इन्द्रबहादुर राई : विशाल पर्वत, जसको हाराहारीमा छैन अर्को पर्वत

मोहन ठकुरी


सायद हामी चौरस्ताबाट फर्किंदै थियौँ – मेरा अभिन्न मित्रवर दाजु डोनाल्ड सादा र म। थिएटर रोडको दिलखुशा रेस्टुराँछेउ पुग्दा दाजुले मलाई बिस्तारै कानमा भन्नुभयो – इन्द्रबहादुर राई सर आउनुहुँदैन।

उता हेरिपठाएँ मैले – टर्नबुल स्कूलबाट यता आउने तेर्सोमा। एक भद्र पुरुष, सुट लाउनुभएको, स्मार्ट।

हामीछेउ आइपुग्नु हुँदा डोनाल्ड दाजुले ख्नमस्कारख् गर्नुभयो उहाँलाई, मैले पनि हतार हतार अभिवादनमा दुई हात जोड़िदिएँ। उहाँले हाँस्दै हात उठाउनुभयो, अलिकति टाउको पनि हल्लाउनुभयो र जानुभयो।

मनमा अनायसै एउटा हर्षबोध भयो मलाई – लेखक इन्द्रबहादुर राईलाई जीवनमा प्रथमपल्ट साक्षात् देख्न पाएको त्यो अविस्मरणीय क्षण।

सन् १९६५ को त्यो एक दिन अझै भुलेको छुइनँ मैले। बेलुकीतिर घर पुग्यौँ – स्टेसनमुनि सेरली कटेज। दिउँसोको कुरा झल्याँस्स सम्झेछु मैले।

डोनाल्ड दाजु त टर्नबुलमा उहाँकै विद्यार्थी। मलाई पनि टर्नबुलकै कुनै विद्यार्थी सम्झनुभयो होला – इन्द्रबहादुर सरले। उहाँलाई मैले पनि कथा-कविता लेख्छ भन्ने कुरा थाहा भएन। बातै मार्न पाइएन – कसरी थाहा हुने उहाँलाई? अघि दिउँसो उहाँलाई भेट्नु पाउँदा लागेको खुशीको छेउमा यो विस्मात पनि आएर बसेको बोध भो मलाई मनमा त्यसबेला – उहाँको ख्आधुनिक शिक्षकख् खोजेर पनि पढ़ेँ – ख्…यत्रो संसारमा शिक्षक बन्नै यस्तो एउटा पेशा छ जसमा परिश्रमको साफल्य काम गर्दै तिमी अनुभव गर्छौ। बुझाउन सक्यौं, चाख जगाइदिन सक्यौं, क्लासका हरेकको उज्यालो भएको अनुहारमा र चम्केको आँखामा तिमी आनो सफलता पौरिरहेको देख्छौं, आफूलाई सफल प्रत्यक्ष प्रमाणित पाउँछौं।ख्

पछि त म पनि शिक्षक नै भएँ, पाठ पढ़ाइसकेर क्लासमा खोज्ने बानीजस्तो लागेको थियो मलाई पनि – त्यस्तै उज्याला अनुहारहरू।

साहित्यकार इन्द्रबहादुर राईको भाषाशैलीमा कहिल्यै नीरसतासित जम्काभेट भएन मेरो। उहाँको भाषा ज्ञानको प्रावीण्यले सधैँ लोभिएको भएँ म। यिनै कारणहरूले उहाँसित नजिकिएर रहिरहने प्रलोभनले मलाई छोड़ेन कहिल्यै। यसै प्रलोभनले बाँधिएर, समय पाउँदा, झर्थें म तल तुङसुङमा उहाँको निवास। बारी-कान्लाका अम्लिसो, बाँस, परेङको झ्याङ र बाक्ला पातहरू ओढ़ेर उभिएका गगूनबोटहरू देख्दा मलाई सम्झना आउँथ्यो उहाँको कथा – ख्एउटा दिनको सामान्यताख्। सूक्ष्मतम अनुभूतिहरूमा निर्मित एउटा असाधारण कथा यो। ख्शाहजादाख् इन्द्र दाजु र ख्शाहजादीख् माया भाउज्यूका ख्राजमहलख् यो : उहाँको घर पुग्दा मनमनै सम्झन्थेँ म।

अनेक सुन्दर कथाहरू लेख्नुभएको छ उहाँले यहाँ। लेखहरू लेख्नुभएको छ, समालोचनाहरू सिर्जना गर्नुभएको छ, अनेकहरूमाथि घोत्लिनुभएको छ। यहीँ रहँदै देशको उच्चतम साहित्यिक संस्था साहित्य अकादमीबाट पुरस्कृत हुनुभएको हो।

(यो खुशीको खबर सुनाउन कविवर ईश्‍वर बल्लभ बजारबाट राति नै पुगेका थिए तुङसुङ) नेपाली भाषा-साहित्यका निम्ति साहित्य अकादमी पुरस्कार पाउनुहुने पहिलो साहित्यकार हुन् उहाँ – यो गौरव उहाँलाई प्राप्त छ। हर्षातिरेकमा उहाँलाई बधाई-पत्र पठाएँ मैले त्यसबेला।

१. डिसम्बर, १९७७

(बिहान)

श्रद्धेय इन्द्र दाजु,

विक्षोभ-दिवसले थकित जस्तो भएर, रात परिसक्दा घर पुगेको म, हिजो रेडियोमा साहित्य अकादमी पुरस्कार-को घोषणा सुनेर खुशीले, धेरैबेर, निद्रा पनि नजीक भएन। र यो सखारै हर्षको एउटा ठूलो पहाड़ बोकेर पुरस्कृत हुनुभएकोमा बधाई पठाएको छु- नेपाली उपन्यासका आधारहरूका स्रष्टालाई।

भारतेली नेपाली साहित्यको सन्दर्भमा, भाषा मान्यताको आन्दोलन बगिरहेको यो विशेष कालमा, अब तपाईंको नामबाट एउटा नयाँ अध्याय थालनी भएको कुरा मनको आँगनमा यो कलिलो घामजस्तो हाँसिरहेछ। इन्द्र दाइ, फेरि हार्दिक बधाई।

पहेँलो आवारण ओढ़ेको उहाँका समालोचनात्मक अन्वेषण नेपाली उपन्यासका आधारहरू-को पारिचायिकमा अर्का वरिष्ठ समालोचक कुमार प्रधानले लेख्नुभएको छ – पाठकलाई यी समालोचनाहरूमा आकृष्ट गर्ने अर्को वस्तु हुन्छ राईज्युको भाषा। टिपेका टिप्पणी-मा प्रयुक्त भाषा रमणीय छ तर यहाँ प्रयुक्त भाषा बहुपक्षी विचारसँगै परिपक्व र आयामिक छ।

उहाँ पाठकलाई आफूसँग घोरिन लाउनुहुन्छ। यस्तै भाषा प्रयोग भएर यहाँ शब्दशब्दमा अल्झँदै, त्यसलाई नियाल्दै, त्यो शाब्दिक भूमि प्रदेशलाई बुझ्दै अघि बढ़्छौँ। यसरी नियाल्दा हामी आविष्कार गर्छौं अनेक स्थान उहाँको भाषा अनेकार्थी भएको। शब्द अर्थ बाहुल्यको पाउँछौँ र प्रयुक्त भाषाले बोधका आयामहरू निर्देश गर्छ। दृष्टिकोण र भाषा प्रयोगको मौलिकतामा राईज्यूको आफ्नै समालोचना-प्रणाली जन्मेको छ। नेपाली समालोचनालाई यो उहाँको देन हो।

साहित्य अकादमी पुरस्कार समारोहमा दार्जीलिङबाट पुग्नुभयो हाम्रा श्रद्धेय साहित्यकार हैदराबादको पब्लिक गार्डनमा (११ मार्च १९७८) अनि पुरस्कार स्वीकृतिमा भन्नुभयो – यस विद्वत् सभामा उपस्थित भएर नेपाली साहित्यमा भइरहेको एक प्रयत्नका सम्बन्धमा परस्पर फाइदाका लागि जानकारी प्राप्त गराउनु हामी भारतीय नेपालीको निम्ति सौभाग्यको कुरा हो। नेपाली भाषा अन्य आधुनिक आर्य भाषाहरूकै समकालीन हो। यसको विकास पनि ती भाषाहरूकै समान्तर भएको हुँदाहुँदै पनि ऐतिहासिक कारणहरूले गर्दा भारतीय नेपाली साहित्य सृजन अलिक ढिलो आरम्भ भयो। भारतीय नेपाली आज देशको यस सर्वोच्च साहित्यिक संस्थामा उपस्थिति र सहभागिता राख्न पाउँदा गौरवान्वित छ।

यो उहाँको ऐतिहासिक सम्बोधन थियो।

आयामेली लेखनमा धेरै चर्चित हुनुभयो – साहित्यकार इन्द्रबहादुर राई। प्रसिद्धि पनि पाउनुभयो। त्यसपछि, साहित्यमा ल्याउनुभयो – लीलालेखन। (त्यसबेला) पाठकलाई एउटा नौलो थोक। मैले एउटा चिट्ठीमा केही प्रश्‍नहरू उहाँसमक्ष राख्ने धृता गरेँ त्यसबेला अनि लीलालेखन-बारे सोधिएको उत्सुकतालाई उहाँले लिखित उत्तर गर्नुभयो : माटो नै हो तर रूप र व्यवहारको परिवर्तनले माटोलाई हामी हाँड़ी पनि भन्दछौँ। रूप र व्यवहार (लक्ष्य)को परिवर्तनले नामकरणमा तथा विचारकरणमा परिवर्तन –लीला हो। डाँड़ाका रुखहरूमा सेता चाँप र राता गुराँस  माटोका अर्का लीलाहरू। स्वयम् मान्छे नै केहीको लीला हिँड़िरहेको हो, काम गरिरहेको। बाँच्नु व्यवहार हो। हाम्रो समग्र भावाङ्कन र मूल्याङ्कन व्यवहारसापेक्ष मात्र हुन् – सौन्दर्यचेत, वियोगानुभव, प्रगतिबोध सब। जीवनका ती लीलाहरू। विराट यस सत्यलाई साहित्यमा सविस्तृति लेख्नु लीखा-लेखन हो अनि मानिसका कार्यमा भूल, भ्रम, अज्ञान, मतान्धता, पूर्वाग्रहको अंश केलाउँदै लेख्नु लीलाको जाललाई उदाङ्गो पार्नु हो, साहित्य लेखनमा।

लीला लेखनमाथि अहिले त पुस्तकहरू प्रकाशित भइसकेका छन् – कृष्ण धरावासीको लीलालेखन (क्रा.१९९६), रत्नमणि नेपाल सम्पादित लीला-दृष्टि (वि.2056), राजेन्द्र भण्डारी र वत्स गोपालको लीला-लेखन (वि.2056), कृष्ण धरावासी सम्पादित लीला प्रस्तावना (वि.2059) आदि।

मनको नजिकिएर मानिसलाई आत्मबोध गराउने कला साहित्यकार इन्द्रबहादुर राईसित भएको ठान्छन् नेपालका प्रतिष्ठित लेखक कृष्ण धरावासी र उहाँबारे लेख्छन् – उहाँका कथाहरू, उपन्यासहरू, निबन्ध र चिन्तनहरू सबै नै स्थापित परम्परामा जहिल्यै नयाँ हलचल बन्छन्। एउटा सानो दुई पृष्ठको सूत्रात्मक लेख दार्जीलिङको कुनै पत्रिकामा छोपियो भने त्यो जेरोक्स भएर काठमाडौँ पुग्छ र काठमाडौँका बुद्धिहरू हत्केलामा चिउँड़ो राखेर घोत्लिन थाल्छन्। सूत्रात्मक लेखन उहाँको शैली हो। चाहिनेभन्दा बढ्दा एक शब्द पनि नलेख्ने र लेखिसकेपछि एक शब्द पनि निकाल्न नमिल्ने। नापिएको, तौलिएको, जोखिमको पूरै छाँटकाँट गरिएको, घोटिएको, चम्काइएको हुन्छ उहाँको लेखन र एक एक वाक्यहरूले व्याख्याको माग गर्छन्।

(मधुपर्क/पूर्णाङ्क 362/सेप्टेम्बर-अक्टोबर १९९९)।

एक दिन।

साहित्यकार इन्द्रबहादुर राईका लोचनगर निवास।

पुगेको छु – उहाँका मीठा, रसिला कुराहरू सुन्नलाई। उहाँसित बसेपछि उठ्नु मन लाग्दैन। ‘सुनिरहुँ’ लागिरहन्छ। मलाई मात्र होइन, त्यहाँ पुग्ने सबैलाई त्यस्तै हुन्छ। अप्ठ्यारो, गाह्रो कुराहरू समेतलाई सजिलो पारेर छर्लङ्ग पार्नुहुन्छ उहाँले। सल्लाहहरू समेतलाई सरलतासित सार्नुहुन्छ हाम्रो अघिल्तिर, सविनय। यही नै हो उहाँको खुबी र महानता।

धेरै सुन्छु, उहाँलाई। हर्षबोध छ मनमा। थाहा गर्छु आफैँ चल्मलाइरहेछ भित्र कता-एकप्रकारको सन्तुष्टि ऊर्जा।

बिदा माग्छु र उठ्छु।

-‘ भाइ, एकक्षण है, एउटा किताब राखिदिएको छु तपाईंलाई।’

भित्र कोठा पस्नुहुन्छ र आउनुहुन्छ – हातमा एउटा ब्राउन-प्याकेटसित। साँझमा घर आइपुग्छु।

हेर्छु : मुक्ति प्रकाशन, कालेबुङबाट प्रकाशित र प्रेम पोद्दार अनि अनमोल प्रसादले सम्पादन गरेका Gorkhas Imagined : Indra Bhadur Rai In Translation.

अङ्ग्रेजीमा अनूदित कथाकार राईका आठ कथाहरू र एउटा लेख। अनुवादकहरू छन् : माइकल हट, दोर्जे छिरिङ लेप्चा र अनमोल प्रसाद।

अङ्ग्रेजीमा नै लेखिएको उहाँको एउटा लेख पनि : Indian Nepali Nationalism and Nepali Poetry. अघिबाटै Journal of South Asian Literature (Vol. XXIX, No. 1, Winter-Spring 1994)-मा छापिएको लेख रैछ यो। उत्सुकतासित यसैलाई पढ़्छु पहिला। एक ठाउँ लेख्नुभएको रैछ :

…”Here it will not be out of place to correct a misconception that still persists and which is rather deliberately fostered regarding the genesis of Indian Nepalese. Those who claim to be delivers into past and yet describe Indian Nepalis as ‘settlers’ or ‘immigrants’ betray their blatant ignorance of the history of the region. After the Anglo-Nepalese War, through the Treaty of Sagauli of 1816, Nepal was made to cede lakhs of square miles of Nepalese territory to the British East India Company, together with the Nepali people living thereon. These were the forefathers of today’s Indian Nepalis.’ (Page 173-174)

पढ़िसकेर, अनायसै एउटा घाइते-प्रश्‍न अघिल्तिर ठिङ्ग उभिन आइपुग्छ :

देशको आकाशबाट यो गलत धारणाको कालो बादल कहिले हटेर जान्छ, हँ?

जे होस् यो अनुवाद कार्य सराहनीय छ। यो अनुवाद-कृति अनेपाली/विदेशी पाठकका निम्ति साहित्यकार इन्द्रबहादुर राईको सृजना-संसारमा चियाउने एटा सानो आँखीझ्याल बनेको छ।

डा. राईका सिङ्गो जीवन साहित्य साधनामा समर्पित छ। साहित्यबाहेक उहाँले तर अन्य सराहनीय कामहरू पनि गर्नुभएको छ : भाषा आन्दोलनका उहाँ अग्रणि-भाषाको सरकारी मान्यतामा पनि, संवैधानिक मान्यतामा पनि। प्रसिद्धिको शिखरमा पुगेर पनि समाजदेखि अलग्गिएर बस्नुभएको छैन, सहज सामाजिक सहभागिता छ उहाँको। जीवनलाई जत्तिकै गहिरिएर जातिलाई बुझ्नुभएको छ।

उहाँका शब्दहरूमा हाम्रो जातिको ब्लुप्रिण्ट छ यस्तो :

जेलाई पनि हाँस्ने कुरा पार्ने यहाँका नेपालीहरूमा औधी औधी नै उक्सेको आदत छ। गम्भीर कहिले हुँदैनन् जस्ता छन्, हाँसेका र जिस्केका मात्र छन्। हाँस्न, रमाउन र खुशी हुन खोज्नैमा हुरूक्क हामी किन भएको?… मान्छे गम्भीर हुन्छ जब उत्तरदायित्व बोकेको हुन्छ। उत्तरदायित्व बोकिन्छ जब उत्तरदायित्व बोक्ने थोक उसको हुन्छ। गह्रौँ उत्तरदायित्वका आर्थिक जेथा हाम्रा केही छैनन्। अरूका कमानमा, अरूका दोकानमा, अरूका अफिसमा, अरूका स्कूलमा काम गर्दा उत्तरदायित्व हामीलाई केही छैन। यहाँका ८५ प्रतिशत स्थावर सम्पत्तिका मालिक अरू बनेका छन्, १५ प्रतिशत उत्तरदायित्व  मात्र होला हाम्रो त्यसतर्फ। हामी निर्धन, र घर फकदा बाटोमा एउटै दाउरा पाएकोमा खुशी हुन्छौँ, एउटा कोट सिलाउन सकेकोमा परिवारै हप्ता दिन खुशी हुन्छौँ। झिलिक्क उदाउने मिलिक्क हराउने हाम्रा हर्षहरू छन् र हाम्रा हँसाइहरू पनि। अरूले देख्दा कति हाँसिरहेका जस्ता। त्यसमा छिनमा घाम, छिनमा पानी यहाँका भौगोलिक आकाशहरू, आज चाँपहरू फक्रेका, भोलि ओइलेका यहाँका भौगोलिक पाखाहरू। हाँसेकोले नाशेको उखान छ हाम्रो, नाशेकोले हाँसेको हाम्रो यथार्थ छ।

साहित्यकार इन्द्रबहादुर राईसँग एउटा विशेष गुण पनि छ : आफ्ना अनुजहरूलाई पनि सुन्नुहुन्छ उहाँ, माया गर्नुहुन्छ उहाँ। प्रसङ्गमा दुइटा आफ्नै कुरा राख्छु :

एकपल्ट फोनमा भन्नुभयो : ‘मोहन भाइ, बजार कहिले आउनुहुन्छ? आउनुहुँदा घरमा पनि निस्कनुहोला। एउटा कुरा राखिदिएको छु तपाईंको निम्ति।’

केही दिनपछि, उत्सुकताले उचालिएर लोचनगर पुग्छु। हातमा, काफ्काको सम्पूर्ण मेटामोर्फोसिस दिनुहुन्छ। पैंसठ्ठी पृष्ठलाई एकै ठाउँम बाँध्नुभएको छ, त्यही पनि जेरोक्समा। हर्षित म, सम्झन्छु : मजस्तो सानो लेखकको लागि कति ठूलो कुरा यो।

एकपल्ट, एउटा भरिएको खाम आइपुग्छ – मसम्म। उहाँले डाकबाट पठाउनुभएको। खोल्छु र पाउँछु : एउटा अङ्ग्रेजी अखबारको दुई-तीन पन्ना। मधुमेहबाट बाँच्ने उपायहरू छन् त्यहाँ। उहाँले मेरा मधुमेहग्रस्त श्रीमतीको निम्ति पठाइदिनुभएको। अति अनुगृहीत भएका हौँ हामी त्यसबेला।

उहाँलाई निम्तो हुन्छ – कुनै ठूलो पुरस्कार ग्रहणको निम्ति, कि उहाँलाई निम्तो हुन्छ कुनै अन्तररराष्ट्रीय साहित्यिक भेलामा सम्बोधनको निम्ति। उहाँको आगमनको खुशीबारे बहुचर्चित साहित्यकार अभि सुवेदी लेख्नुहुन्छ, –ती आएको खबरले म, वैरागी काँल्दाइ र अरू खुशीले स्वरै अर्को पार्छौं। इन्द्र दाजु आएको सुनेर देवेन्द्र भट्टराई मनपरेका ठूलोबा आउँदाजस्तो खुशी भएर घरै छोड़्छन्। (अभि सुवेदी (2065), निबन्धमा उत्तरवर्ती कालखण्ड/रत्न पुस्तक भण्डार)

उनै देवेन्द्रलाई भेट्नुभएको बेला, अन्तर्वार्तामा, एउटा गाँठी कुरा भन्नुभयो उहाँले : ‘…हामीसँग हाम्रो मन हुँदैन। सामाजिक, आर्थिक, राजनीतिक र धार्मिक प्रभावले हामीलाई छमछमी नचाइरहेको हुन्छ। म त यसलाई हाम्रो कठपुतलीको रूप भन्छु। हाम्रो मनलाई कठपुतली मन भन्छु

(देवेन्द्र भट्टराई (2066दोस्रो) : स्रष्टा र समय/रत्न पुस्तक भण्डार)

यताका लोकप्रिय साहित्यकार राजनारायण प्रधान साहित्यकार इन्द्रबहादुर राईलाई हाम्रो साहित्यको सम्राट मान्नुहुन्छ, सगरमाथा ठान्नुहुन्छ : इन्द्र राई विशाल पर्वत हुन् जसको हाराहारीमा अर्को पर्वत छैन।अचम्मित पनि हुनुहुन्छ, त्यसको कारण पनि बताउनुहुन्छ मलाई त के कुरामा ताजुब लाग्छ भने उनी जे कुरामा पनि लेख्न सक्छन्। घरि गागरको कुरा गर्छन्, घरि सागरको। घरि लाखे नाचमाथि लेख्छन् घरि लीलामाथि। … जार जस्तो रहरलाग्दो कथा पनि लेख्छन् बाघ-जस्तो डरलाग्दो कथा पनि। कहिले डाँड़ामा पुग्छन् कहिले काँड़ामा। उनको अध्ययनको फाँट यति विस्तृत छ, त्यसको न वल्लो छेउ देखिन्छ न पल्लो छेउ

(मोहन ठकुरी (सम्पादक) : आरोहण, 2006, अङ्क ५)

उहाँलाई सबैले पढ़छन् – बुझेर पनि पढ़्छन्, नबुझेर पनि पढ़्छन्। उहाँको लेखन आकर्षणले पाठकलाई समातेको छ। उहाँलाई सुन्नेहरू पनि धेरै हुन्छन्। जुन समारोहमा उहाँको सम्भाषण हुन्छ, त्यहीँ श्रोताको घुइँचो लाग्छ, लेखक-कविहरू त उहाँलाई सुन्न चारपाऊ टेकेर पनि पुग्छन्। बज्रजस्तो कठोरतालाई पनि सहजताको बर्को ओढ़ाएर सुनाउनुहुन्छ उहाँ।

बुद्धिको कुरा गरेर स्रोताको हराएको सुद्धि फर्काउनुहुन्छ उहाँ। उहाँको स्मरणशक्ति तीब्र छ – सन्दर्भमा विद्वान पूर्वेली होस् कि पश्‍चिमेली, सही ठाउँमा सही उद्दरण राख्नुहुन्छ। जस्तै गहन विषयमा पनि दुई-तीन घण्टा बोल्न सक्नुहुन्छ – धाराप्रवाह।

साहित्यकार इन्द्रबहादुर राई सौभाग्यवान हुनुहुन्छ। आफ्नो जीवन कालमा नै सिक्किमको निर्माण प्रकाशनबाट उहाँका सम्पूर्ण कृतिहरू इन्द्र सम्पूर्ण-को एकसाथ प्रकाशन। ठूलाठूला पुरस्कारहरूले पुरस्कृत। टाढ़ा नजिक, देश-विदेशका सङ्घ-संस्थाहरूबाट सम्मान। गहन अध्येता, गम्भीर चिन्तक र साहित्यका शिखर-पुरुष हुन् – इन्द्रबहादुर राईज्यू। शब्द जोख्न कलामा उहाँ पोख्त हुनुहुन्छ। यसै कलाले प्रसिद्धिको शिखरमा पुग्नुभएको कुरा निर्विवाद छ। आज व्यक्तिबाट उक्लेर उहाँ एक जीवित संस्था भइसक्नुभएको कुरालाई हामी सहर्ष, सगर्व मान्छौँ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares