मईदेखि चियाश्रमिकको रोजी 159 रुपियाँ

दार्जीलिङ, 13 मार्च।


दार्जीलिङ पहाड़का चियाश्रमिकहरूको दैनिक रोजी आगामी मई दिवसदेखि 159 रुपियाँ हुने निश्‍चित भयो। हाल यहाँका चियाश्रमिकहरूको दैनिक रोजी 132.50 रुपियाँ छ भने आगामी 1 अप्रेलदेखि यस रोजीमा अन्तरिमरूपमा 17.50 रुपियाँ वृद्धि हुने भएको छ। यसलाई जोड्दा चियाश्रमिकहरूको दैनिक रोजी 150 रुपियाँ हुने अघिबाटै निश्‍चित भएको थियो भने यसमा आगामी 1 मईदेखि अझै 9 रुपियाँ वृद्धि हुने हिजो कलकत्तामा भएको त्रिपक्षीय बैठकमा तय भएको दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनले बताएको छ।

यूनियनका मूलसचिव भरत ठकुरीले यसैको जानकारी गराउँदै भने, हिजो कलकत्ताको नयाँ सचिवालय भवनको कन्फरेन्स हलमा विशेष न्यूनत्तम रोजी ऐनबारे मिनिमम वेजेस एड्भाइजरी कमिटीको बैठक भएको थियो। यस बैठकमा दार्जीलिङ पहाड़का चियाश्रमिकहरूलाई अहिलेसम्म 50 प्रतिशत बोनस भुक्तान नगरिएको विषयमाथि पनि व्यापक चर्चा भयो। यस विषय लिएर सरकारपक्ष अनि श्रमिक सङ्गठनले मालिकवर्गमाथि गतिलै चाप दिएका थिए। जसअनुसार, चियाबगान मालिकपक्षले यो सप्ताहभित्रै बाँकी बोनस दिने वचन दिएको छ।

यसका साथै ठकुरीले भने, यस बैठकमा चियाश्रमिकहरूलाई प्रदान गरिने राशिनबारे पनि चर्चा भएको थियो। जसमा चियाबगान मालिकपक्षले श्रमिकहरूको दैनिक रोजी 95 रुपियाँ हुँदा दैनिक राशिनको 17.50 रुपियाँ काटेको अनि हाल 132.50 रुपियाँ रोजी हुँदा 24 रुपियाँ काटेको बताइएको छ। तर अहिले राष्ट्रिय खाद्य सुरक्षा ऐनअनुसार सबैले 2 रुपियाँको दरले राशिन पाइरहेका छन्। यसैले सरकारबाट चियाश्रमिकहरूले पनि राशिन पाइरहेका छन् भने चियाबगानले उनीहरूका लागि राशिन दिने कुनै आवश्यकता नै छैन। यसैले चियाश्रमिकहरूलाई राशिन दिन भनेर काटिने दैनिक 24 रुपियाँ राशि चियाश्रमिकहरूको दैनिक रोजीमा नै थप्नुपर्ने विषयमा सरकारपक्षले चियाबगान मालिकहरूलाई चाप दिएको थियो। यसमा अन्ततः चियाबगान मालिकपक्ष चियाश्रमिकहरूका दैनिक रोजीमा आगामी 1 मईदेखि दैनिक 9 रुपियाँ थपिने तय भएको छ। जसअनुसार, आगामी मईदेखि चियाश्रमिकहरूको दैनिक रोजी मोठ 159 रुपियाँ हुने तय भएको ठकुरीले जानकारी गराए।

उनले राशिनको यो दर अन्तरिम समयको लागि मात्रै मानिएको बताउँदै यसबारे शीघ्रै चियाबगान मालिकपक्ष र श्रमिक सङ्गठनमाझ बैठक हुने बताए। यसरी नै उनले बन्द पानीघट्टा चियाबगानका 334 जना श्रमिकहरूलाई फौलाईको राशि प्रदान नगरिएको विषय पनि बैठकमा उठाइएको बताउँदै अघि भने, पानीघट्टा चियाबगानमा मोठ 854 जना श्रमिकहरू छन्। तर सरकारले 446 जना श्रमिकहरूलाई मात्रै फौलाईको मासिक 1,500 रुपियाँ दिइरहेको छ, जसबाट 334 जना श्रमिक पीड़ित बनिरहेका छन्। यसैले यसबारे यूनियनको पानीघट्टा समष्टि कमिटीका सचिव इन्द्रकमल विश्‍वकर्मले पहल गरिरहेका छन्, जसको लागि सरकारले संयुक्त श्रमायुक्तलाई उचित छानबीन गरेर पीड़ित श्रमिकहरूलाई सुविधा उपलब्ध गराउने निर्देश दिएको ठकुरीले बताए। स्मरण रहोस्, अक्टोबर 2015-देखि पानीघट्टा चियाबगान अचल छ भने अहिलेसम्म यसलाई पुनः खोल्नेबारे कुनै पहल भएको छैन।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares