रहल बोनस नदिने चियाबारीहरूमा चियापत्ती टिपाई रोक्ने डीटीडीपीएलयूले

खरसाङ, १० मार्च।


सिलगढीको सभामा लिइएको निर्णयअनुसार १० मार्चभित्र रहल ५० प्रतिशत बोनस वितरण नगर्ने चियाबारीहरूमा गोजमुमो समर्थित श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेवर यूनियन (डीटीडीपीएलयू)-ले सोमबार १२ मार्चदेखि चियापत्ती टिपाई रोक्ने भएको छ। उक्त निर्णय डीटीडीपीएलयू केन्द्रीय समितिको अध्यक्षा करूणा गुरुङको अध्यक्षतामा खरसाङ महकुमा समितिको सभामा लिइएको छ।

गत २२ फरवरीको दिन सिलगढीको सभामा लिइएको निर्णय अनुसार १० मार्चभित्र रहल ५० प्रतिशत बोनस सबै चियाबारीमा दिइनुपर्ने थियो। सभामा यस विषयमा चर्चा गर्दै विभिन्न निर्णय डीटीडीपीएलयूले गरेको छ। सभामा सङ्गठनका पदाधिकारीहरूले सिलगढीको सभाको निर्णयलाई जुन जुन चियाबारीहरूले अवहेलना गरेर रहल ५० प्रतिशत बोनस वितरण नगरिएको विषयमा घोर विरोध पनि गरे। यस सभामा निर्णय लिइएअनुसार तयार गरिएको चियापत्ती पूर्णरुपमा बाहिर लान लानु नदिने साथै सोमबार १२ मार्चदेखि बोनस नदिने हरेक चियाबारीमा बिहान ८ बजीदेखि १० बजीसम्म गेट मिटिङ गरिने भएको छ। उक्त गेट मिटिङ अवधिमा बगानको बङ्गलो, कार्यालय,डिस्पेन्सरी सबै बन्द राख्ने पनि भएको छ।

त्यसरी नै मङ्गलबार १३ मार्चको दिन श्रम कार्यालय खरसाङमा श्रमिकहरूको पक्षमा यूनियनको तर्फबाट ज्ञापन चढाउने भएको छ जसबाट सरकारको ध्यानाकर्षण होस्। सभामा लिइएको निर्णयअनुसार रहल ५० प्रतिशत बोनस वितरण नगर्ने चियाबारीहरूमा सोमबार १२ मार्चदेखि चियापत्ती टिपाई कार्य पनि रोक्ने डीटीडीपीएलयूले निर्णय लिएको छ। सभामा डीटीडीपीएलयू केन्द्रीय अध्यक्षा करूणा गुरुङ, केन्द्रीय सहसचिव एवं खरसाङ महकुमा समितिका संयोजक राजेश थापा, केन्द्रीय सदस्यहरू सागर गुरुङ,  मातृका देवान,  एमडी राई, खरसाङ महकुमा समितिका प्रचारप्रसार सचिव सन्तोष तामाङलगायत सिविटार- गिताङ्गे, नरबुङ, सुपाहीधुरा, लङ्भिऊ, जंगपाना, महल्दीराम, घुम्ती, मार्गरेट्स होप, मालुटार चियाबारी शाखा समितिको प्रतिनिधिवर्ग उपस्थित थिए।

सिलगढीको सभाको निर्णयअनुसार १० मार्चभित्र रहल ५० प्रतिशत बोनस वितरण गर्ने खरसाङ क्षेत्रको २८ वटा चियाबारीहरूमध्ये मकैबारी, तीनधारे, क्यासलटन, मार्गरेट्स होप, बालासन, दिलराम,महारानी चियाबारीहरू सामेल छन्। तर अन्य चियाबारीहरूमा भने अझै रहल ५० प्रतिशत बोनस वितरण गरिएको छैन। अब रहल ५० प्रतिशत बोनस वितरण नगर्ने चियाबारीहरूमा सोमबार १२ मार्चदेखि चियापत्ती टिपाई कार्य रोक्ने डीटीडीपीएलयूले गरेको निर्णय कतिको सफल हुनेछ त्यो देख्ने लायकको भएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares