इबरा : सम्झनाहरूमा

इबराका चार अवतार


खगेन्द्र सङ्ग्रौला

मेरो विचारमा इन्द्रबहादुर राईउर्फ आईबी राईका मुख्यतः चारवटा अवतार छन्।

पहिलो, उनी नेपाली यथार्थवादी आख्यानका महान् कलाकार हुन्। उनको उपन्यास ‘आज रमिता छ’ र कथासंग्रह ‘विपना कतिपय’ नेपाली साहित्यमा व्यापक रूपले पढिएका र चर्चा गरिएका, व्यापक रूपले प्रशंसित र आलोचित कृतिहरू हुन्। आईबी राईको दोस्रो अवतार हो— उनी आयामेली आन्दोलनका परिकल्पनाकार, व्याख्याता र प्रवक्ता तीनैथोक हुन्।

उनका शब्दमा तेस्रो आयाम साहित्यमा बौद्धिकता थप्ने र जीवनका तीनै आयामलाई झ्याप्पै छोप्ने साहित्यिक पारा हो। उनको तेस्रो अवतार हो— उनी साहित्य सिद्धान्त र साहित्य समालोचनाका ठूला पण्डित हुन्। उनको ‘नेपाली समालोचनाका आधारहरू’ भन्ने ग्रन्थ वास्तवमा नेपाली समालोचनाको आधारस्तम्भ नै बनेको छ।

र, आईबी राईको चौथो अवतार उनको लीलालेखनमा प्रकट भएको छ। मलाई उनको लीला लेखनचाहिँ बुढेसकालको वैराग्यको अभिव्यक्तिजस्तो लाग्छ, जसमा उनको लेखन जीवनको यथार्थ परिवेशबाट चिप्लिएर र बत्तिएर कतै अमूर्ततातिर बेगिएको छ। त्यसो त तेस्रो आयामको पछिल्लो चरणमा नै उनको लेखनमा मनग्गे क्लिष्टता आइसकेको छ। खास गरेर ‘हामीजस्तै मैनाकी आमा’ र ‘खाल्डो’जस्ता कथामा पुग्दा आई बी राईको प्रयोग प्रयोगका लागि प्रयोग ज्यादा र जीवनको बोधगम्य अनावरण कम भइसकेको छ। यहाँ पनि राईको प्रयोग जीवनको जीवन्त धरातलबाट उछिट्टिएर कतै शून्यतिर बहकिएझैं लाग्छ।

म समग्र नेपाली साहित्यमा खासगरी पाँच जना कथाकारलाई नेपाली कथाका देउराली मान्छु। यो मेरो नितान्त निजी चयन वा रोजाइ हो। यी पाँच देउराली हुन्— विश्वेश्वरप्रसाद कोइराला, गोविन्दबहादुर मल्ल (गोठाले), पारिजात, रमेश विकल र इन्द्रबहादुर राई। नेपाली कथाका यी पाँच देउराली कथाका पाँच पृथक् र विशिष्ट प्रवृत्तिका स्वनामधन्य प्रतिनिधिहरू हुन्।

अब एक फुटकर टिप्पणी। इन्द्रबहादुर राईको अर्को एउटा अवतार ‘साहित्यको अपहरण’मा अभिव्यक्त छ। यस अवतारमा राईले माक्र्सवाद–प्रेरित प्रगतिवादी साहित्यमा कलाको नांगो अपहरण हुन्छ भनी चर्को जिरह गरेका छन्। राई कला वा शिल्पद्वारा नसिँगारिएको लेखन नारा, रुढी, भजन, भक्ति वा स्तुति हो भनी भयंकर तर्क गर्छन्। यहाँ राईका विचारहरू निश्चय नै विचारणीय छन्।

तर, यो विमर्श दार्जिलिङको रैथाने गुट द्वन्द्वबाट उत्पन्न तिक्तता र कताकति क्षुद्रतासमेतले भरिपूर्ण छ। राईले क्रुद्ध आवेगबाट वशीभूत भई उनको बौद्धिक श्रेष्ठता र मर्यादित तर्कशीलताबाट बाहिर निस्केर प्रगतिवादीहरूलाई कति हो कति होच्याएका छन् र गिज्याउनुसम्म गिज्याएका छन्। तथापि, मेरो विचारमा आईबी राईको सौन्दर्यशास्त्रीय ऐनामा आफ्नो अनुहार हेर्न प्रगतिवादीहरूका लागि श्री राईको यो सर्वाधिक पठनीय कृति हो।

इन्द्रबहादुर राई बडो सौभाग्यशाली लेखक रहेछन्। उनले जीवन बिसाउनुभन्दा केही अघिमात्र अनुवाद कलाका दुई अब्बल प्रतिभा मञ्जु श्री थापा र प्रवीण अधिकारीद्वारा अनुदित आफ्ना दुई कृति ‘आज रमिता छ’ र कथासंग्रह अंग्रेजीमा देख्न पाए। मानौं यो देख्नकै लागि उनी यतिन्जेल बाँचेका थिए।

९१ वर्ष मनग्ये लामो जीवन हो। इन्द्रबहादुर राई भव्य जीवन बाँचे र भव्य मृत्यु मरे। श्री राईप्रति मेरो हार्दिक श्रद्धाञ्जलि।

अन्नपूर्णपोष्टबाट-साभार


‘आईबी : दार्जिलिङका मदनमणि’ 


काठमाडौँ — आईबी राईसहितको तीन सदस्यीय लेखक टोलीले सन् ६० को दशकमा जन्माएको ‘तेस्रो आयाम’ पत्रिकाको वर्ष १, अंक १ मै भनिएको छ, ‘हामी नबुझिने बनौंला । तर लोकप्रियताको लोभ गरिरहे केही लेख्न सकिन्न । हामीले अहिले सफलतादेखाउन नसकेका हौंला, पछि जरुर सक्नेछौं । पछि आउनेहरूले त्यो गर्नेछन् र, गरिछाड्नेछन् । कारण मानिसको शरीर छाडी अरू केही पनि मर्दैन । विचार मर्दैन ।’ (१–४–१९६३) नभन्दै आईबी सर (मेरो टर्नबुल स्कुलका गुरु) ले शरीर छाडेर गए । विचार बाँचेकै छ । यसो भनिरहँदा आईबी सरको ‘आज रमिता छ’ उपन्याससँगको असहमति र पूरापूर संस्कृते–लेखाइको नमिलेको कुरो मेरो चासोमा सधैं रहिरहयो । ‘आज रमिता छ’ को सबैतिर वाहवाही सुन्छु । तर यो यतिबिघ्न ‘संस्कृते’ छ नि, यसलाई पहिला नेपालीमा अनुवाद गर्नु जरुरी छ । नेपालमा मदनमणि दीक्षितको ‘माधवी’ जस्तै । भन्नैपर्छ— दार्जिलिङको मदनमणि दीक्षित भनेको इन्द्रबहादुर राई हो । नेपालको इन्द्रबहादुर भनेको मदनमणि हो । मैले कतै पढेको छु— ‘माधवी’ का १ हजारभन्दा बढी संस्कृत शब्दको नेपालीकरण गरिएर ‘माधवी’ पुनर्लेखनमा आउँदै छ । हो, ‘आज रमिता छ’ लाई पनि यसै गर्नुपर्छ । यसलाई दार्जिलिङको बोली र टोनमा झार्नैपर्छ । त्यो संस्कृते भाषा उता दार्जिलिङको हुँदै होइन । सायद यता फिक्कलमा शिक्षक भएका बेला भाषाविद् महानन्द सापकोटाको संगत र प्रभावले गर्दा होला, आईबी सरले आफ्नो लेखाइलाई पूरै ‘संस्कृते’ बनाए । पादरी गंगाप्रसाद प्रधानले सन् १९२३ तिरै ‘गोर्खे खबरकागज’ मा काशी, बनारस, पटनातिर बसेर आएका अथवा पढेर आएकाहरूको भाषालाई ‘काँशीभाषे बोली’ भनेको थिए ।

फेरि ‘आज रमिता छ’ दार्जिलिङे कथा हुँदै होइन । मञ्जुश्री थापाले किन रोमाञ्चित भएर अंग्रेजी अनुवाद गरिन्, म भन्न सक्दिनँ । उपन्यासमा भनेजस्तो उताको समाजमा मेलमिलाप थियो भन्ने कुरा पनि ‘मिथ्या’ हो ।
आईबी राईले नेपाली भाषाका पक्षमा जे जति कुरा गरे पनि त्यसलाई नेपाली भाषा भन्ने कि गोर्खे भाषा भन्ने अन्योल रहिरहयो । उताका नेपालीहरू गोर्खाल्यान्डका गोर्खेहरू भए । अर्को कुरा, आईबी सरले दार्जिलिङमा नेपाली भाषाका लागि जे जति गरे, त्यो उनी एक्लैले गरेका होइनन् । धेरै योग्य–योग्य मानिसहरू उता थिए । खर्साङका प्रेम थापा, जोनाथन थापा, तारकबहादुर कार्की, गुमानसिंह चामलिङ, एडोल्ड रोङगोङ, गणेशलाल सुब्बाहरू र अरूहरू पनि थिए । पक्कै पनि आईबी सर यो ‘फोर्स’ को मियोमा थिए ।
उपन्यासबाहेक बरु आईबी सरका कथाहरूमा घटेकै कुरा छन्, त्यहाँ भएकै विवरण छन् । बर्माबाट लखेटिएका नेपालीको दु:खान्त होस् अथवा घरघरमा भेटिने जारका कुरा । अझ किरातीहरूको त दूधैदूध मिसिएर दाजुबहिनी, फुपू–भदै भएको अवस्था पनि छ । यी एकदमैं भएका कुरा हुन् । त्यसमाथि ठयाक्कै दार्जिलिङे टोन, लवज, कथ्य पनि छ कथाहरूमा । बर्माबाट भागेर आएका नेपालीहरू भारतको कुनाकन्दरामा बिलाएरै गए । यो यथार्थ हो । ‘जयमाया लेखापानी आइपुगी’ को संवेदना शाश्वत छ ।
‘भाषिका’ भनेको जनजिब्रोको बोली हो । उता भाक्सु, देहरादुनतिर गयो भने ‘ठेर–ठेर, मैं भी आउँछु’ भन्छन् । ‘कता पधारिराछस् ?’ भन्छन् अथवा ‘यो लोगहरू कहाँबाट आए ?’ भन्छन् । यो लोकल–डाइलेक्ट हो नि । यसलाई त्यहींको भाषा, साहित्य, लवजमा फिट गर्न सकेको स्वाद अर्कै हुन्छ । तर, हाम्रो दार्जिलिङमा संस्कृतै–संस्कृत कहाँबाट आयो ?
‘आज रमिता छ’ मा कतै ‘बायुद्धार’ भनेको छ, कतै ‘बिस्तृण जलराशी’ । यो बायुद्धार भनेको त भेन्टिलेसन भनेको पो रहेछ । यस्तो क्लिष्टतामा, स्थानीयतामा नमिलेको लवजबारे अभि सुवेदी, राजनारायण प्रधान, रविलाल अधिकारीजस्ता विज्ञ समालोचकहरूले पनि कहीं कतै केही
बोलेको मलाई थाहा छैन । म त आईबी सरको सामु एउटा फुच्चे न थिएँ, कहाँ बोल्ने आँट गर्नु ?
जाति र जातित्वको कुरामा, पहिचान र अस्तित्वको कुरामा आईबी सरले दार्जिलिङलाई नै ‘आफ्नो नेपाल’ भनिरहे, लामो कालसम्म । ‘नौ लाख तारा’ गीतका रचयिता अगमसिंह गिरीसँगै यही गीतका कारण आईबी सरको टकराव परेको थियो, बेमेल भएको थियो । हरेक डिसेम्बर महिनामा चल्ने कोचिङको एउटा क्लासमा आईबी सरले हँसीमजाक गर्दै भनेका थिए, ‘हन ए केटा हो, यो नौलाखे तारा भन्ने गीत छ नि अगमसिंह गिरीको । यो गीत त के हो ? उल्टापाल्टी पो छ त । ‘शरद लाग्यो बनमा फूलले पीर्ति गाँसेछ’ पो भन्छ त ।…’
तर, प्रवासमा बसेका नेपालीको दु:खान्तलाई १६ लाइनमा बुझाउन खोज्नु कम्ती मुस्किलको काम थिएन । अगमसिंहले खासमा नेपाली गाथा बुझाउन खोजेका थिए । ‘नसम्झ आज नेपाली सन्चोले यहाँ बाँचेको’ भन्नु आफैंमा एउटा काव्य हो, २ सय वर्षदेखि बेहोरेको नेपालीको गाथा यसमा छ । तर, आईबी सर भने यो गीतको ‘नजाऊ फर्की नेपाल’ को लाइन आउँदा भने सर खुसी देखिन्थे, रमाउदै भन्थे, ‘होहो, सही हो…’ ।
मलाई के लाग्छ भने मान्छेलाई देवता बनाउनु हुँदैन । आईबी दाजु पनि देवता होइनन् । पक्कै पनि त्यो बेलाको पढाइको ‘गोल्ड मेडलिस्ट’ हो आईबी । ठूलो सर्भिसमा जान सक्ने, विदेश गएर केही गर्न सक्ने, आफ्नै बुतामा अरू कमाइधमाइका काम गर्न सक्ने स्थिति उनमा थियो । राम्रो पढाइको स्कलरसिप पनि पाउन सक्थे । तर कतै गएनन् । खालि साहित्य, भाषा भनेरै कुवामा बसिरहे । म कतिपय अर्थमा कुवाको भ्यागुतो भन्छु आईबी दाजुलाई । उनले दार्जिलिङे कुवामै बसेर संसार पढे । सेक्सपियरदेखि सोपेनआवरसम्म, माक्र्सदेखि नित्सेसम्म खर्लप्पै खाए । तर बाहिरी दुनियाको ‘एक्सपोजर’ भएन कहिल्यै । मलाई लाग्दैन, आईबी दाजु अमेरिका–बेलायत गए (मैले थाहा नपाएको होला ।) टर्नबुल स्कुलको टिचर र साहित्य लेखन, यी दुई जिम्मेवारीमै जीवन गुजारे ।
खासमा नेपाली मिडिया र केही समालोचकले पनि आईबी सरलाई नेपाल–भारतको, नेपालीभाषीको ‘ब्रिज’ भनिरहेका छन् । तर, आईबी सर स्वयम्ले यो कुरा मानेकै थिएनन् । ‘हाम्रो नेपाल यही हो’ भनेर उता बसेका थिए । उताबाट लैनसिंह, रणधीर सुब्बा, अम्बर गुरुङ, गोपाल योञ्जनहरू कोही पनि यता आएको आईबी सरलाई मन परेको थिएन । त्यसबेला भारतीय नेपाली हुनुको हकमा त्यो कुरा बोलिएको थियो । तर, अहिले त्यहाँकाले आफूलाई भारतीय नेपाली हौं भन्दैनन् । त्यतातिर गोर्खा, गोर्खे सुरु
भएको छ ।
सन् ८० को दशकमा गोर्खाल्यान्ड प्रकरणमा घर जलाइदिएपछि र दार्जिलिङबाट निर्वासनमा परेपछि मात्रै आईबी सरले नेपालतिर फर्केर हेरेका हुन् । नेपाल त सधैं स्वागतमा तत्पर थियो नै । आईबी सर उता माया नपाएपछि यता आएका हुन्, माया खोज्दै । यत्ति हो कि यत्रो विचारक र बौद्धिक व्यक्तिले पढेर, बुझेर पनि खालि शिक्षक बनेरै र भाषा–साहित्य भनेर कलम चलाएरै जीवन बिताएको दृश्य मेरा लागि अलौकिक छ, एकदमै प्रशंसनीय ।
(कुराकानीमा आधारित)/ कान्तिपुर कोसेली-ाट साभार


6 मार्चको पीडा

डा. राजेन्द्र भण्डारी


६ मार्च २०१८ मा नेपालीभाषीहरूको पोथ्राबाट इबराको चिदात्मा–चरो फुर्र उडेर अनन्त आकाशमा बिलायो । ‘अर्को इन्द्रबहादुर राई कहिले पाइएला’ को आशामा हामी भविष्यतिर आँखा ओछयाइरहनेछौँ । इन्द्रबहादुर राईको निधन भनेको गाउँबीच गजधम्म बसेको विशालकाय वटवृक्ष गडयाम्म ढल्नु हो । भारतका नेपालीभाषीहरूको बौद्धिक ओत, अडेसा, प्रेरणामूर्तिको सतत क्षय हो । एकाएक टुहुरो हुँदाको अनुभव हो । ६ मार्च २०१८ को साँझले यस्तै अवसाद बोकेर ल्यायो । नेपाली साहित्य नै हल्लियो । पराकम्पन अझै छ । ६ मार्चको ‘रातभरि हुरी चल्यो’ । ७ मार्चमा ब्युँझिँदा घरको गारो ढलेको पायौँ । छानु उडेको पायौँ । मनमा गह्रौँ लोला झुन्डेको अनुभव गर्‍यौँ ।

इन्द्रबहादुर राईको जीवन नै एउटा प्रयोगशाला हो । सामाजिक यथार्थवाद, तेस्रो आयाम र लीला गरी तीन चरणमा बाँडिएको उनको लेखनयात्रा वास्तवमा जीवनको खोजी हो । यथार्थकै पडताल हो । उनले जेजे छोए त्यो सुन भयो । आफैँले आफैँलाई सुधारिरहे उनले । सुधार्ने क्रममा उनले जन्माएका रचना नेपाली साहित्यकैसम्पत्ति भए ।
सन् १९५९ को सुरुतिरै लेखिसकिएको तर १९६४ मा छापिएको ‘आज रमिता छ’ उपन्यासको एउटा पात्र भूदेवलाई इन्द्रबहादुर राई भन्न लाउँछन्— ‘राम्ररी नहेर्नू । तैँले तेरै बाबुलाई पनि राम्ररी एकोहोरो लाएर हेरिरहिस् भने एक छिनमा अर्कै कोही मान्छे जस्तो लाग्छ, त्यति बेला बाबु छैन भन्नु ?’ तर आफैँले जन्माएको पात्र भूदेवको भनाइ के मान्थे इबरा १ उनले राम्ररी हेरे । अनि पाए— अगमसिंह गिरीहरूले लेख्दै ल्याएको साहित्य त चेप्टो पो रहेछ । सतही पो रहेछ । अनि आख्यानमा, कवितामा गहिराइको खोजी गर्दै उनी पुगे आयामिक लेखनमा । साथमा लिए ईश्वरवल्लभ र बैरागी काइँलालाई । यथार्थ अलग्गै हुन्छ, हामीले देखेअनुरूप हुँदैन । अनुभूतिको आफ्नै वस्तुता हुन्छ । वस्तुता चिन्दै, गहिराइ खोज्दै इबरा पुगे बाङदेल, पिकासो, मतिश, माने, सेजाँका अमूर्त र घनवादी चित्रसम्म । चुडलाई अचेतनबारे सोधे । अस्तित्ववादी हुसर्न, सात्र्रहरूलाई भविताबारे सोधे । अनि जन्मियो नेपाली साहित्यमा तेस्रो आयामिक लेखन । इबराको ‘कथास्था’, ईश्वरवल्लभका ‘आगोका फूलहरू हुन्, आगोका फूलहरू होइनन्’ र ‘एउटा सहरको किनारामा’ आदि अनि बैरागी काइँलाको ‘बैरागी काइँलाका कविताहरू’ आदि । नेपाली साहित्यमा यिनीहरू नौला परिकार भए । पाठकहरू कति अलमलिए । कति गम्भीर भए । साहित्य भनेको खेलाँची होइन रहेछ भन्ने ज्ञान पाए । सृजन, साहित्य र जीवनबारे बालकृष्ण समले खुब चिन्तन गरेथे । उनीपछि इबराले गरे । जाँ पल सात्र्रको ‘साहित्यलाई गम्भीरतापूर्वक लिऔँ’ भन्ने भनाइलाई उनले अक्षरश: पालन गरे ।
इन्द्रबहादुर राईले आफैँलाई प्रश्न गरे । के वस्तुता भन्ने हुन्छ ? उत्तर पाए— हुँदैन । ‘किन हुँदैन ?’ को उत्तर उनले ज्याक डेरिडाको डिकन्स्ट्रक्सन, हाइजनबर्ग र बोहर आदिको क्वान्टम सिद्धान्त, पूर्वीय लीलावाद र मायावादमा पाए । पाएको ठाने । ‘कठपुतलीको मन’, ‘पहेँलो दिन’,‘झ्याल’ आदि कृतिहरूमा लीलालेखन सिद्धान्तलाई समाविष्ट गरे । तेस्रो आयामको वस्तुतालाई खण्डन गर्न उनलाई डेरिडाको ‘भाषाखेल’ सिद्धान्त र आधुनिक भौतिकीको क्वान्टम सिद्धान्तले सर्वाधिक बल पुर्‍यायो । डेरिडाले पाठको अर्थ सतत अनन्तिम हुने र अर्थ–स्थगन भइरहने भन्नु र क्वान्टम सिद्धान्तले परमाणुको स्थिर रूप कहिल्यै हुँदैन भन्नु समकक्षी माने इबराले । अनि गोपिनीहरूले कृष्णका अनेक रूप एकैसाथ देख्नुको प्रसङ्ग पनि जोडेर हेर्दा समग्रमा जीवन–जगत्का यावत् घटनाचक्रलाई कुनै निर्दिष्ट दृष्टिकोणले हेर्न नमिल्ने पनि स्वत: तर्कसङ्गत बन्न पुग्यो । गुरुप्रसाद मैनालीकृत ‘परालको आगो’ कथालाई उनले यही दृष्टिबाहुल्यको कसीमा प्रस्तुत गरे । यसरी लीलालेखनको सिद्धान्त र व्यवहार तयार भयो । लीलालेखनले सामाजिक समस्याहरूलाई नजरअन्दाज गर्‍यो र यो लेखन दायित्वविहीन लेखन बन्यो भनेर वामपन्थी साहित्यकारहरू इबरासित रिसाउनसम्म रिसाए । उनलाई सैद्धान्तिक प्रतिवाद गर्न नचाहेर वा नसकेर हो, कतिले त उनको व्यक्तिगत जीवनको समेत धज्जी उडाए । उसो त आयामकालदेखि नै वाममार्गीहरू उनीप्रति रुष्ट थिए । स्थानीय समाचारपत्रतिर एकापट्टि इबरा, अर्कापट्टि वामधर्मी मोहन दुखुन र बद्रीनारायण प्रधानमाझ निकै लामै चर्काचर्की बहस चल्यो । पछि इबराले ‘साहित्यको अपहरण’ नामले पुस्तिकै पनि छापे । यो क्रम उनको अन्तिम कालसम्मै कायम रहयो । ‘पाण्डुलिपि’ पत्रिकामा पनि उनलाई वामधर्मीहरूले गरेको उछितो पढ्न पाइन्छ ।
आफ्नो लेखनयात्रामा प्रयोगको कोसेढुङ्गा थप्दै जाने इबरा तर अतिप्रयोगमा विश्वास गर्दैनथे । बैरागी काइँलाको प्रयोगधर्मिता मध्यम आँचको तर ईश्वरवल्लभको भने पोल्ने खालको थियो । ईश्वरवल्लभको अतिवादलाई अप्रत्यक्ष इङ्गित गर्दै उनले लेखेका छन्— ‘एउटा खोला बग्दै छ भने खोला त बगेर जान्छ, त्यसको प्रधान धारा बगेर जान्छ, तर त्यसको छेउमै कहीँनेर पानी घुमेर बसिरहेको हुन्छ, छाडिएको पानी, ब्याकवाटर भन्छन् अङ्ग्रेजीमा, मूलधारा कहाँ पुगिसक्यो हामी पछाडिएको धारालाई लिएर बस्दछौँ । फेरि ब्याकवाटर नहुने बलमा जब हामी एकदम अघि बड््ने भएर जान्छौँ— आयामिक लेखन अघाडि बड्ने एउटा उद्यम थियो । एउटा अर्को हुन्छ, साह्रै अघाडि बड्न खोज्यो एक थोपा पानी भने त्यो मूलधारादेखि चुँडिन्छ, अनि मूलधारादेखि चुँडिएपछि त्यो बाँच्न सक्तैन । त्यसले एक थोपा पानी निस्केर सम्झौँ खोलालाई पनि जित्ने गरी, त्यो खोला ढिलो हिँडयो, म बसेको खोला ढिलो हिँडयो भनेर, एक थोपा पानी उफ्रेर अघाडि बढेछ भनेदेखिन् त्यो थोपा ढुङ्गामाथि गएर बस्ला, इन्द्रेणी देखाउला त्यहाँनेर त्यल्ले, इत्यादि, त्यल्ले मोती देखाउला त्यहाँनेर केही छिनको लागि तर त्यो बाँच्तैन । आयामिक साहित्य पनि यस्तै एउटा उछिट्टिएको पानी जस्तो साह्रै अघि बडेको थियो । अब समय आएको छ यसलाई फेरि त्यही प्रधान धारामा हाल्नको निम्ति, अब हामीलाई परेको उत्तरदायित्व त्यो छ ।’ (सन्दर्भमा ईश्वरवल्लभका कविता, १९७६, पृष्ठ ५३)‘विपना कतिपय’, ‘कथास्था’, ‘कठपुतलीको मन’— सबैमा यथार्थको खोजी छ । निक्र्योल छ । सामाजिक दृश्यसत्ता, आन्तरिक भावसत्ता र दृष्टिबाहुल्यसत्ता— यी तीन यथार्थसत्ताको उत्खननमा इबराको आख्यान तन्किएको छ । उनी न सामाजिक व्यवहारले, न त साहित्यलेखनले, कहिल्यै जीवनदेखि भागेनन् । बिमार नचिनी ओखती गर्दा लाग्दैन ।
यसैले उनी बिमार चिन्नपट्टि लागे । चिन्दैचिन्दै उनी लीलासम्म पुगे । लीलालेखनमा भिन्न दृष्टि स्वागत्य मानिन्छ । उनले ठहर्‍याएको यथार्थ अरूको सँग नमिल्न पनि सक्छ । यही दृष्टिभिन्नता नै संसारको जालो हो । सङ्घर्षको कारण हो । सामाजिक विषमताको जड हो । हुनेखाने र हुँदा खानेको सङ्घर्षमा इतिहास बनिँदै आएको भन्छन् वामधर्मीहरू, तर इबरा भन्छन्— संसार दृष्टिकोणहरूको मेला हो । बुद्धले दु:खको मूल कारण अविद्या हो भने । इबराको रुझान समाजको सतही अध्ययनतिर थिएन । उनी चूडान्त सत्त्व चिन्न चाहन्थे । ढिलोछिटो सबैले नै चूडान्त सत्य जान्न चाहिरहेकै हुन्छन् । यसरी हेर्दा इबराको लेखनयात्रा दार्शनिक यात्रा पनि हो ।
‘हामी शास्त्रसम्मत साहित्य लेखौँ’ (सन्दर्भमा ईश्वरवल्लभका कविता, १९७६, पृ. ५३) भन्ने बीजवाक्य नै लीलालेखनमा आइपुग्दा वृक्ष बनेको हो । इबरा भन्छन्— कृष्णले अर्जुनलाई भनेको ‘निमित्तमात्रं भव सत्यसाची’ वास्तवमा रचनाकारलाई समेत दिइएको परामर्श हो । वस्तुताबोधको पछिल्तिर यही निष्काम भाव अडेसो छ । योगी श्रीअरविन्दले ‘भविष्यको कविता’ नामक ग्रन्थमा चेतनाका विभिन्न स्तरअनुसार रचनाकार्य निस्पादित हुन्छन् भनेका छन् । जस्तो चेतना, उस्तै रचना । चेतनाविस्तारण र चेतनापरिष्करण योगद्वारा सम्भव छ । इबराले श्रीअरविन्दको काव्य ‘सावित्री’ लाई ‘यौगिक साधनासहितको उच्चमनस्ले देखाइ र लेखाइ’ (ऐ., पृष्ठ ५७) भनेका छन्, उदाहरण मानेका छन् । अबको कविता योगले लेखिनुपर्छ भनेर कहीँ कतै उनले भनेका छन् । ‘साहित्य अघिदेखि यौगिक र मोक्षदा मानिएकै हो’ (ऐ., पृष्ठ ५७) बाट उत्प्रेरित इबरा लीलामा मोक्षदा साहित्यका अभियन्ता बनेका हुन् ।
इन्द्रबहादुर राईको उपस्थिति जुनसुकै गोष्ठी, सभा र भेलाहरूमा आकर्षणविन्दु बन्थ्यो । सन् १९८८ मा ‘तेस्रो आयामको पच्चीसौँ वर्षगाँठ’ को आयोजना झापाको धुलाबारीमा गरिएको थियो । त्यहाँ उनले लीलालेखन सिद्धान्तको व्याख्या गर्न चार घण्टा लगाए । तेस्रो आयाम, वस्तुता, सामाजिक यथार्थ हुँदै आधुनिक भौतिक विज्ञानका नवआविष्कारलाई समेत गोड्न भ्याए । तर चाखलाग्दो कुरो के छ भने, लगभग चार घण्टासम्म श्रोताहरूले मन्त्रमुग्ध भएर सुनिरहे । इबराको बोली मह थियो । सन् ’७० को दशकभरि नै दार्जिलिङ–डुवर्समा नेपाली भाषा आन्दोलन चर्केको थियो । इबरा यसका स्टार आकर्षण थिए । मह वक्ता थिए । भारतका प्रधानमन्त्री मोरारजी देसाईले ‘नेपाली भाषा विदेशी हो, भारतको संविधानमा यसले कसरी स्थान पाउँछ ?’ भनेर भारतका नेपालीभाषीहरूलाई चिढयाएका थिए । सबै आन्दोलित थिए । पथसभा, धर्ना, जुलुस, सभा, सत्याग्रह दैनिकीजत्तिकै थिए । इबरा यस आन्दोलनमा पूरै होमिएका थिए । कतिसम्म भने, उनले सामाजिक, जातीय कार्य गर्नकै निम्ति सन्त जोसेफ कलेजबाट प्रोफेसरी छोडिदिए ।
इन्द्रबहादुर राई अङ्ग्रेजी विषयका प्रोफेसर (प्रवाचक) । तर नेपाली भाषामा भाषण दिँदा, वक्तव्य प्रस्तुत गर्दा अङ्ग्रेजी शब्द अति नै न्यून मात्रामा चलाउने । नेपाली शब्दले मात्रै काम चल्ने रहेछ — मलाई लाग्थ्यो । हाइजनबर्ग, नील–बोहर, बेल, कार्ल माक्र्स, डेरिडा, रोला बार्थ, बोद्रिला, म्याक्स प्लाङ्क, टेरी इगल्टन, जेमेसन जस्ता वैज्ञानिक–दार्शनिकहरूलाई उनी घरगाउँले जस्तै परिचित र सरल बनाएर बुझाउँथे ।
इन्द्रबहादुर राई विनम्रताका प्रतिमूर्ति थिए, तर आफ्नो अवधारणाको अनुसरण गर्नेहरूसँग भने उनको थप निकटता रहन्थ्यो । लेखनमा उनी सम्झौता गर्दैनथे । उनको भाषणमा प्रयुक्त भाषा र साहित्यमा प्रयुक्त भाषामा ठूलो अन्तराल थियो । सिकारुहरूलाई उनको ‘वरद हस्त’ सधैँ उपस्थित हुन्थ्यो । उनी हदैका अध्येता । एकदुई दिन टाढा कतै जाँदा वा अलमलिँदा उनलाई छटपटी हुन्थ्यो । ‘यस समयमा केके पढिन्थ्यो, केके गरिन्थ्यो’ भनिरहन्थे । पछिल्ला केही वर्षहरूमा उनलाई सभा, सम्मेलन र गोष्ठीहरूतिर जान झर्को लाग्न थालेको थियो ।
सधैँ सफासुग्घर, चिरिच्याँट्ट भएर हिँड्ने इबराको पारिवारिक जीवन अति सुमधुर थियो । परिवारकै ऊर्जाबाट उनी ताजा भइरहन सक्थे । सक्रिय भइरहन सक्थे । जता गए पनि धर्मपत्नी मायालाई साथै लान्थे । ‘एउटा दिनको सामान्यता’ कथा झन्डै उनकै आत्मकथाको अंश हो । कथाकी मूल पात्राको नाम पनि ‘माया’ नै छ । कथामा इबराको पुरानो मूल घर तुङसुङको बारीको झल्को पाइन्छ । ‘मूलाको बीउ तिमीले पातलो छरेछौ, माया’— प्रथम पुरुष पात्र म भन्छ । यस कथामा पाइने सरस, सौहार्दपूर्ण दाम्पत्य उनकै दाम्पत्य हो भन्न मन लाग्छ । एकपल्ट एउटा समालोचना सङ्ग्रह ‘प्रतिमान’ का लागि रचना माग्न म उनको तुङसुङ घरमा पुगेको थिएँ । ‘पारिश्रमिक कति दिने ?’ सोधेका थिए फोनमा । हाम्रोतिर लेखका निम्ति पारिश्रमिक हुनै नसक्ने कुरा थियो । अझै छ । कुरो सन् ’८३–८४ तिरको हो । ‘हुन्छ, दिन्छु तीन सय,’ मैले भनेको थिएँ । घर पुग्दा बाहिर झलमल्ल घाम लागिरहेको । दार्जिलिङको मार्च–अप्रेल रमरम हुन्छ । घाम तापिरहूँ लाग्ने । बाहिर मुडामा इबरा नाङ्गैभुतुङ्गै थिए । गुरुआमा मायादेवीले उनलाई नुहाइदिँदै थिइन् । यो दृश्यले मेरा आँखा खुसीले रसाए । कस्तो मीठो दृश्य १ दाम्पत्य प्रेम, सुखी गृहस्थी, पुगीसरी परिवार । हुनुपर्ने त यस्तो पो १ ‘एउटा दिनको सामान्यता’ पढ्दा तुङसुङको इबराको मूल घर, बारी, अलिक मुनिको जङ्गलको दृश्य आँखामा नाच्न थाल्छ ।
इन्द्रबहादुर राईलाई टाई–सुटमा सजिएको मैले कहिल्यै देखिनँ । घरमा उनी काँसको बटुकामा वा पित्तलको ठाडे बटुकामा चिया पिउँथे । आँखा चिमचिम गरिरहने तर आफू नहाँसी अरूलाई हँसाउनमा खप्पिस । दार्जिलिङमा सन् १९८६ मा सुवास घिसिङको नेतृत्वमा आन्दोलन चर्किएको थियो । लक्खीदेवी सुन्दास, इन्द्रबहादुर राई, प्रेम आले, कुमार प्रधानहरू भाषाको नाम ‘नेपाली’ भन्न रुचाउने । भाषासङ्ग्रामीहरू सबै । सुवास घिसिङ ‘गोर्खा भाषा’ भन्नुपर्छ भन्ने ।
दुई खेमामा कुरा मिलेको थिएन । इन्द्रबहादुर राई, लक्खीदेवी सुन्दासका घरहरू असामाजिक तत्त्वहरूले तोडफोड गरेका थिए । ढुङ्गा हानेका थिए । सीधासाधा जनता सुवास घिसिङको गोर्खा राष्ट्रिय मुक्ति मोर्चामा सामेल थिए । त्रासको वातावरण थियो । इबराले एक दिन गफैगफमा भने, “हेर्नु न भाइ, हिन्दी फिल्ममा भिलेनले नानीको अपहरण गर्छ, ‘फिरौती दे, होइन भने नानी खलास’ भन्छ । एक हातमा बन्दुक, अर्को हातमा नानी । गुन्डालाई ताकेर हानूँ त नानीलाई लाग्ने डर । अब यहाँको जनता त त्यही नानी जस्तो पो भयो ।’ उपर्युक्त व्यङ्ग्यमा नहाँसी सकिँदैनथ्यो ।
सन् १८१६ मा सुगौली सन्धिले नेपालको ठूलै भूभाग ब्रिटिस भारतमा मिल्न आएको थियो । माटोसितै भारतमै थातथलो भएर बस्ने, गोर्खा पल्टनबाट सेवानिवृत्त भई भारतलाई नै घर रोज्ने, सन् १८४० को दशकदेखि चियाको बुट्टामा पैसा टिप्न आएका श्रमपरायण नेपालीभाषीहरूलाई भारतले, बङ्गालले र देशका सर्वसाधारणले सधैँ ‘पराई’ ठानेका, सधैँ ‘पाखा’ पारेको इन्द्रबहादुर राईलाई पाच्य भएन । कसैलाई पनि हुँदैन । यसैले वासभूमिको माग डढेलोझँै हुरहुर्ती बल्न थाल्यो, बलिरहेको छ । इन्द्रबहादुर राईहरू सन् ’८० को पूर्वाद्र्धमा ‘प्रान्त परिषद्’ भन्ने दलमा रही वासभूमिको युद्धमा होमिए । पश्चिम बङ्गाल र राष्ट्रिय सरकारहरूले अनेक कुचक्र रची यो आन्दोलनलाई दमन गर्न थाले, गरिरहेकै छन् । आफू सक्रिय राजनीतिमा नरहे पनि इबराले यस आन्दोलनलाई पथप्रदर्शन गरिरहे । आशीर्वाद दिइरहे । साहित्य र सामाजिक मुद्दालाई उनले मुछ्न चाहेनन् । साहित्य मोक्षदा हुनुपर्छ — उनी ठान्थे ।
३ फरवरी १९२७ मा बालासन नदीको बगरमा हस्तमाया देवान र रणवीर चामलिङका काखमा जन्मेका इन्द्रबहादुर राईको बाल्यकाल तुङसुङमा बित्यो । दार्जिलिङ सरकारी स्कुलका शिक्षक कमलकुमार शर्मासँग पढ्ने इबारा कहिले डबल प्रोमोसन, कहिले प्रथम तरप्रायश: डिस्टिंक्सनमा उत्तीर्ण हुँदै अघि बढेका थिए । दुई छोरी र एक छोराका पिता इबरा छ जना नाति–नातिनाका हजुरबा थिए । ‘मैले मायादेवीलाई बिहा गरेर सबैभन्दा बुद्धिमानी काम गरेछु’ भन्ने इबराको दाम्पत्य जीवन उदाहरणीय थियो ।
६ मार्च २०१८ मा नेपालीभाषीहरूको पोथ्राबाट इबराको चिदात्मा–चरो फुर्र उडेर अनन्त आकाशमा बिलायो । नेपालभाषी संसार, नेपाली साहित्य सधैँलाई एउटा ठूलो रिक्तताको सम्मुखीन बन्न पुग्यो । इबराको अनुपस्थिति सधैँ खट्किरहनेछ । ‘अर्को इन्द्रबहादुर राई कहिले पाइएला’ को आशामा हामी भविष्यतिर आँखा ओछयाइरहनेछौँ ।
कान्तिपुर कोसेलीबाट साभार


सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares