मैले चिनेको : एडोरब्(अ)ल् एडोन

भद्रताका पर्याय सर्जक

मोहन ठकुरी

कालेबुङको नेपाली साहित्य अध्ययन समितिले नेपाली साहित्यमा उनले दिएका दीर्घकालीन योगदानको निम्ति उनलाई 2018-को ‘पारसमणि पुरस्कार’ प्रदान गरिरहेको छ। 26 फरवरीको दिन कालेबुङमा एक कार्यक्रमबीच उनलाई यो पुरस्कार प्रदान गरिनेछ। खबरम्यागजिन टीमको तर्फबाट उनलाई शुभकामना चढाउँदै ‘मैले चिनेको’ स्तम्भमा दार्जीलिङका चर्चित कवि मोहन ठकुरीले उनीबारे तयार पारेको यो सुन्दर  व्यक्तिचित्र यहाँ प्रकाशित गरेका छौं-सम्पादक


साथीहरूले कलेजमा उनलाई माया गरेर दिएका निकनेम रै”छ – एल्भिस प्रिस्सली।

उनी आफूलाई त्यस्तो नलाग्ने तर साथीहरूले घरिघरि भनिरहँदा उनले आफूलाई लाइफसाइज्ड ऐना अघि पुऱ्याएका हुन् र आफूलाई नियालेर हेर्ने गरेका हुन्: हेयर स्टाइल त्यस्तै र आफ्नो अप्ठ्यारो नाक पनि मिलेको जस्तो।

(मनमा खुशी लाग्नु त स्वाभाविकै छ सायद!)

एकपल्ट, कलेजमा एउटी राम्री केटी साथीले नजिकै टाँसिएर सोधिन् :

-एडोन, तिमीले एल्भिसले जस्तो एक्टिङ किन गरेको?

त्यतिबेलै कड़ा जवाब दिए उनले:

-एत्तेरी, एल्भिसले पो मेरो एक्टिङ गर्छ, मोरी! मेरो एक्टिङ त यस्तै हो नि सानैदेखि।

केटी निःशब्द।

तर उनले त्यस युगको सफलताको शिखरमा पुगेका ‘रक एण्ड रोल’ का राजा एल्भिस प्रिस्सलीको फिल्मी गीत र नृत्य सिक्ने खुब प्रयास त गरेकै हुन्। यो कुराचाहिँ उनले केटी साथीलाई भनेनन्!

#

धोतरिया चियाकमानमा, दार्जीलिङको म्युनिसिपल बोइजमा प्राइमेरी पढ़ेका हुन् उनले। त्यसबेलाको फुच्चे एडोनले भोगेका क्षणहरूलाई आज पनि उनी सम्झन्छन् यसरीः

मलाई म्युनिसिपल बोइज स्कूलमा सानो क्लासमा भर्ना गरिदिएका थिए र स्कूल नजिक आफन्तको परिवारसँग खोराकीमा बस्ने प्रबन्ध गरिदिएका थिए। पढ्न, लेख्न र गन्न घरैबाट राम्ररी सिकिआएकोले ढुङ्गे क्लास पढ्न परेन। सिपालु जानेर सरहरूले क्लास सी-मा राखे। तर बसाईमा भने मुश्किल पऱ्यो।

सिमेन्टको दुइतल्ला बिल्डिङ, परिवार बस्ने कोठा साना त्यसैमा पकाइखानु पर्ने, बिल्डिङको अघाड़ि सिमेन्टकै सिँढ़ी, सामूहिक दिशा-पिसाब-घर, मैलो चिप्लो लाग्ने। खालिखुट्टै हिँड़्थ्यौँ र पनि स्कूलको मैदानमा बाहेक अरू ठाउँ जमिनमा स्पर्श गर्न नपाउने। कमानको स्वतन्त्रता र माटोसँगको धलिमली कतै थिएन।

कैदी जीवनको अनुभव हुने र तीन महीनाजस्तो त दुःखले काटियो, चौथो महीनामा बिरामी परियो र हप्ता दिनजति हस्पिटल बस्नु पऱ्यो। म बसेको परिवारलाई पनि म उनीहरूसँग बस्दा असाध्य असजिलो भइरहेको थियो। मलाई लाग्छ आपालाई नाइँ भन्न नसकेर मात्र उनीहरूले मलाई आफूसँग राख्न राजी भएका थिए। परिवारमा दुई दिदी-बहिनी थिए, बेला बेला पाहुना लाग्थ्यो।

(पाहुना आउँदा झन् कस्तो हुन्थ्यो होला त्यो साँघुरो घरको दृश्य! ती दिन फर्केर फुच्चेलाई सोध्न पाए पनि हुन्थ्यो!)

पछि पोखरियाबोङ बस्तीको हाई स्कूलमा पुऱ्यायो उनलाई परिस्थितिले। दाजु पनि, भाइ पनि, आफू पनि शहरमा पढ्ने। घरले सबैको निम्ति खर्च बहन गर्न नसक्ने। यसैले उनले चाहिँ घरबाटै धाउनसक्ने स्कूल जाने विचार लिएका। बिहानै छ किलोमिटर उकालो हिँड्नुपर्ने। हिउँद-बर्खा एकनासले बगिरहने खोलाहरू – अझ बर्खामा तर्नै नसकिने; कहिले त साथीहरूकैतिर बास माग्न बाध्य उनी।

अरू बेला, घरदेखि स्कूल, स्कूलदेखि घरको ओहोरदोहोरले दिनको बाह्र घण्टा खाइदिने उनको। दुःख मात्र भो’, पढ़ाई भएन, स्वाभाविक छ सफलता पनि भएन। यसरी दुई वर्ष खेर गयो उनको। घरको अवस्था सुध्रेपछि क्राइष्टाब्द 1956 मा उनी फेरि दार्जीलिङ पुगेका हुन् – सरकारी उच्च विद्यालय। यसै स्कूलबाट प्रवेशिका गरेका हुन् उनले।

क्राइष्टाब्द 1963: सन्त जोसेफ कलेज भर्ना भए – प्री-युनिभर्सिटीमा। तर अर्को साल, कमर्स कोर्स शुरू हुने आशा पूर्ण भएन। कमर्स कोर्सलाई निरन्तरता दिनलाई जिल्लाबाहिर जानुपर्ने भो’; सक्नेहरू कलकत्ता हिँड़े, उनी नसक्नेमा परे र 1964 मा दार्जीलिङ गभर्न्मेन्ट कलेज आइपुगेका हुन्।

क्राइष्टाब्द 1956

एडोन रोङ्गोङका ‘धानको बाला’ देखियो ‘खेतीपाती’ मा। झ्याउरे छन्दमा बाँधिएको, छापामा आएको यो उनको पहिलो कविता।

क्राइष्टाब्ज 1963

जीवन-ज्योति प्रकाशनको ‘दीयो’ मा छापिन्छ उनको पहिलो कथा, ‘हो… र’।

#

कलेजमा श्रेणीसखाहरू छन् साहित्यमा रूचि राख्नेहरू – गुमानसिंह चामलिङ, प्रेम शेर्पा विरोकी, जगेन्द्र थापा, रामलाल अधिकारी। गोपाल योञ्जन पनि। यीबाहेक उनका हितैषीहरूमा छन् – सुवास घिसिङ, नरबहादुर भण्डारी, नन्द हाङखिम, मदन तामाङ, धर्म शमशेर बस्नेतहरू।

अझ फूर्सदका साँझहरूमा र अवकाशका दिनहरूमा रिङ्क सिनेमाको छेउमा भएको कोठामा साहित्यिकहरूको जमघट भइरहन्छ। फ्रिडम रेस्टुरेन्ट-कै प्रबन्धमा रहेको कोठा हो यो – जहाँ एडोन रोङ्गोङ पेइङगेस्ट बस्छन् सुवास घिसिङसित।

त्यहाँ समय समयमा भेला हुनेहरूमा नरबहादुर भण्डारी, नन्द हाङखिम, दावा बम्जन, धर्म शमशेर बस्नेत, प्रेम शेर्पा विरोकी, कुमार घिसिङ छन्। कोही बेला समिरण छेत्रीलाई पनि देखिन्छ। भेटघाटमा उनीहरू नवीनतम् रचनाहरू सुनाउँछन्, सुन्छन्। नयाँ नयाँ सिर्जनाको निम्ति उत्साहित बन्छन्। कोहीबेला दार्जीलिङको सेरोफेरोको चर्चा चल्छ। नेपाली रैथानेहरूका अवस्था शोचनीय छ।

धेरै थिचिएका, मिचिएका छन् उनीहरू। कोइला पाउनलाई, मट्टितेल पाउनलाई, राशन पाउनलाई लहरमा बस्नुपर्ने, त्यति मात्र होइन – अस्पतालमा औषधी लिनु समेत, कलमा पानी थाप्नु समेत पनि घण्टौँ लहरमा बस्नुपर्ने बाध्यता अनि लहरमा उभिनेहरू नेपाली मात्र। यो हरिबिजोगले उनीहरूको छाती भतभती पोल्ने, मुटु कटकटी खाने र जातिको निम्ति हुनसम्मको छटपटी हुने। यस्तै बेला, दार्जीलिङमा एउटा दह्रिलो सङ्गठनको आवश्यकता महसुस गर्छन् ती युवाहरू।

1964 को दशैँ-तिहार सकिन्छ अनि खरसाङ सेनोटोरियममा दावा बम्जनको उपचार पनि सकिन्छ। उनी फर्कन्छन् समूहमा। सङ्गठन स्थापनामाथि उनीहरूमाझ सोँचविचार छ, तर्क-वितर्क चलिराखेकै छ। हिउँदको विदापछि एउटा नयाँ संस्था देखापर्छ दार्जीलिङमा – तरूण सङ्घ। सर्वसम्मतिमा छानिएका छन् अध्यक्ष पदको निम्ति एडोन रोङ्गोङ र सचिव दावा बम्जन अनि उपाध्यक्ष सुवास घिसिङ र सहसचिव नरबहादुर भण्डारी। थुप्रै तरूणहरू पनि संलग्न।

एकदिन।

एउटा प्रासङ्गिक प्रश्न छ मसित। उनकै कार्यालय, विभावनामा भेटेर सोध्छुः

-‘एकपल्ट राजनीतिमा लाग्नुभएको हो – तरूण सङ्घमा सक्रिय हुनुहुन्थ्यो। त्यतिबेलाको कुनै उल्लेखनीय घटना छ कि तपाईँको जीवनसित जोड़िएको?’

उत्तरमा उनी भन्छन्:

-‘6 अप्रेल 1966 को दिन दार्जीलिङमा भएको राजनीतिक काण्डमा हामी 144 जना डिफेन्स अफ् इण्डिया रूलमा पक्रा परेका थियौँ। त्यसमा नेपाली, लाप्चे, बङ्गाली, बिहारी, मुसलमान, मारवाड़ी, यहुदी सबै थिए तर टिबेटन एउटै थिएन। मुद्दा सरकारसित थियो, विरोधीमा पहिला मेरो नाम थियो – अरू एघाह्रजनासित। मुद्दाको दस्तावेजमा गाड़ी जलाएको र तोड़फोड़ गरिएकोमा मेरो नाम थियो। हामीले गाड़ीसम्म जलाएका थियौँ तर तोड़फोड़ कतै गरेका थिएनौँ। राजनीतिमा जनताको विशाल विरोध यही पहिलो थियो।’

उत्तर सुनेपछि मैले एक चोइटा प्रश्न थपेँ उनको अघिः

-‘तपाईँको कलेजको परीक्षा नि के भो’ त्यतिबेला?’

उनको उत्तर छः

-‘मेरो बीए दोस्रो वर्षको परीक्षा जेलबाटै दिएको थिएँ मैले। परीक्षा दिने म एक्लो थिएँ। कलेजमा जब प्रश्नपत्रको सिल तोड़ेर प्रश्नहरू बाँडड़िन्थ्यो मेरो प्रश्नपत्र प्रिन्सिपलले फेरि खाममा सिलछाप लगाई होम-ट्रान्सपोर्टको सरकारी जीपमा हाली तुरन्त जेलमा पठाइन्थ्यो अनि जेलरले मेरो सामु तोड़्थ्यो त्यो सिलपत्र र मैले एक्जाम लेख्न पाउँथेँ र सिद्धिएपछि जेलरले सिलछाप गरी जीपमा मेरो उत्तरपत्र कलेज पठाउँथे।’

पछि तरूण सङ्घदेखि आफूलाई टाड़ा राखे उनले – कारावास जानुपऱ्यो भनेर होइन। कारण अर्कै छ। थालनीमा यो एउटा सामाजिक निकाय थियो, पछि कम्यूनिष्ट खेमामा समावेश हुने बाध्यता आइपऱ्यो। राजनीति पार्टीसित मिलेर काम गर्दा कोहीबेला गरीब-दुःखीहरूलाई समेत झूटो आश्वासन दिनुपर्ने भयो, गरेको भाकल पूरा गर्न सकेन पार्टीले। कमिट्मेन्टमा इमान्दार रहन नसक्ने स्थितिहरू देखा परे। सोझो र चोखो मनको युवा एडोनलाई यी सबै असहनीय भो’- यही कारणले उनले सधैँको निम्ति त्यागिदिए – राजनीति।

#

एडोनका आपा, यहोनसिंह रोङ्गोङ डाक्टरी पेशामा थिए – पेशोक कमानमा। आफ्नो धर्मपत्नी र एकमात्र छोरीको आकस्मिक निधनले ठूलो आघात दियो उनलाई, त्यहाँ बस्न मन भएन। धोत्रे – तुङसुङ चियाकमानमा आए – आफ्ना तीन छोराहरू लिएर। धार्मिक प्रवृत्तिका उनी, सधैँ लगनशील। धर्म, जात, रङ र वर्गभेददेखि माथि उक्लेका क्रिश्चियन उनी। उनका लागि कर्म नै धर्म। बिरामीको लागि रातबिरात नभन्ने। फूर्सदमा नेपाली, अङ्ग्रेजी, हिन्दी फिक्सन पढ्न रूचाउने। कोठाभरि किताप, पत्रिका। घरको यही माहोलले उनी लेखनको मोहमा परेका हुन्। गाउँको प्राइमेरीमा, गुरुलाई के मन आयो एकदिन – दोस्रो श्रेणीकाहरूलाई कविता लेख्न अह्राए; शीर्षक दिएछन्: ‘लड़ाइँ’। फुच्चे एडोनले लेखेछन्:

-आयो लड़ाइँ, शत्रुलाई फँड़ाई

गयो लड़ाइँ, विजय गराई।

गुरुले खूब मन पराए, सर्काए। फुच्चे एडोन फुरुक्क। कवि बन्ने अठोटले उनको बालहृदयमा पलेटी कसेको यति बेला हो।

पाठ्यपुस्तकमा भएको पारसमणि प्रधानको कविता रट्थे। हाइस्कूलमा नरेन्द्र प्रसाद कुमाईको ‘सन्ध्या तारा’, अगमसिंह गिरीको ‘शैशव याद’ र देवकोटाको ‘मुनामदन’ले प्रभावित भए। कलेजमा विलियम वर्डसवर्थ थपिए। उनले ओ. हेनरी, रूपनारायण सिंह, भवानी भिक्षु, नन्द हाङखिम, गुप्त प्रधान आदिका कथा मनपराउँछन्।

प्रकाशित तीन कथासङ्ग्रहमध्ये मलाई त उनको चोइटा (1970) नै मनपर्छ। उनी आफैलाई चाहिँ कुन मनपर्छ – थाहा छैन। भेट्दा, सोधेको छु उनलाईः

-‘तपाईँलाई आफ्नो कुन कथा सबैभन्दा बढ़ी मनपर्छ? किन?

उनी उत्तर गर्छन्:

-मलाई मन परेको कथाहरू: 1965 मा लेखिएको ‘पूर्णेको जूनसित मेरो रात’। समाजको वर्गीय पक्षपात र धार्मिक उग्रताबाट खण्डित स्वच्छ प्रेमको असफल कथा हो यो। वर्तमानसम्म चलिआइरहेको स्थितिमा परिवर्तन नआए डरलाग्दो सामाजिक विकृतिको चेतावनी पनि हो यो।

अर्को, 1967 मा लेखिएको ‘चिथोरिएको जिन्दगी : घाइते स्थिति’। युवाहरूले भोगिरहेका समस्या/समस्याबीच एउटा युवाको विरोधी प्रतिक्रिया।

-तपाईँको कथा सृजना प्रक्रियाबारे पाठकलाई केही जान्नु दिनुहोस्।

उनी भन्छन्:

मेरो प्रायः कथाहरू प्रथम पुरुषमा लेखिएको छ। म कुनै पनि विषय र यसबाट उठेको समस्यालाई एउटा निश्चित वर्तमानमा उभेर विगतका फ्लेसब्याक र अनुभूतिको आधारमा भविष्यमा लगी क्लाइमेक्समा पुऱ्याई समाधान निश्चित गरी सिध्याउने गर्छु। विषय-वस्तुलाई टिपेपछि प्रायः एउटै प्लटमा नै यसमा रहेको सन्देशलाई खारा पारेपश्चात मात्र कलम समाइन्छ।

अर्को प्रश्न उनलाई:

-तपाईँलाई कस्तो पुस्तक मनपर्छ? कस-कसलाई मन लाएर पढ्नुभा’छ? अहिलेलाई तपाईँको प्रिय लेखक?

यस्तै भनेर किटान त छैन, पाएको सबै विषयमा चाख छ। पढ़न्तेहरूले रिकोमेन्ड गरेको त पढ़िहालौँ लाग्छ। नेपाली साहित्यको पुरस्कृत पुस्तकहरू छोड़्दिनँ। अङ्ग्रेजीमा पहिले पढ़िन्थ्यो, अहिले राइटरहरू पनि त्यति चिनिन्दैन, नाम याद गर्नु पनि मुश्किल अनि राइटरहरू धेरै कमर्सियल हुनगएको कारण त्यति पढ़िन्दैन।

हालको मलाई मन परेका प्रिय कविहरू हुन्, मनप्रसाद सुब्बा, मोहन ठकुरी, ज्ञानेन्द्र खतिवड़ा, केवलचन्द्र लामा, राजा पुनियानी, रवि रोदन र पवित्रा लामा। कथाकारमा गुप्त प्रधान मनपर्छ।

#

सानैदेखि कविता लेखिबस्ने उनी। तर कथामा नै ख्याति कमाए उनले। विराटनगर र काठमाडौँ छँदा पनि कविताहरू लेखेकै हुन् तर काठमाडौँमा एकपल्ट डेरा सर्नुपर्दा ती सबै मिसिङ भएको उनी बताउँछन्। प्रेसबाट जोगाएर ल्याएको कवि अगमसिंह गिरीका ‘युद्ध र योद्धा’को पाण्डुलिपि र नेपालका पत्रिकाहरूतिर छाप्न दिन लगेका नन्द हाङखिमका कविताहरू त्यहाँ थिए।

‘हाङखिमसँग अझ पनि लाजमर्दो स्थितिमा छु’- आज पनि भन्छन् उनी।

क्राइष्टाब्द 2014 मा हामीले पायौँ उनका कवितासङ्ग्रह, ‘रूख यो सड़क मास्तिरको’। 1956 देखि यता छानिएका उनका कविताहरू त्यहाँ छन्। एक ठाउँ कवि ‘अपरिचित वीरको प्रतीक्षामा’ छन्, मलाई मनपरेको एउटा सानो पद्यखण्ड यहाँ राखेको छुः

जातिको अस्मिता र चिनारी दिन

म हुँ र छु महसुस गराउन

तिमी कोही त हौ तिमी कहीँ त छौ

विपत्तिका रगत पसिनाले

रूझेका रित्ता आँखाहरू

पर्खिरहेछ तिमीलाई

आँधी भएर

आऊ तिमी लौ आऊँ।

(रूख यो सड़क मास्तिरको’/पृष्ठ 7)

‘रूख’लाई कविले उनको मनबाट निस्केका ‘व्यथा र आशाको शब्दकथा’ मान्छन्।

उनीबारे कवि ज्ञानेन्द्र खतिवड़ाले पनि लेखेका छन्: ‘… विदेशबाट हार खाएर फर्किआएको गिरीको युद्ध र योद्धालाई आफू खलिकपुर हुनेगरी नै भाषा-साहित्य र जातीय अस्मिताको सोचलाई सबल बनाउने कृति ठान्दै प्रकाशित गरिदिनुहुन्छ।

उहाँ न प्रकाशक, न लगानीकर्ता। पहिलो युद्ध र योद्धा-को प्रकाशनलाई जातीय शङ्खघोष नै ठानी लागत रूपियाँ अर्पण गर्नुहुन्छ। त्यसैले आज गिरी जति सम्माननीय छन् त्यति नै सम्माननीय एडोन रोङ्गोङ।’

(रूख यो सड़क मास्तिरको/ पृष्ठ ‘झ’)

एडोन रोङ्गोङ आफैले पनि मसितको बातचितमा जीवनज्योति प्रकाशनबाट बनारसमा छाप्नलाई पन्ध्र हस्तलिखित पाण्डुलिपि लगेको कुरा गरेका छन्। भन्छन् उनी, ‘म आफैले आफ्नै बन्दोबस्तमा छापिदिनलाई लगेको अगमसिंह गिरीको युद्ध र योद्धा।’ तर उल्लेखसमेत कतै छैन यो कुरा। कहिलेकाहीँ अनौठो लागिरहन्छ।

#

बिहेको एक साता पछि नै रोङ्गोङ दुलहा-दुलही बनारस पुगेका, दुवै हर्षित। प्रेसको काम थुप्रै। तर कामको चेपारोमा पनि गङ्गामा नौका-विहार। पानी, पानी, पानी! गङ्गाको छात्तीमा पानी बगेको छैन, उनीहरू दुइलाई लाग्छ : प्रेम बगिरहेछ! एउटा प्रेमिल दुनियाँ।

अर्को कुरा पनि यी दुइका। प्रकाशनको काममा एडोन दाजु धेरैपल्ट पुगिसकेका; बनारसी साड़ीको प्रसिद्धि पनि उनलाई थाहा छ, साड़ी पाउने खास ठाउँहरू पनि। एकदिन दुलही मन्नुलाई भन्छन्: ‘आज तिमीलाई एकदमै मनपर्ने ठाउँमा लैजान्छु। तर त्यस ठाउँमा पकेटमार र ठगहरू धेरै छन्। महँगो गहना नलाउने र पैसा पनि नबोक। म बसभाड़ा र केही पैसा बोक्छु।’

उनले दुलहीलाई बनारसको फेमस साड़ीको खुल्ला बजारमा पुऱ्याउँछन्। बजारमा रङ्विरङ्गी बनारसी सिल्क साड़ीको डङ्गुर देखेर दुलही मन्नु त लाटिएजस्तो भइन्। यो लिने कि त्यो लिने – उनी त अत्तालिइन्। एडोन दाजु भन्छन्: ‘तर हामीसँग साड़ी किन्ने पैसा थिएन। आँखाको अघि तेत्ति राम्रा राम्रा साड़ी अनि साथमा पैसा नहुनु! म मन्नुको त्यतिबेलाको अवस्था र प्रतिक्रिया हेर्न चाहन्थेँ। एकक्षण पछि मन्नुको मुड फेरियो। उसले कुरा बुझिछ कि कसो मतिर फर्केर सोधिन्: ‘खोइ पकेटमार? खोइ ठगहरू? किन पैसा नबोक्नु भन्नुभएको?

#

एल्भिस प्रिस्सली जस्तो हेण्डसम एडोन दाजु र पञ्जाबी-सुन्दरी मन्नु भाउज्यूको प्रेमबारे उत्सुकता जागिउठ्छ मनमा यतिबेलै। दाजुलाई सानो स्वर बनाएर सोध्छु:

आदरणीया मन्नु भाउज्यूबारे खुलस्त हुनुहोस् न आज। तपाईँ दुइको प्रेमबारे भन्नुहोस् त केही।

मुसुक्क मुस्कुराउनुहुन्छ एकपल्ट उनी र म उनलाई सुन्छु:

डा. सर्वपल्ली राधाकृष्णनको शुभजन्म दिवस तथा गौरवमय शिक्षक दिवसको क्षणले मेरो जीवनमा अर्कै अर्थ पनि राख्दछ। सन् 1963 सालको सितम्बर 5 तारिखको दिन दार्जीलिङको गोर्खा दुःख निवारक सम्मेलनमा सम्पन्न भइरहेको शिक्षक दिवसको भव्य समारोहमा मेरो पहिलो भेट स्कूल अध्ययन गरिरहेकी सुन्दरी ठिटी मन्नु सोनम कौरसँग भएको थियो।

तिनी नेपाली गर्ल्स स्कूलबाट लोकनृत्य टोलीमा संलग्न भई कार्यक्रम प्रस्तुत गर्न आएकी थिई भने म सन्त जोसेफ कलेजको विद्यार्थी-दर्शक भएर त्यहाँ पुगेको थिएँ। कुन्नि कसरी त्यहीँ हाम्रो भेट भयो र हामी धेरै दिनदेखि नै चिरपरिचित जस्तै बोल्न, हाँस्न र एकार्काप्रति खुलिएका थियौँ। सात सालसम्म उनी मेरी प्रेमिका बनी रही।

सात साले प्रेम लुकेर रहेको थिएन। गाउँघर, स्कूलका सब साथीहरूलाई थाहा थियो। मेरो आपा र मन्नुको आमा बाबाले पनि पछि-पछि त थाहा पाइसकेका थिए। मेरो आपाले मन्नुलाई मन पराउँथे, मन्नुको आमा-बाले मलाई, तर पर्खाल थियो-धर्म। मन्नुको बाबा मलाई गुरुद्वारा लगेर शिख बनाउन चाहन्थे, मेरो आपा मेरो बुहारी चर्च जाने हुनुपर्छ भनेर कुर्लन्थे। हामी दुइ चाहिँ भविष्यमा के गर्ने? के भएको र कहाँ जाने भन्ने योजना बनाउँथ्यौँ।

क्राइष्टाब्द 1970 : उनीहरूका बिहे सम्पन्न भयो – एडोन दाजुको पुर्ख्यौली घर र चर्चमा। तीन छोरी छन् – दार्जीलिङमा जन्मेकी जेठी रिक्की रोरिमा, भेलोरमा डाक्टर छिन्, माइली निक्की नरिना अष्ट्रेलियामा कार्यरत अनि कान्छी एकता लभना सिलगढ़ीमा आमाले स्थापना गरेकी गैर-सरकारी संस्था वास्तामा आमासितै कार्यरत। यी माइली र कान्छी छोरी काठमाडौँमा जन्मेका हुन्।

एडोन मात्र तीन वर्षको हुँदा आमा डिकमीत बितिन्। आमाको माया नपाउनु र चेलीहरू नहुनु उनले मनमा लुकाएर राखेको एउटा ठूलो पीड़ा हो – उनको जीवनको। यसबाहेक, उनी सधैँ हँसीखुशी देखिन्छन्। उनी मिष्टभाषी छन्। कसैसित द्रोह-भाव राख्दैनन्। उपल्लो दर्जाका उदार छन् उनी। अन्यलाई दिनुपर्ने सहयोगलाई मनमा र ओंठमा मात्र अल्झाएर राख्दैनन्, प्रयोगमा ल्याउँछन्। साँचो अर्थमा, ‘गुड-समायरिट्(अ)न्’  उनी।

साहित्य-लेखनका अग्रजहरूलाई आदर दिन्छन् उनी, अनुजहरूलाई सधैँ प्रोत्साहन। भद्रता र शिष्टता उनका ठूला सम्पत्ति हुन्।

पहिले केही साहित्यिक पत्रिकाहरू (दीयो 1965-1967; हेर ती नयाँ भइसके (1986-1991) र समाचार पत्रहरू (आँखा 1967-1968; सचेतक (2005-2007) का सम्पादन कार्यसित सम्बन्धित रहेका हुन् उनी। अहिले पनि ‘विभावना’ (2007 देखि) को प्रधान सम्पादक छन्। आदरणीय साहित्यकार नरबहादुर दाहालसित मिलेर पादरी गङ्गाप्रसाद प्रधानमाथि एउटा महत काम गरेका छन्। क्राइस्टेली साहित्यको उत्थान र संरक्षणको निम्ति उनको योगदानलाई भारत र नेपालको धेरै ठाउँमा प्रशंसा र कदर भएको छ।

भ्रमणमा पनि उनको अग्घोरै रूचि छ। अहिलेसम्म विश्वको चौबीस देश भ्रमण गरिसकेका छन्। तीमध्ये – थाइल्याण्ड, फिलिपिन्स, र अमेरिका प्रमुख छन्। तर ती देशका यात्रा विवरणलाई जोगाड़ नगर्नु लेखक एडोन रोङ्गोङको ठूलो कमजोरी र गल्ती मानिन्छ।

उनी डाइबेटिक हुन्। पहिले मात लाग्ने, लत लाग्ने सबै कुरा खाएका हुन्। अहिले चिया, कफी, कोल्ड ड्रिङ्क्स खाँदैनन्। घरमा भात समेत खाँदैनन्। उसिनेको इस्कुस सब्जीको सूपसँग खान्छन्। मासु खान्छन् (के को मासु भनेर सोध्दैनन् पनि) तर कम्ती मात्रामा। उनलाई दही, तर्भुजा र ‘चिम्से’ को मासु साह्रै मनपर्छ: नून चर्को भा’को केही पनि मन पराउँदैनन्।

#

क्राइष्टाब्द 1964

दार्जीलिङको बुद्धसिंह लाइब्रेरी साहित्य गोष्ठीमा उनले कथाविधामा प्रथन पुरस्कार पाएका हुन्। तिनताक यो प्रतियोगितामा पुरस्कृत हुनु ठूलै कुरा मानिन्थ्यो।

क्राइष्टाब्द 2018

कालेबुङको नेपाली साहित्य अध्ययन समितिले नेपाली साहित्यमा उनले दिएका दीर्घकालीन योगदानको निम्ति उनलाई ‘पारसमणि पुरस्कार’ प्रदान गरेको छ। यो मूल्याङ्कनलाई सबैले सराहनीय मानेका छन्।

#

धेरै लामो बसिएछ उनको कार्यालय विभावनामा।

बातचित पनि लामै भा’को छ आज। उठ्छु, उनी पनि उठ्दैछन्। अनायासै एउटा प्रश्न ओंठमा आइपुग्छ र निस्कन्छ पनि बाहिर:

-‘तपाईँ त हेण्डसम हुनुहुन्थ्यो। कलेजियन केटीहरूले कतिको मन पराए तपाईँलाई?’

पहिला त हाँस्छन् उनी। पछि भन्छन्:-

आफ्नै दिदी बहिनी नभएकोले विपरीत लिङ्गप्रति सानैदेखि सङ्कुचित र लज्जालु स्वभावको हुँ। तै पनि मेरो विवाह नभइञ्जेल आफ्ना बाहेक बाहिरका तीस-बत्तीसजना केटीहरूसँग नजिकमा थिएँ। तीमध्ये तीनजनासँग त लभमा परिएको हो तर दुइजनासँग भने लामो गएन। अहिले मसँग भाको चाहिँ तेस्रो हो – मन्नु सोनम कौर।

हिजोआज हाम्रा प्रिय साहित्यकार एडोन रोङ्गोङ आफ्नो प्रिय धर्मपत्नी उनै मन्नु कौरसित न्यू रङ्गियास्थित चिन्लोप-लीमा बस्छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares