढिला चाँडो मानव समाजले गर्न खोजेकै छ। वर्तमान परिप्रेक्ष्यमा कला र साहित्य साथै अन्य क्षेत्रमा प्रभावकारी उपस्थितिका लागि ओस्कार, नोबेल लगायत केही पुरस्कार विश्वको सर्वोत्कृष्ट सम्बोधन हो कदर सम्मान र प्रोत्साहन स्वरूप।

हाम्रा केही नानीहरूले आधारभूत शिक्षा त कष्टले प्राप्त गरिरहेका छन् भने उनीहरू भित्रका विलक्षण गुण त बाहिर पहिचानमा आउने स्थिति नै बनेको छैन। त्यसैले आफ्ना प्रतिभा चिन्न र त्यसमा लगानी गर्न राज्यलाई सुझाव छ यसमा। प्रश्नमा जस्तो मूल्याङ्कनको मापदण्ड होइनन् यी बिम्बहरू। “जीवनको क्वालिटि” भीडबीचको सफलता मात्रै होइन भन्ने त कविताले बोलेकै छ नि।

म्याजिक चलाउनेले स्कुटर किन्दैमा कस्तो हुनामी भयो? शिल्प र कन्टेन्ट दुवैमा परिपक्व यो कविताको अन्त्यमा अमेल भएको देखियो नि।
कविताको सबैभन्दा ठूलो पञ्च नै यही थियो, आजसम्म जतिले यो “फेल” कविता पढे, सुने, सबैले कविताकी पात्र “स्कूल पढाउने मिस”ले स्कूटर किनेसँगै अर्का पात्र “ड्राइभर”ले मिसलाई अब म्याजिक गाडीमा भेट्न नपाउने कथान्तले छोइएको प्रतिक्रिया दिएका छन्। त्यसैले यो प्रश्नले अलिक आश्चर्य लाग्यो।

तपाइँका कविताहरूमा विषय विविधता देखिएको छ। कुनै पनि सफल कविको लागि यो दह्रो पक्ष हो। तपाइँको कविको फिलोसफीको केन्द्र चाहिँ के होला?
मैले बाँचेको समाजभित्र नै कति पक्षहरू केलाउन बाँकी नै छ तर जिन्दगीसँगै फैलने क्रममा मैले यात्रा गर्दा, सङ्गत गर्दा र अनुभूत गर्दा सङ्गालेका दृश्य र दृष्टिकोणका कारण हृदयमा भएका प्रतिक्रियाहरू नै कविता बनेका हुन्।

त्यसैले भोगाइ र कविताहरूमा स्वभाविक विविधता छ तर जहाँ गए पनि हृदयको कोमलता र जीवनको व्यापकताले कतै छोड्दैन। आखिर मानव हुनुकै उपज त होला, शायद म भित्रको कविको फिलोसोफिको केन्द्र मानवीय मूल्य नै हो।
पहिचान त देखिनेको हुन्छ यो बयानले सीमान्तीकृतहरूको नदेखिएको पहिचानमाथि नै प्रहार गरेको छैन र? पहिचान त नदेखिनेकै पनि छ। नदेखिएकै पहिचानलाई देखाउन र स्थापित गराउन नै उनीहरूको लड़ाइँ जारी छ जताततै। कविले तार्किक पक्षमा जिम्मेवार हुन आवश्यक छैन र?   

हामीसँग कैयन् यस्ता प्रतिभाहरू छन् जसले प्रष्फुटन हुनकै लागि पनि उचित प्लाटफर्म र प्रोत्साहन पाएका छैनन्। जसले पाए तिनै प्रतिभालाई मात्र पहिचान मिलेको छ। कवितामा यो शब्दचयनले प्रश्नमा आए जस्तो भाव दिएको हो भने त मैले यो माथि पुनर्विचार गर्नैपर्ने हुन्छ। 

शर्मनाक, सदियौँ, चक्कर यस्ता हिन्दी शब्दहरूको प्रयोग यी कविताहरूमा पाइयो। अझ मैले पढ़्न नपाएका यहाँका अरू कवितामा पनि होलान्। यो हिन्दीमोह हो कि बाध्यता?

केही हिन्दी/उर्दू शब्दहरूले हाम्रो साहित्यमा व्यापकता पाएको पक्कै हो। यति धेरै शब्द भण्डार भएको नेपाली भाषामा लेखिरहँदा सकेसम्म त त्यस्तो अवस्था नआएकै राम्रो। तर कहिले काहिँ साहित्य वास्तवमा भाषाको अनुशासन भन्दा पनि भावको सहजतामा खुलेको महसुस हुन्छ। म जब जे पनि लेखिरहेको हुन्छु, आफ्नो सिर्जनाले समाजसँग संवाद गर्न सकोस् भन्ने मनाशय राखेको हुन्छु।

सहज संवाद गर्नको लागि आफू बाँचेको समयमा चलनचल्तीमा रहेका शब्द हावी भइरहेको हुन्छ। यो क्रममा त आजकल अङग्रेजी शब्दहरूले बाजी मार्न थालिसके। तर यही कुरालाई धैरै अनुकुलन दिन थालियो भने भाषा माथि अन्याय हुने अवस्था आइसक्छ। मैले प्रयोग गरेका शब्दहरू सचेत अवस्थामा स्वभाविक रूपमै आएका छन्। हिन्दी भाषाको कुरा गर्दा यो भाषाको छुट्टै मिठास छ हिन्दी साहित्यको पाठक भएर भन्दा। तर यो लेखक यसको मोहमा भने छैन।

यहाँका कविताहरूमा नयाँ र चलनचल्ती दुवै टेस्ट पाइए पनि कवितामा ताजापन चाहिँ छ। तपाइँले कविता लेख्दा के के-लाई कच्चा मालको रूपमा चलाउनु हुन्छ?    

कविता लेख्दाको कच्चा माल भनेकै जिन्दगीभित्रका अवयवहरू हुन् जो प्रायः आफूलाई प्रभाव पारेका विषयवस्तु हुन्छन्। पाठकको हृदयसम्म यी विषयलाई  प्रक्षेपण गर्न कविताले एउटा भावनात्मक गति समात्नुपर्छ।

मान्छेका दुःख नै साहित्यको लागि मूल मुद्दा हो। म पनि मान्छेकै वरिपरि घुमिरहन्छु, समाज पनि सँग सँगै आइहाल्छ। कविताले स्पष्ट बोल्न सक्यो भने मात्रै कवि सन्तुष्ट हुन सक्ने रहेछ। आफ्ना केही कविताका लागि सन्तुष्ट हुन सकिरहेको हुन्न तर ती भित्रका विषय भने प्रिय लागिरहेका हुन्छन् , यस्तो बेला चाहिँ कविताहरू “कोमा” मा जान्छन् , बिउँतेलान् नबिउँतेलान् थाहा हुन्न।


काव्यम् टिप्पणी »

पत्रिका बेच्ने देवकोटाहरूको पक्षमा

पवित्र लामा


पाँच कविता टिप्पणीका निम्ति मकहाँ पठाइएको छ। कविको परिचय दिइएको छैन।  कविताको विश्लेषण कुनै पूर्वाग्रहबिना गरिनुको निम्ति यसो गरिएको हो शायद। अथवा लेखकलाई छाडेर पाठलाई मात्र प्रमुखता दिने ध्येयले यसो गरिएको हुनसक्छ। उपलब्ध कविताहरू सरसर्ती पढ्दा भाव र शिल्पका दृष्टिले उत्कृष्ट लागेका छन्।

थोरैमा धेरै भन्न सक्नुमा कविको सफलता परिलक्षित छ। आजको युगको विडम्वना अनि विसङ्गति कविताहरूमा स्पष्ट झल्किएको छ। मान्छेका दुःख कष्ट, उसका मानसिक आवेग-संवेग, जीवनको आरोह-अवरोह कलात्मक ढङ्गमा कवितामा  उतारिएका छन्। कविताहरू पढ्दा यस्तो लाग्छ आफैले भोग्नुपरेका विविध अनुभूति नै यी कविताहरूमा अभिव्यक्त छन् अनि लाग्छ, यी हाम्रै कथा-व्यथा हुन्। मान्छेकै वैयक्तिक लगायत विश्वजनीन समस्याहरूलाई अत्यन्त कुशलतासाथ, सहजतासाथ कवितामा उतारिएका छन्।

उपलब्ध पहिलो कविता शरणार्थी विश्वजनीन एउटा विकट समस्यामाथि लेखिएको छ। प्रकृति सबैको साझा हुँदाहुँदै पनि राजनैतिक सीमामा बाँधिएको मान्छे कसरी निरीह अवस्थामा पुगिरहेको छ त्यसको उदाङ्गो चित्रण यस कवितामा गरिएको छ।

चरोले त बनाएछ यति सुन्दर घर

तर किन छैन हाम्रो भागमा

कुनै जमिनको एक टुक्रो हाँगो

एउटा सानो गुँड वनाउन

सन्तुष्टिका झिक्राहरूले।

आज मान्छे मान्छेले नै बनाएका नीति नियम कानुन अनि औपचारिकताहरूबीच यस्तरी जेलिएको छ, हजारौं सालको परतन्त्रताभन्दा पनि यो स्थिति अति भयावह छ। शरणार्थीहरूले आफ्नो माटोबाट उच्छेदित जीवन बिताउनुपर्दा उनीहरूको मनमा घरिघरि बल्झिरहने आफ्नो माटोको प्रेम पनि प्रस्तुत कवितामा झल्किएको छ।

तर छामेर एकछिनमात्रै सपनाभित्र सपना

कति गाह्रो हुँदो रहेछ फर्किन,

तीन हात बित्ता जमिन पनि नहुँदा

स्वाधीन मृत्युका लागि…।

वास्तवमा मान्छेको जीवनको दुइटै मात्र लक्ष्य हुन्छ। एउटा हो स्वतन्त्र जिउनु, अर्को हो स्वतन्त्र मर्नु। यी दुई कुराका समायोजन नहुँदा हजार किसिमका विकटताहरू जन्मन्छन्। यस्तो आस्थाहीन एकप्रकारको बाँझो अवस्थामा शरणार्थीहरू बाँचेका हुन्छन्।

कविको दोस्रो कविता सपनाले मानव मनका तहहरूको सुन्दर ढङ्गमा विश्लेषण गरेको छ। पाश भन्छन्- सपना मर्नु जत्तिको डरलाग्दो कुरा केही हुँदैन। जाग्रत अवस्थामा पूरा हुन नसकेका अथवा सेन्सर भएका विपनाहरू दमित अवस्थामा सपना भएर पूरा हुने गर्छन्। वास्तवमा हाम्रा सपनाहरू हाम्रै प्रतिबिम्ब हुन्। विपनाले हामीलाई पचास प्रतिशत सन्तुष्टि दिन्छ भने रहल पचास प्रतिशत सन्तुष्टि हामी पाउँछौं हाम्रा सपनाहरूबाट। यसरी सपनाले हामीलाई थाहै नपाई पूर्णता दिइरहेको हुन्छ। तर सपनाहीन मान्छे एकप्रकारको खण्डित जीवन बिताइरहेको हुन्छ। कविकै शब्दमा-

जिन्दगी उल्टै दर्शनको कोर्रा हान्छ

यथार्थको सिस्नुले पोलिदिन्छ ।

कुरूप भइदिन्छन् सम्बन्धका आस्थाहरू पनि ।

अन्तिम दुःख कवितामा पनि कवि मान्छेले बाँच्नुपरेको पराश्रित जीवनदेखि व्यथित देखिन्छन् अनि पराश्रयबाट उन्मुक्ति चाहान्छन्।

कैदी सम्भावना कवितामा देशको विडम्बनापूर्ण सामाजिक, आर्थिक अनि राजनैतिक अवस्थाको वर्णन छ विसङ्गतिपूर्ण यस्तो अवस्थामा कसरी प्रतिभाहरू ओइलाउने गर्छन् अथवा पलायन हुने गर्छन्, सत्तामा बस्नेहरूलाई, देश चलाउनेहरूलाई यसको कतिसम्म पनि हेक्का नरहेकोमा कवि निराशा व्यक्त गर्छन् –

यहाँ कलिला देवकोटाहरू पत्रिका बेचिरहेछन्

फूल बेच्छन् पारिजातहरू राजमार्गको देउरालीमा

विद्यापतिहरू ठेलामा तर्कारीको लय मिलाउँछन्

शङ्करहरू रेस्टुरेन्टमा काटछन्

एब्स्ट्रयाक्ट चिन्तन प्याज ।

यसरी शक्ति र सत्ताले आँखा चिम्लिदिँदा सम्भावनाहरू व्यर्थ भएकोमा र मान्छेले मान्छेको रूपमा मूल्याङ्कन हुन नपाएकोमा मान्छेले बाँच्नुपर्ने जीवनको क्वालिटी कस्तो हुन्छ हँ? भन्ने प्रश्न तेर्साउँछन्।

फेल कविता एटउटा वियोगान्त कथा जस्तो देखिन्छ जहाँ एउटा म्याजिक गाडीको ड्राइभरको मानसिक एकालापको माध्यमबाट उसका आकाङ्क्षाहरू अभिव्यञ्जित भएका छन्। एउटी सुन्दरी शिक्षिकालाई देखेर उसका मनमा प्रेमिल भावनाहरू गुम्फित हुन्छन्, त्यसैलाई अत्यन्त शिष्ट ढङ्गमा कलात्मक सीपसहित उतारिएको छ।

मेरो रातो म्याजिकमा चढने

ओ सुन्दर गुलाफ

कस्ले ह्युँक्याउला रातो गाडी

तिम्रो सिउँदोको राजमार्गमा

कस्ले लगाउला चक्कर तिम्रो गलाको

कहाँ बस्ला ट्राफिक तिम्रो जिन्दगीको

सोचिदिन्छु, सिर्फ सोचिदिन्छु…

त्यो भन्दा बढी केही सोच्न सक्दिन।

आफ्नो एकपक्षीय प्रेम असफल हुन्छ भन्ने बोध हुँदाहुँदै पनि उसका सपनाहरू, इच्छाहरू, आकाङ्क्षाहरू कसरी बेलुन बनेर हावामा उठ्छन् अनि रहरका पनडुब्बी बनेर कसरी समुद्रमा डुबुल्की मार्छन, अत्यन्त सफल ढङ्गमा वर्णित छन्।

निष्कर्षमा भन्नुपर्दा कविताहरू सिद्ध कविका रचनाहरू जस्ता लाग्छन्। मनका भावहरू शब्दहरूमा कलापूर्ण ढङ्गमा कुँदिएका छन्। यी उम्दा कविताहरू पाठकले सहजतापूर्वक ग्रहण गर्नेछन् भन्ने लागेको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares