पहाडबाट हटाइयो केन्द्रिय बल, कालेबुङबाट एक कम्पनी एसएसबी प्रस्थान

कालेबुङ, 9 मार्च।

सर्वोच्च न्यायालयले 8 मार्चदेखि उता पहाडमा तैनाथ सम्पूर्ण केन्द्रिय बललाई फिर्ता गर्ने आदेश जारी गरेपछि पहाडबाट केन्द्रिय बल हटाउने क्रम अघिबाटै चलिरहेको थियो भने आज कालेबुङमा रहेको एक कम्पनी एसएसबीलाई पनि यहाँबाट हटाइएको छ।

कालेबुङ टाउन हलमा रहेको एक कम्पनी एसएसबी आज दिउँसो कालेबुङबाट प्रस्थान भएको छ। पहाडमा गोर्खाल्याण्ड आन्दोलन शुरू भएपछि उग्र बनेको स्थितिलाई साम्य बनाउन राज्य सरकारले केन्द्रसमक्ष केन्द्रिय बल पठाउन आग्रह गरेपछि केन्द्रिय बल पहाडमा तैनाथ गरिएको थियो। कालेबुङमा सीआरपीएफ, एसएसबी जस्ता अर्द्ध सैनिक बल तैनाथ गरिएको थियो। बन्द खुलेपछि सीआरपीएफलाई यहाँबाट हटाइएको भए तापनि आजपर्यन्त एसएसबीको एउटा कम्पनी भने कालेबुङमा तैनाथ रहेको थियो।

आन्दोलनपछि पहाडमा बन्द खुलेर जनजीवन सामान्य बनेको छ महिनाभन्दा अधिक बितिसकेपछि पनि केन्द्रिय बल भने पहाडमा तैनाथ रहेको थियो। सर्वोच्च न्यायालयले 21 फरवरीको दिन एउटा निर्देश जारी गर्दै 8 मार्चसम्ममा पहाडबाट केन्द्रिय बल फिर्ता लिनुपर्ने बताएपछि आज कालेबुङको टाउन हलमा रहेको एक कम्पनी एसएसबी यहाँबाट प्रस्थान भएको हो।

उल्लेखनीय रहोस् दार्जीलिङ पहाडमा भएको आन्दोलन अवधि भएका हिंसात्मक घटनालाई मध्यनजर राख्दै 15 कम्पनी केन्द्रिय बल पहाडमा तैनाथ गरिएको थियो। जसमध्ये 11 कम्पनीलाई यहाँबाट हटाउन अघिबाटै सर्वोच्च न्यायालयले निर्देश दिएकोले हटाइसकिएको छ भने रहल 4 कम्पनीलाई पनि आजदेखि पहाडबाट हटाइएको छ। यसअघि राज्य सरकारले दर्ता गरेको याचिका मुताबिक उच्च न्यायालयले केन्द्रिय बललाई दार्जीलिङ पहाडमा राख्न आदेश दिएको थियो यद्यपि उक्त आदेशलाई सर्वोच्च न्यायालयले खारेज गर्दै पहाडबाट केन्द्रिय बल हटाउने निर्देश दिएको थियो। सोही अनुसार आज कालेबुङबाट एसएसबीको एक कम्पनी प्रस्थान भएको हो।

केन्द्र सरकारले मेघालयमा हुन गइरहेको चुनावलाई मध्यनजर राखेर नै यहाँबाट केन्द्रिय बल हटाएर लगेको बताइएको छ भने कालेबुङमा अहिले राज्य अधिनस्थ फोर्स मात्र तैनाथ रहेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares