शान्ति देऊ, पहाड़मा समृद्धि दिन्छौं : मुख्यमन्त्री, बन्दमुक्त हुनेछ पहाड : विनय

दार्जीलिङ, 13 मार्च।


हामीलाई शान्ति देऊ, हामी पहाड़मा समृद्धि दिन्छौं। आज राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीले यहाँको चौरास्तामा शुरू भएको दुइ दिवसीय हिल बिजिनेश सम्मिटको प्रथम दिनको कार्यक्रमलाई सम्बोधन गर्दै यसो भनेकी हुन्। यसबीच, जीटीए अध्यक्ष विनय तामाङले पनि दार्जीलिङ र कालेबुङ जिल्लालाई हड्तालमुक्त क्षेत्र बनाउने घोषणा गरे। राज्य सरकार, सीआईआई साथै जीटीएको संयुक्त तत्वावधानमा आजदेखि शुरू भएको यस व्यवसायी बैठकमा देशका विभिन्न स्थानका विख्यात उद्योगपतिहरू आएका थिए।

यसै कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री व्यानर्जीले भनिन्, कुनै पनि माग उठाउनु नराम्रो होइन, तर शान्ति बनाइ राख्नुपर्छ। शान्ति भए नै यहाँ देश-विदेशका उद्योगपतिहरूले विभिन्न व्यवसायमा लगानी गर्नेछन्। दार्जीलिङमा उद्योग फस्टाउन सक्ने धेरै विशेषताहरू छन्, तर यसको लागि शान्ति हुनपर्छ। यहाँको मौसम अति नै असल छ, यहाँ पर्यटनदेखि आईटी, सफ्टवेयर, परिवहन, फूड प्रोसेसिङ, सांस्कृतिक उद्योगलाई पनि विकासको मार्गमा अघि बढ़ाउन सकिन्छ। यसको लागि जीटीएले पनि सहयोग गर्नुपर्छ अनि यहाँको विकासको लागि राज्य सरकारले पनि हरसम्भव सहयोग गर्नेछ। यसैबीच, उनले यहाँको उद्योग विकासको लागि प्राथमिक चरणमा राज्य सरकारले 100 करोड़ रूपियाँ आर्थिक सहयोग प्रदान गर्ने पनि घोषणा गरे।

यसका साथै उनले केन्द्रको सत्तारूढ़ दल भारतीय जनता पार्टीमाथि पनि कटाक्ष प्रहार गर्दै अघि भनिन्, दिल्लीले पनि दार्जीलिङ पहाड़लाई ठीकसित बस्न दिनुपर्छ, दार्जीलिङलाई बङ्गालबाट टुक्राउने प्रयास नगर्नू। शान्ति भए नै विकास हुनसक्छ, यसलाई पहाड़को जनताले पनि बुझ्नुपर्छ। उनले दार्जीलिङ पहाड़का युवा-युवतीहरूमा धेरै क्षमता रहेको बताउँदै यहाँ शान्ति आएर विभिन्न उद्योग शुरू भए उनीहरूले नै अवसर पाउने पनि बताइन्। यसैले यहाँको शान्तिको रक्षा गर्ने जिम्मेवारी यहाँका जनताको हो। यहाँ शान्ति भए यहाँ विभिन्न उद्योगमा लगानी गर्न देश-विदेशका उद्योगपतिहरू आउनेछन्।

उनले दार्जीलिङ पहाड़मा भएको गत वर्षको 104 दिनको बन्दले चिया उद्योगमा लगभग 300 करोड़ बराबरको नोक्सानी भएको बताउँदै यसप्रकारको बन्द र अशान्तिले केवल जनतालाई नै नोक्सान हुने पनि बताइन्। यसैले अब पहाड़मा उद्योग विकास गर्नको लागि जीटीए र राज्य सरकार एकसाथ मिलेर कार्य गर्नुपर्छ। यसको शुरूआत शान्तिबाट नै शुरू गर्नुपर्ने पनि उनले आह्वान गरिन्। यसैबीच, मुख्यमन्त्री व्यानर्जीले दार्जीलिङ पहाड़का नगरपालिका प्रशासनहरूलाई नगरपालिका क्षेत्रहरूलाई सफा राख्ने अनि पानीको समस्या समाधान गर्न सहयोग गर्ने पनि निर्देश दिइन्। यसअघि जीटीए अध्यक्ष विनय तामाङले दार्जीलिङको लागि यो दिन ऐतिहासिक बनेको बताउँदै अबदेखि दार्जीलिङ र कालेबुङ जिल्ला बन्दमुक्त हुने घोषणा गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares