आईसीको अडियो मामिला, चर्किँदैछ विरोधको स्वर : दोषीलाई निलम्बित नगरिए केकेएसले चक्काजाम गर्ने

कालेबुङ 11 मार्च


दार्जीलिङ सदर थानाका आईसीको अडियो मामिलाले पहाड़मा चर्को विरोध देखिन शुरु भएको छ। आईसीद्वारा एकजना गोर्खाल्याण्ड समर्थकलाई टेलिफोनमा अभद्र बोलेको अडियो सोशल मीडियामा छिरेर भाइरल भएपछि उक्त अभद्र व्यवहार गर्ने तथा नैतिक हराएर जे पायो त्यो बोल्ने आईसीविरुद्ध विरोधको आवाज बाक्लिन शुरु गरेको छ।

कालेबुङ कृषक कल्याण सङ्गठन (केकेएस) -ले  यो अडियो मामिलाको सर्वोच्च न्यायालयका न्यायाधीशद्वारा जाँच हुनपर्ने र दोषी पाइएमा ती पुलिस अधिकारीलाई निलम्बित गरिनुपर्ने माग गरेको छ। यसका साथै यदि यो घटनामा उचित जाँच र कारबाही नगरिए आगामी 14 मार्चमा दार्जीलिङ पहाड़मा चक्का जाम गर्ने तथा विराट प्रतिवाद जुलुस निकाल्ने चेतावनी दिएको छ।

आइतबार यसबारे कृषक कल्याण सङ्गठनले सभा बसी यो मामिलाबारे प्रस्ताव ग्रहण गरी घटनाबारे ठाड़ै विरोध जनाएको सङ्गठनका अध्यक्ष विष्णु छेत्रीले बताए।

आज एक पत्रकार सम्मेलन डाकेर छेत्रीले यसबारे जानकारी गराएका हुन्। “दार्जीलिङ सदर थानाका आईसी सौम्यजीत रोय र अत्युतम भट्टराईबीचमा भएको टेलिफोन वार्तालापमा पुलिस अधिकारी रोयले बोलेको अपशब्दको हामी घोर भर्त्सना गर्दछौं”, छेत्रीले थपे, “यो वार्तालापमा ती पुलिस अधिकारीले बोलेको शब्द सुनेर हामी लज्जित छौं। यो घटना सुनेर हामीलाई ठूलो दुःख लागेको छ।”

जनताको सुरक्षाका लागि र शान्ति बहालीका लागि जुन पोशाक सरकारले दिएको छ, त्यै पोशाक पहिरिएर जनताको घर जलाउने र उनीहरूको आमा र छोरीसँग दुष्कर्म गर्ने धम्की दिँदा हामी के सभ्य समाज छौं के भन्ने प्रश्न उठेको आफूलाई लागेको उनले बताएका छन्। छेत्रीअनुसार केकेएसले यो घटनाको तीखो शब्दमा गरेको छ।

उनले यो घटनाको विरोध गर्न सभ्य समाजका नागरिकहरूलाई अघि आउने आह्वान गरेका छन्।

केकेएस अध्यक्षले सङ्गठनद्वारा ग्रहण गरेको प्रस्तावको प्रतिलिपि दार्जीलिङका सांसद एसएस अहलुवालिया, कालेबुङका विधायिका सरिता राई, दार्जीलिङ र कालेबुङका जिल्लाशासकलाई दिएको बताए। “हामीले यो प्रस्तावको प्रतिलिपि पुलिसलाई दिएनौं। किनभने पुलिसको एउटा ठूलो पदमा बसेका अधिकारीबाटै यस्तो हुन्छ, ती अधिकारीहरूलाई यस्तो बोल्ने लाइसेन्स दिएको छ भने हाम्रो पुलिसमाथि भरोसा अब नरहेन”, उनले थप भने।

छेत्रीले  सङ्गठनद्वारा यो मामिलालाई सांसद र विधायिका दुवैलाई संसद र विधानसभामा उठाइदिने माग गरेको जानकारी गराए। “हामीले जिल्लाशासकलाई सम्बन्धित पुलिस अधिकारीलाई चाँड़ोभन्दा चाँड़ो निलम्बित हुनुपर्ने माग गरेका छौं”, उनले थपे, “यदि यसो नगरे हामी 14 मार्चमा चक्का गर्नेछौं। प्रतिवाद जुलूस निकाल्नेछौं। किनभने गणतन्त्रमा यस्तो अभ्रद व्यवहारको कुनै ठाउँ छैन। अझ यदि यस्तो कार्य पुलिसले गर्छ भने त्यो झन् निन्दानीय कुरा हो। किनभने पुलिसले लगाउने पोशाक  र तनखा जनताकै पैसा हो। हामीले तिरेको करको पैसाले नै उनीहरूले यी कुराहरू पाउने गर्छन्।”

छेत्रीले यो घटनाबारे राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले पनि स्पष्टीकरण दिनपर्ने बताएका छन्। “उनले दार्जीलिङमा कस्तो पुलिसकर्मीहरू तैनाथ गरेकी छन्। कि उनले नै यस्तो बोल्ने लाइसेन्स दिएकी छन्, यसबारे उनले उचित स्पष्टीकरण दिनपर्छ”, केकेएस अध्यक्षले भने।

स्मरणरहोस्, शनिबार सोशल मीडियामा भाइरल भएको अडियोमा आरोपी पुलिस अधिकारी सौम्यजीत रोयले गोर्खाल्याण्ड समर्थक अच्युतम भट्टराईलाई टेलिफोनमा घर जल्ने र उनका आमा-बहिनीसँग दुष्कर्म गर्नेजस्ता अपशब्द बोलेका छन्। आरोपी पुलिस अधिकारीले स्पष्ट शब्दमा ती अच्युतम भट्टराईको घर जलाउने तथा आमा-बहिनीसँग दुष्कर्म गर्ने धम्की दिएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares