श्रद्धाञ्जलीका धुनहरू-को विधिवत लोकार्पण

सन्जय निरौला, चुङथुङ, 10 मार्च।


एक साङ्गीतिक कार्यक्रमको आयोजना गरी समाजका दिवङ्गत स्रस्टाहरू पदम लामा, महेश राई तथा सुनील राईको स्मरणमा तथा उनीहरूलाई श्रद्धा अर्पण गर्दै बिराट लिम्बूको सङ्कलनमा बनिएको गीति एल्बम श्रद्धाञ्जलीका धुनहरू-को विधिवत विमोचन गरियो।

संयुक्त कोरस क्लबको आयोजना तथा स्वर्गीय पदम लामा स्मृति भवनमा भएको कार्यक्रममा कवि शरण खालिङ प्रमुख अतिथिको रूपमा उपस्थित थिए। उनीबाहेक एसएस नेचाली, गीतकार मदन राई, गायिका मेनुका सुब्बा लगायत संस्थाका संस्थापक सदस्यहरू एबी सुब्बा, शरद घिसिङलगायत सदस्यहरू एवं साहित्य तथा सङ्गीत अनुरागीहरूको उपस्थिति रहेको थियो।

दिवङ्गत स्रस्टाहरूको कदर गर्दै उनीहरूको कलालाई बचाइराख्न जुन प्रयास गरिएको छ त्यो अत्यन्तै सराहनीय छ। यसको निम्ति एल्बमको नाम नै काफी रहेको बताउँदै शरण खालिङले कला नभएको जीवन निरस हुने तथा कलालाई बचाउन सचेत नागरिकहरू अगाडि आउनुपर्ने बताए।

अर्कोतिर आफूले आफ्नो कलालाई प्रस्तुत गर्ने माध्यम पाएकोमा खुशी व्यक्त गर्दै श्रोताहरूको माया पाए आगामी वर्ष अर्को एल्बम निकाल्ने योजनामा रहेको गायक सुब्बाले बताए।

वरिष्ठ पत्रकार तथा शिक्षक दिपक राई तथा साजन राईद्वारा सञ्चालित कार्यक्रममा कोरस सङ्घद्वारा नवोदित गायकलाई सम्मान जनाइएको थियो। कार्यक्रममा स्थानीय कलाकारहरू स्वर्णिमा राई, मेनुका सुब्बा, आशिका राई, सन्तवीर राई आदिले गीत तथा अनुष्का राईले नृत्य प्रस्तुत गरेका थिए भने विधान राईले एल्बमबारे बताएका थिए। रिशभ राईले धन्यवाद ज्ञापन गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares