संसार पढ्ने लेखक

छुदेन काविमो


 

संसारमा दुई साहित्यिक थिए। जसले जति बलिया सिर्जना गर्थे, उतिकै बलिया समालोचना पनि गर्न सक्थे। एक टिएस इलियट र अर्का इन्द्रबहादुर राई। अब यी दुवै यो दुनियाँमा छैनन्। हो। ग्याब्रियल मार्खेजले जुन दिन जीवनको पहिलो स्वास फेरेका थिए। त्यही दिन इन्द्रबहादुर राईले जीवनको अन्तिम स्वास फेरे। दुनियाँको निम्ति यो ‘लीला’ नै त हो। होइन र ?

पहिलो कथा
उ बेला म बरबोट हाइस्कुल पढथेँ। गाउँमा टीभी थिएन। राति अबेरसम्म रेडियो सुन्थें। छुट्टीमा जब बाख्रा चराउन जान्थें। हातमा कुनै कथाको किताब हुन्थ्यो। पाठ्यक्रमको कथा दोहोऱ्याएर पढिसकेको थिएँ। आइभन–को कथासँग अनेकचोटि रोइसकेको थिएँ। त्यहीबेला भाइले सुनायो, ‘बतिमको घरको माथिल्लो तलामा एक थाक किताब छ।’मलाई किताबले तान्यो। हामी बाख्रा छोडेर बतिमको तिर लाग्यौं। घरमा कोही थिएनन्। खिड्कीबाट भित्र छिऱ्यौं। र किताब चोरेर दगुऱ्यौँ।

संसारी डाँडामा आएपछि बल्ल ढुक्क भयो। स्वेटरभित्र खाँदेर ल्याएको किताब भुइँमा राख्यौं। र हेर्न थाल्यौं। भाइलाई किताबसँग खासै सरोकार थिएन। त्यसले नक्सा हेर्दै फाल्न थाल्यो। त्यही बेला हो, मेरो हातमा नयाँ किताब पऱ्यो। जो आइनम दाजुले स्कुल छोड्नुअघि किनेका थिए। हो त्यही किताबमा त हो। मैले पहिलोचोटि इन्द्रबहादुर राईलाई पढें। अर्थात् ‘रातभरि हुरी चल्यो’ पढें। उः बेला हाम्रो घर मायालाग्दो थियो। चैत बैशाखमा हावा यस्तो चल्थ्यो। हरेक रात घरको छप्पर उडाइदिने डर हुन्थ्यो। हामी काँप्दै रात काट्थ्यौं। त्यो कथा पढदा पहिलोचोटि मैले अनुभव गरें, ‘इन्द्रबहादुर राई ता हाम्रै कथा लेख्ने मान्छे पो रैछन्।’

अकल्पनीय समय
इन्द्रबहादुर राई लेखक थिए। कथाकार थिए। उपन्यासकार थिए। समालोचक थिए। चिन्तक थिए। बौद्धिक थिए। शिक्षक थिए। राजनीतिज्ञ थिए। समाजका अभिभावक थिए। सबभन्दा धेर दार्जीलिङ लेखनका ‘ब्रान्ड नेम’ थिए। ‘म बालासनको बगरमा जन्मिएको हुँ’, उनी साङ्केतिक भाषामा भन्थे, ‘जतिबेला म जन्मिएँ। उतिबेला सबैजना बगरमा गिट्टी कुट्दै थिए। बाँदरहरू नाचिरहेका थिए।’

खासमा उनले के भन्न चाहेका थिए? ती रहस्य उनीसँगै गए। पढाइ त्यहीँबाट सुरू गरे। त्यसपछि कलकत्ताबाट ‘ग्रेज्युएट’ गरे। र एनबियुबाट अङ्ग्रेजीमा एमए गरे। अनि शिक्षक बनेर ‘टर्नबुल स्कुल’ आए। फेरि प्रोफेसर बनेर ‘सन्त जोसेफ कलेज’ गए। एनबियुमा नेपाली डिपार्टमेन्ट सुरू हुँदाको कुरा हो। इन्टरभ्युको लागि उनी पनि पुगेछन्। ‘हेड अव द डिपार्टमेन्ट राख्ने हो भने बस्छु’ राईले उल्टो सोधेछन्।

इन्टरभ्यु लिने रामकृष्ण शर्मा थिए। अङ्ग्रेजीको डिग्री बोक्नेलाई कसरी नेपाली विभागको प्रमुख बनाउने? उनले नियमको कुरा सुनाए। राई फर्केर दार्जीलिङ आए।

उनी राजनीति पनि गर्थे। भाषण छाँट्थे। मान्छेलाई अधिकार बुझाउँथे। एक समय दार्जीलिङ नगरपालिकाका उपाध्यक्षसम्म बने। राजनीति गर्दा नै उनको सम्बन्ध मदन थापाहरूसँग भयो। जो कङ्ग्रेसका नामी नेता थिए। पछि उनकै बहिनी माया देवीसँग प्रेम बस्यो। विवाह भयो। त्यसपछि उनको लेखनको प्रेरणा स्रोत नै पत्नी भइन्।

लेखेको हरेक कुरा उनैलाई पढेर सुनाउँथे। कार्यक्रममा लामो भाषण दिए, आएर पत्नीलाई सोध्थे, ‘मैले साह्रै लामो बोलें क्या हौ, है?’ उनी हरेक कुरामा पत्नीसँग निर्भर थिए। प्रत्येक कार्यक्रममा पत्नीसँगै हुन्थे। दुई वर्षअघिसम्म पनि उनी भन्थे, ‘मैले अब एउटा नाटक लेख्नुछ। गुरूमाको लागि। पहिले त्यो लेख्छु। अनि जीवन कथा लेखूँला।’

तर ईश्वरलाई त्यो मञ्जुर थिएन। अचानक पत्नी खसिन्। त्यसपछि उनले आफैंलाई सह्माल्न सकेनन्। लेख्न पढ्न छाडिदिए। भन्थे, ‘अब कसको लागि लेख्नु र ?’पत्नीको निधनपछि उनले मानसिक सन्तुलन गुमाउँदै गए। कहिलेकाहीँ घरकै मान्छेलाई धरी चिन्दैनथे। कहिले परिवारकै सदस्यलाई सोध्थे, ‘तिमी को हौ ? कहिले आयौ हँ ?’ कहिले ग्वाँ ग्वाँ रून्थे। र पत्नीलाई खोज्दै सोध्थे, ‘आमा! तिमी चैं काँ छौ हँ?’

‘म ता अब एक दुई महिनामै गइहाल्छु’, अलि ठीक हुँदा आफन्तहरूलाई पीडा सुनाउँथे। साँच्चै त्यो साँझ आयो। ६ मार्चको बेलुकी उनले सधैंको निम्ति धरती छोडे।‘इन्द्रबहादुर राई मरेको दिन कस्तो हुन्छ होला?’, गोर्खालीग नेता स्व. मदन तामाङले  भनेका थिए, ‘त्यो दिन त म कल्पना पनि गर्न सक्दिँन।’

यो गुज्रिरहेको समय त्यही अकल्पनीय समय हो।

किन गाली

प्रत्येक ठण्डा महिनामा राई सिलगडी झर्थे। दुई महिना बिताउँथे। त्यो बेला उनी घुम्दै सालबारी पुग्थे। कवि मोहन ठाकुरी, ज्ञानेन्द्र खतिवडाहरूलाई किताब पुऱ्याइदिन्थे। एक साँझ ज्ञानेन्द्र खतिवडा घरैमा थिए। एकजना गुरूङ छिमेकीसँग गफिँदै थिए। अचानक इन्द्रबहादुर राई आइपुगे। खतिवडाले राईको पाउमा शिर राखे।

गुरूङ तर्सिएर टाप लागे। र सालबाडीभरि हल्ला गर्दै हिँडे, ‘साला बाहुन मान्छे भएर के गरेको त्यस्तो? राई लिम्बूको खुट्टा त्यसरी ढोक्ने हो ?’

‘खासमा खुट्टै ढोक्नुको अर्थ चैं के हो नि ?’, मैले बल्ल खतिवडा सरलाई सोध्ने मौका पाएँ। ‘इबराको व्यक्तित्वलाई मैले ढोकेको हुँ’, उनले सुनाए, ‘म तीनजनालाई त्यसरी ढोक्थें। कृष्णसिंह प्रधान, दान खालिङ र इन्द्रबहादुर राईलाई।’

किन भन्नुस त?

नेपालका कमलमणि दीक्षितलाई म इबरा बराबर मान्थें। एकदिन नेपालको एउटा कार्यक्रममा पुगेको थिएँ। त्यहाँ इन्द्रबहादुर राई पनि थिए। हठात कमलमणि दीक्षितहरू आए। र राईको गोडा ढोगे। म खुशीले झण्डै रोएँ। त्यो त दार्जीलिङलाई दिएको सम्मान थियो नि! लेख्नलाई त देवकोटाले पनि धेरै लेखे। तर विश्वलाई चाहिने थोक चैं इबराले लेखे। मुनामदन लेख्ने देवकोटाले पनि त शाकुन्तल लेखे। जसलाई बुझ्नै सकिँदैन। तैपनि देवकोटालाई हामीले गाली गरेनौं ता? फेरि ‘विपना कतिपय’ लेख्ने आइबी राईलाई ‘कथास्था’ लेखेकोमा किन गाली गर्ने? ‘मैले त्यै कारण ढोगेको हुँ’, उनले अन्तिम लाइन जोडे, ‘रूपनारायण सिंह, रामकृष्ण शर्मापछि समाज सोच्ने आइबी राई थिए। अब उनी पनि छैनन्। दार्जीलिङे समाज साँच्चै टुहुरा भए ।’

अभिभावक लेखक
सन् १९५० देखि लेख्न थालेका हुन् राईले। सन् १९६४ मा प्रकाशित ‘आज रमिता छ’, उनको मास्टरपिस उपन्यास हो। आज पनि दार्जीलिङलाई चिनाउने उपन्यासको रूपमा त्यसलाई हेरिन्छ। उनको पहिलो कृति विपना कतिपय सन् १९६१ मा छापिएको थियो।

त्यसपछि १९६६ मा टिपेका टिप्पणीहरू लेखे। सन् १९७२ मा  कथास्था र ७४ मा नेपाली उपन्यासका आधारहरू लेखे। जसको निम्ति उनलाई ७५ सालमा साहित्य अकादमी प्राप्त भयो। त्यसपछि सन्दर्भमा ईश्वरवल्लभका कविता, साहित्यको अपहरण– मार्क्सवादी प्रतिबद्धता, दार्जीलिङ नेपाली नाटकको अर्धशताब्दी–हरू लेखे।

अनि ८९ सालमा लेखे कठपुतलीको मन। पहाड र खोला,  अर्थहरूका पछिल्तिर, पृष्ठ पृष्ठ, समयाङ्कन दैनिकीय, लेखहरू र झ्याल, लीला प्रस्तावना, सम्पूरक अनि सेतो ख्याकको बनोट र बुनोटसम्म लेखे। उनको अन्तिम कृतिको रूपमा ‘पछिल्ला चुनिएका लेखहरू’ प्रकाशित छ। जसलाई यही महिना बजारमा ल्याउने जमर्का थियो। अफसोस! किताब बजार आइपुग्न अघि नै राईले धरती छोडे।

‘राईको सबभन्दा ठूलो खुबी थियो, उनी अनुजहरूलाई साह्रै माया गर्थे’, सुन्दर हेन्डराइटिङमा रहेको इबराको किताबसूची मलाई दियो। र मेरै हात समातेर कवि मोहन ठकुरी भकभकानियो ‘हामीले आफ्नो अभिभावक नै गुमायौं। उनी दार्जीलिङका अभिभावक थिए।’

इबराको बौद्धिक हाइट समाजभन्दा अग्लो थियो। र नै पछि उनी नबुझिने लेखक बन्दै गए। कहिलेकाहीँ म सम्झिन्छु, ‘साहित्यको इबरा र सिलेबसको अलजेब्रा एकै हुन्। जति कठिन हुन्छ, त्यति नै महत्वपूर्ण पनि हुन्छ।’

विनम्र इबरा
इबरा साह्रै सरल वक्ता थिए। उसो ता उनी अङ्ग्रेजीका प्रोफेसर हुन्। तैपनि नेपालीमा भाषण दिन थाले सब ट्वाल्ल पर्थे। उनको हरेक शब्द महत्वपूर्ण हुन्थ्यो। उनी लेखनमा सम्पूर्णता चाहन्थे। त्यसैले साहित्यमा तेस्रो आयाम भित्राए। अनि फेरि शुरू गरे लीलालेखन। एकचोटि धुलाबारीमा साहित्यिक कार्यक्रम हुँदै थियो। उनी लीलालेखनमाथि बोल्न थाले। साढे तीन घण्टा नबिसाई बोले। सुन्ने एकजना पनि हल्लिएनन्।

‘राई सरल वक्ता हुन्। र घुमौरो लेखक’, कवि राजेन्द्र भण्डारी सम्झिन्छन्, ‘उनको सोच भारतीय व्याकरण अलग हुनुपर्छ भन्ने थियो ।’ नेपालको व्याकरणमा खसहरूको प्रभाव धेर हुन्छ। उनलाई लाग्थ्यो, ‘भारतेली नेपालीहरूमा त्यो प्रभाव छैन। त्यसैले यहाँको लवजअनुरूपको व्याकरण बनाउनुपर्छ। भण्डारीले लीलालेखनमाथि अन्तर्वार्ता नै लिएका थिए। जो ‘लीलालेखन वार्ता र अन्तर्वार्ता’को रूपमा प्रकाशित छ।

‘लीला भनेको कृष्णसँग जोडिएको कुरा हो। यो आध्यात्मिक थोक हो’, कवि भण्डारीलाई लाग्छ, ‘उनले आध्यात्मिक थोकलाई बौद्धिक ढङ्गले हेरे। त्यसैले चिप्लिए। खासमा यहीबारे म उनीसँग कुरा गर्न चाहन्थें। समय जुरेन। यो मेरो जीवनको ठूलो धोको हुने भो।’

‘तपाईंको भाषामा इबरा कस्तो मान्छे हो ता ?’ मैले फोनमै सोधें। जीयो–ले घरि घरि धोका देलाझैं गर्दै थियो। उनका स्वास केही क्षण रोकिए। त्यसपछि भने, ‘कसैले मलाई सोधोस्, मान्छे कत्ति धेरै विनम्र हुनुपर्छ? मेरो उत्तर हुनेछ, इबरा जति नै।’ शुरूमा पाश्चात्य दर्शनकै अनुसरण गर्ने इबरा पछि पूर्वीय दर्शनतिर ढल्किएका थिए। भन्थे, ‘सबैले यसलाई खोदल्नुपर्छ।’

झैं–झैं संसार
इबराले गान्तोकमा दुईघण्टा वार्ता दिए। विषय थियो ‘झैं’। उनले ‘झैं’माथि यसरी बोले। सिक्किमेहरू आवाक बने। वार्ता दिएको पर्सिपल्ट हो। डा. हर्कबहादुर छेत्री राईको घर पुगे। उनी दार्जीलिङमै बस्थे। हप्तामा दुईचोटि राईकहाँ पुग्थे। बौद्धिक कुरा गर्थे। साहित्यिक गफ पिट्थे। राजनीतिक गुनासो गर्थे। र फर्किन्थे।

हर्कबहादुर छेत्री उतिबेला लेखक बन्दै थिए। उनैले सोधे, ‘झैंमाथि चैं के बोल्नु भयो हौ, सर ? चर्चा त झैंको मात्रै छ त ?’ इबराका चिम्सा आँखा एकक्षण बन्द भए। त्यसपछि पोखिए, ‘संसार ‘झैं’-मा नै ता चलिरहेको छ। अस्तिको वर्षमात्रै हो। जर्मनीमा विश्वका फिजियोलिस्टहरू भेला भएका थिए। उनीहरूले बहस गरे। र निस्कर्ष निकाले– संसार एकदम फुस्रो छ, एकदम अर्डरलेस र टेस्ट लेस।

त्यो सुनेपछि मैले बुझें। यो रङ्गीन संसार त ‘झैं’ मात्रै रहेछ। यो रातो फूल घामको किरणले गर्दा रातोझैं देखिएको रहेछ। खासमा हरेक वस्तुमा जुन रङ मिल्न सक्दैन। त्यही देखिँदो रहेछ। घाममा सातैवटा रङ हुन्छ। त्यही रङ हरेक वस्तुमा ठोकिन्छ। वस्तुसँग जुन रङ मिल्न सक्दैन, त्यही हाम्रो आँखामा रिफ्लेक्ट हुँदोरहेछ। र त्यस्तै देखिँदो रहेछ। अनि संसार रङ्गीन ‘झैं’ भएन र ? लु सोच्नुहोस्।

आज म हर्कबहादुरसँग गफ गर्दैछु। खुशी भइरहेको छु। तपाईंले दिनभरिको समय यहाँ खर्चिनुभयो। भोलि कोही आएर भन्नेछन्, ‘हर्कबहादुरलाई दिनभरि पर्खिएँ। तैपनि भेटिनँ र फर्किनुपऱ्यो। अब हाम्रो ऐलेको खुसी पनि ‘खुसीझैं’ मात्रै भएन र?

संसार पढ्ने लेखक
एक दिनको घटना हो। उनका प्रिय पाठक घरमा पुगेछन्। किताबको अलमारी हेरेछन्। र सोधेछन्, ‘मेथमेटिक्स एन्ड पोयट्री! तपैं यस्तो किताब पनि पढनुहुन्छ?’ ‘खै त। मेथमेटिक्सले पनि कवितालाई सघाउँछु भन्छ’, उनले हाँस्दै भनेछन्, ‘अब सघाउनेलाई नसघाउनू भन्नु भएन? त्यै भएर पढछु।’

उनी संसार पढ्ने लेखक हुन्। पढ्नु र लेख्नुभन्दा पर उनको जीवन थिएन। उनी सबथोक पढ्थे। हरथोकको ज्ञान राख्थे।  र नै त बौद्धिक लेख्थे। खासमा उनी केही सिक्नलाई होइन। संसारमा के भइ रहेछ? त्यो बुझ्नलाई पढ्थे। त्यसपछि लेख्थे। उनको भाषाको बनौट अलग थियो, संरचना अलग थियो। इबरा ती भाग्यमानी लेखक हुन्, जसले बौद्धिक लेखेरै लीला रचे।

‘किताबमा पैसा खर्चिन उनी जहिले तयार हुन्थे । उनको व्यक्तित्व बडो अचम्मको थियो’, साइनोले ज्वाइँ पर्ने मणिकुमार प्रधानले नयाँ रहस्य खुलाए, ‘मैले कहिले उनलाई घडी लाएको देखिनँ। न त जीवनमा कहिले टाइ बाँधेको नै देखें।’ ठीक यतिखेर। लेखको अन्त्यमा पुगेर म सोचिरहेछु। यो पनि उनको लीला नै पो थियो कि! जो हामीले बाँचुञ्जेल थाहै पाएनौं।
आखिर उनी हरेक ‘आयाम’मा ‘लीला’ रच्ने लेखक जो थिए।


जनतापोष्टबाट-साभार

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares