कलकत्तामा पिपल्स लिटरेरी फेस्टिभल :  दार्जीलिङबाट हुने राजा पुनियानी, मनोज बोगटी र पल्लव सिङ्गोकको सहभागिता

एलिट उत्सवहरूको जवाफमा  उत्सव

कोलकाता, ११ मार्च


उच्छेद, उपेक्षा, वञ्चना, उत्पीड़न – यी सबको विरोधमा देशभरि प्रतिवादी सिर्जनात्मक स्वर घन्काइरहेका समकालीन सर्जकहरू भेला हुने भएका छन्। यसपालिको वसन्तमा कलकत्तामा। यस्ता प्रतिवादी सिर्जनालाई नाम दिइको छ ‘जनताको साहित्य’।

यो क्याचवर्ड दिँदै कलकत्ता आधारित सर्जक संस्था ‘बस्तर सोलिड्यारिटी नेटवर्क’-ले २४ र २५ मार्च, सन् २०१८-मा गरिरहेको छ ‘पिपल्स लिटरेरी फेस्टिभल’। कलकत्ताको फूलबगानस्थित सुकान्त मञ्चमा आयोजित हुने दुइदिने सृजना उत्सवमा आयोजक पक्षले खबरम्यागजिनलाई जनाएअनुसार, यो उत्सव कुनै स्पोन्सरशीप बिनै जनताको सहयोगमा गरिएको हो।

‘जनताको उत्सव भएकोले जनताले नै यो उत्सव आयोजित गर्न लाग्ने लागत आ-आफ्नो बुताअनुसार आर्थिक मद्दत दिएका छन्,’ बताए उत्सवका मुख्य संयोजक अभिज्ञान सरकारले, ‘उत्सवले देशभरि चलिरहेका प्रतिवादी धाराका सृजनकर्मलाई एउटै मञ्चमा सामूहिक डिस्कोर्सको रूप दिने कोसिस गर्ने भएको छ।’

व्यवस्थाले मानिसहरूको चिन्तन प्रक्रियामाथि गरिरहेको हस्तक्षेपको चरित्रलाई उत्खनन गर्दै कसरी वैकल्पिक जनमुखी सृजनाको स्पेस तयार गर्न सकिन्छ, त्यसको छलफल उत्सवको मूल उद्देश्य रहेको अभिज्ञानले बताए। दार्जीलिङ क्षेत्रलाई प्रतिनिधित्व गर्दै कवि राजा पुनियानी, कवि मनोज बोगटी र उदीयमान फिल्मकर्मी पल्लव सिङ्गोकले उत्सवमा अंशग्रहण गर्ने भएको छन्।

राजा पुनियानीले ‘है हक हमारी- न्यारेटिंग आजादी फर अप्रेस्ड’ विषयमाथि अन्य दुइ भाषाका नामूद लेखकहरू कल्याण राव (तमिल) र शहनाज वशिर (कश्मीरी)-सँग प्यानल डिस्कसन गर्ने छन् भने कवि मनोज बोगटीले चर्चित कविता ‘काफरे अमेरिका’ – लगायत केही बलिष्ठ कविता देशभरिका सर्जकहरूसामु वाचन गर्ने छन्।

‘काफरे अमेरिका’-को अङ्ग्रेजी अनुवाद पुनियानीले वाचन गर्नेछन्। दार्जीलिङको सामाजिक विचलनमाथि सामाजिक-राजनैतिक फिल्म ‘हावाघर’ २ सालदेखि बनाँउदै गरेका उदीयमान फिल्मकार एवं कवि पल्लवले फिल्म निर्माण र ‘मल्टिमिडिया पोएट्री’-माथि वार्ता राख्ने भएका छन्।

उत्सवमा राजा पुनियानीको कवितामाथि पल्लव राईले निर्माण गरेको मल्टिमिडिया पोएट्री ‘भ्रमपाहाड़’ र ‘इन्काउन्टर’ प्रदर्शित गरिने भएको छ।

वरवर राव, जेसिन्ता केरकेट्टा, रिञ्चिन, हाँसदा शोभेन्द्र शेखर

को को हुनेछन् उत्सवमा ?

दक्षिण भारतका लोकप्रिय सर्जक, प्रगतिवादी कवि, जन-रङ्गमञ्चकर्मी, गायक वरवर राव एकताका भारतीय सरकारकै आँखाका छारो हुन्। आन्ध्रप्रदेशका मानवाधिकारकर्मी साहित्यिक वरवर रावले भारतीय राज्यसत्ताकै प्रतिवादमा चर्को सांस्कृतिक बिगुल फुक्थे। “रावले उत्सवमा सहभागिता जनाउने सहमति दिएपछि हामी खुशी छौँ”, अभिज्ञानले खबरम्यागजिनलाई जनाए।

जेसिन्ता केरकेट्टा आदिवासी समुदायमाथि वृत्तचित्रहरू बनाउँछिन्। प्रखर नारीवादी र आदिवासी कविता लेख्छिन्। साहित्य अकादमी पुरस्कार प्रापक शोभेन्दर शेखरले सम्पादन गरेको साँउथाली कथाकारहरूको कथाहरूको अङ्ग्रेजी अनुवादको किताब ‘द आदिवासी विल नट डान्स’ –लाई गत साल झारखण्ड सरकारले प्रतिबन्धित गरिदिएको छ। त्यति मात्र नभएर शेखरलाई उनको सरकारी जागिरबाट पनि हात धुनु परेको छ।

तमिल कवि कुट्टी रेवती सिनेमाको लागि हिट गीत लेख्छिन्। हालै ए आर रहमान जस्ता अनतर्राष्ट्रिय धुनकारले धुन भरेका छन् उनको गीतमा। जुन गीत श्रीदेवीको अन्तिम फिल्म ‘मम’ –को तमिल संस्करणमा प्रविष्ट छ। रेवती एक प्रखर नारीवादी लेखक हुन् । उनको काव्यग्रन्थ ‘मुलाइगल’ (स्तन) विवादित कृति हो। तिनलाई नलेख्न भनी धम्की समेत दिइएको छ। तर तिनी लेखिरहन्छिन् । नारीको शरीर लिएर जुन राजनीति छ, उनको लेखनको मूल त्यहीँनेर छ।

उत्सवमा आउने भएकी छन् महाराष्ट्रका कवि छायाँ कोरेगाउँकर। दलित नारी जीवनका समस्त अन्तरङ्ग डिस्कोर्स आफ्नो लेखनीमा उतार्छिन् छायाँ। उनका राजनैतिक कविताले दलित नारीलाई मुक्तिको बाटो पहिल्याउन उद्यत गर्छन्। उसरी नै मुसलमान नारी समाजको अधिकारको आन्दोलन चलाइरहेकी समाजकर्मी एवं लेखिका हसिना खानले पनि अंशदारी जनाउने भएकी छन्। आउने भएका छन् पपुलर लेखक कश्मीरका शाहनाज वशिर। वशिरको पहिलो उपन्यास ‘द हाफ मदर’-ले भारतीय मेनस्ट्रिम साहित्यमा जति रड़ाको मच्याएको छ, उति नै ख्याति पनि आर्जन गरेको छ। उक्त फिक्सनमा भारतीय सेनाले कश्मीरी एक किशोरलाई सन्देहवश पक्राउ गरी लगेपछि उसको आमाले एक्लै उसलाई उद्धार गरिनिकालेको कथा छ।

मणिपुरकी कवि हरिप्रिया सइबमले पनि उत्तरपूर्वलाई उत्सवमा प्रतिनिधित्व गर्ने छिन्। सइबम जातीयतावाद र राज्य-आतङ्कमाथि आफ्नो लेखनीमा प्रश्न उठाए यता वितर्कको चुलीमा छिन्। उत्तरपूर्व भारत नागाल्याण्डका चर्चित र विवादित लेखक विसु रिता कोर्चा पनि उत्सवमा देखा पर्नेछन्।

दलित सवाललाई निरन्तर मेनस्ट्रिम लेखनीमा उफारिरहेका प्रख्यात तेलुगु सर्जक कल्याण राव पनि उत्सवमा हुनेछन्।

एकताका बन्दी भएका मुम्बई आधारित ऐनजीवी लेखक अरूण फेरेइया। अरूण बन्दीमुक्ति आन्दोलन चलाइरेका छन्। बङ्गलादेशबाट लोकप्रिय जनलेखकहरू अफसर अहमद, कथाकार अनसरउद्दीन, कवि निरम्ल हल्दार पनि आउने भएका छन् ।

‘कलकत्तामा योपालि हामी सिर्जनाको वसन्त उत्सव मनाउने छौँ । देशभरिका प्रतिवादी धाराका सर्जकहरूको एक वृहत् सम्मेलन हुने छ पिपल्स लिटरेरी फेस्टिभल,’ संयोजक अभिज्ञान बताउँछन्।

कथित एकपाखे ‘विकास’-को धारणा विपरीत वैकल्पिक जनसाहित्यको सम्वर्द्धनलाई मूलमा राखेर आयोजित गरिने यो उत्सवले जनताको साहित्य निर्माणको दिशामा उल्लेखनीय विचार विमर्श गर्ने भएको छ।

‘अचेल जगा जगा आयोजित हुने कर्पोरेट साहित्य उत्सवका जस्तो हामीसँग कुनै स्पोन्सर राखेका छैनौँ। त्यस्ता एलिट उत्सवहरूको जवाफमा यो उत्सव खड़ा गराउने प्रयास हाम्रो हो’, अभिज्ञानले थपे।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares