16 मार्च बङ्गाल र सिक्किम मुख्यमन्त्रीको बैठक : पहाड़ र देशहितबारे हुनेछ चर्चा

दार्जीलिङ, 14 मार्च।


राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीले सिक्किम सरकारलाई दार्जीलिङ पहाड़को विकास र उन्नतिको लागि लगानी गर्ने अपील गर्दै यसै सम्बन्धमा पर्सी शुक्रबार 16 मार्चको दिन उनले सिक्किमका मुख्यमन्त्री पवनकुमार चामलिङसित सिलगढ़ीमा एक बैठक गर्ने योजना बनाएको बताइन्। दार्जीलिङमा चलेको दुइ दिवसीय हिल बिजिनेश सम्मिटको समापन कार्यक्रमको अवधिनै उनले सिक्किमलाई दार्जीलिङ पहाड़ साथै देश हितको लागि बङ्गाल र सिक्किम एकसाथ बनेर काम गर्नुपर्छ भनिन्।

उनले भनिन्-सिक्किम फ्रेण्डलाई दार्जीलिङ पहाड़मा पनि लगानी गर्ने अपील गर्छु। यसै विषय लिएर पर्सी सिक्किमका मुख्यमन्त्रीसित उत्तरकन्यामा एक बैठक गरिनेछ, जसमा दार्जीलिङ पहाड़मा शान्ति, समृद्धिसितै दार्जीलिङ पहाड़ विकासको विकासको लागि पनि चर्चा-परिचर्चा गरिनेछ। दार्जीलिङ पहाड़ र देश हितको लागि बङ्गाल र सिक्किम एकसाथ बनेर काम गर्नुपर्छ।

यहाँको चौरास्तामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले बङ्गालले सधैं दार्जीलिङ पहाड़ हाँसेको हेर्न चाहेको बताइन् भने 24 घण्टाको गहन सर-सल्लाहपछि यस बिजिनेश सम्मिटमा उपस्थित भएका उद्योगपतिहरूले दार्जीलिङ पहाड़मा 1,500 करोड़ बराबर लगानी गर्ने निर्णय लिएको बताइन्।

उनले भनिन्-दिल्ली धेरै टाड़ो छ, तर बङ्गाल नजिक छ। यसैले बङ्गालसित मिलेरनै दार्जीलिङ पहाड़मा धेरै उन्नतिका कार्यहरू गर्न सकिन्छ। दार्जीलिङ पहाड़मा जति शान्ति छाउँछ, यहाँ उति पैसा आउँछ साथै त्यतिनै धेरै रोजगारको अवसर पनि सृजना हुन्छ। यसैले दार्जीलिङ पहाड़को सर्वांगीण विकासको लागि जे पनि गर्नपर्छ, ती सबै काम गर्न राज्य सरकार तयार छ।

यसैबीच, उनले आगामी मई महीनामा कालेबुङ आउने र उक्त कालेबुङ भ्रमणको समय विभिन्न विकास बोर्डहरूसित बैठक गर्ने चाँजै मिलाएको पनि जानकारी गराइन्। राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीले प्रथममा दार्जीलिङ पहाड़लाई पहाड़ी राज्यको संज्ञा दिंदै यहाँ यसप्रकारको कार्य यसअघि कहिले नभएको बताइन्। उनले भनिन्-दार्जीलिङ पहाड़ अन्तर्राष्ट्रिय स्तरको एक पर्यटन स्थल हो, तर यहाँको पर्यटनलाई विकासको मार्गमा अघि बढ़ाउन यहाँ यसप्रकारको बिजिनेश सम्मिट कहिले भएको थिएन।

यहाँका युवाहरूमा धेरै योग्यता छ, यदि उनीहरूलाई सपना देखाउनु हो भने रोजगारको सपना देखाउनुपर्छ। राज्य सरकारको लक्ष्य दार्जीलिङ पहाड़मा विकास गर्नु हो। जसको लागि यहाँ कृषि, बागवाणी, पर्यटन, परिवहन, औषधीय उत्पाद जस्ता धेरै विषयमा काम गर्न सकिन्छ। यसअघि कहिले यी विषयहरूमा काम गर्ने अवसर पाइएन, तर अहिले असल अवसर प्राप्त भएको छ। यसैबीच, मुख्यमन्त्री व्यानर्जीले दार्जीलिङ पहाड़का विभिन्न स्थानहरूमा तुलसीको तेल निकाल्ने, कुचो बनाउऩे, महको उत्पादनका साथै गोरूबथानमा अदुवा प्रोसेसिङ युनिट निर्माण गर्ने, कला एवं लोक केन्द्रहरूको स्थापना गर्ने, 100 स्थानमा होमस्टे शुरू गर्ने जस्ता योजनाहरू रहेको पनि घोषणा गरिन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares