साहित्य अकादमी, पुरस्कार र विवाद-बारे बहस : ‘परामर्श समितिको हैकमको कारण देशमा नेपाली साहित्यको स्तर खस्केको छ’

कालेबुङ, 11 मार्च।


मन्सोङ लाइब्रेरी कालेबुङ शाखाले कालेबुङका साहित्यकारहरूबीच साहित्य अकादमी, पुरस्कार र विवाद-बारे बहस गऱ्यो। प्यानलमा थिए कथाकार सञ्जय विष्ट अनि कवि सुधीर छेत्री।

शुरु गर्न अघि मध्यस्थकर्ता मनोज बोगटीले सोधे, ‘जुन विषयमा मुख खोल्नु हुँदैछ, खोलिसकेपछि तपाईँहरूजस्ता उचाईँका लेखकहरूले अकादमी पुरस्कार र अकादमीसित सम्बन्धित कार्यक्रमहरूबाट बञ्चित हुनुपर्ने सम्भावना बढ्ने छ, किनभने अहिलेसम्म बोल्नेहरूलाई डा. जीवन नाम्दुङ संयोजक रहेको परामर्श समितिले किनारीकृत गर्दै आइरहेको इतिहास छ, समस्या हुँदैन तपाईँहरूलाई?’

जवाबमा कथाकार सञ्जय विष्टले भने, ‘तपाईँको बहसको विषय हेर्दा नै यो कुरा हामीलाई थाहा भइसकेको हो, तर एउटा कुरा स्पष्ट पारौं, हामी पुरस्कार पाउँछौँ भनेर लेख्नेमा पर्दैनौं। त्यसकारण हामीलाई कुनै समस्या छैन।’

यता कवि सुधीर छेत्रीले पनि थपे, ‘गलत कामबारे नबोलिएकोले परामर्श समितिको धलिमलि चलिरहेको छ। पुरस्कार पाउनु-नपाउनु अलग कुरा हो, तर राम्रो कृतिले पुरस्कार पाउनुपर्छ, सही सर्जकलाई अकादमीले राष्ट्रीय मञ्चहरूमा पठाउनुपर्छ, सही कृतिको अनुवाद हुनुपर्छ, परामर्श समितिको नियत सफा हुनुपर्छ। किन भने परामर्श समिति कसैको विर्ता होइन, भारतीय नेपालीहरूको पहिचानसित जोडिएको इकाई हो। यसको सही प्रयोग हुनुपर्छ भन्ने मान्यता हाम्रो हो।’

दुवै सर्जकले परामर्श समितिको चालढालमा शङ्का गरे। उनीहरूले पुरस्कार दिने प्रकियामा देखिएको ‘लबी संस्कार’ र ‘चाप्लुसी’ परम्पराले देशमा नेपाली साहित्यको उचाईँ घटाइरहेको अनि मूलधारमा नेपाली साहित्यलाई बाहुन्ने बनाइरहेको बताए।

‘नेपाली साहित्यमा सुवानन्द दासले पृथ्वीनारायण शाह कवितामा जसरी गुणगान गाएका छन् त्यस्तो गुणगाण गाउने परम्परा हुनु हुँदैन। गुणगान गाउनेहरूलाई मात्र अकादमीको परामर्श समितिले राष्ट्रिय स्तरका कार्यक्रमहरूमा पठाउँदा हाम्रो नेपाली साहित्यको अनुहार राष्ट्रमा खस्केको छ’ कथाकार सञ्जय विष्टले भने।

विवादको जड परामर्श समितिका संयोजकको नियत र उनीहरूको काम गर्ने शैलीमा देखिएको बताउँदै दुवै सर्जकले परामर्श समितिका संयोजक र उनका टीमले मन परेको लेखकलाई राष्ट्रीयमञ्चमा पठाउने र पुरस्कार दिलाउने भएको हुँदा अकादमी पुरस्कार दिनोदिन बद्नाम भइरहेको पनि बताए।

‘लेख्नेहरूले पुरस्कारको लोभ गर्दैनन्। तर राष्ट्रिय स्तरमा जुन पुस्तकले साहित्य अकादमी पुरस्कार पाउँछ त्यसको अनुवाद हुँदा नेपाली साहित्यको स्तर त्यहाँ झल्केको हुन्छ। यसकारण उत्कृष्ट कृतिहरू छुट्नु हुँदैन भन्ने हाम्रो धारणा हो’, सञ्जय विष्टले अझ थपे।

यसक्रममा अहिलेसम्म एकाधिक राम्रा कृति अनि कृतिकारहरूले सम्मान साहित्य अकदमीको परामर्श समितिले नदिएको आरोप नै उनीहरूले लगाए। ‘कवि राजेन्द्र भण्डारीको कविताको उँचाई जहाँ छ त्यहीँ कवितालाई ज्युरीले ‘बुझ्दै नबुझ्ने कविता’ भन्छन्। जो कविता नै बुझ्दैनन् उ कसरी ज्युरी सदस्य हुनसक्छ?’, कवि सुधीर छेत्रीले 10 वर्षदेखि लगातार ज्युरी सदस्य बन्दै आइरहेका डा. महेन्द्र पी. लामाले लेखेको एउटा रचना पढेर सुनाउँदै भने, ‘राजेन्द्र भण्डारी भारतीय नेपाली कविताको क्षेत्रमा अहिलेसम्मकै पुस्ताले पछ्याएका कवि हुन्, तर ज्युरीले उनको कविता एकदमै जटिल र आम पाठकद्वारा ग्रहण गर्न योग्य नरहेको भन्दै पुरस्कारदेखि बञ्चित गर्छन्, कतैबाट पनि यस्तो कृत्यलाई राम्रो भन्न सकिँदैन।’

उनीहरूले यस्ता धेरै साहित्यकारहरूको नाम लिए जो ज्युरीले चिन्न नसकेर उनीहरूलाई पुरस्कारबाट बञ्चित गरिएको छ। ‘ज्युरी, परामर्श समितिका सदस्य र संयोजकले व्यक्तिगत सम्बन्ध नराम्रो हुने सर्जकहरूलाई किनारीकृत गर्नु सही कुरा हो र?,’ दुवै सर्जकले प्रश्न उठाए।

‘राष्ट्रिय स्तरको कार्यक्रममा नेपाली साहित्यलाई प्रतिनिधित्व गर्ने राम्रा राम्रा स्रष्टाहरूलाई परामर्श समितिले किन पठाउँदैनन्?’ सुधीर छेत्रीले प्रश्न तेर्साए,’ ‘किन घरिघरि एउटै मानिस आफैले बनाएको सर्कलको भरमा परामर्श समितिका संयोजक बनिरहन्छन्? उनीहरूले किन परामर्श समितिको क्षमताको दुरुपयोग गर्छन्? किन गलत भइरहेको देख्दादेख्दै पनि बोल्दैनन्?’

सञ्जय विष्टलाई लाग्छ, परामर्श समितिले गरिरहेको धलिमलिबारे सर्जकहरूको मौनताको कारण पुरस्कार नपाउने र कार्यक्रममा जान नपाउने डर अनि विवादमा पर्न नचाहने प्रवृति पनि हो। ‘गलत कामको विरोध गऱ्यो भने उनीहरूले पुरस्कार पाउँदैनन्, कतै कार्यक्रममा जान पनि पाउँदैनन्,’ विष्टले भने, ‘तर अब भने बिस्तारै गलत कामको विरोध गर्ने संस्कार शुरु भइरहेको छ। ‘विरोध’लाई संस्थागत गर्न सके केही सुधार आउन सक्ने सम्भावना छ।’

साहित्य अकादमी पुरस्कार सम्बन्धि समय समयमा यसरी विवाद भइरहे पनि उक्त विवादलाई कसैले खुलेर अघि नल्याएको भन्दै दुवै सर्जकले मन्सोङ पुस्तकालयले आँट गरेर यस्तो विषयमा बहस राखेकोमा आभार प्रकट गरे।

आगमी दिनमा परामर्श समितिकै सदस्यहरूलाई समेत बहसमा राख्नुपर्ने उनीहरूले सुझाउ पेश गरे। साहित्य अकादमीले आयोजना गर्ने कार्यक्रमहरूमा राम्रा स्रष्टाहरूलाई पठाउन सके नेपाली साहित्यकै उँचाई बढ्ने बताउँदै अहिले केही अपवादलाई छोडेर धेर जसो भने अनुवाद गर्दा राष्ट्रिय स्तरमा देखाउन नसक्ने कार्यहरू परामर्श समितिले गरेको पनि बताए।

‘साहित्य अकादमीले राम्रा राम्रा पुस्तकहरू प्रकाशित गरेका छन्। त्यस्ता पुस्तकहरूमा छुट्नै नहुने व्यक्तिका रचना नै समावेश छैन। यस्तो कार्य कसरी भयो?’, कवि सुधीर छेत्रीले अकदमीद्वारा प्रकाशित पुस्तकहरूको नाउँ लिएरै भने।

साहित्य अकादमीको परामर्श समितिको संयोजक बन्नलाई लबीको प्रयोग धेर भएको कारण एकाधिक राम्रा स्रष्टाहरूले सही समयमा सम्मान नपाएको पनि सञ्जय विष्टले उदाहरण पेश गरे। ‘कुमार प्रधान, हाईमानदास राई ‘किराँत’, गुप्तप्रधान लगायत यस्ता धेरै स्रष्टाहरू छन् जसले सही समयमा सही मूल्याङ्कन पाएनन्। भाँडाकुटी खेल्ने समयमा खेल्न नदिनु अनि ठूलो भएपछि भाँडाकुटी थुपारी दिनु चाहीँ सम्मान होइन’, सञ्जय विष्टले भने।

उनीहरू दुवैले गलत संस्कारको विरुद्ध स्रष्टाहरू एकत्रित भएर आवाज नउठाए भारतमा नेपाली साहित्यको स्थान खस्केर जाने बताउँदै परामर्श समितिले अघिबाट गर्दै ल्याइरहेका भूलहरू सुधारेर साँचोरूपमा नेपाली साहित्यको हितमा काम गर्ने आशा पनि व्यक्त गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares